विकासन्युज

टायल उद्योगमा कजारियाको दबदबा : लगातार १४ पटक ‘सुपरब्रान्ड’सहित ‘एनएस क्वालिटी अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । कजारियाले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताहरू प्राप्त गर्दै आफ्नो उत्कृष्टताको विरासतलाई थप सुदृढ बनाएको छ । प्राविधिक नवप्रवर्तन र ठूलो उत्पादन क्षमताका आधारमा आफूलाई विश्वकै ८औं ठूलो टायल उत्पादक कम्पनीका रूपमा स्थापित गर्न सफल कजारियाले लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ को उपाधि पाएर उपभोक्ताको अटुट विश्वास र बजार नेतृत्वलाई प्रमाणित गरेको हो ।  कम्पनीले हालै प्राप्त गरेको ‘एनएस क्वालिटी अवार्ड २०२६’ ले यसको गुणस्तरप्रतिको प्रतिबद्धता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनालाई थप पुष्टि गरेको छ ।  ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ का रूपमा सम्मानित यस कम्पनीले आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत आफ्नो उत्पादनको गुणस्तर र वातावरणीय जिम्मेवारीलाई विश्वस्तरीय मापदण्डमा राखेको छ ।  साथै भारतीय हरित भवन परिषद् (आईजीबीसीएस) को सदस्यका रूपमा कजारियाले दिगो र हरित निर्माणलाई विशेष प्राथमिकता दिँदै आएको छ । नेपालको सन्दर्भमा कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा देशकै सबैभन्दा ठूलो र अत्याधुनिक टायल उद्योग सञ्चालन गरिरहेको छ ।  वार्षिक ५.२ मिलियन वर्ग मिटर उत्पादन क्षमता भएको यस उद्योगले ३ हजारभन्दा बढी आकर्षक डिजाइनका विकल्पहरू उपलब्ध गराउँदै देशलाई औद्योगिक आत्मनिर्भरतातर्फ डोर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।  कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालका अनुसार कम्पनीको यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासबाट प्रेरित रहेको छ ।  हाल ८१.५५ मिलियन वर्ग मिटरको कुल वार्षिक उत्पादन क्षमता रहेको कजारियाले आफ्नो सुदृढ विरासत र अत्याधुनिक प्रविधिमार्फत निर्माण क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्दै भविष्यमा अझै सशक्त उपस्थिति रहने जनाएको छ । 

संसदीय दलको नेता चयन गर्न कांग्रेसले गर्यो समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । समितिले तयारी गरेर चैत २४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका ल्याउने एक पदाधिकारीले जानकारी दिए । निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठित समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाललाई राख्ने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए ।  तर रसाइलीले भने आफू निर्वाचन समिति संयोजक रहेको भन्ने जानकारी नभएको बताए ।  उनले भने, ‘म आफै निर्वाचन हारेको मान्छेले कसरी निर्वाचितहरूको निर्वाचन गराउनु ?’ संसदीय दलको नेताका लागि समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी रहेको एक नेताले बताए । दुवै नेताबीच प्रतिस्पर्धा हुने देखिएको अवस्थामा नेतृत्व चयनलाई लिएर पार्टी भित्र आन्तरिक छलफलसमेत तीव्र बनेको छ ।

सभामुख अयार्लले पाउनेछन् १ लाख २७ हजार बढी तलब/सुविधा, १० लाखको बीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । घोषणा हुन बाँकी भए पनि कुनै पनि उम्मेदवारले मनोनयन नगराएपछि उनी निर्विरोध भएका हुन् ।  आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनी सभामुखका रुपमा निर्वाचित भएको घोषणा हुनेछ । सभामुख अर्यालले अबको पाँच वर्षसम्म प्रतिनिधिसभाको सभामुख भएर जिम्मेवारी सम्हाल्नेछन् ।  संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा सभामुख, उपसभामुख राष्ट्रिय सभाको अध्यक्ष तथा संघीय सांसदहरूले पाउने सेवा सुविधाको विषयमा उल्लेख गरिएको छ। सोही ऐनको अनुसूची १ अनुसार सभामुख अर्यालले ६७ हजार ३२० रुपैयाँ मासिक तलब सुविधा पाउनेछन् । तर, तलबसँगै अन्य सुविधा जाेड्दा भने उनले मासिक १ लाख २७ हजार बढी तलब तथा अन्य सुविधा पाउने छन् ।  यस्तो छ सभामुखको सेवा सुविधा पारिश्रमिक- ६७,३२०।– (मासिक) बैठक भत्ता- १०००।– विशेष भत्ता- १०००।– सञ्चार सुविधा- ३०००।– (प्रतिमहिना) आवास सुविधा- २८२७५।– (प्रतिमहिना) फर्निचर- १५०००।– निजी सचिवालय बन्दोवस्त- २०००।– (प्रतिमहिना) गार्ड घर- २०००।– (प्रतिमहिना) सवारी इन्धन- २५० लिटर (प्रतिमहिना) मोविल- १० लिटर (त्रैमासिक) बिजुली/पानी- बिल अनुसार दैनिक भ्रमण भत्ता ३०००।– यात्रा बीमा- १०,००,०००।– परिचारकलाई लुगा भत्ता- ४०००–– अतिथि सत्कार- २५००।– सुरक्षाकर्मी/कर्मचारी- २० जना

शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना खोल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्नाका लागि सूचना निकाल्ने कार्यमा रोक लगाएको छ ।  न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । अदालतले शिक्षा नियमावलीको व्यवस्था प्रतिकूल हुने गरी विभिन्न विद्यालयहरूले परीक्षाफल नै प्रकाशित नभई भर्नाको सूचना निकालेको भन्दै यस्तो आदेश दिएको हो । अदालतको आदेशमा के छ ? सर्वोच्च अदालतले आफ्नो आदेशमा विद्यालयहरूले मनलाग्दी रूपमा भर्ना खोल्नु कानुनसम्मत नभएको स्पष्ट पारेको छ । आदेशमा भनिएको छ, ‘विद्यार्थीको परीक्षाफल नै प्रकाशित नभएको, शैक्षिक सत्र नै सुरु नभएको र शिक्षा नियमावली, २०५९ बमोजिम विद्यार्थी भर्नाका लागि आवश्यक सक्कल प्रमाणपत्र नै प्राप्त नभएको अवस्थामा समेत विभिन्न विद्यालयले सूचना प्रकाशित गरेको देखिएको छ । यस्तो कार्य शिक्षा नियमावलीको व्यवस्था अनुकूल देखिएन ।’ अदालतले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूको नाममा आदेश दिँदै भनेको छ, ‘नियम ८४ (४) बमोजिम शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्नु, गराउनु र सो अनुरूप एकरूपता कायम गर्नू ।’ सर्वोच्चको आदेशअघि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले पनि चैत ५ गते एक सूचना जारी गर्दै भर्ना प्रक्रियामा कडाइ गरेको थियो । केन्द्रले वार्षिक परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गरेपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम सञ्चालन गर्न मातहतका निकाय र विद्यालयहरूलाई निर्देशन दिएको थियो ।

जलशक्ति हाइड्रोले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । जलशक्ति हाइड्रो कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता सेयरले हुन आउने कुल १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि छुट्ट्याइएको छ । सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  सो सम्बन्धी सम्झौता पत्रमा जलशक्ति हाइड्रोका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनालले हस्ताक्षर गरे । २ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने सुनिश्चित गरिएको छ । जलशक्ति हाइड्रोले धादिङ जिल्लाको ईल्लेप ९तातोपानी० खोलामा २३।६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि शुक्रबार (आज) देखि विशेष उडान सञ्चालन गरेको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए । उहाँकाअनुसार शुक्रवार काठमाडौं–दुबई, शनिवार दुबई–काठमाडौं, आइतबार काठमाडौं–दमाम, आइतबार दमाम–काठमाडौं उडान हुनेछन् ।  उनले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिए। त्यस्तै, नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ ।  यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उनले जानकारी दिए ।

अपोलोको कीर्तिमान तोड्दै आर्टेमिस–२ : पृथ्वीबाट टाढिँदा भावुक बने अन्तरिक्ष यात्री

