हरियो अङ्गुर किलोको २१० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम छ । यस्तै, मटरकोसा प्रतिकिलो रु ३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु २००, घिरौंला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १५, पालुंगाे प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २८०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २३०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १७०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १३०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० कायम छ ।
फर्स्ट माइक्रोफाइनान्सको सवा ५ करोडको सेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब सवा ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आज फागुन २६ गतेदेखि १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । लघुवित्तका अनुसार उक्त सेयर फागुन २६ गतेदेखि चैत १० गतेसम्म बिक्रीमा रहनेछ । अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बिक्रीका लागि प्रतिकित्ता २८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सो मूल्यका आधारमा करिब ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त संस्थापक सेयरको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
सन् २००८ को आर्थिक सङ्कट नदोहरिने अर्थशास्त्री अघियोनको दावी
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोनले सोमबार बताएका छन् । ‘यदि युद्ध लामो समय (धेरै हप्ता)सम्म रहेमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरभन्दा माथि पुग्छ र यसबाट मुद्रास्फीतिलाई धेरै बढाउने छ र सन् १९७३ को जस्तो तेलको सङ्कटको अवस्था आउनेछ,’ अघियोनले आरटीएल रेडियोसँग भने । ‘म सम्भावित मन्दी देख्छु तर पतन देख्दिन । उदाहरणका लागि मैले सन् २००८ को वित्तीय सङ्कट जस्तो सम्भावना केही देख्दिन,’ उनले भने । सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो । ‘यस्तो झट्काका लागि युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूको समन्वयमा नीति बनाउने र प्रतिक्रिया दिने गर्नु आवश्यक हुनेछ,’ उनले भने । जी-७ का अर्थमन्त्रीहरूले सोमबार बजारलाई शान्त पार्न रणनीतिक तेल भण्डार जारी गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । ‘लामो र व्यापक द्वन्द्वले विश्वव्यापी वृद्धिलाई घटाउनेछ,’ रचनात्मक विनाशको माध्यमबाट दिगो वृद्धिमा आफ्नो कामका लागि सन् २०२५ को अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका अघियोनले भने । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट अमेरिकी घरजग्गाको पतनको कारण उत्पन्न भएको थियो ।
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ४४ हजार ४०० कित्ता कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
आजदेखि निष्क्रिय भयो निर्वाचन आचारसंहिता
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आजदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले सोमबार यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो । गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आजदेखि निष्क्रिय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लामिछाने र बालेनलाई नरेन्द्र मोदीको टेलिफोन, नेपाल–भारत सम्बन्ध उचाइमा पुग्ने विश्वास
काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सोमबार उनीहरूसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उनीहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । साथै उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिए । प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल-भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरे ।
गण्डकीमा एमाले र नेकपा शून्य, कांग्रेस २ सिटमा सीमित
काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । वि.सं २०७९ को चुनावमा गण्डकीबाट एमालेले ५ र नेकपाले २ निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा २ सिटमा सीमित रह्यो । वि.सं २०७९ को चुनावमा बागलुङ-१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल हुनुभयो । रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की-१ खड्कराज पौडेल, कास्की-२ मा उत्तमप्रसाद पौडेल र कास्की-३ मा बिना गुरुङ विजयी बन्नुभयो । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने । बागलुङ-१ मा सुशील खड्का र बागलुङ-२ मा सोम शर्मा बिजयी बने । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा-१ बाट धनञ्जय रेग्मी र स्याङ्जा-२ बाट झविलाल डुम्रे ससंद्मा पुगेका हुन् । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ-१ मा स्वर्णिम वाग्ले र तनहुँ-२ मा श्रीराम न्यौपाने विजयी बने । यस्तै, नवलपुर-१ मा रास्वपाकै राजन गौतम र नवलपुर-२ मा मनिष खनाल विजयी बने । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने । पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गर्नुभएको छ । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा-१ मा सुदन गुरुङ र गोरखा-२ मा कविन्द्र बुर्लाकोटी विजयी बने ।
अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा
काठमाडौं । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० रुपैयाँका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए । उनका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका-४ बसन्तपुरबाट अन्दाजी १ लाख २४ हजार रुपैयाँको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका-३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ । मायादेवी गाउँपालिका-६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ । देवदह नगरपालिका-४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी १ एक लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै रोहिणी गाउँपालिका-३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका-३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी १ लाख ११ हजार ६०० रुपैयाँ रहेको छ । त्यसैगरी सिद्धार्थनगर नगरपालिका-३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।