रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ । अदालतले बिहीबार (आज) उक्त पार्टीका सभापति लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयबारे फाइल झिकाउन आदेश दिएको हो । यो आदेश महान्याधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै दिइएको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीविरुद्धको मुद्दा फिर्ता लिने भनी २ फागुनमा गरेको निर्णय पेश नभएको भन्दै उक्त निर्णय अनिवार्य रूपमा पेश गर्न आदेश दिएको छ । साथै इजलासले आगामी सुनुवाइका लागि ९ चैतमा पेसी तोक्दै हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा मुद्दा पेश गर्न निर्देशन दिएको छ । आइतबारदेखि सुरु भएको सुनुवाइ तीन दिनसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर बहस भएको थियो । यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
नवनिर्वाचित सांसदको सपथ चैत १२ गते दिउँसो १२ बजे
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको सपथ ग्रहण चैत १२ गते दिउँसो १२ बजे गराइने भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराज गिरीका अनुसार सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित सांसदहरूको सपथको मिति तय गरिएको संसद् सचिवालयले जनाएको छ । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२ सांसद निर्वाचित गराउँदै उल्लेख्य उपस्थिति जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३, नेकपा एमालेले २५ तथा नेपाल कम्युनिष्ट पार्टीले १६ सांसद निर्वाचित गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४–४ सांसद जितेका छन् भने एक स्वतन्त्र सांसद पनि प्रतिनिधि सभामा रहने भएका छन् ।
राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे । 'फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,' राष्ट्रपति पौडेलले भने ।
डिजिटल युगमा महिला नेतृत्वको आवश्यकता, साइबर सुरक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । साइबर सुरक्षामा महिलाको नेतृत्वदायी भूमिका सुदृढ बनाउन केन्द्रित ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । क्यान महासंघअन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेस कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा रूपमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास आजको प्रमुख आवश्यकता भएको बताए । उनले पछिल्ला सामाजिक घटनाक्रम सन्दर्भित गर्दै महिलाका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिमसमेत आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सुरुआतमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका आइटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्त्वबारे धारणा राखेका थिए । प्राविधिक सत्रअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले ‘साइबर सुरक्षाको अग्रपंक्तिमा महिलाः सुरक्षित डिजिटल भविष्यको निर्माण’ विषयमा प्रस्तुति दिँदै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्व आवश्यक रहेको बताइन् । इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावना, चुनौती र महिला सहभागिता बढाउने उपायबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले उदीयमान साइबर जोखिम, डिजिटल सुरक्षा चुनौती तथा विविधतायुक्त नेतृत्वको आवश्यकता विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रमको अन्त्यमा आयोजित प्यानल छलफलमा नेपाल बैंक लिमिटेडकी कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा र मोना न्याछ्यों श्रेष्ठ सहभागी रहेका थिए । छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती तथा साइबर सुरक्षामा महिलाको भूमिका र सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो । आयोजकका अनुसार उक्त कार्यक्रमले नेपालमा साइबर सुरक्षा जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राप्रपाको संसदीय दलको नेतामा शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ। बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । शाही जुम्लाबाट निर्वाचित भएका हुन् भने ओली समानुपातिक सांसद हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
जेनजी आन्दोलनमा फरार रहेका कैदी गुरुङ कलंकीबाट पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा फरार रहेका एकजना कैदी पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कलंकीबाट ५६ वर्षीय विष्णुबहादुर गुरुङलाई पक्राउ गरेको हो । बाघको छाला बिक्री गरेको मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०६५ जेठ ९ गतेको फैसलाले गुरुङलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । उनी सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । गुरुङ जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागाराबाट फरार रहेका थिए ।
ज्येष्ठ सदस्यको रूपमा प्रतिनिधिसभाको पहिलो बैठक सांसद केसीले चलाउने
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्ने भएका छन् । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनले प्रारम्भिक बैठक सञ्चालन गर्ने जिम्मेवारी पाउने भएका हुन् । अभिलेखअनुसार सांसद केसीको उमेर ७७ वर्ष रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । नेपालको संविधानको धारा १९ को ५ ले उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार केसीले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् । पहिलो बैठकमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशनसम्बन्धी पत्र वाचन, सभामुख तथा उपसभामुख चयन प्रक्रियाको सुरुआत र आवश्यक प्रारम्भिक कार्यसूची तय गरिनेछ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा बैठक सञ्चालन हुने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई संसदीय प्रक्रियाको औपचारिक सुरुआतका रूपमा लिइन्छ । सभामुख निर्वाचित भएपछि भने प्रतिनिधिसभाको नियमित अध्यक्षता सभामुखले नै गर्नेछन्।
विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने
काठमाडौं । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला र पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई मात्र समावेश गराउन आग्रह गरेको हो । एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिला र पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ विज्ञप्तिमा उल्लेख गरेको छ । विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।