विकासन्युज

नेपाललाई वेवास्ता गर्दै भारत र चीनले लिपुलेक मार्ग हुँदै व्यापार गर्दै

काठमाडौं । भारतले लिपुलेक हुँदै भारत–चीन व्यापार गर्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको विरोधका बीच पनि भारत र चीनले व्यापार मार्ग खुलाउने सहमति गरेका हुन् ।  भारतले यो व्यापार मार्ग जुन १ देखि सुरु गर्ने घोषणा गरेको हो । यो मार्ग पाँच वर्षदेखि बन्द थियो । व्यापार बन्द हुँदा धेरै व्यापारीले ठूलो क्षति बेहोर्नु परेको गुनासो गर्दै आइरहेका थिए ।  भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुनः सुरु हुन लागेको हो ।  लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो ।  नेपालले लिपुलेक लिम्पियाधुरासहितको नक्सा पनि पारित गरेर सार्वजनिक गरेको थियो । त्यो नक्सालाई भारतले स्वीकार गरिसकेको छैन । 

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८३ सालका लागि बैंक बिदाको सूची, कुन-कुन दिन बिदा हुनेछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदासहित बैंकिङ कारोबार समयसम्बन्धी जानकारी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा बैंक बिदा रहनेछ । त्यसैगरी वैशाख १८ गते बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्राका अवसरमा बिदा दिइनेछ । गाईजात्रा भने काठमाडौं उपत्यका र नेवार समुदायका लागि मात्र लागू हुनेछ । यस्तै, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज) व्रतका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बिदा रहनेछ । असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) का दिन पनि बिदा रहनेछ । असोज २५ गते घटस्थापनादेखि सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन रहनेछ । त्यसैगरी तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन हुनेछ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा बिदा दिइनेछ । पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र दुरा समुदायको पर्व, तथा पुस २८ गते पृथ्वी जयन्तीका अवसरमा पनि बैंक बिदा रहनेछ  त्यसैगरी माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बैंक बिदा रहनेछ । राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।  कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ । प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ । साथै, नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ । 

सानिगाड हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ करोड ५० लाख रुपैयाँको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका-१, २ र ४ का स्थानीयलाई १८ लाख ५२ हजार ५ सय कित्ता र आयोजना प्रभावित क्षेत्र बुंगलनगरपालिका-३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयलाई ९ लाख ९७ हजार ५ सय कित्ता सेयर बिक्री गरिएकाे हाे । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय बुंगल, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

ऊर्जा सङ्कटबीच बङ्गलादेश २ अर्ब डलर ऋण लिँदै

काठमाडौं । मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिको बीचमा ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बङ्गलादेशले बहुपक्षीय निकायहरूबाट करिब २ अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ। सरकारले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाइसकेको छ, यसका लागि अधिकांश मल कारखानाहरूमा तत्कालका लागि उत्पादन अस्थायी रूपमा रोक्ने बताएको छ।  प्रधानमन्त्रीका वित्त तथा योजना सल्लाहकार रशेद अल तितुमिरले दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले अब त्रिकोणिय दृष्टिकोण अपनाएको बताए ।  ‘यसको एक भाग ऋण सुरक्षित गर्नु हो,’ टितुमिरले एएफपीसँग भने । ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले १.३ अर्ब डलर र एसियाली विकास बैङ्क (एडिबी)ले ५० करोड डलर बजेट सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ,’ अल तितुमिरले भने ।  सरकारले विश्व बैङ्कसँग पनि सम्पर्क गर्न सक्छ । ‘हामी विदेशी मुद्रा भण्डारलाई अक्षुण्ण राख्न चाहन्छौं, हामीसँग ऋण लिनु बाहेक सीमित विकल्पहरू छन्,’ उनले भने ।  सरकारले उत्तर अमेरिका, दक्षिण अमेरिका वा अफ्रिकाबाट ऊर्जा प्राप्त गर्ने विकल्पको खोजी गरिरहेको छ । ‘हामी वैकल्पिक ऊर्जा स्रोतहरूको लागि सबै उपलब्ध विकल्पहरूको खोजी गर्दैछौँ,’ अल तितुमिरले भने ।  आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्ने बङ्गलादेशले विश्वव्यापी वृद्धिका बाबजुद बिजुली र इन्धनको मूल्य बढाएको छैन । अधिकांश कच्चा इन्धन साउँदी अरब र संयुक्त अरब इमिरेट्सबाट आयात गरिन्छ भने करिब ३५ प्रतिशत ग्यास आपूर्ति मध्यपूर्वबाट पनि हुन्छ ।  कतारको रास लाफान एलएनजी हबमा भएको ग्यास उत्पादनस्थलमा भएको आक्रमणले ग्यास आपूर्तिमा अवरोध पुर्याउन सक्छ, किनकि बङ्गलादेशको इन्धन सुविधामा कताररको निर्भरता छ । मध्यपूर्व युद्ध सुरु भएदेखि अधिकारीहरूले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाएका छन् ।   यसमा इन्धन खरिदमा सीमा तोक्ने, धेरै जसो मल कारखानाहरूमा उत्पादन रोक्ने, ‘फिलिङ स्टेशन’हरूमा गस्ती गर्न पुलिस तैनाथ गर्ने, र एलएनजी ढुवानीहरू सुरक्षित आपूर्तिका लागि नौसेना प्रयोग गर्ने समावेश छ ।

याम्बालिङ्ग हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम स्थानीयले ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २१ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

नेपालगन्ज भन्सारले उठायो १२.७५ अर्ब राजस्व, ४ महिनामा ४८ प्रतिशत सङ्कलन गर्नुपर्ने

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकोमा फागुन मसान्तसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।  उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका ४ महिनामा ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । नेपाल-भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।  नेपालगन्ज भन्सारमा चालु आवको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकाेमा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकोमा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रुपैयाँ रहेकोमा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकोमा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ८३.४५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ, पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ, माघमा १ अर्ब करोड ६९ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.२४ प्रतिशत १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ र फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकोमा ८८.३२ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आल २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत र फागुनमा ७३.६८ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

कोशी र लुम्बिनीमा वर्षा र हिमपात, आज दिउँसो बादल लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

छैटौँ पटकको हिमपातले किसानलाई राहत, भन्छन्- स्याउको फूल फुल्ने बेला नपरोस्

काठमाडौं । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो । शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भू-भाग सबै हिउँले ढाकिएका छन् । घरपझोङ गाउँपालिका-५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ-५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए ।  पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकोमा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन् । हुरीबतास बिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशु चौपायाका लागि घाँस पलाउने उनको भनाइ छ । मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशु चौपायालाई असर पुर्याउने गरेको किसान थकालीले उल्लेख गरे ।  त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ ।  यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठूलो राहत पुर्याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँद यामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए ।  ‘खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ,’ उनले भने, ‘यसपटक लगातार ६ पटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।’ अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूल खेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्गानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले बताए । मुस्ताङमा पर्यटकीय याममा जारी सिजनको छैटौंपटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गरे ।