विकासन्युज

कैलाली भन्सारले उठायो साढे ५ अर्ब राजस्व, लक्ष्यको ५५.६७ प्रतिशत मात्रै

काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले ८ महिनाको अवधिमा ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो । कार्यालयले भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख रुपैयाँ र अन्यतर्फ १ अर्ब २१ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । ८ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५.६७ प्रतिशत रहेको उनले जानकारी दिए ।  चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन । कार्यालयले साउनमा ७१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख रुपैयाँ, भदौमा ७४ करोड २१ लाख रुपैयाँ लक्ष्य रहेकामा र५३ करोड ७० लाख रुपैयाँ, असोजमा ७६ करोड ७७ लाख रुपैयाँ लक्ष्य रहेकामा ६७ करोड ७८ लाख रुपैयाँ र कात्तिकमा ८४ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए ।  यस्तै मङ्सिर महिनामा ७८ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख रुपैयाँ, पुसमा ८१ करोड २५ लाख रुपैयाँ लक्ष्य रहेकामा ७४ करोड ६५ लाख रुपैयाँ, माघमा ७६ करोड ९ लाख रुपैयाँ लक्ष्य रहेकामा ६८ करोड ८२ लाख रुपैयाँ र फागुन महिनामा ७७ करोड १४ लाख रुपैयाँ लक्ष्य रहेकामा ७६ करोड ४४ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको थिएन । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए । यो वार्षिक लक्ष्यको ७७.६७ प्रतिशत मात्रै हो ।

होली काण्ड भनेर भिडियो पोष्ट गरी चरित्रहत्या गर्ने विष्ट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका १ का हाल काठमाडौं नयाँबजार बस्ने २३ वर्षीय तपेन्द्र विष्टलाई नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार पक्राउ  गरेको  हो । विष्टले पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने गरेको ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार विष्टले अपमानजनक, अमर्यादित कन्टेन्ट बनाइ पोष्ट गर्थे ।  विष्टले अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामग्रीहरूमा महिलाको नाम राख्ने गर्थे । होली काण्डको नाम दिइ पोष्ट गरेर पीडित महिलालाई दुःख दिने गरेका उनले पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हैरानी अवस्थीले बताए । जिल्ला अदालत काठमाडौंको  आदेशले तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. राजु थापा ले बिहीबार (चैत ३०) जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्नु अनुचित भएको उल्लेख गरेका छन् । प्रेस वक्तव्यमा भनिएको छ, ‘यस्ता संवेदनशील घटनासँग सम्बन्धित प्रतिवेदन गोप्य राखिँदा नागरिकमा अन्योल, शंका र असन्तोष बढ्दै जानुका साथै राज्यप्रतिको विश्वास कमजोर हुने खतरा रहन्छ।’ पार्टीले पीडित, घाइते, मृतकका परिवार तथा आन्दोलनमा संलग्न नागरिकहरूले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्नु उचित नहुने स्पष्ट पारेको छ।  साथै, प्रतिवेदन सार्वजनिक गर्नु कसैलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नु नभई सत्यतथ्यलाई जनतासामु ल्याएर निष्पक्ष प्रक्रिया अघि बढाउने प्रारम्भिक कदम भएको पनि पार्टीको भनाइ छ।

राष्ट्र बैंकले बदल्यो प्राथमिकता क्षेत्रको कर्जा नियम, कृषि कर्जा सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै केही लचकता अपनाएको छ । राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्थालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्थालाई केही सहजता दिएको हो ।  राष्ट्र बैंकका अनुसार अब वि.सं. २०८३ पुस मसान्तदेखि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने २०८३ असार मसान्तसम्म कृषि क्षेत्रमा न्यूनतम १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान रहेको थियो। यसैगरी, २०८३ पुस मसान्तदेखि कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत कर्जा तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । ती क्षेत्रहरूमा पर्यटन, लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसाय क्षेत्र (३ करोड रुपैयाँसम्मका कर्जा तथा उत्पादनमूलक उद्योगको हकमा ५ करोड रुपैयाँसम्म), ऊर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग तथा स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योग समावेश छन् । त्यसैगरी, कृषि क्षेत्रमा तोकिएको न्यूनतम १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले अन्य तोकिएका क्षेत्रमा कर्जा प्रवाहको प्रतिशत नपुगेको अवस्थामा कृषि क्षेत्रमा बढी भएको कर्जालाई तोकिएको समग्र प्रतिशत गणनामा समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार २०८३ पुस मसान्तदेखि विकास बैंकहरूले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरूले न्यूनतम १५ प्रतिशत कर्जा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।  तोकिएको क्षेत्रमा कर्जा लगानी अनुपात पूरा गर्नका लागि कम कर्जा प्रवाह गर्ने र बढी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूले आपसी सहमतिमा शुल्क दिई–लिई रिपोर्टिङ प्रयोजनका लागि मात्र कर्जा खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ । खरिद गरिएको कर्जालाई तोकिएको क्षेत्रको कर्जाको रिपोर्टिङका लागि मात्र प्रयोग गर्न पाइनेछ । यस्तो अवस्थामा कर्जा खरिद गर्ने बैंक वा वित्तीय संस्थाले उक्त कर्जालाई थप गरेर तथा बिक्री गर्ने संस्थाले घटाएर आफ्नो विवरणमा देखाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  रिपोर्टिङ राइट खरिद गर्ने संस्थाले भने तोकिएको कुल प्रतिशतको एक तिहाइ रकमसम्म मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । साथै, यस्तो खरिद–बिक्रीको अधिकतम अवधि ६ महिना वा सोही आर्थिक वर्षको असार मसान्तसम्म मात्र रहनेछ । यसरी हुने रिपोर्टिङ राइटको कर्जा बिक्री–खरिदमा कर्जा जोखिम, प्रतिफल, कर्जाको नियन्त्रण तथा वित्तीय विवरणसम्बन्धी दायित्व भने कर्जा बिक्री गर्ने संस्थामै रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यस्तै, एकपटक बिक्री गरिसकेको कर्जाको रिपोर्टिङ राइट सोही अवधिभित्र पुनः अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न पाइने छैन । राष्ट्र बैंकले कृषि ऋणपत्र तथा ऊर्जा ऋणपत्रमा गरिएको लगानीलाई पनि तोकिएको क्षेत्रको कर्जामा गणना गर्न मिल्ने व्यवस्था गरेको छ । कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनी तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरूले जारी गरेका बन्ड तथा अन्य ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई पनि तोकिएको क्षेत्रको कर्जामा गणना गर्न सकिने जनाएको छ ।

