गण्डकीमा एमाले र नेकपा शून्य, कांग्रेस २ सिटमा सीमित
काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । वि.सं २०७९ को चुनावमा गण्डकीबाट एमालेले ५ र नेकपाले २ निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा २ सिटमा सीमित रह्यो । वि.सं २०७९ को चुनावमा बागलुङ-१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल हुनुभयो । रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की-१ खड्कराज पौडेल, कास्की-२ मा उत्तमप्रसाद पौडेल र कास्की-३ मा बिना गुरुङ विजयी बन्नुभयो । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने । बागलुङ-१ मा सुशील खड्का र बागलुङ-२ मा सोम शर्मा बिजयी बने । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा-१ बाट धनञ्जय रेग्मी र स्याङ्जा-२ बाट झविलाल डुम्रे ससंद्मा पुगेका हुन् । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ-१ मा स्वर्णिम वाग्ले र तनहुँ-२ मा श्रीराम न्यौपाने विजयी बने । यस्तै, नवलपुर-१ मा रास्वपाकै राजन गौतम र नवलपुर-२ मा मनिष खनाल विजयी बने । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने । पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गर्नुभएको छ । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा-१ मा सुदन गुरुङ र गोरखा-२ मा कविन्द्र बुर्लाकोटी विजयी बने ।
अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा
काठमाडौं । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० रुपैयाँका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए । उनका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका-४ बसन्तपुरबाट अन्दाजी १ लाख २४ हजार रुपैयाँको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका-३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ । मायादेवी गाउँपालिका-६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ । देवदह नगरपालिका-४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी १ एक लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै रोहिणी गाउँपालिका-३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका-३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी १ लाख ११ हजार ६०० रुपैयाँ रहेको छ । त्यसैगरी सिद्धार्थनगर नगरपालिका-३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
आजको मौसम: दिनभर बादल लाग्ने, हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जिते ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ । सङ्खुवासभाको मत परिणाम सार्वजनिक भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम आएको हो । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले १८ निर्वाचन क्षेत्र, नेकपा एमालेले ९ निर्वाचन क्षेत्र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ८ निर्वाचन क्षेत्र, श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ निर्वाचन क्षेत्र जितेको छ । यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन विजयी भएसँगै स्वतन्त्रले १ वटा सिटमा जित हासिल गरेको हो । २७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो । जसमा १६५ वटा प्रत्यक्षतर्फ र ११० वटा समानुपातिक रहेको छ । समानुपातिक तर्फको १ करोड २ लाख मत गणना भइसकेको छ ।
समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, ४९ लाख २९ हजारमतसहित रास्वपा अग्रस्थानमा
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी सङ्गठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे । प्रहरी महानिरीक्षक कार्कीले सीमित साधन स्रोत, भौतिक पूर्वाधारको अभाव, पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका अभिव्यक्तिलगायत कारणका बाबजुद पनि निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ प्रदर्शन गरेकाले यसको व्यावसायिकता प्रशंसनीय रहेको बताए । प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै उनले आ-आफ्नो जिम्मेवारी अनुसार योजनाबद्ध रूपमा कार्यसम्पादन गरेकोमा सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गरे । आगामी दिनमा सबैको सहकार्य र समन्वयबाट सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै लैजानुपर्नेमा उनको जोड छ । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा पनि भएको बताउँदै यसका लागि सेवाभाव, इमानदारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता, दृढ अनुशासन आवश्यक रहेको उल्लेख गरे । आगामी दिनमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति सदैव केन्द्रित भई सामूहिक भावना तथा भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनको भनाइ छ ।
नयाँ सांसदलाई नयाँ संसद् भवन: चैतभित्रै काम सक्न दिनरात खटिँदै कामदार
काठमाडौं । विसं २०७६ देखि सिंहदरबारभित्र निर्माण सुरु गरिएको नयाँ संसद् भवनको काम हालसम्म पनि पूर्ण रूपमा टुंगिन सकेको छैन । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न मतदानको परिणाम लगभग सार्वजनिक भइसकेको छ तर सांसदरू बस्ने मुख्य भवन अझै तयार भएको छैन । विशेष भवन निर्माण परियोजना इकाइका अनुसार हालसम्म यस परियोजनाको कुल ९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
अब यही भवनमा बस्नेछन् नयाँ सांसदहरु (तस्बिरहरु)
काठमाडौं । विसं २०७६ देखि सिंहदरबारभित्र निर्माण सुरु गरिएको नयाँ संसद् भवनको काम हालसम्म पनि पूर्ण रूपमा टुंगिन सकेको छैन । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न मतदानको परिणाम लगभग सार्वजनिक भइसकेको छ तर सांसदरू बस्ने मुख्य भवन अझै तयार भएको छैन । विशेष भवन निर्माण परियोजना इकाइका अनुसार हालसम्म यस परियोजनाको कुल ९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सहरी विकास मन्त्रालयले चैत पहिलो साताभित्र भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको भए पनि प्राविधिक सामानहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेको परियोजनाले जनाएको छ । परियोजना निर्देशक रोशन श्रेष्ठका अनुसार नयाँ सांसदहरूलाई शपथ खुवाउनका लागि मुख्य भवन निर्माण भइन्जेलका लागि साइडमा रहेको अर्को हल तयारी अवस्थामा राखिएको छ । रोशन श्रेष्ठ । मुख्य संसद् भवनका बाँकी कामहरू सम्पन्न गर्न अझै केही समय लाग्ने देखिए पनि निर्माण कार्यलाई तीव्रता दिन दिनरात काम भइरहेको र आगामी एक महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने श्रेष्ठले जानकारी दिए । कुल ८ अर्ब ३४ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस संसद् परिसरमा व्यवस्थापिकालाई आवश्यक पर्ने सम्पूर्ण संरचनाहरू एउटै क्षेत्रमा समेटिएका छन् । यसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका हलसहित संसदीय दलका कार्यालय, सचिवालय भवन, अति विशिष्ट (भीभीआईपी) कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल र सेन्ट्रल लबीजस्ता संरचनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन् । सबै कार्यालयहरू एकै ठाउँमा रहने भएकाले यसले संसदीय प्रक्रियालाई थप सहज बनाउने विश्वास लिइएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज