निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् । मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन् । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि उपस्थित थिए ।
आगामी साताभित्र नयाँ सरकार बन्छ, म पर्सीसम्म बिदा हुन्छु : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आगामी साताभित्र नयाँ सरकार बन्ने बताएका छन् । नागरिक लगानी कोष को ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्रतिनिधि सभा निर्वाचन सम्मन्न भइसकेको र निर्वाचित प्रतिनिधिहरु पनि आइसकेको अवस्थामा अब आगामी साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् । उनका अनुसार निर्वाचन आयोगले छिट्टै प्रमाणपत्र वितरण सम्पन्न गर्ने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ‘म पनि अब केही समयमै जिम्मेवारीबाट विश्राम लिने तयारीमा छु, भोली वा पर्सी बिदा हुन्छु होला,’ उनले भने ।
नेपालीले करको ठूलो भार बेहोरिरहेका छन्, दोहोर कर हटाउनै पर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अवकाश कोषमा लाग्दै आएको दोहोरो कर हटाउन आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोष को ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको औंल्याए । उनले दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान गर्न नसकेको स्वीकार गर्दै आगामी अर्थमन्त्रीलाई यसबारे जानकारी गराएर जाने बताए । ‘ठूलो करको भार नेपाली करदाताले भोगिरहेका छन्, यसमा नीतिगत सुधार अपरिहार्य छ,’ उनले भने । खनालले नागरिक लगानी कोषको स्थापना तत्कालीन अन्तरिम सरकारको अवधिमा भएको स्मरण गर्दै त्यतिबेला स्थापना भएका धेरै वित्तीय संस्थाहरू समयसँगै कमजोर वा विलय भए पनि कोष भने सुदृढ रूपमा अघि बढ्दै ३६औं वर्षसम्म आइपुगेको उल्लेख गरे । उनले कृषि विकास बैंक लाई पटक–पटक उद्धार गर्नुपरेको प्रसंग उल्लेख गर्दै अहिले मात्र केही सुधारको अवस्थामा पुगेको बताए । आगामी राजनीतिक प्रक्रियाबारे बोल्दै उनले आगामी साताभित्र नयाँ सरकार गठन हुने संकेत गरेका छन् । उनका अनुसार निर्वाचन आयोगले छिट्टै प्रमाणपत्र वितरण गर्ने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ‘म पनि अब केही समयमै जिम्मेवारीबाट विश्राम लिने तयारीमा छु,’ उनले भने । अर्थतन्त्रका सन्दर्भमा उनले प्रतिस्पर्धालाई सकारात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘प्रतिस्पर्धा भयो भनेर गुनासो गर्नु उपयुक्त हुँदैन, खुला प्रतिस्पर्धा हुनुपर्छ, बन्द प्रतिस्पर्धा हुुनु हुँदैन, ’उनले भने । खनालले बैंक तथा वित्तीय संस्थामा हाल तरलता प्रचुर रहेको उल्लेख गर्दै निक्षेपको विकल्पका रूपमा दीर्घकालीन कोष विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सरकारले १५–२० वर्ष अवधिका दीर्घकालीन फण्ड जारी गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी पनि उनले दिए। ब्याजदर अत्यधिक घटेर ऋणात्मक हुन नदिन बुढीगण्डकी जस्ता ठूला आयोजना अघि बढाउने तयारी भइरहेको बताउँदै उनले यस्ता परियोजनाले निक्षेप परिचालनलाई सहज बनाउने विश्वास व्यक्त गरे । साथै, ठूला आयोजना कार्यान्वयनमा रहेका केही नीतिगत बन्देज हटाइएको र बाँकी रहेका अवरोधहरू पनि क्रमशः फुकाउनुपर्ने आवश्यकता उनले औंल्याए । अर्थमन्त्री खनालले वर्तमान आर्थिक सूचकहरू सकारात्मक देखिए पनि वास्तविक अर्थतन्त्रमा अझै चुनौती कायम रहेको बताए । विशेषगरी मध्यपूर्वमा भइरहेको द्वन्द्वले थप जोखिम सिर्जना गरेको उल्लेख गर्दै उनले सावधानीपूर्वक आर्थिक व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।
सुरेन्द्र पाण्डे भन्छन् : नोट अफ डिसेन्टलाई थन्क्याइयो, एमाले सीमित व्यक्तिको क्याल्कुलेसनबाट चल्यो
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र उठाइएका असहमति र सुधारका प्रस्तावहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै पार्टी सीमित व्यक्तिको निर्णय र क्याल्कुलेसनबाट चलिरहेको टिप्पणी गरेका छन् । पाण्डेले ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?’ भन्ने प्रश्न उठाउँदै आफूहरूले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्दा पनि त्यसलाई वेवास्ता गरिएको गुनासो गरेका हुन् । उनले ती सुझाव र असहमतिका आवाजलाई गम्भीर रूपमा लिनुको सट्टा ‘नोट अफ डिसेन्ट’ को कुनामा सीमित गरिएको उनको धारणा छ । उनका अनुसार बैठकहरू सुधार र बहसको थलो बन्नुपर्नेमा केवल औपचारिकता पूरा गर्ने र निर्देशन दिने माध्यममा सीमित हुँदा पार्टीभित्र विवेकभन्दा अहङ्कार हावी हुने अवस्था सिर्जना भएको छ । पाण्डेले अब एमाले बन्द कोठामा हुने षड्यन्त्र वा सीमित व्यक्तिको निर्णयबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय एमालेका शीर्ष नेताहरुले सामाजिक सञ्जालमा एकअर्काबीच टिप्पणी तथा अलोचना गरिरहेका छन् । पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बास्कोटा र शेरबहादुर तामाङले लेखेका/बोलको स्टाटस तथा भिडियोहरू केही दिनअघिदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
‘दोहोरो कर लाग्ने व्यवस्थाको सहजीकरण गर्नुपर्छ, अब मुद्दतिभन्दा पनि परियोजनामा लगानी बढाउँछौं’
काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले दोहोरो कर लाग्ने व्यवस्थाले सहभागीलाई अतिरिक्त भार परेको भन्दै यसको सहजीकरण गर्न आवश्यक रहेको बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्कीले स्वरोजगारलाई पनि कोषमा आवद्ध गराउने गरि पेन्सन योजना ल्याएको बताउँदै त्यसमा दोहोरो करको भार पर्ने भएकाले सरकारले सहज बनाउन आवश्यक रहेको धारणा राखे । साथै, उनले अब मुद्दती निक्षेपमा केन्द्रित लगानीभन्दा परियोजनामुखी लगानीतर्फ कोष अघि बढ्ने स्पष्ट पारे । हाल कोषले सातवटा योजना सञ्चालन गर्दै करिब ३ सय अर्ब रुपैयाँ बराबरको कोष परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार करिब ७ लाख सहभागी आबद्ध रहेका छन् भने करिब ७ अर्ब रुपैयाँ पूँजी संकलन भएको छ । हाल कोषको करिब ५० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमा रहेको र २२ प्रतिशत रकम कर्मचारीलाई कर्जाका रूपमा प्रवाह गरिएको उल्लेख गर्दै उनले अब यस्तो निर्भरता घटाउँदै सरकारले प्राथमिकतामा राखेका आयोजना तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अपनाइएको बताए । उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्न निजी इक्विटी (प्राइभेट इक्विटी) क्षेत्रमा समेत लगानी गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, कोषले आफ्ना दैनिक कार्यलाई डिजिटलमैत्री बनाउँदै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाइरहेको पनि उनले जानकारी दिए । कोषले सेयरधनी तथा सहभागीलाई दीगो र आकर्षक प्रतिफल दिँदै आएको दाबी गर्दै कार्कीले यस्तो प्रतिफल पूँजी बजारका अन्य कम्पनीहरूको तुलनामा प्रतिस्पर्धी रहेको बताए । तर, पछिल्लो समय ब्याजदरमा आएको गिरावटले कोषको आम्दानीमा असर परेको र बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घट्दा कोषमा रकम थुप्रिने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । त्यस्तै, सामाजिक सुरक्षा कोष सँग कार्यक्षेत्र मिल्दोजुल्दो हुँदा प्रतिस्पर्धात्मक चुनौती थपिएको बताउँदै दुवै संस्थाको भूमिकामा स्पष्टता आवश्यक रहेकोमा उनले जोड दिए । सरकारको ग्यारेन्टीमा नेपाल वायुसेवा निगम लाई प्रवाह गरिएको करिब १२ अर्ब रुपैयाँ कर्जा बढेर २२ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै यसको प्रभावकारी असुलीका लागि सरकारी सहजीकरण आवश्यक रहेको पनि उनले बताए । यसैबीच, स्वरोजगारमा रहेका नागरिकलाई समेट्ने उद्देश्यले ल्याइएको पेन्सन योजनामा दोहोरो कर लाग्ने समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग सहकार्य आवश्यक रहेको उनले पुनः दोहो¥याए ।
९ करोड २ लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
काठमाडौं । संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित ९ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास-५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन, झ्याल-ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए ।
डोनाल्ड ट्रम्पलाई झट्का, इरान युद्धमा विमति राख्दै उच्च सहयोगीले दिए राजीनामा
काठमाडौं । ट्रम्प प्रशासनको आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स एकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताए । उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरे । अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान पुर्याएका छन् । उनकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौ सेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गरेकी थिइन् । सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिएकि थिइन् । जो केन्टले आफ्नो पत्रमा भने, ‘सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।’ केन्टले अगाडि भने, ‘उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फर्स्ट’ प्लेटफर्मलाई कमजोर बनाएको छ। इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाईँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो ।’ लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवाद विरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए । यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका छन् । यसमा इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि समावेश छ। अमेरिकी गुप्तचर निकाय सिआइएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए । पत्रमा केन्टले आफ्नो सैन्य सेवा र आफ्नी पत्नीको मृत्युलाई उद्धृत गर्दै भने, ‘उहाँ अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्नुहुन्न, जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिशन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल समावेश छन् । यद्यपि, राष्ट्रपतिको दोस्रो कार्यकालमा अफिसरको आवागमनको दर उनको पहिलो कार्यकाल सन् २०१७ देखि सन् २०२१ को तुलनामा धेरै कम छ।
पेट्रोलियम पदार्थमा सहुलियत दिन महामन्त्री पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । महामन्त्री पौडेलले एक भिडियो सन्देश जारी गरी मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले नेपालमा महँगी बढ्न लागेको भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका हुन् । उनले मध्यपूर्वमा देखिएको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा यातायात क्षेत्रमा मात्र नभएर सबैतिर यसको बहानामा मूल्यवृद्धि हुने खतरा बढेको बताए । ‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने देखिएको छ, मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ, सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ,’ उनले भने । उनका अनुसार वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ, यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ । उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे ।