अपोलोको कीर्तिमान तोड्दै आर्टेमिस–२ : पृथ्वीबाट टाढिँदा भावुक बने अन्तरिक्ष यात्री
काठमाडौं । करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् । लिफ्टअफ भएको झण्डै २५ घण्टापछि गरिएको ‘ट्रान्सलुनर इग्निसन’ सफलतापूर्वक सम्पन्न भएसँगै तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब दुई लाख ५० हजार माइल (चार लाख किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ । नासाका अधिकारी लोरी ग्लेजले सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षा छोडेको घोषणा गरे । इन्जिन प्रज्वलन पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले पृथ्वीबाट टाढिँदै गर्दा देखिएको दृश्यलाई ‘अभूतपूर्व’ बताए । उनका अनुसार चालक दलका सदस्यहरू झ्यालमै टाँसिएर पृथ्वीलाई टाढिँदै गरेको हेर्दा भावुक बनेका थिए । नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्राअघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन–समर्थन प्रणाली परीक्षण गरेको थियो । त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो । यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना—स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थिति—का लागि महत्त्वपूर्ण आधार मानिएको छ । कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र ह्यानसेनले चन्द्रमाको नजिक पुगेर त्यसभन्दा पारि घुमेर पुनः पृथ्वी फर्कने योजना बनाइएको छ । यस क्रममा उनीहरूले सन् १९७० को अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । साथै अप्रिल १० मा पृथ्वीमा फर्किँदा सबैभन्दा तीव्र गतिमा पुनः प्रवेश गर्ने सम्भावना पनि छ । यो मिसनले इतिहासमा नयाँ आयाम थपिसकेको छ । ग्लोभर, कोच र ह्यानसेन क्रमशः पहिलो अश्वेत, पहिलो महिला र पहिलो गैर–अमेरिकी अन्तरिक्ष यात्रीका रूपमा चन्द्र यात्रामा सहभागी भएका हुन् । यसअघि अपोलो कार्यक्रमअन्तर्गत चन्द्रमा पुगेका २४ जना सबै श्वेत पुरुष थिए । ग्लोभरले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा सम्पूर्ण मानवता एउटै देखिने उल्लेख गर्दै मानव एकताको सन्देश दिए । ‘हामी सबै एउटै प्रजाति हौं,’ उनले भने । मिसनको महत्त्वपूर्ण क्षणअघि अन्तरिक्ष यात्रीहरूलाई उत्साहित बनाउन सङ्गीतमार्फत जगाइएको थियो । त्यसपछि अन्तिम अनुमति दिँदै उनीहरूलाई ‘मानवताको चन्द्र फर्कने यात्रा’ को हिस्सा भएको बताइएको थियो । क्याप्सुलले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘फ्रि–रिटर्न’ मार्गमा यात्रा गरिरहेको छ, जसमा इन्जिनले २४ हजार माइल प्रतिघण्टाभन्दा बढी गति दिएको छ । कमान्डर वाइजम्यानले यो यात्रा असाधारण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसको गम्भीरता अहिले मात्र महसुस भइरहेको बताए । उडान निर्देशक जुड फ्रिलिङले पनि यसलाई जीवनमा एकपटक मात्र आउने अवसरका रूपमा व्याख्या गरे । अर्को महत्त्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ । ओरियन क्याप्सुल चन्द्रमाबाट करिब चार हजार माइल (छ हजार चार सय किलोमिटर) नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ । साथै, अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणसमेत देख्न पाउनेछन् । यसअघि पृथ्वीको कक्षामा रहँदा उनीहरूले महादेशहरू, समुद्री किनार र दक्षिण ध्रुवसम्मको दृश्य स्पष्ट रूपमा अवलोकन गरेका थिए । कोचले ती दृश्यहरूलाई अत्यन्त प्रभावशाली बताए । नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको छ । यद्यपि, उडानका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । ओरियन क्याप्सुलको शौचालयमा समस्या देखिएपछि अन्तरिक्ष यात्रीहरूले वैकल्पिक उपाय अपनाएका थिए । साथै पानी आपूर्ति प्रणालीमा सम्भावित समस्या समाधान गर्न पिसाब भण्डारण झोलाहरूलाई पानी भण्डारणका रूपमा प्रयोग गरिएको छ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको यात्राअघि सात लिटरभन्दा बढी पानी सुरक्षित राख्न सफल भएका छन् । यी साना चुनौतीबीच पनि आर्टेमिस द्वितीयले मानव अन्तरिक्ष यात्राको नयाँ अध्याय सुरु गरेको छ, जसले चन्द्रमामा पुनः मानव उपस्थिति मात्र नभइ, भविष्यका गहिरा अन्तरिक्ष अभियानका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