जेनजी आन्दोलमा फरार रहेका कैदी चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा कपिलवस्तु कारागारबाट फरार रहेका चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।  कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका अनुसार मायादेवी गाउँपालिका ६ का १९ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका हुन् । त्यसैगरी, भारत उत्तर प्रदेशका उज्जैन कला गोण्डाका १९ वर्षीय मोहम्मद सलमान र कपिलवस्तु नगरपालिका ३ का २२ वर्षीय को सुभम खड्का र कृष्णनगर नगरपालिका ८ का २२ वर्षीय एजाज खान रहेका छन् । उनीहरूको साथबाट चोरी भएको पाँच थान मोटरसाइकल बरामद गरिएको कार्यालयका सूचना अधिकारी निमित्त सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए ।  उनका अनुसार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरमा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको छ ।

आतिथ्य क्षेत्रमा २० वर्षको अनुभव बटुलेका लक्ष्मण थापा इलाको सीईओमा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ ।  उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरेका छन् । आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । सो अवधिमा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गरेका थिए । त्यसअघि उनले काठमाडौंस्थित होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । त्यसैगरी, उनसँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गरेको अनुभव पनि रहेको छ। थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ। आइएमई हस्पिटालिटी अन्तर्गत  कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैंडाकोटस्थित होटल इलालगायत विभिन्न होटल तथा रिसोर्टहरुको व्यवस्थापन हेर्ने गर्छ ।  आइएमई हस्पिटालिटी आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गतको इकाइ हो। नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, इला होटल एण्ड रिसोर्टको नेटवर्कलाई नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूसम्म पुर्‍याउने, तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने दिशामा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

क्यासिनोमा भारतीय नक्कली आधार कार्ड र भोटर कार्ड बनाएर प्रवेश गर्ने १४ जना नेपाली पक्राउ

काठमाडौं । क्यासिनोमा भारतीय नक्कली आधार कार्ड र भोटर कार्ड बनाएर प्रवेश गर्ने १४ जना नेपाली नगदसहित पक्राउ परेका छन् ।  काठमाडौं बुढानीलकण्ठको गार्ड क्यासिनोबाट १३ र म्हैजुङ क्यासिनोबाट १ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।    काठमाडौं प्रहरी परिसरका अनुसार १ लाख ९० हजार रुपैयाँसहित नेपालीहरू पक्राउ परेका हुन् ।  प्रहरीले उनीहरूको साथमा रहेको विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड, १ थान सवारी चालक अनुमति पत्र २ थान, नक्कली भारतीय भोटर कार्ड १ थान, सीसीटीभी क्यामेराको डीभीआर तीन थान र नेपाली खेलाडीहरूले विभिन्न मितिमा नेपाली नगद साटेको इन्ट्री बुक एक थान जफत गरेको प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गर्ने याङ्गो चालक पक्राउ

काठमाडौं । महिलामाथि अभद्र व्यवहार गर्ने ‘याङ्गो’ चालक पक्राउ परेका छन् । आइतबार प्रहरीले सार्वजनिक स्थानमा महिलामाथि गालीगलौज तथा अभद्र व्यवहार गर्ने ४३ वर्षीय कुमार श्रेष्ठ पक्राउलाई गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जिनिता कार्कीले आफूलाई गालीगलौज तथा अपशब्द प्रयोग गरेका लिखित निवेदन दिएकी थिइन् ।  सामाजिक सञ्जालमा देखिएका भिडियोहरूको अनुसन्धान गर्दा काठमाडौं महानगरपालिका ७ चावहिल घर भई क्षेत्रपाटी बस्ने श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको कार्यालयले जनाएको छ ।