विकासन्युज

राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारी सर्वसम्मत चयन हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ ।  राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच भएको सहमतिअनुसार भण्डारीले आइतबार (आज) मनोनयन दर्ता गर्दैछिन् । दलहरूबीचको समझदारीअनुसार उपाध्यक्ष पद एमालेले पाउने सहमति जुटेको हो । एमालेले भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।  दलहरूबीच जुटेको सहमतिअनुसार भण्डारीलाई अगाडि बढाएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।   ‘अन्य दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ उनले भनिन् । सहमतिकै आधारमा उम्मेदवारी परेको अवस्थामा भण्डारी निर्विरोध निर्वाचित हुने देखिएको छ।

सीएफमोटो नेपालको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ ।  उक्त अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत सीएफमोटो २५० डुअल इएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० सम्मको नगद छुट प्राप्त गर्नेछन् । साथै एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजारसम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन् । यसका अतिरिक्त प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फूल फेस डबल भिजर हेल्मेट(एण्टी–फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ । योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० को नयाँ एमआरपी घोषणा गरेको छ ।  साथै ग्राहकहरूले फुल फेस स्टुड्ड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन् ।  त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफायर ब्लू) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन् । जीहो एइ८ ईभी मोडेलको स्कुटरको हकमा ४ लाख ४९ हजार ९०० अफर अवधिभर यथावत् रहनेछ । बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । २०८३ सालदेखि  काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ । त्यसैगरी, वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पाट्र्स) अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ । 

राष्ट्रिय सभामा नेकपाको दलको नेता बने झक्कु सुवेदी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदीलाई चयन गरेको छ । दलको निर्णयअनुसार सुवेदीलाई औपचारिक रूपमा दलको नेतृत्वको जिम्मेवारी दिइएको हो । नवनियुक्त दलका नेता सुवेदीले आइतबार आफूलाई अध्यक्ष पुष्पकमल दाहालबाट नियुक्तिसम्बन्धी पत्र प्राप्त गरेको बताए ।  उक्त पत्रमार्फत नै आफ्नो जिम्मेवारी औपचारिक रूपमा सुरु भएको उनले उल्लेख गरे। राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ । नयाँ नेतृत्व चयनसँगै दलले आगामी संसदीय गतिविधिलाई थप सशक्त बनाउने सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेको पहिलो विदेश भ्रमण रोके

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले अमेरिकाको वासिङ्टन डीसीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को स्प्रिङ बैठकमा मन्त्रीस्तरीय सहभागिताको प्रस्ताव अस्वीकृत गरेको हो । उच्च स्रोतका अनुसार अर्थमन्त्री वाग्लेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव पछिल्लो मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । अर्थमन्त्री वाग्लेसँग छलफल गरेर उनको सहमतिपछि उक्त प्रस्ताव मुख्यसचिव सुमन अर्यालले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए ।  उनले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन मन्त्रीस्तरीय उपस्थिति आवश्यक हुने धारणा समेत बैठकमा राखेका थिए । तर, प्रधानमन्त्री बालेनले उक्त प्रस्तावमाथि विस्तृत छलफल नगरी विदेश भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बैठकमा भ्रमणसम्बन्धी विषय उठ्नासाथ प्रधानमन्त्रीले असहमति जनाउँदै प्रस्ताव अघि बढ्न नदिएका हुन् । चैत्र २२ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको सहभागिता अनुमोदन नगरी अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्मालाई आईएमएफको स्प्रिङ बैठकमा पठाउने निर्णय गरेको बताएको छ ।  शर्माले अप्रिल १३ देखि १८ सम्म अमेरिकाको वासिंगटनमा हुने उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । शर्माले पनि उक्त बैठकमा नेपालको प्रतिनिधित्व आफूले गर्ने जानकारी दिए । उनले भने, ‘सरकारको निर्णय अनुसार उक्त बैठकमा नेपालको प्रतिनिधित्व मैले गर्दैछु ।’  यस निर्णयसँगै सरकारको अन्तर्राष्ट्रिय आर्थिक कूटनीतिमा मन्त्रीस्तरको प्रत्यक्ष सहभागिता नहुने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रतिनिधिमण्डलले नियमित प्राविधिक सहभागिता भने जनाउनेछ । तर, उच्चस्तरीय राजनीतिक संवादको अवसर भने गुमाउनेछ । 

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा बसेको बैठक अहिले सिंहदरबारमा जारी छ। सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा प्रशासनिक एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको बताइएको छ । 

बयानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुगे सुलभ अग्रवाल

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल बयान दिन सम्पत्ति शुद्धीकरण विभागको कार्यालय पुगेका छन् ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई बयानका लागि बोलाइएको जानकारी दिए । ‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भने, ‘हामीले प्रहरीजस्तो पक्राउ गर्ने भन्ने हुन्न । बयान भइरहेको छ । कतिपयलाई बयान लिएर फिर्ता पनि पठाएका छौं ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । 

अनलाइन सट्टेबाजीका ७ हजार वेबसाइट र एपमाथि प्रतिबन्ध

काठमाडौं । सरकारले अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइटहरू बन्द गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरी त्यस्ता अवैध प्लेटफर्म र युआरएल (यूआरएल) हरू ब्लक गर्न लगाएको हो ।  यो कारबाही मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णय र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाको चैत १५ गतेको निर्देशनका आधारमा अघि बढाइएको हो ।  मन्त्री तिमिल्सिनाले अवैध साइटहरू २४ घण्टाभित्र बन्द गर्ने नीति अनुरूप तत्काल कदम चाल्न निर्देशन दिएका थिए । पछिल्लो एक सातामा मात्र अनलाइन सट्टेबाजीसँग सम्बन्धित ५० भन्दा बढी गुनासाहरू प्राप्त भएको र ती सबैलाई प्राधिकरणले सम्बोधन गरिसकेको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार नेपालमा सट्टेबाजी गर्नु वा गराउनु गैरकानुनी मानिन्छ ।  सट्टेबाजी गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यसका साथै विज्ञापन ऐन, २०६६ ले पनि सट्टेबाजीसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार वा विज्ञापन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । 

नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ । उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ ।  सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ । भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ । हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।