प्रधानमन्त्रीको दवावमा डा चिरञ्जीवि नेपालले राजीनामा गरेको खुलासा
काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुपूर्व डा चिरञ्जीवि नेपाल तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार थिए । राज्यमन्त्री सरहको सुविधामा उनले उक्त पद नियुक्ती पाएका थिए । गभर्नरमा नियुक्त भएपछि डा नेपालले आफूले प्रधानमन्त्रीको सल्लाहकार पदबाट राजीनामा नगरेको बताउँथे । त्यसअघि उनी तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको सल्लाहकार पनि भए । त्यतिबेला पनि प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रिपरिषद्ले डा नेपाललाई राज्यमन्त्री सरहको सुविधामा दिएर नियुक्ती गरेको थियो । माधवकुमार नेपालको सरकार ढल्नुभन्दा केही दिन अघि डा नेपाललेले राजीनामा दिए । त्यसको सहस्य त्यतिवेला खुलेको थिएन । अख्तियारको दुरुपयोग गरी विवादमा परेपछि उनले राजीनामा गरेको तथ्य यतिबेला खुलेको छ । त्यतिबेला डा नेपालले एमआरपी छपाई प्रकरणमा सुजाता कोइरालासँग मतभेद भएकोले राजीनामा गरेको बताएका थिए । खासमा डा नेपालले अधिकारको दुरुपयोग गर्दै जापान पठाइएका दुई नेपाली नागरिकले जापान गएर शरणार्थीको मान्यता दिन जापान सरकारसँग आवेदन गरेपछि डा नेपाल विवादमा तानिएपछि राजीनमा गरेको तथ्य खुलेको छ । स्रोतका अनुसार हुम्ला जिल्लाको छिमी लामा र सिन्दुपाल्चोक जिल्लाका एक जनालाई जापानको भिषा दिलाउन डा नेपालले सिफारिस गरेका थिए । ती व्यक्तिहरुले जापान पुगेपछि आफूहरुलाई शरणार्थीको मान्यता दिन माग गर्दै जापान सरकारलाई आवेदन गरे । परराष्ट्र मन्त्रालयको सिफारिसमा जापान पुगेका नेपालीले शरणार्थीको लागि आवेदन गरेपछि जापानले यसलाई गम्भिर रुपमा लियो । तत्काल नेपालस्थित जापानी राजदूतले डा नेपालले गरेको सिफारिसको प्रतिलिपिसहित परराष्ट्र मन्त्रालयलाई पत्र लेख्यो र बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई बुझायो । पत्रमा घट्ना विवरण पुरै उल्लेख गर्दै परराष्ट्र मन्त्रीका सल्लाकार डा नेपालसँग कार्यकारीणि अधिकार भए नभएको प्रश्न गरियो । साथै यस्ता घट्नाले नेपाल सरकारको सिफारिस भएका व्यक्तिलाई जापानको भिषा दिन अप्ठ्यारो पर्ने र दुई देशबीचको सम्बन्धमा असर पर्ने उल्लेख गरिएको थियो । जापानी दूताबासले उक्त पत्र लेख्नु पहिले परराष्ट्र मन्त्री कोइरालाको सहयोगि भरत सापकोटाले जापान पठाईदिने र काम मिलाई दिने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ उठाएको विषयमा विवाद भएको थियो । उक्त विवाद सार्वजनिक भएपछि कोइरालाले सापकोटालाई पदमुक्त गरेकी थिइन् । उक्त पृष्ठभूमिका जापानी दूतबासले परराष्ट्र मन्त्रालयलाई प्रष्टीकरण सोध्दै पत्र काटेपछि यसलाई प्रधानमन्त्रीको कार्यालयले गम्भिर रुपमा लियो । प्रधानमन्त्री नेपालले परराष्ट्र मन्त्रालयका तत्कालिन सचिव डा मदन भट्टराईलाई बोलाए । सचिव भट्टराईले दुई व्यक्तिलाई सिफारिस दिनु गल्ती भएको र उक्त सिफारिस गर्ने अधिकार सल्लाकार डा नेपाललाई नभएको प्रष्टीकरण दिए । लगत्तै प्रधानमन्त्री नेपालले परराष्ट्र मन्त्री सुजाता कोइराला र सल्लाहकार डा चिरञ्जीवि नेपाललाई बोलाए र तीन जनासँग सामूहिक रुपमा प्रष्टीकरण मागे । डा नेपालले