विकासन्युज

मोटर बीमा सम्बन्धी नयाँ निर्देशिका आयो, कसले कति क्षतिपूर्ति पाउने ?

बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका,२०७३ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा तेस्रो पक्ष दुर्घटना बीमा र यात्रुको बीमा रकम बराबर हुने व्यवस्था गरेपछि बीमा समितिले नयाँ निर्देशिका जारी गरेको हो । यो निर्देशिका आगामी साउने १ गतेदेखि लागू हुने बीमा समितिले जनाएको छ । त्यस्तै, बीमित पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने छ । एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छ । अन्य कुनै अंग भंग भएमा, शारीरिक क्षतिको समानुपातिक हुने गरी बीमाङ्कको प्रतिशत सवारी साधन दुर्घटनाको प्रत्यक्ष तथा एक मात्र परिणाम स्वरुप भएको औषधोपचार खर्च तीन लाख रुपौयाँको हदमा नबढ्ने क्षतिपूर्ति हुनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पंैतालीस दिन सम्मको कुरुवा खर्च औषधोपचार खर्च बीमा कम्पनीले दिनुपर्नेछ । दुर्घटनास्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बीलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा कृया खर्च वापत प्रति मृतक पचास हजार रुपैयाँ (बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही) बीमकले तत्काल भुक्तानी दिनेछ । आफैले जानाजान लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासबाट वा मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरुप भएको हानि–नोक्सानी वापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन ।

चोभारमा ‘वाइल्ड लभर्श’का लागि वुपी ल्याण्ड पार्क, दुई बर्षमा ३२ करोड आम्दानी

काठमाडौं, २५ असार । चोभार त्यसै पनि डेटिङ र युवा पुस्ताको जमघटका लागि प्रशिद्ध स्थल एंव चलचित्र सुटिङको गन्तव्य हो । त्यहि चोभारको छेउमै एउटा अन्तराष्ट्रियस्तरको पार्क स्थापना भएको छ, जसको नाम राखिएको छ–वुपी ल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क । वुपी अर्थात वाइल्ड इन्टरटेमेन्ट । बिशेषतः वाइल्ड इन्टरटेनमेन्ट चाहने युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको यो पार्कले चोभार आसपासको रौनक अझै बढाएको छ । त्यसो त यो पार्क पारिवारिक घुमाघामका लागि समेत उपयुक्त गन्तव्यका रुपमा स्थापित हुन सक्ने त्यसका लगानी कर्ता सौरभ बस्नेत बताउँछन् । बस्नेत भन्छन–‘यो वाइल्ड लभर्श/थ्रिल लभर्शका लागि लक्षित छ र सँगसँगै पारिवारिक घुमघामका लागि पनि उपयुक्त गन्तव्य हो ।’ ६० रोपनी जमिन चर्चेको पार्कमा १७ वटा गेमको मज्जा लिन सकिन्छ । त्यसका अधिकांश गेम एडभेञ्चर्सले भरिएका छन् । त्यसका अलवा, स्विमिङ पुल, वाटर फाउण्टेन, वाटर स्लाइड, रेञ्जर, इलेक्ट्रिक बुल राइड, कोलम्बस तथा अन्य आधुनिक गेमहरु छन जसले पार्कलाई वाइल्ड इन्टरटेनमेन्टको हब बनाउन मदत गरेको छ । पार्क भित्र रहेको जुरासिक पार्क खण्डले शैक्षिक गतिबिधी अध्ययनका लागि समेत उपयुक्त रहेको देखाउँछ । संसारबाटै लोप भैसकेका डायनोसर लगायतका जीवहरुको काल्पनिक अवशेष र तदनुसारको वातावरण देखाउने प्रयास गरिएको छ । वल्लो र पल्लो भागमा डाँडा रहेको पार्कको बिचमा खोँच छ । त्यहि खोँज जस्तो भागमा स्विमिङ पुल बनाइएको छ । त्यहाँ अग्लो भागबाट कृतिम झरना झर्छ भने पुलकै एक छेउमा वाटर फाउण्टेन निर्माण गरिएको छ । माथिल्लो भागबाट पुलमा आईपुग्ने गरि फरक फरक प्रकृतिका वाटर स्लाइड निर्माण गरिएको छ । खोँच खण्डमै रहेको इलेक्ट्रिक बुल राइडिङ पार्कको अर्काे रोचक पक्ष हो । बुलमा चढेर घुम्दा र त्यसबाट खस्दा जो कोहीले निकै रमाइलो मानिरहेका देखिन्छन् त्यसकै नजिक रक क्लाइम्बिङको झझल्को दिने हावा भरिएको बेलुनले धेरैको मन खिचेको देख्न सकिन्छ । पल्लो भागमा रहेको रेञ्जर पार्क भित्रको अर्काे आकर्षक गन्तव्य हो । थ्रील लभर्शहरुका लागि यसले राम्रो मनोरञ्जन दिन्छ । टाउको भाग तल र खुट्टा माथि पुर्याउने रेञ्जर खेल बालबालिकाका लागि प्रतिबन्धित छ भने मुटु दरो भएकाहरुले मात्रै खेल्न सक्छन् । रेञ्जर नजिकै रहेको कोलम्बस भने रेञ्जर चढ्न डराउनेहरुका लागि विकल्प बन्न सक्छ ।   १२ वर्षका लागि जमिन लिजमा लिएर सञ्चालन गरिएको पार्कबाट दुई वर्षमै लगानी उठाइसक्ने प्रक्षेपण गरिएको बस्नेत बताउँछन् ।‘दैनिक तीन सय जनाले पार्कमा भिजिट गरे भने दुई वर्षमा लगानी उठ्ने अनुमान गरेका छौं’, बस्नेतले भने । ६० जनलाई प्रत्यक्ष रोजगारी दिएको पार्क प्रवेशका लागि बयस्कले ८२५ रुपैंयाँ र चार फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि ४७५ रुपैंयाँको प्रवेश शुल्क तय गरिएको छ । मनसुन अफरका रुपमा १५ दिनका लागि  बयस्कलाई लागि ४९५ र बालबालिका लागि २९५ रुपैंया शुल्क तोकिएको छ । त्यसो त नन होलिडे प्याकेजका रुपमा ६७५ र ३७५ रुपैंयाँ अर्काे प्याकेज समेत रहनेछ । टिकट काटेर पार्क भित्र प्रवेश गरेपछि अन्य कुनै शुल्क तिर्नु पर्दैन् । ६५ बर्षमाथीका जेष्ठ नागरिक र तीन बर्ष मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पार्कले कमाउने उदेश्य मात्र राखेको छैन् । आफ्नो वरपर विकास गर्ने ध्येय समेत राखेको छ । किर्तिपुर नगरपालिकाको १३ र १४ वटामा पर्ने पार्कले आफ्नो प्रत्येक टिकटबाट प्रति टिकट पाँच रुपैंयाको कोष खडा गरेको छ । ‘यो क्षेत्रको विकासका लागि प्रति टिकट पाँच रुपैंयाँ छुट्याएर कोष खडा गरेका छौं, त्यसबाट जम्मा भएको रकम पारदर्शीरुपले यो क्षेत्रको विकासका लागि खर्चिने योजना छ’, बस्नेतले सुनाए ।

