विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५९ करोड

काठमाडौं, २३ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा आर्जन गरेको भन्दा ६३ करोड अर्थात ३२ दशमलब १४ प्रतिशतले बढि हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा एक अर्ब ९६ करोड नाफा कमाउन सफल भएको थियो । ७ अर्ब २५ करोेड चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १० अर्ब ६२ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ ८२ पैसा छ भने प्रति सेयर नेटवर्थ २४६ रुपैंयाँ ३८ पैसा रहेको छ । बैंकले एक खर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा तथा सापटी दिएको छ ।

फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा, एन्ड्रोइड एपमा सुविधा

काठमाडौं २२ साउन। भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ। फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ।  भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ।   यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ।  भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने

काठामाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर (खरिद) गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इन्भेष्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंक अध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार हस्ताक्षर गरेका छन्। बैंकले गत आर्थिक बर्षको साधारणसभा छुट्टा छुट्टै गरि सेयरधनीहरुलाई लाभांश खुवाएपछि मात्र एकिकृत कारोबार गर्ने भएका छन्। सहमति अनुसार एसको प्रतिसेयर मूल्य करिव ४२ रुपैयाँ रहनेछ। सम्पत्ति दायित्व मूल्याङ्कन (डिडिए) पश्चात यसको अन्तिम निर्क्यौल हुने बैंकले जनाएको छ।  हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी सात अर्ब २५ करोड रुपैयाँ छ भने एसको एक अर्ब रुपैयाँ रहेको छ। एसले काठमाडौँ उपत्यका भित्र छ र बाहिर सात गरि १३ शाखा मार्फत सेवा दिँदै आएको छ।केहि बर्ष अघि एसले बाणिज्य बैंकमा स्तरोन्नतीको लक्ष सहित पुँजीबृद्धि सुरु गरेको थियो। तर त्यो प्रयास सफल नभएपछि मर्जररएक्विजिसनको पहल थालेको थियो।

कार्तिकभित्र जीएपी मोडेलमा नजाने औषधि उद्योग खारेज गरिने, १३ उद्योगले जीएमपी लिन बाँकी

काडमाडौं, २२ साउन । कार्तिक भित्र देशभरिका सबै औषधि उद्योग जीएमपी (असल उत्पादन प्रणाली) मोडलमा जानु पर्ने भएको छ । नयाँ निर्देशिका मार्फत औषधि उत्पादनलाई व्यवस्थित गर्न विभागले सो अवधिभित्र उद्योगीहरू जीएमपीमा जानैपर्ने वाध्यकारी व्यवस्था गरेको हो । कात्तिकसम्म पनि जीएमपी नजाने उद्योगलाई बन्द गरिने विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । ‘हामीले आगामी कात्तिकभित्र सबै औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने गरी तयारी थालेका छौं,’ उनले भने । विभागले विगत लामो समयदेखि उद्योगलाई जीएमपी मोडलमा जान समय सीमा तोक्दै आएको थियो । तर, सबै उद्योगले जीएमपी अपनाउन सकेका थिएनन् । नेपालमा औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने अभ्यास २०६५ सालमा शुरु गरिएको हो । निर्देशिका अनुसार नयाँ स्थापना हुने उद्योगले भने अब शुरूमै जीएमपी प्रणालीमा गएपछि मात्र औषधि उत्पादन गर्न पाउने छ । यसअघि सरकारले सबै औषधि उद्योगमा जीएमपी लागू गर्ने प्रयास गरे पनि पूर्वाधार अभावका कारण सम्भव नदेखिएको थिएन । उद्योगीहरुले पूर्वाधार तयार पार्न समय माग गरेकाले पहिला अनिवार्य नगरिएपनि अब भने सबै उद्योगहरु जीएमपी जान सक्ने अवस्थामा पुगेको विभागले बताएको छ । हाल नेपालमा ३६ फर्मास्युटिकल्स र एउटा आयुर्वेदसहित ३७ औषधि उद्योगले जीएमपी मोडलको आधारमा औषधि उत्पादन गरिरहेका छन् । नेपालमा हालसम्म झण्डै ५० ओटा एलोप्याथिक औषधि उद्योग (फर्मास्युटिकल्स) छन् । जीएमपी लिन बाँकी अन्य उद्योगले विभागमा आवेदन दिए सकेको विभागले बताएको छ । ‘अहिले प्राय सबै उद्योगले जीएमपीका लागि आवेदन दिएका छन्,’ उनी भन्छन् ‘विभागले ती आवेदनको अध्ययन गरिरहेको छ ।’ मुलुकमा हाल सरकारी स्वामित्वको एकमात्र औषधि उत्पादक कम्पनी सिंहदरबार वैद्यखानालाई तत्काल जीएमपी मोडलमा लैजान नसकिने विभागको भनाइ छ । विभागका अनुसार चालू आवमै जीएमपी मोडलमा लैजानका लागि वैद्यखानालाई सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । जीएमपीमै लैजान आफूले नक्सासहितको नमूनासमेत उपलब्ध गराए पनि वैद्यखाना तत्काल जीएमपीमा जान अवस्थामा रहेको छ । हाल विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध विश्वका १ सय मुलुकका उद्योगले जीएमपी मोडलअन्तर्गत औषधि उत्पादन गर्दै आएका छन् । जीएमपी प्रमाणपत्र प्राप्त औषधि उद्योगद्वारा उत्पादित औषधिको विश्वसनीयता बढी हुन्छ भने निर्यात क्षमता पनि बढी हुने बताइएको छ । के हो जीएमपी ? जीएमपी विश्व स्वास्थ्य सङ्गठनले औषधिजन्य वस्तुको उत्पादनका लागि तोकेको गुणस्तर, वातावरणीय स्थितिलगायतको मापदण्ड हो । औषधि उत्पादन गर्दा उत्पादित क्षेत्रको वातावरणीय स्थिति, उत्पादन कार्यमा संलग्न व्यक्ति तथा उपकरणको सरसफाइ, उत्पादनमा प्रयोग भएका वस्तुको विस्तृत जानकारीसहितको उत्पादित औषधि सबै हिसाबमा ठीक छ भनी प्रमाणित गर्ने पद्धति जीएमपी हो । विश्व स्वास्थ्य सङ्गठनले सन् १९६९ देखि नै जीएमपी मोडल अपनाएको हो ।

एकै दिन सयभन्दा बढीले घट्यो बीमा कम्पनीहरुको सेयर मूल्य

काठमाडौं, २२ साउन । गत विहिवार अधिकांश बीमा कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा बढीले घटेको छ । सो दिन ४५ अंकभन्दा बढीले घटेको पूजी बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य उल्लेख्य रुपमा घटेको हो । सो दिन लाइफ इन्स्योरेन्स कम्पनीले ११९ रुपैयाँले घटेको छ । गत बुधवार ३४१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३३०० रुपैयाँमा कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११६ रुपैयाँले घटेको छ । गत बुधवार ३९३९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३८२३ रुपैयाँमा कारोवार भएको छ । सो कम्पनीको प्रमोटर सेयर पनि १०७ रुपैयाँले घटेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १५९ रुपैयाँले घटेको छ । गत बुधवार २२८९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २१३० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर १०० रुपैयाँले घटेको छ । गत बुधवार १५७०० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर विहिवार १५६०० मा कारोवार भएको नेप्सेले जानकारी दिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १९३ रुपैयाँले घटेको छ । गत बुधवार २४०३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २२१० रुपैयाँमा कारोवार भएको हो । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १३५ रुपैयाँले घटेको छ । गत बुधवार ३५५५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य गत विहिवार ३४२० रुपैयाँमा कारोवार भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने एक दिनमा ६७ रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३७ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १७७० रुपैयाँमा कारोवार भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने १२ रुपैयाँले मात्रै घटेको छ । अघिल्लो दिन १९१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १८९८ रुपैयाँमा कारोवार भएको छ । गुरास लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ४१ रुपैयाँले घटेको छ । गत बुधवार ९५६ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९१५ रुपैयाँमा कारोवार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा २१ रुपैयाँले घटेको छ । गत बुधवार १४६९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४४८ रुपैयाँमा कारोवार भएको छ । नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ६९ रुपैयाँले घटेको छ । गत बुधवार २१०९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०४० रुपैयाँमा कारोवार भएका छ । नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३० रुपैयाँले घटेको छ । गत बुधवार १२१० रुपैयाँमा कारोबार भएको सो कम्पनीको सेयर गत विहिवार ११८० रुपैयाँमा कारोवार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३१ रुपैयाँले घटेको छ । गत बुधवार २०६० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०२९ रुपैयाँमा कारोवार भएको छ । सो एक दिनमा प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन १५८० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४९० रुपैयाँमा कारोवार भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सो दिन २८ रुपैयाँले घटेको छ । अघिल्लो दिन २४७३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २४४५ रुपैयाँमा कारोवार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ । अघिल्लो दिन १५७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १५३१ रुपैयाँमा कारोवार भएको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७० रुपैयाँले घटेको छ । अघिल्लो दिन २३७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २३०५ रुपैयाँमा कारोवार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २९ रुपैयाँले घटेको छ । अघिल्लो दिन ९५० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९२१ रुपैयाँमा कारोवार भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १२३० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ११६५ रुपैयाँमा कारोवार भएको छ ।

एभरेष्ट बैंकको पुँजी वृद्धि योजना सार्वजनिक, चार वटा बैंकसँग मर्जर प्रयास, ४५ करोडको एफपीओ

काठमाडौं, २२ साउन । एभरेष्ट बैंकले चार वटा वाणिज्य बैंकसँग मर्जरको लागि नेगोसिएशन गरिरहेको जनाएको छ । ढिला गरी पुँजी वृद्धि योजना सार्वजनिक गरेको यस बैंकले मर्जरको लागि ४ वटा वाणिज्य बैंकसँग छलफल भईरहेको र त्यसमध्ये एउटासँग मर्ज गर्ने जनाएको छ । मर्जबाट कम्तिमा २ अर्ब पुँजी प्राप्त हुने र मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । मर्जरको लागि नेगोसिएशन भईरहेका बैंकहरुको नाम खुलाईएको छैन । तर कुमारी र एभरेष्ट बैंकबीच मर्जरको लागि करसरत भईरहेको बताईन्छ । कुमारी बैंक एनसीसी बैंकसँगको मर्जरबाट बारिनु अघि नै एभरेष्ट बैंकसँग मर्जको नजिक पुगेको बताईएको थियो । एनसीसीसँगको डिमर्ज निर्णयलाई राष्ट्र बैंकले स्वीकृत नगरेका कारण कुमारीले एभरेष्टसँगको मर्जप्रक्रिया औपचारिक रुपमा अगाडि बढाउने पाएको छैन । एभरेष्ट बैंकले मर्जपछि ४५ करोड रुपैयाँको फ्रेस पब्लिक अफरिङ (एफपीओ) प्रिमियम मूल्यमा जारी गर्ने जनाएको छ । प्रिमियम मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर तय गर्ने उसले जनाएको छ । बैंकले संचित कोषमा रहेका ‘स्वतन्त्र कोष’ (फ्रि रिर्जभ)बाट २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने जनाएको छ । त्यस्तै बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै जाने बैंकले जनाएको छ । पुँजी वृद्धि योजनामा बैंकले फ्रि रिजर्भ र नाफालाई बोनस सेयरको रुपमा वितरण गर्ने विषयलाई खुलस्त पारेको छैन । बैंकले ४ करोड रुपैयाँको अग्राधिकार (प्रिफिरेन्स) सेयरलाई साधारण सेयरमा रुपान्तरण गरी त्यसबाट ४ करोड रुपैयाँ सेयर पुँजी थपिने बैंकको पुँजी वृद्धि योजनामा उल्लेख छ ।

योजना आयोगवाट खतिवडाले राजिनामा दिने, उपाध्यक्ष बन्न फत्तवहादुर दौडधुपमा

काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष डा. युवराज खतिवडाले  राजिनामा दिने भएका छन् । आयोगमा अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने ब्यवस्था छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भइसकेकोले उनी राजिनामा गर्ने अवस्थामा पुगेका हुन् । आयोग अध्यक्ष तथा प्रधानमन्त्री परिवर्तन हुने वित्तीकै उपाध्यक्षसहित आयोगका सदस्यले राजीनामा गर्ने चलन छ । नयाँ प्रधानमन्त्रीले आयोगका पूर्वबर्ती सरकारले नियुक्त गरेका उपाध्यक्षसहित सदस्यहरुलाई पदमुक्त गर्ने सम्भावना हुनाले सरकार परिवर्तनसँग आयोग पदाधिकारीले राजीनामा गर्ने गरेका हुन् । उपाध्यक्ष खतिवडा सहितका पदाधिकारीले आइवार प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर राजिनामा बुझाउने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । दाहाल नेतृत्व सरकारले आफ्नो कानुनी सल्लाहकार अर्थात महान्यायधिवक्तामा रमण श्रेष्ठलाई नियुक्त गरिसकेको छ । अब आयोगको उपाध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि चलेको छ । आयोग उपाध्यक्षको लागि बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी दौडधुपमा लागेको स्रोतले जानकारी दिएको छ । यसको लागि केसीले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर आफूलाई नियुक्त गर्न अनुरोध गरेका बताइएको छ ।

धितोपत्र बोर्डले पुँजीबजार संकूचित बनाउने काम गर्यो– नेपाल इन्भेष्टर्स फोरम

काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारलाई संकुचित बनाउन नेपाल धितोपत्र बोर्डले अनुचित काम गरेको भन्दै आपत्ति जनाएको छ । नियमनकारी निकाय तथा जिम्मेवार पदाधिकारीबाट गैर जिम्मेवार अभिव्यक्ति दिने, लेख पत्रिका तथा अनलाईनमा छपाउने र बजारलाई अनुचित तवरबाट प्रभाव पार्ने, बजारलाई संकुचित पार्न कानुन विपरित अनेक अस्त्रहरु प्रयोग गर्ने कार्य भएको भन्दै फोरमले खेद व्यक्त गरेको छ । धितोपत्र बोर्ड, बजार सञ्चालक तथा नियामक निकायले आफ्नो क्षेत्राधिकार भित्र रहेर बजारलाई पूर्ण स्वाचालित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न फोरमले माग गरेको छ । सेयर बजारका लगानीकर्ताले एकाण्ट पेयी चेकको माध्यमबाट कारोबार गर्ने भएकोले सेयर बजारको लगानी अरु क्षेत्रको तुलनामा पारदर्शी रहेको फोरमको भनाई छ । लगानीकर्तालाई साना र ठूलो भनेर वर्गिकरण गर्नु अबैज्ञानिक भएको भन्दै फोरमले बजारलाई आधुनिक बनाउने र कारोबार सरल र सहज बनाउने तर्फ जिम्मेवार निकायले पहल गर्ने माग गरेको छ ।