सचिव भट्टराईको निर्देशनमा आफूले सिफारिस गरेको दावी गरे । सचिव भट्टराईले उनीहरुलाई सिफारिस गर्न मन्त्री कोइरालाले आफूलाई भनेको तर मिल्दैन भनेर सिफारिस नगरेको बताए । डा भट्टराई र डा नेपालबीच प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री कोइरालाबीच वादविवाद भयो । विवाद चुलिएपछि प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच डा नेपाललाई राजीनमा गराउने सहमति बन्यो । सोही आधारमा डा नेपालले राजीनामा दिएका थिए ।
हिमालयन डिष्टिलरी मिलोमत्तोमा डुवाईदै, साधारण सेयरधनीलाई बन्धक बनाइयो
काठमाडौं, २८ माघ । हिमालयन डिष्टिलरी लिमिटेडका प्रवद्र्धकहरुले नियतबस कम्पनी डुवाउन लागेको छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नोक्सान खाएको छ । सेयर पुँजी ३८ करोड ५६ रुपैयाँ रहेको यो कम्पनीको नेटवर्थ ऋणात्मक भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १०० रुपैयाँ मूल्य अंकित सेयरको नेटवर्थ ८६ रुपैयाँमा झरेको छ । लगानीकर्ताले प्रतिसेयर १३ रुपैयाँ ६९ पैसा नोक्सानी बेहोरेका छन् । हिमालयन डिष्टिलरी मदिरा उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीका प्रवद्धकले सञ्चालन गरेको निजी कम्पनीहरु उच्च नाफामा हुनु र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी नोक्सानमा जानुले कम्पनीका प्रवद्र्धकहरुले नियतबस कम्पनी ढुबाउन लागेको स्रोतको दावी छ । कम्पनीले बनायो सेयरधनीलाई बन्धक हिमालय डिष्टिलरीेले साधारण सेयरधनीलाई बन्धक बनाएको छ । कम्पनी घाटामा गए पनि सेयरधनीले सेयर बेचेर थप क्षति हुनबाट आफूलाई जोगाउन पाएका छैनन् । केही महिनाअघि कम्पनीको सेयर प्रतिकित्ता ७५४ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीका प्रवद्र्धकहरु नै कम्पनी ढुवाउने खेलमा लागेको चालपाएका सेयरधनीले घाटा खाएर भटाभट सेयर बेचेका थिए । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४९५ रुपैयाँमा झरेको छ । कम्पनीले आफ्नो सेयर डिम्याट नगरेका कारण माघ १ गतेदेखि यस कम्पनीको सेयर कारोबार भएको छैन । निरन्तर सेयर मूल्य घटेको समयमा नोक्सानीमा गएकोले यस कम्पनीको व्यवस्थाप पक्षले सेयर डिम्याट गर्न चाहेको छैन । स्रोतका अनुसार सेयर डिम्याट गर्ने प्रक्रिया शुरु भए पनि यसलाई अगाडि बढाउने कम्पनीले चाहेको छैन । सिडिएस एण्ड क्लियरिङ कम्पनीले २०७० साल साउनदेखि सेयर डिम्याट गर्न आह्वान गर्दै आए पनि यो कम्पनीले अटेर गर्दै आएको छ । यस कम्पनीले प्रवद्र्धक सेयरधनीको नाम समेत गुपचुप राखेको छ । कम्पनी कानुनअनुसार शुन्य दशमलव ५ प्रतिशत भन्दा बढी सेयर स्वमित्व धारण गर्नेहरुको नाम कम्पनीको वार्षिक प्रतिवेदनमा सार्वजनिक गुर्न पर्नेमा हिमालयन डिष्टिलरीले प्रवद्र्धकहरुको नाम लुकाएर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । खासमा यस कम्पनीमा विजयबहादुर शाह, उनका श्रीमती मारग्रेट टिजे शाह, छोरा राजबाहदुर शाह, कम्पनी खोल्ने क्रममा उद्योग विभागमा बसेर कम्पनीमा साझेदारी लिएका नरेन्द्र कुमार बस्नेत, अखिलेश्वर प्रसाद सिंह, विनोद श्रेष्ठ देखिएका मुख्य लगानीकर्ता हुन् ।
किन यति धेरै बढिरहे छ बीमाको सेयरमा आकर्षण ? कहिलेसम्म बढ्छ बजार ?