छिट्टै चिनियाँ इन्धन नेपाल आउने, नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न

भक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले छिट्टै चिनियाँ इन्धन नेपाल आउने बताएका छन् । चिनियाँ इन्धन नेपाल भित्रन लागेपछि नेपाली राजनीतिमाछुट्टै तरङ्ग उत्पन्न भएको समेत उनले बताए । रफत सञ्चार क्लबले यहाँ शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताए । चीनसँग इन्धन आपूर्तिको विषयमा भएको सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उनले बताए ।

शुक्रबार र शनिबार दिनभर बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले भोली शनिवार पुरै समय बैंक खोल्न सरकारी कारोबार गर्ने बैंकहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । शुक्रबार सूचना जारी गर्दै केन्द्रिय बैंकले आगामी २५ गते शनिवार र असार ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो ।राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सूचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन निर्देशन दिएको हो ।

सर्वोच्च बारको चुनाव शनिवार, प्रगतिशील र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा

रामप्रसाद भण्डारी काठमाडौँ, २४ असार । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहाल र प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले गरेका छन् । लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं छन् । सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन उम्मेदवारी दिएका छन् । प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरीले उम्मेदवारी दिएका छन् । शैलेन्द्रकुमार दाहाल दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । शनिबार ८ बजेदेखि मतदान निर्वाचनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भई अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए । पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । शनिबार नै ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा पुनःनिर्माणको अनुगमन

काठमाडौं, २४ असार । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भएका पुनःनिर्माणका कामको गुणस्तरीयताबारे नागरिक समाजका तर्फबाट ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अनुगमन गर्ने भएको छ । पुनःनिर्माण गुणस्तरीय भएको छ छैन , पीडितले सरकारले दिने भनिएको अनुदान रकम पाए पाएनन्, पीडितका गुनासा के छन् आदि विषयको अनुगमन गर्न लागिएको टिआइ नेपालका कार्यकारी निर्देशक आशिष थापाले बताए । “युरोपियन युनियनले भूकम्पपछिको पुनःनिर्माणका लागि दाता सम्मेलनमा सहयोग गर्न गरेको सम्झौतामा स्वतन्त्र नागरिक समाजका संस्थाले अनुगमन गर्ने व्यवस्था थियो, यो व्यवस्था अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, टिआइ नेपाल र युनियनबीच भएको बैठकले गुणस्तरीयताको अनुगमन गर्ने जिम्मेवारी दिएको हो”– उनले भने । टिआइ नेपालले पाँच वर्षसम्म युनियनको १२ करोड रुपैयाँ अनुदान सहयोगमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली काभे्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला समन्वय कार्यालय स्थापना गरी पुनःनिर्माणका क्रममा भएका कामको गुणस्तरीयता मापन गर्नेछ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया दाताले पुनःनिर्माणका लागि दिएको रकममा भ्रष्टाचार नहोस् भनी टिआइ नेपाललाई अति प्रभावित १४ जिल्लामा अनुगमन गर्न स्वीकृति दिइएको बताए । पुनःनिर्माणका काम जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले कामको अनुगमन गर्न लागिएको टिआइ नेपालले जनाएको छ । रासस

