विकासन्युज

चिनियाँ राष्ट्रपति जिनपिङको २० पोका किताब जलाइएको थियो

काठमाडौं । मोरङको मनमोहन प्राविधिक कलेजमा २० पोका पुस्तक जलाइएको खुलेको छ । धमिराले नखाओस् भनेर र कलेजको कोठा सफाइ गर्न भनी २० पोका किताब जलाइएको कलेजका प्रवक्ता सरोज भुर्तेलले जानकारी दिए । पूर्ण रूपमा क्षति भएका र अरू पुस्तकलाई क्षति नहोस् भनेर चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाइएको उनले बताए ।  कलेजमा विद्यार्थीका लागि ल्याब बनाउनु पर्ने र वर्कसप बनाउन कोठा खाली गर्दा किताबहरू जलाउनु परेको भुर्तेलको भनाइ छ । ‘सरसफाइ गर्दा पतिङ्गरसहित किताब पनि जलाउन पुगियो,’ उनले भने, ‘कलेजले कुनै नियतवश जलाउन पुगेको होइन । कलेजमा कोठा अभाव भएकाले सफा गर्दा उक्त किताब जलाउनु परेको हो ।’ राष्ट्रपतिको बाँकी १२ हजार किताब सुरक्षित राखिएको भुर्तेलले बताए । मनमोहन प्रतिष्ठानमा ८(१० वर्ष अगाडि चिनियाँ राष्ट्रपतिको किताब पुगेका थिए ।  किताब जलाएको विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङले कलेजलाई सोधपुछसमेत गरेको थियो । कलेजले प्रशासनलाई ५-६ पानासहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा विद्यार्थी प्रयोजनका लागि कोठा खाली गर्दा पुस्तकहरू जलाउन परेको उल्लेख गरिएको छ । कुनै नियतवश पुस्तक नजलाइएको समेत प्रतिवेदनमा बताइएको छ । प्रतिवेदन प्राप्त गरिसकेपछि आवश्यक अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाइने मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ । मोरङको मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । गत शनिबार अपरान्ह मनमोहन कलेजमा राष्ट्रपति जिनपिङको पुस्तक जलाइएको हो । खाली गरेर राष्ट्रपतिको किताब जलाइएको थियो । प्रहरीले भने साँझ ५ बजेतिर खबर पाएको थियो । सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?