काठमाडौं, २८ माघ । सब इन्डिकेटरमा अन्य समुहलाई छोडेर साढे ५ हजार नाघिसकेको बीमा समुहको सयर दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । गत सोमबार पूजी बजारमा भएको अन्तिम कारोवारको दिन बीमा समुह परिसुचक ५ हजार ५ सय ६३ दशमलब ४३ अंकमा पुगेको छ । सो दिन पूजी बजार परिसुचक नेप्से १ हजार २ सय ६४ दशमलब ३३ अंकमा पुगेको थियो । नेपाल स्टक एक्सचेन्जमा २ सय भन्दा बढी कम्पनी सुचिकृत छन् । एक्सचेन्जमा सुचिकृत कम्पनीको संख्या २ दर्जन पनि छैन । बीमा समुहको सेयरमा यति धेरै आकर्षण देखिनुमा प्रमुख ४ कारण रहेको सेयर लगानीकर्ता तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कमलेशकुमार अग्रवाल बताउछन् । बीमा क्षेत्रलाई नियम गर्नको लागि नयाँ बीमा ऐनको मस्यौदा तयार भएको छ । सो मस्यौदामा जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूजी २ अर्ब रुपैयाँभन्दा बढी र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको चुक्ता पूजी १ अर्ब रुपैयाँ भन्दा बढी हुने प्रश्ताव मस्यौदामा गरिएको छ । अहिले जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी ५० करोड र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी २५ करोड रुपैयाँ हुनुपर्ने ब्यवस्था छ । प्रश्तावित ऐनको मस्यौदामा कम्तिमा पनि अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धिको प्रश्ताव गरिएको लगानीकर्ताको आकर्षण बढेको अग्रवालले बताए । ‘पूजी बृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्छन्, अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धि गर्ने हो भने एक बराबर चारको दरमा हकप्रद पाइने सम्भावना भएकोले लगानीकर्ताको आकर्षण बढेको हो,’ अग्रवालले भने । अन्य क्षत्रमा भन्दा बीमा क्षेत्रमा बढी डिभिडेन्ड पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । ‘म आफै संचालक रहेको नेपाल लाइफले विगत २ बर्षदेखि निरन्तर प्रत्येक बर्ष ६० प्रतिशतका दरले बोनस सेयर दिइरहेको छ, अन्य कम्पनीहरुले पनि बोनस सेयरलाई प्राथमिकतामा राखेका कारण लगानीकर्ता आकर्षित भएका हुन्’ अग्रवालको विश्लेषण छ । तेस्रो कारणमा उनले बीमा ब्यवसायको बजार विस्तार भएकोलाई लिए । ‘भूकम्पको कारणले बीमा ब्यबसायको बजार विस्तार भयो, बजार विस्तार हुदा कारोवार बढ्ने र नाफा बृद्धि हुने अनुमानमा लगानीकर्ताले बढी विश्वास गरेका हुन सक्छन्,’ अग्रवालको भनाइ छ । चौथो कारणमा अहिले विजनेस साइकल नै बीमाको सेयरमा आइपुगेको उनको विश्लेषण छ । लगानीकर्ताले कुनै समय बैंकिङ, कुनै समय जलविद्युत, कुनै समय होटल, कुनै समय अन्य उत्पादनशील क्षेत्रमा जस्तै कुनै समय बीमा क्षेत्रमा बढी लगानी केन्द्रीत गर्ने गरेको उनको अनुभव छ । अहिले सर्वसाधारणले बढी विश्वास बीमा क्षेत्रलाई गरेका कारण लगानी बढेर सेयर मूल्य बृद्धि भएको अग्रवालले बताए । अझै केही समयमा बीमा समुहको परिसुचक बृद्धि नै हुने उनको अनुमान छ । बीमा समितिले तोके अनुसारको पूजी