सभामुखमा अर्यालको एकल उम्मेदवारी
काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ । उम्मेदवारीका लागि तोकिएको समयमा एकल नाम मात्रै दर्ता भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । निर्धारित समयभित्र अर्यालको एकल उम्मेदवारी दर्ता भएको गिरीले जानकारी दिए ।
स्थानीय तहका सास्ती सुन्दै मन्त्री रावलले भनिन्– कर्मचारीदेखि फोहोरमैलासम्मका समस्या सुल्झाउँछौं
काठमाडौं । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबीच विभिन्न समसामयिक विषयमा छलफल सम्पन्न भएको छ । शुक्रबार मन्त्रालयमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौती लगायतका विषयहरूमा गहन छलफल भएको हो । स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका वास्तविक समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए । यस क्रममा नगरपालिकाका अध्यक्ष भीम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए । त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन्। उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानिय सरकार मार्फत प्राथमिकतामा राखेको बताइन्। त्यसैगरी, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारीहरूलाई खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका थिए ।
राष्ट्र बैंकबाट विदा भए कार्यकारी निर्देशक सिग्देल, स्वतः बढुवाको लाइनमा न्यौपाने
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देल अनिवार्य अवकाशमा गएका छन् । उमेरहदका कारण उनी चैत १८ गते सेवा निवृत्त भएका हुन् । सिग्देलका अनुसार, उनको वास्तविक उमेर अझै करिब दुई वर्ष बाँकी भए पनि विद्यालय तहमा (एसएलसी) उमेर बढाएर राखिएको कारण चाँडै अवकाशमा जानुपरेको हो । अवकाशको समयसम्म उनी नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा कार्यरत थिए । झापाका स्थायी बासिन्दा सिग्देल वि.सं. २०५४ मंसिर २२ गते राष्ट्र बैंकमा प्रवेश गरेका थिए । उनले आफ्नो करिअरका क्रममा करिब १५ वर्ष अनुसन्धान विभागमा, ५ वर्ष बैंक सुपरभिजन विभागमा तथा बाँकी समय विभिन्न विभागहरूमा रही काम गरेका थिए । सिग्देलको अवकाशसँगै हाल निर्देशक रहेका हेम प्रसाद न्यौपाने स्वतः कार्यकारी निर्देशक पदमा बढुवा हुने भएका छन् । न्यौपाने वि.सं. २०५९ साउन २७ गते सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए । न्यौपानेसँग अनुसन्धान विभाग, बैंक सुपरभिजन विभाग, कर्पोरेट प्लानिङका साथै प्रादेशिक कार्यालय जनकपुर र फाइनान्सियल इन्क्लुजन एण्ड कन्जुमर प्रोटेक्सन डिभिजन लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ । हाल उनी बैंकिङ विभागको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
कामु प्रधानन्यायाधीशको नयाँ एक्सन प्लान, अब हप्तामा दुई दिन संवैधानिक इजलास अनिवार्य
काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा शुक्रबार आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताइन् । ‘संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, संविधानको अन्तिम व्याख्याता हो, तर, विडम्बना १ आज यही इजलास कार्यबोझ र प्रक्रियागत ढिलाइको चापमा छ । यसलाई थप सक्रिय र विश्वासिलो बनाउन हाम्रा कदमहरू सोहीअनुसार केन्द्रित हुनेछन्,’ उनले भनिन् । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल । हाल संवैधानिक इजलासमा दुई ८२ भन्दा बढी मुद्दाहरू विचाराधीन छन् । तीमध्ये कतिपय आठ वर्षभन्दा पुराना छन् भने पाँच वर्ष नाघेका मात्रै ७३ वटा मुद्दा छन् । ‘कतिपय मुद्दाका मिसिलहरू नै जलेका छन्, तथापि हामीले सम्हालिएर काम गरिरहेका छौं । अब ‘हेर्न नमिल्ने’ वा ‘समय अभाव’का कारण इजलास स्थगित हुने परम्पराको अन्त्य गर्ने गरी काम गर्दैछौं,’ कामु प्रधानन्यायाधीश मल्लले भनिन्, ‘संवैधानिक इजलासलाई थप व्यवस्थित बनाउन अबदेखि हप्ताको दुई दिन अनिवार्य रूपमा इजलास बस्ने सुनिश्चितता गरिएको छ ।’ उनले मुद्दाको छिटो किनारा मात्र लगाउने नभई संवैधानिक अन्योललाई समयमै समाधान गरी राज्यका अङ्गहरूलाई दिशा निर्देशन गर्ने स्पष्ट पारिन् । ‘लोकतन्त्रमा जनमतको सम्मान सर्वोपरी हुन्छ, निर्वाचित प्रतिनिधिहरूको वैधानिकतामाथि उठेका प्रश्नहरू वर्षौंसम्म अल्झिरहनुहुँदैन,’ कामु प्रधानन्यायाधीश मल्लले अगाडि भनिन्, ‘त्यसैले, निर्वाचनसम्बन्धी सबै विवाद र मुद्दाहरूलाई प्राथमिकतामा राखी अन्तिम फैसला गरिने गरी कार्ययोजना अघि बढाइनेछ । पदावधीको औचित्यता सकिएपछिको फैसलाको कुनै अर्थ हुँदैन ।’ उनले संवैधानिक इजलासमा विचाराधीन मुद्दाहरूमध्ये न्यूनतम एक तिहाई मुद्दा आगामी तीन महिनाभित्र फर्छ्याैट गर्नुका साथै सङ्घ र प्रदेशबीचका अधिकारका सम्बन्धमा स्पष्टता दिएर राज्य संयन्त्रलाई द्वन्द्व होइन सहकार्यतर्फ डोर्‍याउने बताइन् । कामु प्रधानन्यायाधीश मल्लले कुनै कानुन संविधानसँग बाझिएमा इजलासले संविधान सङ्गत कानुनको परीक्षण गर्ने उल्लेख गरिन् । न्यायालयमा जनआस्था वृद्धिका लागि न्याय भएको देखिनुपर्ने भन्दै उनले संवैधानिक व्याख्याका गम्भीर बहसलाई आमनागरिकको पहुँचमा पुर्याउन प्रत्यक्ष प्रसारण राम्रो माध्यम भएको धारणा राखिन् । ‘महत्त्वपूर्ण फैसलामा ‘लाइभ स्ट्रिमिङ’ गर्ने अभ्यास गरिसकेका छौं, हाल संरचना नभएका कारणले जटिलता रहेको छ,’ कामु प्रधानन्यायाधीश मल्लको भनाइ थियो, ‘अब यसलाई बृहत् रूपमा विस्तार गर्नका लागि एउटा प्रणालीको स्थापना गर्न एक कार्यदल बनाउनेछौं, क्रमशः अन्य इजलासहरूमा विस्तार गरिनेछ ।’ ‘लाइभ स्ट्रिमिङ’ अभ्यासले अदालतको कार्यप्रणालीलाई पारदर्शी बनाउन र कानुनका विद्यार्थीदेखि जिज्ञासु नागरिकसम्मलाई दीक्षित गर्दै न्यायापालिका सबैको पहुँचमा पुग्ने उनको विश्वास छ । कामु प्रधानन्यायाधीश मल्ल अदालतको पञ्चवर्षीय योजनाले परिकल्पना गरेको प्रविधिमैत्री न्याय प्रणालीलाई अवधारणामा सीमित नराखी व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरिन् । सर्वोच्च अदालतका न्यायाधीश तथा सूचना प्रविधि समिति संयोजक डा. नहकुल सुवेदीले संवैधानिक इजलाससम्बन्धी नयाँ वेव पोर्टल सुरु गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए । न्यायपालिकालाई प्रविधिमैत्री बनाएर सेवाग्राही, कानुन व्यवसायी र अदालतप्रति चासो राख्ने व्यक्तिहरूका लागि सहज सेवा दिने अवस्था बनाउन आफूहरू लागि रहेको उनको भनाइ छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले संवैधानिक इजलासको विषयमा समग्र जानकारीका साथै न्यायालयको पारदर्शिता कायम गर्न पोर्टलको सुरुआत गरिएको बताए । उनले पोर्टलबाट समग्रमा मुद्दाको फर्छ्याैट, आदेश, फैसला सबै हेर्न मिल्ने भएकाले यो निकै महत्त्वपूर्ण भएको जानकारी दिए । सूचना प्रविधि महाशाखा प्रमुख गौरीनाथ कोइरालाले संवैधानिक इजलाससम्बन्धी वेव पोर्टलबारे जानकारी दिँदै अदालतको पोर्टलभित्र एउटा छुट्टै ‘एप्लिकेशन तयार पारी पोर्टल बनाएको बताए । हाल सर्वोच्च अदालतमा २७ हजार १४७ मुद्दा फर्छ्याैट गर्न बाँकी रहेका र संवैधानिक इजलासमा हाल दुई सय ८२ थान मुद्दा रहेका त्यस अवसरमा जानकारी दिइयो । नेपालको संविधानको धारा १३७, संवैधानिक इजलाससम्बन्धी व्यवस्था (१) मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहने प्रावधान छ । इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने व्यवस्था छ । संविधानको धारा १३३ मा सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीचको अधिकार क्षेत्रबारेमा भएको विवाद, सङ्घीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र सङ्घीय संसद्का सदस्य वा प्रदेशसभाका सदस्यको अयोग्यतासम्बन्धी विवाद यस इजलासले हेर्ने व्यवस्था गरिएको छ ।
पहिलो पटक सहकारीको कार्यक्रममा गभर्नर, उद्घाटन गरे साढे २३ करोडको भवन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को नवनिर्मित भवन उद्घाटन गरेका छन् । विगतमा सहकारी क्षेत्र हेर्ने भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री तथा पदाधिकारी वा सहकारी विभागका रजिष्ट्रार सहभागी हुने सहकारी क्षेत्रका कार्यक्रममा पहिलो पटक गभर्नर पौडेल सहभागी भएर नेफ्स्कुनको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । यसलाई नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऐतिहासिक क्षणका रुपमा विश्लेषण गरेका छन् । शुक्रबार बिहान बानेश्वरको मीनभवनमा रहेको नेफ्स्कुनको नवनिर्मित भवनमा पुगेर गभर्नर अधिकारीले भवनको उद्घाटनसँगै सहकारी क्षेत्रको भूमिका, योगदान र सुधार गर्नुपर्ने पक्षका विषयमा खुलेर धारणा राखे । गभर्नर पौडेलले सहकारीहरूलाई ‘सामन्ती प्रवृत्ति’तर्फ नजान आग्रह गरे । ‘सहकारीको काम गाउँबाट पैसा ल्याएर सहरमा जग्गा किनबेच गर्ने होइन,’ उनले भने, ‘बचतकर्ताको पैसामा सबैको समान अधिकार हुनुपर्छ ।’ साना बचतकर्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, ‘२ लाख रुपैयाँ ऋण लिएर आफ्ना छोराछोरी पाल्ने अधिकार प्रत्येक नागरिकलाई हुनुपर्छ । सहकारी त्यही उद्देश्यमा केन्द्रित हुनुपर्छ,’ अर्बौं ऋण लिनेतर्फ सहकारीको ध्यान जानु हुँदैन ।’ उनका अनुसार सहकारीले विशेषगरी आर्थिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै उनीहरूलाई व्यवसाय गर्न सिकाउने र सक्षम बनाउने भूमिका निर्वाह गर्नुपर्छ । गभर्नर पौडेलले जमिनप्रतिको अत्यधिक मोहप्रति पनि प्रश्न उठाए । ‘जमिन, हावा र पानी भगवानले दिएको चिज हो, आफूलाई हजारौं बिगाहा जग्गा राख्नु पर्दैन, जति चाहिन्छ, त्यति मात्रै उपयोग र उपभागे गर्ने हो,’ उनले भने ।’ नेफ्स्कुनले पूर्वअध्यक्ष ऋषीराज घिमिरेको कार्यकालमा ४ करोड ३२ लाख रुपैयाँमा खरिद गरेको जग्गा २०७७ सालमा सिलान्यास भएको जानकारी दिएको छ । तत्कालीन भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सो भवनको सिलान्यास गरेकी थिइन् । २०७९ सालमा भवन निर्माणको सम्झौता भएर अहिले निर्माण सम्पन्न भएको हो । भवन निर्माणको सम्झौताको भ्याटसहित २४ करोड ५६ लाख ८१ हजार रुपैयाँ लागत लाग्ने अनुमान भए पनि अहिले कुल २३ करोड लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले बताए । १७ आनामा बनेको भवन ५ तलाको छ भने भवनमा २ वटा सभा हल छन् । दुई तला पार्किङका लागि छुट्याइएको छ ।
रजत जयन्तीको अवसरमा कुमारी बैंकले गर्यो विभिन्न कार्यक्रमको आयोजना
काठमाडौं । कुमारी बैंकले स्थापनाको २५औं वर्ष पूरा गरी रजत जयन्ती मनाएको छ। ‘सबैका लागि सधैका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा देशभर विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको हो । यस विशेष अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय र शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट र अत्याधुनिक वित्तीय सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । वार्षिकोत्सवलाई उत्सवमय बनाउन बैंकका कर्मचारीहरूले आ(आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्कने ‘परम्परागत भेषभुषा’ पहिरिएर कार्यस्थलमा उपस्थिति जनाएका थिए । यस पहलले कार्यस्थलमा समावेशिता, आपसी सम्मान र सांस्कृतिक