देशभर ६० वर्षभन्दा माथिका ४७४ उम्मेदवार, ११ जना मात्रै विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या उल्लेख्य भए पनि जित्नेको संख्या भने निकै कम देखिएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार देशभर ६० वर्षभन्दा माथिका ४७४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये ११ जना मात्रै निर्वाचित भएका छन् । आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा देशभर विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचनमा उम्मेदवारको रोजाइमा रास्वपा भएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रायः सबै जना युवा भएको हुँदा ६० वर्षभन्दा माथिका अधिकांश उम्मेदवारहरूले पराजय बेहोर्नुपरेको छ । निर्वाचनमा राजनीतिमा लामो अनुभव भएका चर्चित  नेताहरू पनि यसपटक मतदाताको रोजाइमा पर्न सकेनन् । निर्वाचित हुने ६० वर्ष माथिका उम्मेदवारहरूमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५ जना, रास्वपाबाट उम्मेदवार भएका ३ जना, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट १/१ जना र स्वतन्त्र उम्मेदवार १ जना रहेका छन् । कांग्रेसबाट जित्ने ६० वर्ष माथिको उम्मेदवारमा मनाङ १ बाट उठेका ७१ वर्षीय टेकबहादुर गुरुङ, अछाम–१ का ७० वर्षीय भरतकुमार स्वार, डोटीका ६८ वर्षका भरतबहादुर खड्का, सोलुखुम्बुका ६२ वर्षीय प्रकाशसिंह कार्की र बाजुराका ६० वर्षीय जनकराज गिरी छन् । मनाङमा कांग्रेस उम्मेदवार गुरुङले २ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ४५४ मतसहित दोस्रो भइन् । अछाम १ बाट कांग्रेस उम्मेदवार स्वार १० हजार ७५९ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका भीमबहादुर रावल १० हजार २३३ मतसहित दोस्रो भए ।  त्यस्तै, डोटीमा कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतसहित दोस्रो भए । सोलुखुम्बुमा कांग्रेस उम्मेदवार कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राइले ९ हजार ४१४ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । बाजुरामा कांग्रेस उम्मेदवार गिरीले १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मतसहित दोस्रो भए । रास्वपाबाट विजयी भएका ६० वर्षभन्दा माथिका तीन उम्मेदवारहरूमा सप्तरी–४ बाट सिताराम साह, कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र दाङ–१ बाट देवराज पाठक छन् । साह ६५ वर्ष, थापा ६३ वर्ष र पाठकको उमेर ६० वर्ष रहेको छ । सप्तरी ४ बाट रास्वपाका उम्मेदवार साह ३६ हजार ४१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो भए । कपिलवस्तु २ मा रास्वपाका उम्मेदवार थापा २७ हजार ६३५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ४८२ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । त्यस्तै, दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठकले ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतमा प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार योगेन्द्र चौधरी १५ हजार २८० मतसहित दोस्रो भए । नेकपाबाट जित्ने उम्मेदवारमा रुकुम–पूर्वबाट उठेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी ७० वर्षका छन् । त्यस्तै, नेकपा एमालेबाट जित्नेमा दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल हुन् । उनी ६३ वर्षका भए । रुकुम–पूर्वमा नेकपाका उम्मेदवार दाहाल १० हजार २४० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतम ३ हजार ४६२ मतसहित दोस्रो भए । दैलेख–२ मा एमालेका उम्मेदवार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाही ९ हजार ५५२ मतसहित दोस्रो भए । स्वतन्त्र उम्मेदवारबाट जित्नेमा म्याग्दीबाट उठेका महावीर पुन हुन् । उनी ७१ वर्षका भए । पुन २२ हजार ८५० मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार ७ हजार ९१९ मत ल्याएर दोस्रो भए ।  ६० वर्षभन्दा बढीका उम्मेदवार सबैभन्दा धेरै मधेशमा  निर्वाचन आयोगका अनुसार ६० वर्षभन्दा माथिका सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा १२६ जना छन् । मधेशमा १२६ जना उम्मेदवार ६० वर्षभन्दा माथिका रहेका छन् । दोस्रोमा बागमती प्रदेशमा ८९ जना छन् । तेस्रोमा लुम्बिनी प्रदेशमा ८८ जना छन् । त्यस्तै कोशी प्रदेशमा ६० वर्षभन्दा माथिका ८४, गण्डकी प्रदेशमा ४१ जना छन् ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या २३/२३ जना रहेका छन् ।

गण्डकीका १० जिल्ला अध्यक्षहरूले राखे एमालेमा माथिबाटै समीक्षा र पुनर्गठनको माग

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका १० वटा जिल्ला अध्यक्षहरूले पार्टीको पछिल्लो अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै केन्द्रदेखि स्थानीय तहसम्म व्यापक समीक्षा र पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालेका छन्। फागुन २८ गते सम्पन्न भेलापछि सार्वजनिक गरिएको साझा धारणाअनुसार अध्यक्षहरूले पार्टीको वर्तमान राजनीतिक, संगठनात्मक तथा कार्यशैलीगत अवस्थाको वस्तुनिष्ठ समीक्षा अपरिहार्य भएको बताएका छन् ।  उनीहरूले यस्तो समीक्षा ढिलाइ नगरी केन्द्र तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए । गण्डकीका अध्यक्षहरूको निष्कर्षमा पार्टी नेतृत्व र कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक देखिएको उल्लेख छ । ‘सबै तहको नेतृत्व र कार्यशैलीमा परिवर्तनसहित पुनर्गठन जरुरी छ, त्यसका लागि हामी तयार छौ,’ साझा धारणामा भनिएको छ । मनाङ अध्यक्षबाहेकका १० अध्यक्षहरूको भेलाले वामपन्थी, देशभक्त तथा राष्ट्रवादी शक्तिहरूबीच आत्मालोचनासहित संवाद र सहकार्यको वातावरण बनाउन पहल गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ ।  पछिल्लो राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्यको आधार कमजोर बन्दै गएको भन्दै त्यसलाई पुनः सुदृढ बनाउनुपर्ने अध्यक्षहरूको धारणा रहेको छ । उनीहरूले पार्टी, जनप्रतिनिधि र जनताबीचको सम्बन्धमा आएको दूरीप्रति पनि चिन्ता व्यक्त गरेका छन् । यस विषयमा गम्भीर समीक्षा गर्दै जनताको भावना र सामाजिक आवश्यकतामा केन्द्रित नयाँ कार्ययोजना निर्माण गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि नेकपा एमालेभित्र पार्टी पुनर्गठनको माग जबरजस्त उठ्न थालेको छ । लुम्बिनी प्रदेशको तानसेन नगर कमिटीले नयाँ अधिवेशन जेठ ३ गते गर्नेगरी नगर कमिटी विघटन गरेको छ । तानसेन नगर कमिटी विघटन भएसँगै गण्डकी प्रदेशमा पनि पार्टी पुनर्गठनको बहस तीव्र हुन थालेको छ ।  मुस्ताङका जिल्ला अध्यक्ष दिपक लालचनका अनुसार केही दिन पहिले भएको भेला समग्र पार्टी पुनर्गठनको सुरुवात हो । भेलामा स्याङ्जा जिल्ला अध्यक्ष पारश गैरे सुरेश, पर्वत अध्यक्ष गोविन्द गिरी पहाडी, तनहुँ अध्यक्ष हरिराज कँडेल, मुस्ताङ अध्यक्ष दीपक लालचन, कास्की अध्यक्ष बैनबहादुर क्षेत्री र म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीलगायतको सहभागिता रहेको थियो । 