नपुर्याउदासम्म कम्पनीहरुले नगद लाभांश बाढ्न नपाउने निर्देशन समितिले दिइसकेको छ । बोनस सेयर प्रदान गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण बढी हुने देखाएको छ । तर समितिले नयाँ बीमा कम्पनीको अनुमति दिएको अवस्थामा बीमाको सेयर मूल्य कम हुन सक्ने अग्रवालले बताए । समितिले नयाँ कम्पनीको लागि अनुमति नदिए पनि केही कम्पनीले अनुमतिको लागि निवेदन दिइसकेका छन् । गत सोमवार भएको कारोवारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ३ सय ६०, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९ सय ९०, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ४०, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ सय ७० र लाइफ इन्स्योरेन्स कम्पनीको ३ हजार ५ सय रुपैयाँ प्रतिकित्ताका दरमा सेयर कारोवार भएको थियो । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६ सय ८०, नेसन लाइफ इन्स्योरेन्सको २ हजार ६ सय ४५, नेको इन्स्योरेन्स कम्पनीको ९ सय ८७, नेपाल इन्स्योरेन्सको ६ सय ८०, नेपाल लाइफको ३ हजार २ सय ३५, एनएलजी इन्स्योरेन्सको ९ सय ६० र प्रिमियर इन्स्योरेन्स कम्पनीको १ हजार १ सय २८ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार सो दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ६ सय ४०, प्रुडेन्सियल इन्स्योरेन्सको ७ सय ७५, सगरमाथा इन्स्योरेन्सको १ हजार १ सय ३५, शिखर इन्स्योरेन्सको १ हजार ७ सय ५, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १ हजार १ सय ९० र सूर्या लाइफ इन्स्योरेन्सको ७ सय ९१ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ ।
पूर्वाधार विकास कम्पनीद्धारा अध्यक्ष जोशीको राजीनामा स्विकृत, भवन भट्ट नयाँ अध्यक्ष
काठमाडौं, २८ माघ । काठमाडौं–कुलेखानी–हेटौडाँ जोड्ने सुरुङ मार्ग बनाउन भन्दै स्थापना गरिएको नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीको राजीनामा स्विकृत भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा सर्वसम्मतिले स्विकृत गरेको हो । जोशीको राजीनामा स्विकृत गर्दै बैठकले गैर आवासिय नेपाली संघ(एनआरएन)का उपाध्यक्ष भवन भट्टलाई अध्यक्ष चयन गरेको छ । कम्पनीमा सबै भन्दा धेरै लगानी गरेका भट्टलाई अध्यक्ष चयन गरिएको सञ्चालक सुवासचन्द्र ठकुरीले विकासन्युजलाई जानकारी दिए । भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गरेर १० करोड लगानी गरिसकेका छन् । अध्यक्ष जोशी र उपाध्यक्ष लाल केसी पक्षका बिचमा विवाद उत्पन्न भएपछि जोशीले राजीनामा दिएका थिए । जोशीलाई अध्यक्षबाट हटाउन संघर्ष समिति नै गठन गरि आन्दोलन हुँदै आएको थियो । जोशीले काम नगरेको, आर्थिक अनियमितता गरेको, लगानी जुटाउन यथोचित पहल नगरेको आरोप उनीहरुको थियो । भट्टले नेपालमा होटल, ट्राभल, एयरलाईन्स बु्रअरी, शिक्षा तथा मिडिया क्षेत्रमा लगानी गरेका भट्टको जापानमा १३० वटा भन्दा बढि रेष्टुरेण्ट, रिसोर्ट तथा विभिन्न व्यापार ब्यवसाय रहेको छ । जापान बाहेक बेल्जीयममा दुईवटा होटल साथै अमेरिका, अष्ट्रेलीया, सिंगापुर, भारत, चाईना लगाएत विश्वका विभिन्न राष्ट्रहरुमा व्यापार व्यवसाय फैलाएका छन् ।