काठमाडौं । करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् । लिफ्टअफ भएको झण्डै २५ घण्टापछि गरिएको ‘ट्रान्सलुनर इग्निसन’ सफलतापूर्वक सम्पन्न भएसँगै तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब दुई लाख ५० हजार माइल (चार लाख किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ ।  नासाका अधिकारी लोरी ग्लेजले सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षा छोडेको घोषणा गरे । इन्जिन प्रज्वलन पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले पृथ्वीबाट टाढिँदै गर्दा देखिएको दृश्यलाई ‘अभूतपूर्व’ बताए ।  उनका अनुसार चालक दलका सदस्यहरू झ्यालमै टाँसिएर पृथ्वीलाई टाढिँदै गरेको हेर्दा भावुक बनेका थिए । नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्राअघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन–समर्थन प्रणाली परीक्षण गरेको थियो । त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो । यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना—स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थिति—का लागि महत्त्वपूर्ण आधार मानिएको छ । कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र ह्यानसेनले चन्द्रमाको नजिक पुगेर त्यसभन्दा पारि घुमेर पुनः पृथ्वी फर्कने योजना बनाइएको छ । यस क्रममा उनीहरूले सन् १९७० को अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । साथै अप्रिल १० मा पृथ्वीमा फर्किँदा सबैभन्दा तीव्र गतिमा पुनः प्रवेश गर्ने सम्भावना पनि छ । यो मिसनले इतिहासमा नयाँ आयाम थपिसकेको छ । ग्लोभर, कोच र ह्यानसेन क्रमशः पहिलो अश्वेत, पहिलो महिला र पहिलो गैर–अमेरिकी अन्तरिक्ष यात्रीका रूपमा चन्द्र यात्रामा सहभागी भएका हुन् । यसअघि अपोलो कार्यक्रमअन्तर्गत चन्द्रमा पुगेका २४ जना सबै श्वेत पुरुष थिए । ग्लोभरले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा सम्पूर्ण मानवता एउटै देखिने उल्लेख गर्दै मानव एकताको सन्देश दिए । ‘हामी सबै एउटै प्रजाति हौं,’ उनले भने । मिसनको महत्त्वपूर्ण क्षणअघि अन्तरिक्ष यात्रीहरूलाई उत्साहित बनाउन सङ्गीतमार्फत जगाइएको थियो । त्यसपछि अन्तिम अनुमति दिँदै उनीहरूलाई ‘मानवताको चन्द्र फर्कने यात्रा’ को हिस्सा भएको बताइएको थियो । क्याप्सुलले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘फ्रि–रिटर्न’ मार्गमा यात्रा गरिरहेको छ, जसमा इन्जिनले २४ हजार माइल प्रतिघण्टाभन्दा बढी गति दिएको छ । कमान्डर वाइजम्यानले यो यात्रा असाधारण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसको गम्भीरता अहिले मात्र महसुस भइरहेको बताए । उडान निर्देशक जुड फ्रिलिङले पनि यसलाई जीवनमा एकपटक मात्र आउने अवसरका रूपमा व्याख्या गरे । अर्को महत्त्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ । ओरियन क्याप्सुल चन्द्रमाबाट करिब चार हजार माइल (छ हजार चार सय किलोमिटर) नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ । साथै, अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणसमेत देख्न पाउनेछन् । यसअघि पृथ्वीको कक्षामा रहँदा उनीहरूले महादेशहरू, समुद्री किनार र दक्षिण ध्रुवसम्मको दृश्य स्पष्ट रूपमा अवलोकन गरेका थिए । कोचले ती दृश्यहरूलाई अत्यन्त प्रभावशाली बताए । नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको  छ । यद्यपि, उडानका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । ओरियन क्याप्सुलको शौचालयमा समस्या देखिएपछि अन्तरिक्ष यात्रीहरूले वैकल्पिक उपाय अपनाएका थिए । साथै पानी आपूर्ति प्रणालीमा सम्भावित समस्या समाधान गर्न पिसाब भण्डारण झोलाहरूलाई पानी भण्डारणका रूपमा प्रयोग गरिएको छ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको यात्राअघि सात लिटरभन्दा बढी पानी सुरक्षित राख्न सफल भएका छन् । यी साना चुनौतीबीच पनि आर्टेमिस द्वितीयले मानव अन्तरिक्ष यात्राको नयाँ अध्याय सुरु गरेको छ, जसले चन्द्रमामा पुनः मानव उपस्थिति मात्र नभइ, भविष्यका गहिरा अन्तरिक्ष अभियानका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

सभामुखमा अर्यालको एकल उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ ।  उम्मेदवारीका लागि तोकिएको समयमा एकल नाम मात्रै दर्ता भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।  निर्धारित समयभित्र अर्यालको एकल उम्मेदवारी दर्ता भएको गिरीले जानकारी दिए ।