ललितपुरमा लापसे गर्ने राइड सेयरिङ चालकसहित ६ जना पक्राउ

काठमाडौं । लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ६ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। मंगलबार ललितपुर महानगरपालिका २७ सुनाकोठीमा गरिएको लापसे चेकिङका क्रममा ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  जसमध्ये मिनी ट्रक चालक २ जना, मोटरसाइकल (राइड सेयिरिङ) चालक २ जना र स्कुटर चालक २ जना रहेका छन् ।  नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए ।  नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको छ ।

पार्टी पुनर्गठनको माग गर्दै एमाले तानसेन नगर कमिटी विघटन, जेठ ३ मा अधिवेशन गरिने

काठमाडौं । पार्टीभित्र नेतृत्व पुनर्गठनको माग तीव्र बन्दै गइरहेका बेला नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी विघटन गरेको छ । नयाँ संरचना निर्माण र संगठन सुदृढीकरणको उद्देश्यसहित नगर कमिटी भंग गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। आत्रेयका अनुसार निर्वाचन परिणामलगत्तै आफूले मात्रै राजीनामा दिने तयारी गरे पनि सिँगै कमिटीले आफूलाई साथ दिएपछि कमिटी नै विघटन गरिएको हो ।  उनले नगर कमिटी विघटनसँगै नयाँ कमिटी गठनका लागि आगामी जेठ ३ गते अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै, तीन महिनाभित्र सबै वडा कमिटीहरूले पनि अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको उनले बताए । ‘एमालेले समयमै आफूलाई पुनर्ताजगीमा लाग्नुपर्ने समय आएको छ । त्यसैले यसको सुरुवात मैले गरेको हुँ,’ आत्रेयले भने । वर्तमान केन्द्रीय नेतृत्व परिवर्तन नभएसम्म पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षसहित यो कदम चालिएको हो ।  आत्रेयले नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब सिर्जना गर्ने उद्देश्यले पनि नगर तथा वडा कमिटीहरू विघटन गरिएको स्पष्ट पारे ।   

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो ३ करोड

चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक ३ करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।  महानगरपालिकाले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए ।  उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरू उपलब्ध गराइसकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ । जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए ।  अब रोपिने बिरुवा संरक्षणका लागि १ करोड ९० लाख विनियोजन गरिएको हो ।  हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।

चिनियाँ राष्ट्रपतिको किताब जलाउनेलाई कारबाही गरिने

काठमाडौं । सरकारले मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपतिको किताब जलाउनेलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले जिल्ला प्रशासन कार्यालय, मोरङसँग समन्वय गरेर कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो । मोरङ प्रहरीले पत्र अध्ययन गरी  जिल्ला प्रशासन कार्यालय, मोरङको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने जनाइएकाे छ । मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले गृह मन्त्रालयको पत्र अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । ‘यस विषयमा क-कसलाई कारबाही प्रक्रिया अगाडि बढाइन्छ भन्ने कुरा साँझ थाहा हुन्छ । किताबको जलाएको विषयमा छानबिन समितिसमेत बनाइएको छ,’  उनले भने । समितिले बुझाएको प्रतिवेदनको आधारमा कारबाही अगाडि बढाइने उनले बताए । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘द गभर्नेन्स अफ चाइनाले’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । गत शनिबार मनमोहन कलेजमा कलेजका ल्याबका लागि वर्क सप बनाउन कोठा खाली गरेर राष्ट्रपतिको किताब जलाइएको थियो । चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । ऋणपत्र जारी प्रक्रियाका लागि बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।  ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले ६/६ महिनाको अवधिमा हुनेछ ।