आफ्नै अध्ययन लत्याउँदै ब्रोकर कमिसनबारे बोर्डको नयाँ प्रस्ताव, साना लगानी कर्ता मारमा
काठमाडौं, २८ माघ । नेपाल धितो पत्र बोर्डले साना लगानी कर्तालाई मार पर्ने गरि ब्रोकर कमिसनबारे नयाँ अवधारणा अघि बढाएको छ । बोर्डले अधिकतम ब्रोकर कमिसन एक प्रतिशत रहने पुरानै व्यवस्थालाई निरन्तरता दिँदै त्यो भन्दा तलको कमिसन शुल्क ब्रोकर र लगानी कर्ताको समझदारीमा हुने व्यवस्था प्रस्ताव गरेको हो । करिब ९ महिना अघि अर्थमन्त्रालय पुगेको सो प्रस्तावले साना लगानी कर्ता प्रत्यक्ष मारमा पर्ने देखिन्छ । यस अघि अधिकतम ब्रोकर कमिसन एक प्रतिशत नै थियो भने त्यो भन्दा तल कारोबारका हिसाबले शुल्क निर्धारण गरिएको थियो । बोर्डले प्रस्ताव गरेको ब्रोकर कमिसन बोर्डकै अध्ययन प्रतिवेदन भन्दा फरक छ । बोर्डको योजना तथा विकास विभागले २०६८ जेठ २४ गते तयार पारेको अध्ययन प्रतिवेदनले ब्रोकर कमिसन अधिकतम शुन्य दशमलब ७ प्रतिशत कायम गर्नु पर्ने निष्कर्ष निकालेको थियो । सो भन्दा तल भने लगानी कर्ता र ब्रोकरको आपसी समझदारीमा शुल्क निर्धारण गर्नु पर्ने सुझाव प्रतिवेदनले दिएको थियो । अध्ययन प्रतिवेदन तयार भएको करिब ४ बर्षपछि ब्रोकर कमिसन घटाउने प्रक्रियामा लागेको बोर्डले प्रतिवेदनको मर्मलाई भने आत्मसाथ गरेको देखिन्न । बोर्डका निर्देशक निरज गिरीले भने– ‘ब्रोकर कमिसनलाई अधिकतम एक प्रतिशत नै कायम गरेर सो भन्दा तल ब्रोकर र लगानी कर्ताको समझदारीमा हुने व्यवस्था गरेका छौं, सो सम्बन्धी प्रस्ताव ९ महिना अघि नै अर्थमन्त्रालयमा पठाएका हौं, अहिले छलफल भैरहेको छ ।’ अध्ययन प्रतिवेदनले ब्रोकर कमिसन, धितोपत्र बोर्ड शुल्क र सिडिएसको शुल्क समेत समावेश हुनेगरि अधिकतम शुन्य दशमलब ७० प्रतिशत कायम हुनु पर्ने भनेको थियो । तर पनि ब्रोकर शुल्क शुन्य दशमलब ७० देखि एक प्रतिशतसम्म असुलिँदै आएको छ । ५० हजार भन्दा कम रकमको कारोबारमा एक प्रतिशत ब्रोकर कमिसन लाग्ने व्यवस्था धितो पत्र व्यवसायी(धितो पत्र दलाल, धितो पत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ ले गरेको हो । सोही नियमावलीमै ‘जे लेखिएको भएतापनि धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क २५ रुपैयाँ भन्दा कम हुनेछैन’ भनिएको छ । यसबाट एक हजारको सेयर कारोबार गर्दा २५ रुपैंयाँ ब्रोकरलाई कमिसन तिर्नु पर्छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले उचित नियमन गर्न नसकिए ब्रोकर कमिसन सम्बन्धी नयाँ प्रस्तावले झन समस्या पार्ने बताए । उनले भने–‘ब्रोकर र लगानी कर्ताबिचको मिलेमतो रोक्ने उपाय खोजिनु पर्छ, नत्र नेप्सेको आम्दानी र राजश्व समेत गुम्छ ।’ ब्रोकर र लगानी कर्ताको मिलेमतोमा नेप्से शुल्क तथा राजश्व चुहावट हुन सक्ने तर्फ उनले सचेत गराए । हाल ब्रोकरको आम्दानीको २५ प्रतिशत नेप्सेले पाउँदै आएको छ ।
