घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु
काठमाडौं । घानाका भूमि तथा प्राकृतिक स्रोत मन्त्री इमानुएल आर्मा–कोफी बुआकाअनुसार देशले बिग्रिएको जमिन पुनरुत्थान गरेर दिगो अर्थतन्त्रमा संक्रमण गर्न वृक्षारोपणको उपयोग गरिरहेको छ । बुआले २०२६ ‘ट्री–फर–लाइफ’ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको बताएका हुन् । २०२६ को कार्यक्रमले अघिल्लो वर्ष जस्तै कम्तिमा ३ करोड बिरुवा रोप्ने लक्ष्य राखेको छ । जबकि पहिले रोपिएका बिरुवाहरूलाई हुर्काउने र संरक्षण गर्ने प्रयासहरू जारी राखिनेछ ।
धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण
गोदावरी । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल तीन करोड १५ लाख रुपैयाँको लागतमा बनेका हुन् । पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए ।
गाजर किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १७०, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु १४०, घिरौँला प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४५, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७५, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १६०, कोइरालो प्रतिकिलो रु २६०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १४०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
श्रीलङ्कन एयरलाइन्सको साढे १७ करोड डलरको ऋणपत्र नवीकरण
काठमाडौं । ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक (श्रीलङ्कन एयरलाइन्स) ले उसका ऋणदाताहरूले १७ करोड ५० लाख डलरको ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका बिहीबार घोषणा गरेको छ । ऋणदाताहरूले ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका छन्, जसले देशको ऋणपत्र पुनर्संरचनालाई पूरा गरेको छ। देशले आफ्नो ४६ अर्ब डलर बाह्य ऋण तिर्न नसकेपछि राज्यको स्वामित्वमा रहेको ‘श्रीलंकन एयरलाइन्स’ले पनि आफ्नो १७ करोड ५० लाख डलरको सन् २०२४ मा परिपक्व हुने ऋणपत्र तिर्न सकेको थिएन । सरकार र श्रलिङ्कन एअरलाइन्सले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘बाँकी रकमको ९७ प्रतिशत प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूले १६ प्रतिशत ऋणपत्र मूल्यमा कटौती स्वीकार गर्न सहमत भएका छन् ।’ पत्रमा अन्तर्राष्ट्रिय ऋणपत्रधारकहरूलाई या त तत्काल नगद भुक्तानी प्रस्ताव गरिएको छ वा चार प्रतिशत कुपन भएको नयाँ ऋणपत्र प्रस्ताव गरिएको छ र यो सन् २०२८ मा परिपक्व हुनेछ। सहमतिपछि एयरलाइन्सका अध्यक्ष सरथ गानेगोडाले भने, ‘सम्झौता पूरा हुनु एक महत्वपूर्ण कदम हो, जसले हामीलाई नयाँ आशावादका साथ कम्पनीको भविष्यमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ ।’ श्रीलङ्काले गत वर्षको सुरुमा निजी र आधिकारिक ऋणदाताहरूसँग आफ्नो ऋण पुनर्संरचना पूरा गरिसकेको थियो किनकि देश सन् २०२२ मा सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर आएको थियो। अत्यावश्यक खाद्यान्न, इन्धन र औषधिका लागि समेत विदेशी मुद्राको अभाव भएपछि उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट २.९ अर्ब डलरको बेलआउट ऋण प्राप्त गरेको थियो । अभावलाई लिएर महिनौँसम्म सडक प्रदर्शनका कारण कुव्यवस्थापन र भ्रष्टाचारको आरोप खेपिरहेका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे अपदस्थ भएका थिए । आईएमएफले सरकारले श्रीलङ्काली एयरलाइन्सलाई राष्ट्रिय ‘ब्यालेन्स शीट’मा बोझ नपरोस् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक थियो, तर यसलाई बेच्ने प्रयासहरू अहिलेसम्म खरीददारलाई आकर्षित गर्न असफल भएका छन् । गत वर्षको मार्चको अन्त्यसम्ममा करिब ५९६ अर्ब रुपैयाँ (१.९ अर्ब अमेरिकी डलर) घाटामा रहेको उक्त ध्वजाबाहक कम्पनीको ठूलो ऋण रहेको छ ।
निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, ७.८१ अर्ब माग गरेकोमा ६.७६ अर्बको स्रोत सहमति
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च रुपैयाँ भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए । निर्वाचन सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनको भनाइ छ । ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय बाटै खरिद गरिएको थियो । १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो । निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ । निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।
आज विश्व हिमनदी दिवस, करोडौं मानिसका लागि पानीको आधार
काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्र सङ्घको आव्हानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौं मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ । विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै उक्त विश्व संस्थाले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ गरिएको हो । यसैगरी, काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका-६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित २ जना, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबाट ५ जना, पोखरा नगरपालिका-२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो । बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरुबाट खैरो हेरोइनसहित ८ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका-१८ गाउँबेँसी टोलबाट ५ जनालाई पक्राउ गरिएको छ । उक्त समाचार कक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।
अर्थमन्त्री खनाल: ६ महिनामा ८२८ वटा निर्णय, आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने घोषणा गरेका छन् । देशमा पूर्ण बहुमतसहित नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढेकाले यस्तो निर्णय लिएको उनले स्पष्ट पारे । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम नयाँ सरकार गठनको मार्ग खुला भएको छ । अर्थमन्त्री खनालले नयाँ सरकार गठन भएसँगै आफूले सम्हाल्दै आएको अर्थ मन्त्रालय (२०८२ भदौ ३० देखि) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (असोज ७ देखि) को जिम्मेवारी स्वतः अन्त्य हुने बताए । उनले आफ्नो कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हालेको उल्लेख गरे । शासकीय कमजोरी र भ्रष्टाचारविरुद्ध भएको आन्दोलनपश्चात् इमानदारीपूर्वक काम गर्ने संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको उनले बताए । खनालका अनुसार, अन्तरिम सरकारको प्रमुख लक्ष्य लोकतान्त्रिक प्रक्रिया मार्फत मुलुकलाई निकास दिनु, विधिको शासन स्थापना गर्नु र भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति गर्नु थियो । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार जनआकांक्षा अनुसार अगाडि बढेको उनले दाबी गरे । उनले निर्वाचन सम्पन्न गराउनु अर्थ मन्त्रालयका लागि ठूलो चुनौती रहेको बताए । आर्थिक वर्षको बीचमै सीमित स्रोतसाधनभित्र रहेर निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको थियो । साथै, सहिद परिवारलाई राहत, घाइतेहरूको उपचार, आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा सेवा प्रवाह पुनःस्थापना जस्ता कार्यहरूमा समेत खर्च व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस्तै, काठमाडौं उपत्यका लगायत देशका प्रमुख आर्थिक केन्द्रहरूमा आन्दोलनका कारण प्रभावित भएका व्यवसाय र आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउन तथा व्यवसायीहरूको मनोबल बढाउन विशेष पहल गरिएको खनालले उल्लेख गरे । अर्थमन्त्री खनालले फागुन मसान्तसम्मको अवधिमा ८२८ वटा निर्णय गरेको बताए । जसमध्ये २७ वटा निर्णय कागजी थिए भने बाँकी सबै डिजिटल रहेको उनको भनाइ छ । यस आधारमा औसत दैनिक ६.६८ निर्णय गरेको उनको भनाइ छ ।