४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर
काठमाडौं । सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य नेपालको छ । यो लक्ष्यका साथ सरकारले देशभरि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने काम गरिरहेको पनि धेरै वर्ष भइसकेको छ । तर, नेपाललाई दुवै लक्ष्य पुरा गर्न अहिलेको तथ्यांकले चुनौती देखाएको छ । ४२ प्रतिशत बिरामी अहिले पनि उपचार बाहिर रहेकाले चुनौती थपिएको छ भने अहिले पनि नेपालमा वार्षिक ६७ हजार नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् । नेपालमा क्षयरोग अझै जनस्वास्थ्यको समस्याको रुपमा रहेकाले लक्ष्य पुरा गर्न चुनौती देखिएको विज्ञहरू बताउँछन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा वर्षमा करिब ६९ हजार नागरिक क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने करिब १७ हजारको यही रोगका कारण मृत्यु हुने गरेको छ । अहिले पनि दैनिक ४४ जनाको मृत्यु यही रोगका कारण हुने भएकाले चुनौती थपिएको केन्द्रले देखाएको छ । केन्द्रका निर्देशक डा. भुवन पौडेलले यसको न्यूनीकरणका लागि राज्यका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १ सय ५१ जना क्षयरोगी पत्ता लगाइ उपचारका लागि ल्याइएको थियो । जसमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत बालबालिका थिए । सरकारले देशभर निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गरेको छ । हाल देशका ६ हजार २ सय ४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ७ सय ८५ संस्थामा माइक्रोस्कोप सेवा, १ सय ४२ वटा संस्थामा द्रुत परीक्षण सेवा नि:शुल्क रूपमा सञ्चालन गरिएको छ भने औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै, १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ । फोक्सोका बिरामी धेरै नेपालमा तीन प्रकारका क्षयरोगी भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी फोक्सो सम्बन्धी क्षयरोग रहेको छ । फोक्सो सम्बन्धी क्षयरोग देखिएको क्षयरोगमा ज्वरो आउने, खोकी लाग्ने, खोकीबाट रगत आउने, तौल घट्ने लक्षण देखिन्छ भने यसले फोक्सोलाई असर गर्छ । फोक्सोभन्दा बाहेक शरीरका अन्य ग्रन्थी, पेट, हड्डी, मस्तिष्कमा पनि क्षयरोग देखिन्छ भने अर्को औषधि प्रतिरोधी क्षयरोग पनि नेपालीमा देखिएको छ । जुन जटिल प्रकारको मानिन्छ । यसमा अन्य क्षयरोग भएका व्यक्तिले खाने औषधिले काम गर्दैन र त्यसको लागि उपचार महँगो र लामो समय लाग्ने हुन्छ । क्षयरोग नियन्त्रणका लागि सरकारले प्रयास गरेपनि नागरिक सम्पर्कमा नआइदिँदा समस्या भएको छ । वर्षेनी करिब ६७ हजार नागरिक क्षयरोगबाट प्रभावित भएपनि धेरै बिरामी सम्पर्कमा नआइदिँदा पनि नियन्त्रणमा समस्या भएको विज्ञहरू बताउँछन्।
विपन्नका आँखामा खुसी छर्दै ग्लोबल आइएमई बैंक र तीलगंगा प्रतिष्ठान
काठमाडौं । ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरे । समझदारी अनुसार तीलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रूपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ । साथै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरूको आँखा परिक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ । हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । उनले भने, ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ, हामी जहाँ व्यापार गर्छौं, जहाँबाट नाफा कमाउँछौं, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’ उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरू गर्दै आएको पनि बताए । त्यसैगरी, तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे । बैंकका सीईओ रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबीचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए । हस्ताक्षर समारोहमा बैंकका डीसीईओ सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । नेपाल आँखा कार्यक्रम, तीलगंगा आँखा प्रतिष्ठान गैर नाफामूलक संस्थाको रूपमा सन् १९९२ मा दर्ता भई आँखा स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवा, इन्ट्रा ओकुलर लेन्स उत्पादन, आँखा सम्बन्धित महत्त्वपूर्ण अनुसन्धानहरू, आँखा स्वास्थ्य सम्बन्धी शिक्षण, समुदाय आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत् नेपाल तथा विश्वस्तरमा विश्वसनीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्था हो ।
आर्थिक सचेतना बढाउन मेरोमाइक्रोफाइनान्सको अन्तरक्रिया कार्यक्रम
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शंकर कडेलले वित्तीय साक्षरताले नागरिकलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्यमार्फत आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले ठगी तथा वित्तीय अपराधबाट जोगिन सचेतना अत्यन्त आवश्यक रहेको बताए । त्यसैगरी, मेरोमाइक्रोफाइनान्सका बागमती तथा गण्डकी प्रदेश प्रमुख जितेन्द्र काजी थापा र अनुगमन कार्यालय चैनपुर, चितवनका प्रमुख कृष्ण प्रसाद उप्रेतीले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू र सेवाबारे जानकारी गराउँदै वित्तीय अनुशासन र जिम्मेवार ऋण प्रयोगमा जोड दिएका थि ए। कार्यक्रममा सहभागी सेवाग्राहीहरूलाई बचत, ऋण व्यवस्थापन, आय–व्यय सन्तुलन तथा योजनाबद्ध लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो । ग्राहक गुनासो सुनुवाइ सत्रमा सेवाग्राहीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए । ग्राहकको तर्फबाट मन्तव्य राख्दै सदस्यहरू सुस्मा सिवाकोटी र विद्या महतोले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बन्न मद्दत पुगेको बताएका थिए । कार्यक्रमले सेवाग्राही र संस्थाबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन् । ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ । ग्राहकलाई परिष्कृत तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यस सहकार्यबाट बैंकका ग्राहक तथा सहकारी संस्थासँग आबद्ध कर्मचारी र सेयरधनीहरूलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएको छ ।