विविधताको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बैंकको विश्वास छ । सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै बैंकले काठमाडौं उपत्यकाका तीनै जिल्ला र सातै प्रदेशमा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ, जसले स्थानीय रक्त बैंकको आवश्यकता पूर्ति र जीवन बचाउने अभियानमा टेवा पुर्याउने लक्ष्य राखेको छ । यसै अवसरमा बैंकले दिगो सामाजिक प्रभाव पार्ने उद्देश्यले ‘समुदायका लागि कुमारी बैंक कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रममार्फत देशैभर रहेका शाखाहरूबाट वर्षैभरि गरिब, विपन्न तथा पिछडिएका वर्गको जीवनस्तर सुधार्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू सञ्चालन गरिनेछ। साथै ग्राहकहरूका लागि रजत जयन्तीकै उपहार स्वरूप बैंकले ‘सिल्भर सेभिङ्ग्स’ बचत खाता पनि सार्वजनिक गरेको छ । यस खातामा ग्राहकहरूले बचत खाताकै सुविधामा मुद्दती खाता सरहको आकर्षक ब्याजदर प्राप्त गर्न सक्नेछन् । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ एकाइमार्फत ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
‘सहकारीको काम गाउँबाट पैसा सोरेर सहरमा जग्गा जोड्ने होइन, सामन्ती बन्नु हुँदैन’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलले सहकारी संस्थाहरूले आफ्नो मूल उद्देश्यबाट विचलित हुन नहुने बताएका छन् । उनले सहकारीको काम गाउँका सर्वसाधारणको बचत उठाएर सहरमा घरजग्गा जोड्ने नभई ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने भएको स्पष्ट पारेका छन् । शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सहकारीहरूलाई “सामन्ती प्रवृत्ति”तर्फ नजान आग्रह गरे । ‘सहकारीको काम गाउँबाट पैसा ल्याएर सहरमा जग्गा किनबेच गर्ने होइन,’ उनले भने, ‘बचतकर्ताको पैसामा सबैको समान अधिकार हुनुपर्छ ।’ साना बचतकर्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, ‘२ लाख रुपैयाँ ऋण लिएर आफ्ना छोराछोरी पाल्ने अधिकार प्रत्येक नागरिकलाई हुनुपर्छ । सहकारी त्यही उद्देश्यमा केन्द्रित हुनुपर्छ,’ अर्बौं ऋण लिनेतर्फ सहकारीको ध्यान जानु हुँदैन ।’ उनका अनुसार सहकारीले विशेषगरी आर्थिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै उनीहरूलाई व्यवसाय गर्न सिकाउने र सक्षम बनाउने भूमिका निर्वाह गर्नुपर्छ । गभर्नर पौडेलले जमिनप्रतिको अत्यधिक मोहप्रति पनि प्रश्न उठाए । ‘जमिन, हावा र पानी भगवानले दिएको चिज हो, आफूलाई हजारौं बिगाहा राख्नु पर्दैन, जति चाहिन्छ, त्यति मात्रै उपयोग र उपभागे गर्ने हो,’ उनले भने ।’ उनले सहकारीहरूलाई घरजग्गा कारोबारमा केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले नेपालको वित्तीय इतिहास स्मरण गर्दै विगतमा उच्च ब्याजदरका कारण सर्वसाधारणले भोगेको दुःख पनि उल्लेख गरे । मानिसले लिएको ऋणभन्दा दोब्बर तिर्नुपर्ने दिन पनि हामीले महसुस गर्यौं, जसले जीवन नै नरकजस्तो बनाएको थियो,’ उनले भने, ‘१९१० को आसपासमा नेपालबाट भारततर्फ पलायन हुनुको एउटा प्रमुख कारण चर्को ब्याजदर पनि हो ।’ त्यस्तै, १९९४ सालमा नेपाल बैंक लिमिटेड स्थापना हुनुअघि सर्वसाधारण व्यापारीको ऋणमा निर्भर रहनुपर्ने र शोषण सहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । बैंकिङ प्रणाली विस्तारसँगै केही सुधार आए पनि वित्तीय पहुँच अझै समान रूपमा नपुगेको उनले औंल्याए । “धनी र शक्तिशाली भएकै आधारमा ऋण दिने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ उनले भने, ‘वित्तीय सेवा सबैका लागि समान रूपमा पहुँचयोग्य हुनुपर्छ ।’ गभर्नर पौडेलले सहकारी क्षेत्रलाई आधारभूत तह मजबुत बनाउने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘तल्लो तहमा बलियो भए मात्रै माथि बलियो हुन्छ । सहकारीले तल्लो तहका मानिसलाई उठाउने काम गर्नुपर्छ ।’