मर्जपछि प्रभु बैंकको वित्तीय अवस्था, करिव ६ अर्ब पुँजी, ५५ अर्बको व्यापार, ५५ करोड नाफा
काठमाडौं, २७ माघ । प्रभु बैंक र ग्राण्ड बैंकबीच सम्पन्न भई शुक्रबारदेखि एकिकृत कारोबार हुँदै छ । एकिकृत कारोबार सञ्चालन गरेपछि यो बैंक ठूला र पुराना बैंकसँग प्रतिस्प्रर्धामा उक्लने छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ हुनेछ । बैंकको विजनेशन ५५ अर्ब भन्दा माथि पुग्ने छ । शाखा संख्या १३४ वटा हुने छ । शाखा संख्याको आधारमा निजी क्षेत्रको सबैभन्दा धेरै शाखा भएको बैंक हुनेछ । मर्ज पूर्व दुबै बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण छुट्टाछुट्टै सार्वजनिक गरेका छन् । दुबै संंस्थाको वित्तीय विवरण जोड्दा निक्षेप ५४ अर्ब ४१ करोड रुपैयाँ हुन्छ । लगानी तथा कर्जा सापटी ४९ अर्ब ३१ करोड रुपैयाँ हुन्छ । त्यसमा कर्जा सापटी ४० अर्ब १३ करोड रुपैयाँ छ भने लगानी ९ अर्ब १८ करोड रुपैयाँ छ । अन्तिम अवस्थामा ग्राण्ड बैंक १२ करोड ८३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहँदा पनि दुई संस्था मर्जपछि पुस मसान्तसम्ममा ५५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुबै बैंकको जगेडा तथा संचित कोषको जोड ४३ करोड ८७ लाख रुपैयाँ ऋणात्मक छ । दुई बैंकको स्थिर सम्पत्ति २ अर्ब ११ करोड रुपैयाँ भन्दा बढी छ । प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात ५ दशमलव ५३ प्रतिशत छ भने ग्राण्ड बैंकको निष्क्रिय कर्जा ३४ दशमलव ५३ प्रतिशत छ ।
कोइरालालाई उपचार गर्न किन अस्पतालमा लगिएन ?
टिप्पणी/विकासन्युज काठमाडौं, २६ माघ । समाजको विकाससँगै मान्छेको जन्म र मृत्यु अस्पतालमा हुन थालेको छ । सामान्य नागरिक पनि बिरामी पर्दा अस्पताल लगिन्छ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राती आफ्नै ओछ्यानमा निधन भयो । उनी देशको सबैभन्दा ठूलो पार्टीको सभापति मात्रै होइनन्, निवर्तमान प्रधानमन्त्री हुन्, प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन् । ज्वरो र निमोनियाका विरामी कोइरालाले उपचारको लागि अस्पताल पुग्ने समय पनि पाएनन् । उनी विरामी पर्दा किन अस्पताल लगिएन ? सार्वजनिक भएको विवरण अनुसार ज्वरो र निमोनियाको कारण उनको निधन भयो । कोइरालाका निजी चिकित्सक करबीरनाथ योगीले निमोनियाको कारण ‘टाइप टु रेस्पिरेटरी फेलियर’को कारण कोइरालाको निधन भएको सार्वजनिक गरेका छन् । योगीले सार्वजनिक रुपमा यो पनि बताएका छन् कि पहिला उनलाई अस्पताल लैजाने बारेमा सोचिएन । स्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्स बोलाइयो । तर उनलाई उपचार गर्न अस्पतालसम्म पुर्याउनै भ्याइएन । संयोग अर्काे पनि छ । सोमवार नेपाली काँग्रेसको काठमाडौं जिल्ला अधिबेशन थियो । सो अधिबेशनको प्रमुख अतिथि सभापति कोइराला नै थिए । उनले नै कार्यक्रम उद्घाटन गर्ने भनेर प्रचार प्रसार गरिएको थियो । अधिबेशन प्रचारको लागि टाँगिएका तुल व्यानरमा कोइरालाको फोटो राखेर उनी