इन्धन मात्रै होइन नेपालले मागेको सबै सहयोग गर्छाैः चीन
काठमाडौं, २९ असोज । चीन सरकारले नेपालले आवश्यक ठानेका सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुय चुनियाङले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा नेपाल सरकारले मागेका हरेक खाले सयोग गर्न चीन सरकार तयार रहेको बताएकी हुन् । रसुवास्थित केरुङ नाका सञ्चालनमा आएको र सो नाकाबाट चीन सरकारले नेपाललाई सहयोगस्वरुप केहि ट्रक खाद्यान्न उपलब्ध गराएको उनले बताइन् । नेपालले चाहे इन्धन लगायतका सबै बस्तु उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरेकी थिईन् । पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो– भूकम्पले अवरुद्ध गरेको केहि समयपछि नेपाल र चीनबिचको जिलुङ नाका पुनः सञ्चालनमा आएको छ, के चिनियाँ पक्षले नेपालमा पनि पठाउँछ ? हुय चुलियाङको जवाफ थियो–गत अप्रिल अर्थात बैशाख १२ गतेको भूकम्पपछि अवरुद्ध बनेको नेपाल चीनको जिलुङ नाका पुनः सञ्चालनमा आएको छ । बिहिबार बिहान हामीले केहि खाद्यान्न नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका छौं । नेपालले आवश्यकता ठानेको सबै क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार छ ।
भदौ महिनामा मात्रै सरकारले बाढ्यो साढे ४ करोड आर्थिक सहायता, यी हुन पैसा पाउने भाग्यमानीहरु ?
काठमाडौं, २९ भदौ । सरकारले गत भदौ महिनामा मात्रै साढे ४ करोड रुपैयाँ विभिन्न ब्यक्तिहरुलाई आर्थिक सहायाता वितरण गरेको छ । यस्तो रकम मन्त्रिपरिषदको निर्णयका आधारमा औषधि उपचार र राष्ट्रिय जिबनका महत्वपूर्ण ब्यक्तिलाई आर्थिक सहयोग गरिएको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार भदौ महिनामा ४ करोड ४५ लाख ४२ हजार रुपैयाँ यसरी वितरण गरिएको छ । भदौ महिनामा रकम वितरण गरिएको भए पनि अधिकांश निर्णय असार र साउन महिनामा भएको थियो । साउनयता मन्त्रिपरिषदले निर्णय गरेर कति रकम बाढ्यो भन्ने अझै खुल्न सकेको छैन । उपचारको लागि दिइने रकमको निर्देशिकामा रकम उपलब्ध गराउने ब्यक्तिको हातमा नदिइ मेडिकल परिषदको सिफारिसको आधारमा स्वास्थ्य मन्त्रालय मार्फत सम्बन्धित अस्पताललाई भुक्तानी दिने ब्यवस्था भएपनि सरकारले पहुचका आधारमा रकम वितरण गर्दै आएको छ । राज्यकोषवाट रकम पाउने भाग्यमानीहरुको विवरण १. अमरगढी नगरपालिका ३ डडेल्धुरा निवासी श्याम बहादुर शाउदको नाममा रहेको ना १ त ८१२२ नम्बरको ट्याक्टर द्धन्द कालमा क्षति भइ क्षतिपूर्ति वापत रु १,६२,९०१ । २. बझाङ जिल्लाका प्रकाश बहादुर स्याडाको सवारी साधन क्ष्तिको क्षतिपूर्ति वापतको रकम रु १,३३,६५० । ३. प्रधानमन्त्रत्री सुशील कोइरालाको उपचार खर्च वापत रु ४०,९९७ । ४. बेल्डागी २ कन्चनपूर बस्ने झुवान डगौरा चौधरी (थारु) लाई राष्ट्रिय मानब अधिकार आयोग ऐन अनुसार क्षतिपूर्ति प्रदान गर्न रु १,००,००० । ५. मन्त्रिपरिषदको गत साउन २८ को निर्णय अनुसार प्युठान नगरपालिका ६ का ध्रुब गौतमकी छोरी प्रणबी गौतमको उपचारको लागि रु २५ लाख । ६. दोस्रो संविधानसभा निर्वाचनको क्रममा २०७० मंसिर २ गते चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार नारायाण दाहालको सवारी साधन तोडफोड भएकोले क्षतिपूर्ति वापत रु १,४२,४५० । ७. मंन्त्रिपरिषदको गत असार १४ को निर्णय अनुसार पूर्वसांसद एकनाथ रानाभाटलाई उपचार खर्च रु ५,७८,५६६ । ८. मन्त्रिपरिषदको गत साउन २८ को निर्णय बमोजिम संलग्न लिष्ट बमोजिमका ब्यक्तिहरुलाई आर्थिक सहायता दिन रु १,५२,६०,७१० । ९. मन्त्रिपरिषदको गत असार २१ को निर्णय अनुसार लोकसेवा आयोग अन्तरगत कार्यरत रहेकै अवस्थामा बेपत्ता भएका उपसचिव नबराज चौलागाईको परिवारको भरणपोषणको लागि आर्थिक सहायता रु १० लाख । १०. मन्त्रिपरिषदको गन साउन २८ को निर्णय अनुसार बलेटक्सार ५ गुल्मीका पोष्टराज पौडेललाई आर्थिक सहायता रु ५ लाख । ११. प्रधानमन्त्रीको औषधि उपचारको लागि रु २१,६०६ । १२. मन्त्रिपरिषदको गत साउन २८ को निर्णय अनुसार राजी राउत भन्ने राजेन्द्र कुमार राउत र हरि बहादुर कुवरलाई जनही रु १० लाखका दरले र सुनिल यादब र चिन्कु चौधरीलाई जनही रु ५ लाखका दरले जम्मा रु ३० लाख । १३. मन्त्रिपरिषदको गत असार १४ को निर्णय अनुसार राष्ट्रिय जिबनमा महत्वपूर्ण ब्यक्ति तथा विपन्न नागरिक ३४१ जनालाई आर्थिक सहायता दिन रु २,०८,५०,००० । १४. गुणराज पोखरेलको सवारी साधनको क्षतिपूर्ति वापत रु २,५२,०१३ ।
सरकारी कर्मचारीलाई अनिवार्य साईकल, विद्युतिय सवारी गरिद गर्दा १० प्रतिशत मात्र भन्सार
काठमाडौँ, २८ असोज । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले हालको इन्धन आपूर्तिमा देखिएको समस्याको तत्काल समाधान र दीर्घकालीन रुपमा इन्धन आपूर्तिलाई सहजीकरण गर्न प्रस्ताव तयार गरेको छ । मन्त्रालयले इन्धन समस्या समाधान गर्न प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइसकेको बताएको छ । मन्त्रालयले उपत्यकाका कर्मचारीलाई साइकलमा आउने जाने व्यवस्था गर्न र साइकलमा अनुदान तथा सहयोग गर्न सुझाव पेस गरेको छ । ट्राफिक प्रहरीले साइकल यात्रीलाई प्राथमिकता दिनुपर्ने, चालु आवमा किन्ने सरकारी गाडी सबै विद्युतीय गाडी नै किन्नुपर्ने र मोटरसाइकलको सट्टा साइकल किन्ने प्रस्ताव गरेको मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बताए । मन्त्रालयले विद्युतीय गाडी आयात गर्दा भन्सार दर घटाई १० प्रतिशत कायम गर्नुपर्ने, विद्युतीय गाडी चार्ज गर्ने सामानको आयातमा भन्सार छुट, सहरी क्षेत्रमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि प्रोत्साहन गर्नुपर्ने प्रस्ताव गरेको छ । हाल विद्युतीय सवारीमा र अन्य सवारीमा लाग्ने भन्सार दर समान रहेको छ । खाना पकाउने ग्यासको सट्टा बायोग्यास र ब्रिकेट उत्पादनमा जोड दिनुपर्ने, कुखुराको सुली तथा सुरक्षाकर्मीका ब्यारेकमा मलमूत्रको उपयोग गरी बायोग्यासको उत्पादन गरी खाना पकाउनुपर्ने व्यवस्था अनिवार्य गर्न मन्त्रालयले प्रस्ताव गरेको सचिव डा पौडेलले जानकारी दिए । मन्त्रालयले सडक बत्तीका लागि सौर्य ऊर्जाको प्रयोगमा जोड दिनुका साथै विमानस्थल तथा अन्य खाली स्थानमा सौर्य उर्जा जडान गरी ऊर्जा उत्पादन गर्नुपर्ने सुझाव पेस गरेको छ । सार्वजनिक सवारीका लागि उपयुक्त खालका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रोत्साहन गर्नुपर्ने भन्दै मन्त्रालयले सरकारी भवनमा विद्युतीय कम खपत हुने उपकरण जडान गर्न र ऊर्जा खपतमा मितव्ययिता अपनाउन जोड दिएको छ । मन्त्रालयले प्रदूषण गरेबापत सवारी साधनले बुझाउने रकम नवीकरणीय ऊर्जा उत्पादनमा लगानी गर्नुपर्ने र सार्वजनिक अस्पताल, सुरक्षा निकाय, सरकारी कार्यालय आदिमा नवीकरणीय ऊर्जाको व्यवस्था गर्नुपर्ने प्रस्ताव पेस गरेको छ । रासस
छतको यात्रा जिवन खतरा (फोटो फिचरसहित)…………
काठमाडौं, २८ असोज । भारतले अघोषित नाका बन्दीगरेपछि राजधानीसहित देशभरको जिवन कष्टकर बनिरहेको छ । चुलोमा ग्यास बल्न छाडेको छ भने अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव हुन थालिसकेको छ । इन्धनको अभावमा सडकमा सवारी साधनको संख्या ह्वात्तै घटेको मात्रै छैन क्रमशः नगन्य बन्दै गएको छ । दशैंमा गाउँ जान गाडी नपाउने र राजधानीमै बस्दा खाना खान नपाउने दर्दनाक अवस्थमा सर्वसाधारणको दैनिकी पुगिसकेको छ ।राजधानीका लोकल रुटहरुमै पनि सार्वजनिक सवारी साधन नगन्य मात्रामा मात्रै सञ्चालनमा छन् । निजी सवारी साधनले इन्धन पाउन छाडेको त झन हप्तौं भैसक्यो । मंगलबार निजी सवारी साधनलाई इन्धन दिने भनेर आव्हान गरिएपनि ६० प्रतिशत भन्दा बढिले इन्धन पाएनन् । छतको यात्रा जिवन खतरा भन्ने ट्राफिक प्रहरीकै अगाडीबाट छतभरी यात्रु राखेर गाडी गुडाउनु पर्ने अवस्था आएको छ । सर्वसाधारणले छतमै बसेर यात्रा गर्छु भन्दा पनि सम्भव नहुने अवस्था बनिसकेको छ । नेपाल आयल निगमले ग्लोबल टेण्डर मार्फत इन्धन ल्याउने भनेपनि भारतले नाका बन्दी खुलाउँछ की भनेर पर्खिरहेको छ । दरखास्त बुझेको एक हप्ता हुँदा समेत निगमले अझै कुन कम्पनीलाई इन्धन आपुर्तिको जिम्मा दिने भन्ने टुंगो लगाएका छैन् । निगमका निर्देशक सुशिल भट्टराईले एक दुई दिन भित्रै इन्धन ल्याउने कम्पनीको छिनोफानो गर्ने बताएका छन् । तर लगनपछिको पोते भने झै दसैंले छोपीसकेपछि वा भारतले इन्धन दिन थालिसकेपछि दिईने अनुमतिले कुनै अर्थ राख्दैन् ।
बिहिबार साढे दुई लाख लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल बाँढिदै
काठमाडौं, २८ असोज । नेपाल आयल निगमले बिहिबार थानकोट डिपोबाट दुई लाख ६७ हजार चार सय लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले थानकोट ठिपोबाट ६० वटा पम्पलाई डिजेल र ८ वटा पम्पलाई पेट्रोल उपलब्ध गराएको हो । निगमले डिजेल क्रमशः तीन हजार लिटर, चार हजार लिटर, ६ हजार, नौ हजार देखि १२ हजार लिटर र २० हजार लिटरका दरले पम्पहरुलाई उपलब्ध गराएको छ । १४ पम्पले ती हजार लिटर, २९ वटाले चार हजार, १३ वटाले ६ हजार र एउटा पम्पले ९ हजार तथा अर्काेले १२ हजार र अर्काे एउटाले २० हजार लिटर डिजेल पाएका छन् । निगमले ८ वटा पम्पलाई तीन हजार, चार हजार र ६ हजारका दरले पेट्रोल उपलब्ध गराएको हो । निगमको थानकोट डिपोले बागमति अञ्चलभर इन्धन वितरण गर्दै आएको छ ।
दशै अगाडि ३ बुलेट ग्यास काठमाडौं भित्र्याउने निगमको प्रयास, पाइएला त ग्यास ?
काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा पाइयो भने पनि सामान्य उपभोक्ताले पाउने सम्भावन निकै कम छ । तराइ–मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण ग्यासको हाहाकार भएको हो । केहि मात्रामा अन्य डिजेल र पेट्रोल काठमाडौं भित्रने गरेको भएपनि ग्यास भने आउनै छोडेको नेपाल आयाल निगमको भनाइ छ । पछिल्लो समयमा नेपालगन्ज, धनगढी र विराटनगर नाकावाट केहि मात्रामा ग्यास नेपाल भित्रिएको छ । तर ती नाकाहरुवाट आएको ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि भएकोले काठमाडौका उपभोक्तालाई ग्यास दिन नसकिएको निगमका ग्यास हेर्ने निमित्त निर्देशक मुकुन्द घिमिरेले भने । ‘बीरगन्ज नाका खुल्ला नभएसम्म काठमाडौंका उपभोक्ताले ग्यास पाउने सम्भावना एकदमै कम छ, आज (विहिवार) म इन्डियन आयाल कर्पोरेसन (आइओसी) सँग यही विषयमा कुरा गर्न भारत जादैछु, कुनै चमत्कार भएर पाइयो भने छुट्टै कुरा हो, नत्र दशै अगाडि ग्यास दिन सक्ने अवस्थामा हामी छैनौं,’ विहिवार विहान घिमिरेले भने । निगमले बीरगन्ज वाहेकका क्षेत्रवाट भित्रिएको केहि बुलेट ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ । ग्यासको अभावमा सर्वसाधारण भोकभोकै पर्न थालेपछि नेपालगन्ज, धनगढी, विराटनगर जस्ता नाकाहरुवाट आएको २ देखि ३ बुलेट ग्यास काठमाडौं ल्याउने र काठमाडौंका उपभोक्तालाई वितरण गर्ने योजना निगमको छ । ‘बीरगन्ज वाहेकका नाकाहरुवाट आउने ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि हो, अन्य क्षेत्रवाट भित्रिएको ३ बुलेटसम्म ग्यास काठमाडौं ल्याउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छौं, तर पनि सम्भावना निकै कम छ,’ निगमका अर्का एक अधिकारीले भने । निगमले केहि दिन पहिला सुगम ग्यासको ३ हजार सिलिन्डर काठमाडौंमा वितरण गरेको थियो । सो ग्यास पनि विराटनगरको प्रिमा ग्यासलाई सुगमका सिलिन्डरमा भरेर वितरण गरिएको निगम स्रोतको भनाइ छ । निगमको अहिलेको प्रयत्न अनुसार ३ बुलेट ग्यास दशै अगाडि काठमाडौं भित्रिएमा सर्वसाधारणले केहि राहतको महसुस गर्न पाउने निगमको भनाइ छ । निगमले करिब एक महिनादेखि ग्यास विक्री वितरण बन्द गरेको छ ।
तेल भर्न भारतीय डिपो पुगेका ट्यांकर रित्तै, आईओसीद्धारा तेल कटौती
काठमाडौं, २७ असोज । तेल भर्न भारतीय डिपो पुगेका ट्यांकरहरुलाई यथेष्ठ मात्रामा तेल दिन आईओसीले पुन अस्विकार गरेको छ । पर्याप्त तेल दिने आश्वासन पाएपछि भारतीय डिपोमा पुगेका १५० भन्दा धेरै ट्यांकर बुधबार डिपो छेउछाउ रित्तै बसिरहेका छन् । नेपाल आयल निगमका निर्देशक सुशिल भट्राईका अनुसार आईओसीको आश्वासनपछि बुधबार १५० ट्यांकर तेल भर्न भारतीय डिपोहरुमा पुगेका थिए । तर आईओसीले तीमध्ये १५ प्रतिशतलाई मात्रै तेल दिएको छ । आईओसीले मंगलबार ६० प्रतिशत ट्यांकरमा इन्धन भरिदिएको थियो । सोमबार केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै इन्धनको मात्रा बढाउने संकेत गरेको आईओसीले मंगलबार केहि मात्रा वृद्धि पनि गरेको थियो । तर बुधबार पुनः पुरानै रवैया देखाउँदै १५ प्रतिशत ट्यांकरमा मात्रै इन्धन भरिदिएको निगम निर्देशक भट्टराईले बताए । बुधबार पनि १५० ट्यांकर इन्धन भर्न बरौनी, बेतालपुर, सिलिगुढी लगायतका आईओसी इन्धन डिपोमा पुगेका थिए । ग्लोबल टेण्डरका छिनोफानो एकदुई दिनमै यसैबिच निगमले पेट्रोलिमय पदार्थ आयातका लागि आव्हान गरेको ग्लोबल टेण्डरको छिनोफानो एकदुई दिन भित्रै गर्ने तयारी थालेको छ । निगमले यस अघि नै हवाई इन्धन ल्याउने जिम्मा नेपाल एयरलाईन्सलाई दिईसकेको छ । ‘हामी प्रस्तावहरुको अध्ययन गरिरहेका छौं, केहिको प्रस्ताव अझै स्पष्ट छैन, उनीहरुलाई सच्याउन भनिरहेका छौं, केहि दिनभित्रै सबै टुंगो लाग्छ’ भट्टराईले भने ।
बीमा समितिमा फेरि पस्यो अख्तियार
काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।