८० लाख १५ हजार ठगी गरेको आरोपमा बस्नेत पक्राउ
काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाकी ३७ वर्षीय राधिका बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको हो । बस्नेत ८० लाख १५ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । उनीविरुद्ध काठमाडौंका विभिन्न प्रहरी वृत्तमा उजुरी परेको थियो । बस्नेत विरुद्ध बैंकिङ कसुरमा ७ र वैदेशिक रोजगारीमा दुईवटा मुद्दा रहेको कार्यालयले जनाएको छ ।
तौल घटाउने औषधिमा भारतको चेतावनी
काठमाडौं । तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ । ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ । जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् । तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधि चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्टहरू उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म, थोक विक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । 'उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ', मन्त्रालयले स्पष्ट पारेको छ । यसैसँगै भारतको औषधि नियामक निकायले निरीक्षण कडा बनाउँदै उत्पादकहरूलाई भ्रामक प्रचार र औषधिको गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ । विश्व मोटोपना महासङ्घका अध्यक्ष साइमन बार्केराले औषधिले मात्र मोटोपनाको समस्या समाधान नहुने बताउनुभयो । उहाँका अनुसार मोटोपना जटिल र दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैली र रोकथामका उपाय उत्तिकै आवश्यक हुन्छन् । भारतमा तौल घटाउने औषधिको बजार पछिल्ला पाँच वर्षमा तीव्र रूपमा बढेको छ । सन् २०२६ सम्ममा यसको कारोबार १५ करोड ३० लाख डलर पुगेको छ भने सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुपोषणको एक तिहाइ हिस्सा अझै भारतमै रहेको भए पनि बढ्दो आय र सहरी जीवनशैलीका कारण मोटोपनाको दर तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा छन् । यसअघि यस्ता औषधिको मासिक खर्च १५ हजारदेखि २२ हजार भारतीय रुपैयाँसम्म पर्ने भएकाले प्रयोग सीमित थियो । तर पेटेन्ट सकिएपछि जेनेरिक सेमाग्लुटाइड औषधिको मूल्य घटेर एक हजार ३०० देखि चार हजार २०० रुपैयाँसम्म पुगेको छ, जसले प्रयोगको दायरा विस्तार गरेको छ । यद्यपि सस्तो मूल्यसँगै अनियन्त्रित प्रयोगको जोखिम बढेकाले भारतले औषधिको सुरक्षित प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । रासस
‘तेल भिसा’का निर्माता कार्की ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् । ठगीको आरोपमा निर्माता शिवराज कार्कीलाई स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्तिसँग पैसा लिएर ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । खड्काका अनुसार वैदेशिक रोजगारबाट कार्कीविरुद्ध ६ वटा पक्राउ पुर्जी जारी भएको थियो । उनले कन्सल्टेन्सीबाट समेत विभिन्न व्यक्तिलाई ‍ठगी गरेका थिए । काठमाडौं उपत्यका अनुसन्धानको कार्यालयमा कार्कीविरुद्ध २ सयमा भन्दा बढी पीडितले उजुरी दिएका थिए । ‘२ करोड ५० लाख भन्दा बढी ठगी गरेको भनेर कार्यालयमा उजुरी परेको थियो,’ खड्काले भने । यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा तेल भिसा निर्माता तथा निर्देशकविरूद्ध पनि प्रहरीमा उजुरी परेको थियो ।
बालबालिका र युवामा वित्तीय सचेतना फैलाउँदै माछापुच्छ्रे क्यापिटल
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी वीक–२०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको क्यापिटलले जनाएको छ । कार्यक्रममार्फत सहभागीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक आर्थिक व्यवहार विकास गर्ने लक्ष्य राखिएको थियो । ग्लोबल मनी वीक अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष सञ्चालन हुँदै आएको विश्वव्यापी अभियान हो । यस वर्षको अभियान मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको थियो । अभियान अन्तर्गत क्यापिटलले चैत ३ गते वितारा बालग्राम, कलंकी (काठमाडौं), चैत ६ गते जनता माध्यमिक विद्यालय, हरैचा (मोरङ) तथा चैत ८ गते बोडे माध्यमिक विद्यालय, भक्तपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूको सहभागितामा वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रममार्फत सानै उमेरदेखि युवालाई आर्थिक रूपमा सचेत बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने तथा दीर्घकालीन वित्तीय स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्य राखिएको क्यापिटलको भनाइ छ । यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।