काठमाडौंको किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ । महानगरपालिकको स्वीकृतिपछि बिहीबार काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसमक्ष घर/जग्गा अधिग्रहण (हाउस पुलिङ) का लागि ५४ घर परिवार दिएको संयुक्त निवेदनसहित यो योजनालाई कार्यान्वयनका लागि प्रस्तुत गरियो । सो अवसरमा आयुक्त तिवारीले यो आयोजना नमूनाको रुपमा रहने विश्वास व्यक्त गर्दै यसलाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनका अनुसार योजना सञ्चालनका लागि प्राधिकरण, महानगरपालिका र स्थानीय वासिन्दाको एक व्यवस्थापन समिति गठन गरिने छ । ऐतिहासिक काठमाडौं सहरभित्रको वस्तीे विकासका लागि प्राधिकरणले अहम् भूमिका खेल्ने र त्यसक्षेत्रमा आवश्यक पर्ने बाटो, बिजुली, खानेपानी तथा ढल जस्ता पूर्वाधारको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गरिने उनले बताए । एकीकृत विकास पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले प्राधिकरणका प्रमुख तिवारीलाई स्थानीयवासीको निवेदन र उनीहरुका जग्गाधनी पूर्जाका प्रतिलिपि बुझाएका हुन् । घर जग्गा अधिग्रहण भएपछि बढीमा तीन वर्षभित्र उपभोक्ताहरुलाई अपार्टमेन्ट उपभोगका लागि हस्तान्तरण गरिने योजना छ । गत वर्ष वैशाख १२, १३, २९ मा गएका ठूला भूकम्प र त्यसपछिका पराकम्पका कारण काठमाडौँको भित्री सहरमा थुप्रै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको र दाजुभाइको अंशवण्डाबाट स–साना टुक्रामा विभाजित भई जोडिएका त्यस्ता घर आफू खुसी बनाउन सक्ने अवस्था पनि नरहेकाले स्थानीयवासीकै पहलमा यस्तो संयुक्त आवास बनाउने पहलकदमी लिइएको हो । यस्तो आवासको निर्माण गर्दा खुला ठाउँ, बाटो र व्यवस्थित आवासका साथै स्वच्छता कायम भई नागरिकलाई सुविधा पुग्ने विश्वास महर्जनले व्यक्त गरे । यो योजना सफल भए काठमाडौंका नेवारको बसोवास रहेका भित्री सहरका अन्य भागमा समेत एकीकृत वस्ती विकासको पहल हुने अभियानका सदस्य नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले बताए । उनले संयुक्त आवासका लागि महानगरपालिकाले रु। पाँच करोड बजेट विनियोजन गरेको जानकारी पनि दिए । रासस

वालिङ–हुवास सडक एक सातापछि पुन सञ्चालनमा

पर्वत, २४ असार । लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक एक सातापछि सञ्चालनमा आएको छ । पर्वतको हुवास र स्याङ्जाको कालीकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा गएको पहिरो डोजर र मजदुर लगाएर हटाएपछि आज बिहानदेखि सञ्चालन भएको हो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक गत असार १६ गते बिहीबार रातिदेखि अवरुद्ध बनेको थियो । डोजरको क्षमताभन्दा ठूलो ढुङ्गा सडकमा खसेपछि लामो समयसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । सडक खुलेसँगै एक सातादेखि ठप्प बनेका सवारी साधन गन्तव्यतर्फ लागेको उनले बताए । उक्त सडकको अहिले स्तरोन्नतिको काम भइरहेको छ । वाइवी कन्स्ट्रक्सनले सडकको स्तर सुधारको काम गरिरहेको छ । कच्ची सडक भएकाले सामान्य वर्षा हुनेबित्तिकै बाटो अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा तरकारी, औषधि तथा बिरामीलाई अस्पताल लैजानका लागि समस्या भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार ठूलो मेसिन ल्याएर ढुङ्गा हटाएपछि सञ्चालन भएको हो । उक्त सडक दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होस्राङ्दी, भोर्ले, सरौखोला गाविसवासीले लाभान्वित हुने गरेका छन् । पर्वत सदरमुकामसँग सिर्धा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् । रासस