प्रमुख अतिथि हुने भनिएको पनि थियो । सोमवार आफ्नै पार्टीको अधिबेशनमा प्रमुख अतिथि राखिएका व्यक्ति आउनै नसक्ने गरी विरामी पर्दा काँग्रेसजनले त्यसको खोजी किन गरेनन् ? जिब्रोको क्यान्सरका बिरामीकोइराला क्यान्सरबाट पूर्ण रुपमा निको भएको बताइएको थियो । क्यान्सर रोग विजेता भनेर कोइराला बिदेशी समाचारहरुमा पनि छाए । उनले पनि आफू पूर्णरुपमा स्वस्थ भएको बताउने गरेका थिए । क्यान्सर जस्तो रोगसँग लड्न सक्ने कोइराला ज्वरोको कारण किन सुतेकै ठाउमा लगभग बेखबर मरे ? हो, औषधि विज्ञानले पनि मान्छे बचाउन सक्दैन । मान्छेको मृत्यू अवश्यम्भावी छ । यो शास्वत सत्य हो । तर ६० वर्षभन्दा लामो राजनीतिक जीबन बिताएका, ६४ वर्षदेखिको संविधानसभाबाट संविधान बनाउने नेपाली सपना पूरा गर्ने समय सरकारको नेतृत्व गरेका, देशको सबैभन्दा ठूलो राजनीतिक दलको सभापति, निवर्तमान प्रधानमन्त्री, संसदमा प्रमुख विपक्षी दलको नेतालाई उपचारको लागि अस्पताल पुर्याउन किन भ्याइएन ? सामान्य परिवारमा कोही व्यक्ति ज्वरोको कारण थलियो र निमोनियासमेत भैसक्ने अवस्था आयो भने किन अस्पताल नलगेको भनेर छिमेकीले प्रश्न गर्छन् । कोइरालाको मृत्यु हृदयघात, मस्तिस्कघात, दुर्घटना वा यस्तै अन्य कुनै आकस्मिक कारणले भएको होइन । ज्वरोको कारण निमोनिया भएर मर्ने अवस्था आउदा अस्पताल गएर उपचार गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो कि होइन ? कोइलाले यो हक किन पाएनन् ? आफ्नै सभापतिको उपचार गर्न सक्रियता काँग्रेसले किन नदेखाएको ? निबर्तमान प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताको उपचार गर्नुपर्ने दायित्व सरकारको हो कि होइन ? हो भने सरकार आफ्नो दायित्वबाट किन च्यूत भएको ? कोइरालाको मृत्यु कुनै सामन्ती शासकको मृत्यु जस्तै भयो । उनी विरामी परेको र स्वास्थ्य अवस्था खराब रहेको सत्य कसैले पनि बाहिर ल्याउन । उनी ज्वरो र निमोनियाको कारण मृत्यूसँग लडिरहेका छन् भन्ने जानकारी नागरिकले पाएनन् । जो पारदर्शीताको लागि जीबनभर लडिरहे, उनकै मृत्यू अप्रत्यासित र अपारदर्शी भयो । उनलाई ज्वरो र निमोनियाले थला पारेको र स्वास्थ्य अवस्था कमजोर रहेको तथ्य किन लुकाइयो ? यसको जिम्मेवारी कसैले लिनु पर्दैन ? भाग्यवादमा विश्वास गर्ने हो भने उनको लेखान्त त्यति नै थियो । मात्र ग्लानी के हुनुपर्छ भने जीवनको अन्तिम क्षणमा उनले उपचार पाएनन् । यसमा कमजोरी भएको छ । मुलुकले एउटा सादगी नेता गुमाएको छ । कोइरालाको आत्माको चीर शान्तिको कामना ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् । ७६ वर्षिय कोइराला केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । सोमबार कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका कारण उनी जान सकेनन् । कोइरालाको पार्थिव शरीरलार्इ उनकै निवासमा राखिएको छ । विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुग्नुभएको थियो । महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।