विकासन्युज

मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन बैशाख १२ गते सकिने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर ‘लकइन’ अवधि २०८३ वैशाख १२ गते सकिने भएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४३ लाख ७ हजार १०३ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीतर्फ ३७ लाख ९८ हजार ८३ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातर्फ ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फ ३ हजार २४० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।  यद्यपि, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने सेयर खरिद-बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म लगानी गर्न सक्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५।२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ करोड रुपैयाँको १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंकको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन् ।

गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन, ५० लाख इकाई खरिद गर्न मिल्ने

काठमाडौं । गरिमा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । फागुन २८ गतेदेखि बिक्री खुला गरेको गरिमा सुवर्ण योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त म्युचुअल फण्ड खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ । कम्पनीको उक्त म्युचुअल फण्डका इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

विदेशमा रहेका नेपालीले याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि २१ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सडकमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि, दीर्घकालीन समाधान गर्न ६० करोड आवश्यक

काठमाडौं । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाले सिरूबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रुपमा सिरूबारीको पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी-जोमसोम-कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिए ।  ‘सिरुबारीको ३०० मिटर दुरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक ६० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम सिरु गरेको हो,’ उनले भने, ‘भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।’ सिरूबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरूबारीको सडकमाथिबाट पहिरो खसेर दैनिक जसो बेनी-जोमसोम सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयहरू बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी-जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठूलो सिरूबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन । सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ ७ मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताए । 

३ वटा फर्मलाई जरिवाना, दशरथ ग्रोसरीलाई ५० हजार रुपैयाँ

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई ५० हजार रुपैयाँ, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो । थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । 

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै, अन्य सांसदहरूको बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।  प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।  ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । 

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने तथा तराईका भू-भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।