विकासन्युज

श्रीलङ्कन एयरलाइन्सको साढे १७ करोड डलरको ऋणपत्र नवीकरण

काठमाडौं । ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक (श्रीलङ्कन एयरलाइन्स) ले उसका ऋणदाताहरूले १७ करोड ५० लाख डलरको ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका बिहीबार घोषणा गरेको छ । ऋणदाताहरूले ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका छन्, जसले देशको ऋणपत्र पुनर्संरचनालाई पूरा गरेको छ। देशले आफ्नो ४६ अर्ब डलर बाह्य ऋण तिर्न नसकेपछि राज्यको स्वामित्वमा रहेको ‘श्रीलंकन एयरलाइन्स’ले पनि आफ्नो १७ करोड ५० लाख डलरको सन् २०२४ मा परिपक्व हुने ऋणपत्र तिर्न सकेको थिएन । सरकार र श्रलिङ्कन एअरलाइन्सले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘बाँकी रकमको ९७ प्रतिशत प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूले १६ प्रतिशत ऋणपत्र मूल्यमा कटौती स्वीकार गर्न सहमत भएका छन् ।’ पत्रमा अन्तर्राष्ट्रिय ऋणपत्रधारकहरूलाई या त तत्काल नगद भुक्तानी प्रस्ताव गरिएको छ वा चार प्रतिशत कुपन भएको नयाँ ऋणपत्र प्रस्ताव गरिएको छ र यो सन् २०२८ मा परिपक्व हुनेछ। सहमतिपछि एयरलाइन्सका अध्यक्ष सरथ गानेगोडाले भने, ‘सम्झौता पूरा हुनु एक महत्वपूर्ण कदम हो, जसले हामीलाई नयाँ आशावादका साथ कम्पनीको भविष्यमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ ।’ श्रीलङ्काले गत वर्षको सुरुमा निजी र आधिकारिक ऋणदाताहरूसँग आफ्नो ऋण पुनर्संरचना पूरा गरिसकेको थियो किनकि देश सन् २०२२ मा सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर आएको थियो।   अत्यावश्यक खाद्यान्न, इन्धन र औषधिका लागि समेत विदेशी मुद्राको अभाव भएपछि उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट २.९ अर्ब डलरको बेलआउट ऋण प्राप्त गरेको थियो ।   अभावलाई लिएर महिनौँसम्म सडक प्रदर्शनका कारण कुव्यवस्थापन र भ्रष्टाचारको आरोप खेपिरहेका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे अपदस्थ भएका थिए । आईएमएफले सरकारले श्रीलङ्काली एयरलाइन्सलाई राष्ट्रिय ‘ब्यालेन्स शीट’मा बोझ नपरोस् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक थियो, तर यसलाई बेच्ने प्रयासहरू अहिलेसम्म खरीददारलाई आकर्षित गर्न असफल भएका छन् ।   गत वर्षको मार्चको अन्त्यसम्ममा करिब ५९६ अर्ब रुपैयाँ (१.९ अर्ब अमेरिकी डलर) घाटामा रहेको उक्त ध्वजाबाहक कम्पनीको ठूलो ऋण रहेको छ ।

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, ७.८१ अर्ब माग गरेकोमा ६.७६ अर्बको स्रोत सहमति

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च रुपैयाँ भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए ।  निर्वाचन सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनको भनाइ छ । ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय बाटै खरिद गरिएको थियो । १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।  निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ । निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।

आज विश्व हिमनदी दिवस, करोडौं मानिसका लागि पानीको आधार

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्र सङ्घको आव्हानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ ।  पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौं मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ । विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै उक्त विश्व संस्थाले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ गरिएको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका-६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित २ जना, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबाट ५ जना, पोखरा नगरपालिका-२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।  बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरुबाट खैरो हेरोइनसहित ८ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका-१८ गाउँबेँसी टोलबाट ५ जनालाई पक्राउ गरिएको छ । उक्त समाचार कक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

अर्थमन्त्री खनाल: ६ महिनामा ८२८ वटा निर्णय, आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने घोषणा गरेका छन् । देशमा पूर्ण बहुमतसहित नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढेकाले यस्तो निर्णय लिएको उनले स्पष्ट पारे ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम नयाँ सरकार गठनको मार्ग खुला भएको छ । अर्थमन्त्री खनालले नयाँ सरकार गठन भएसँगै आफूले सम्हाल्दै आएको अर्थ मन्त्रालय (२०८२ भदौ ३० देखि) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (असोज ७ देखि) को जिम्मेवारी स्वतः अन्त्य हुने बताए । उनले आफ्नो कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हालेको उल्लेख गरे । शासकीय कमजोरी र भ्रष्टाचारविरुद्ध भएको आन्दोलनपश्चात् इमानदारीपूर्वक काम गर्ने संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको उनले बताए ।  खनालका अनुसार, अन्तरिम सरकारको प्रमुख लक्ष्य लोकतान्त्रिक प्रक्रिया मार्फत मुलुकलाई निकास दिनु, विधिको शासन स्थापना गर्नु र भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति गर्नु थियो । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार जनआकांक्षा अनुसार अगाडि बढेको उनले दाबी गरे । उनले निर्वाचन सम्पन्न गराउनु अर्थ मन्त्रालयका लागि ठूलो चुनौती रहेको बताए । आर्थिक वर्षको बीचमै सीमित स्रोतसाधनभित्र रहेर निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको थियो । साथै, सहिद परिवारलाई राहत, घाइतेहरूको उपचार, आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा सेवा प्रवाह पुनःस्थापना जस्ता कार्यहरूमा समेत खर्च व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस्तै, काठमाडौं उपत्यका लगायत देशका प्रमुख आर्थिक केन्द्रहरूमा आन्दोलनका कारण प्रभावित भएका व्यवसाय र आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउन तथा व्यवसायीहरूको मनोबल बढाउन विशेष पहल गरिएको खनालले उल्लेख गरे ।  अर्थमन्त्री खनालले फागुन मसान्तसम्मको अवधिमा ८२८ वटा निर्णय गरेको बताए । जसमध्ये २७ वटा निर्णय कागजी थिए भने बाँकी सबै डिजिटल रहेको उनको भनाइ छ । यस आधारमा औसत दैनिक ६.६८ निर्णय गरेको उनको भनाइ छ ।  

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न २ करोड रुपैयाँ अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न २ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माणकार्यका लागि खर्च गर्न पाउने बताइएको छ । उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ । सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौंमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्ड बमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताइन् । यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ उनको भनाइ छ ।

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिम पटक आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ ।

साइबर ब्यूरोले भन्यो- ह्वाट्सएप ह्याक बढ्यो, म्यासेजको विश्वास नगर्नु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप प्रयोगकर्तालाई सचेत रहन अनुरोध गरेको छ । बिहीबार ब्यूरोले पछिल्लो समय नेपालमा ह्वाट्सएपमा ह्याक गर्नेको संख्या बढेकाले सचेत रहन बताएको छ । ‘म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइ दिनुहोस्’ तथा ‘मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाई यस क्यु आरमा पैसा पठाइ दिनुहोस’ भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको ब्यूरोले उल्लेख गरेको छ । ब्यूरोले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराएको हो । ब्यूरोले त्यस्ता ह्वाट्सएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न अनुरोध गरेको छ ।   सम्भव भए सम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्ने, शङ्कास्पद लिंक, कोड वा फाइल क्लिक र डाउनलोड नगर्ने, टु स्टेप भेरिफिकेसन अनिवार्य रूपमा प्रयोग गर्ने, आफ्नो ओटीपी र भेरिफिकेसन कोड कसैलाई पनि नदिने, आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्न र ह्वाट्सएप प्रयोग गरेपछि लग आउट गर्न नबिर्सिन ब्यूरोले आग्रह गरेको छ ।