विकासन्युज

गोदाममै थन्कियो १९ हजार क्विन्टल चामल, १० हजार क्विन्टल धान पनि भण्डारणमा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।  उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल ५ हजार क्विन्टल, अरुवा मसिनो चामल ५ हजार क्विन्टल र अरुवा मोटो चामल ९ हजार क्विन्टल मौज्दात रहेको छ । यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि भण्डारणमा छ । गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्य भइरहेको छ । कर्णाली प्रदेशका जिल्लाबाट माग भई आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने कार्य गरिरहेको छ । यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म मूल्य घटेर आएको खाद्य कम्पनीका प्रमुख लामिछानेले बताए ।  उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकाले स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको बताए । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटमा रहेका खाद्यका डिपोमा अहिले पर्याप्त चामल रहेकाले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परे तत्काल पठाउने गरी मौज्दात राखिएको लामिछानेको भनाइ छ । बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आए पनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँमा खरिद गर्ने गरी मूल्य तोकेको थियो ।

कर्णाली र सुदूरपश्चिममा भारी वर्षा र हिमपात हुने, विभिन्न भागमा बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । 

त्रिभुवन विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  २८ हजार ९ सय अमेरिकन डलरहित तीन जना नेपाली पक्राउ परेका छन्।  बिहीबार पौने १२ बजे चीन जान लागेको बेलामा ४५ वर्षीया अनिता लामा, ३८ वर्षीया संगीता लामा र ४७ वर्षीय विनोद लामा २८ हजार ९ सय अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनीहरू चाइना साउर्थन को उडान नम्बर सीजेड ६०६८ नम्बरको उडानबाट चीन लागेका थिए ।  उनीहरूले अमेरिकी डलर चीन लैजान लागेको अवस्थामा चेकजाँच गर्दा उक्त डलर फेला परेको प्रहरीले जनाएको छ ।  आवश्यक अनुसन्धानका लागि कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो, राजीनामाभन्दा व्यवस्थापन आवश्यक छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा सम्बन्धमा उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा नैतिक जिम्मेवारीभन्दा पनि स्थितिको व्यवस्थापन प्रमुख दायित्व भएको बताएका छन् ।  शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिलेको समय आवेगमा निर्णय गर्नेभन्दा संस्थागत ढंगले समस्या समाधान गर्ने समय भएको स्पष्ट पारेका छन् । उनले आगामी बैठकमा प्रारम्भिक समीक्षा, राजीनामासम्बन्धी पत्रमाथि छलफल तथा त्यसलाई अस्वीकृत गर्ने प्रस्तावसमेत पेश हुने जानकारीसमेत दिए । शर्माका अनुसार पार्टीभित्र उत्पन्न परिस्थिति सम्हाल्न नेतृत्वले संयमता अपनाउन आवश्यक छ ।  ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान विषय नैतिक दायित्व स्थिति सम्हाल्नु हो,’ उनले  लेखेका छन् । शर्माले परिस्थितिको मूल्यांकन नगरी व्यक्तिलाई दोषारोपण गर्नु उचित नहुने धारणा पनि राखेका छन् ।  ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत हुँदैन’ भन्दै उनले नेतृत्वप्रति लक्षित आलोचनालाई संयमित बनाउन आग्रहसमेत गरेका छन् ।

भारी वर्षा र हुरीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरको हो ।      जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ ।      विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।      प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ ।      विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।   

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ ।  अदालतले बिहीबार (आज)  उक्त पार्टीका सभापति लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयबारे फाइल झिकाउन आदेश दिएको हो । यो आदेश महान्याधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै दिइएको हो ।  न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीविरुद्धको मुद्दा फिर्ता लिने भनी २ फागुनमा गरेको निर्णय पेश नभएको भन्दै उक्त निर्णय अनिवार्य रूपमा पेश गर्न आदेश दिएको छ । साथै इजलासले आगामी सुनुवाइका लागि ९ चैतमा पेसी तोक्दै हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा मुद्दा पेश गर्न निर्देशन दिएको छ । आइतबारदेखि सुरु भएको सुनुवाइ तीन दिनसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर बहस भएको थियो । यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।  रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

नवनिर्वाचित सांसदको सपथ चैत १२ गते दिउँसो १२ बजे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको सपथ ग्रहण चैत १२ गते दिउँसो १२ बजे गराइने भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराज गिरीका अनुसार सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित सांसदहरूको सपथको मिति तय गरिएको संसद् सचिवालयले जनाएको छ । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२ सांसद निर्वाचित गराउँदै उल्लेख्य उपस्थिति जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३, नेकपा एमालेले २५ तथा नेपाल कम्युनिष्ट पार्टीले १६ सांसद निर्वाचित गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४–४ सांसद जितेका छन् भने एक स्वतन्त्र सांसद पनि प्रतिनिधि सभामा रहने भएका छन् ।   

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।  सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।       'फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,' राष्ट्रपति पौडेलले भने ।