बालेनको चुनावी खर्च १४ लाख १७ हजार २८९ रूपैयाँ
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले सोमबार आफ्नो चुनावी खर्च बुझाएका हुन् । बालेनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । सार्वजनिक विवरणअनुसार उनले सबैभन्दा बढी वडा–स्तरीय प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी सवारीसाधन प्रयोगतर्फ दुई वटा सवारीसाधन १४ दिन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको उल्लेख छ । यस्तै, प्रचारप्रसार सामग्री छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च गरिएको छ । क्षेत्रीय निर्वाचन प्रचार कार्यालय सञ्चालनका क्रममा दुई महिनामा पानीमै १ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए ।
सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : पूर्वमन्त्री खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा सोमबार आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उनले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताएका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताए । काठमाडौं क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गरे । सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्याउने उनको भनाइ छ । उनले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पारे । उनले काठमाडौं क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताए ।
४ दलले कटाए समानुपातिकको थ्रेसहोल्ड, राप्रपा र श्रम संस्कृति संघर्ष गर्दै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । हालसम्म ८५ लाख २५ हजार ४६९ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आवश्यक मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका हुन् । आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले सबैभन्दा धेरै ४१ लाख १८ हजार १६४ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २ हजार ६६ मत प्राप्त गरेको छ । नेकपा एमालेले ११ लाख ६५ हजार ५५८ मत समानुपातिकमा प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४ हजार ९२ मत पाएको छ । हालसम्म प्रकाशित विवरणअनुसार रास्वपाले ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेर पहिलो दल बनेको छ । नेपाली कांग्रेस १६ प्रतिशत मतसहित दोस्रो बन्दा एमाले १४ प्रतिशत मतसहित तेस्रो बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत मत ल्याएर चौंथो दल बनेको छ । श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ९७ हजार ६१७ मत प्राप्त गरेको छ । तर उक्त मत थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा कम भएकाले समानुपातिकतर्फ प्रतिनिधित्व पाउने सम्भावना अझै कमजोर देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ लाख ४३ मत प्राप्त गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार विगतमा ३ देखि ४ लाख मत बदर भएको ट्रेण्ड हेर्दा र अहिले पनि सोही अनुपातमा मत बदर भइरहेकोले १ करोड ५ लाख मत सदर हुने सम्भावना रहेको छ । यदि त्यति मत सदर भए भने राष्ट्रिय दल बन्न न्यूनतम ३ लाख १० हजार मत प्राप्त गर्ने दल राष्ट्रिय दल बन्न सक्छ । राप्रपा र श्रम संस्कृति पार्टी अहिले राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका छन् ।
२५२ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा एक्लो बन्यो रिलायन्स स्पिनिङ मिल्स
काठमाडौं । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक खुलेको सेयर बजारमा ‘तेस्रो सर्किट ब्रेक’ लागेर सोमबारको कारोबार बन्द भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ प्रतिशत (१६२.४३ अंक) ले बढेर २ हजार ८७५ विन्दुमा पुग्यो । नेप्सेका अनुसार यस छोटो अवधिमा २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जम्मा ४ मिनेट मात्र चलेको बजारमा २७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ । तर, समग्र बजारमा हरियाली छाउँदा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य भने घटेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स फागुनको पहिलो सातादेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । आईपीओ निष्कासन मूल्यभन्दा निकै कममा कारोबार खुलेको यस कम्पनीको सेयर मूल्य लगातार ९ कारोबार दिनसम्म बढेर ६८५.५० रुपैयाँसम्म पुगेको थियो । तर, सोमबार भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १.४९ प्रतिशत (१०.२० रुपैयाँ) ले घटेर ६७५.३० रुपैयाँमा झरेको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढिरहँदा यस कम्पनीको सेयर भने ओरालो लागेको हो । सोमबार यस कम्पनीको जम्मा १० कित्ता सेयर किनबेच हुँदा ६ हजार ७५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?
काठमाडौं । इरानले आइतबार मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । एसोसिएटेड प्रेस र रोयटर्सले इरानी सरकारी मिडियालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोज्तबा खामेनेई हालै युद्धको सुरुवाती चरणमा मारिएका अयातोल्लाह अली खामेनेईका छोरा हुन् । उनी यस पदका लागि प्रमुख दाबेदार मानिएका थिए । अली खामेनेईले सन् १९८९ देखि मृत्यु नहुन्जेलसम्म इरानमा शासन गरेका थिए । मोज्तबा खामेनेईको नियुक्तिसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) र अन्य कठोरपन्थी समूहहरूमा उनको नियन्त्रण हुनेछ । एसोसिएटेड प्रेसका अनुसार रिभोलुसनरी गार्डले उनको समर्थनमा वक्तव्य जारी गरेको छ । इरान समर्थित लेबनानी लडाकु समूह हेजबोल्लाहले पनि टेलिग्राममा मोज्तबा खामेनेईको तस्बिर राखी ‘आशीर्वादित इस्लामिक क्रान्तिका नेता’भनेर उल्लेख गरेको छ । यस नियुक्तिले इरानको शासनमा कठोरपन्थी शक्तिहरूको नियन्त्रण कायम रहने संकेत दिएको छ । साथै यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सीधा चुनौतीको रूपमा पनि हेरिएको छ । ट्रम्पले इरानको नयाँ नेताको चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् । ट्रम्पले यसअघि मोज्तबा खामेनेईलाई ‘हल्का तौलका नेता’ भनेर टिप्पणी गरेका थिए । उनले तेहरानमा आफ्नो स्वीकृति बिना नयाँ नेता चयन भए त्यो लामो समय टिक्न नसक्ने चेतावनी पनि दिएका थिए । ‘उसले हामीबाट स्वीकृति लिनुपर्छ,’ ट्रम्पले एबीसी न्यूजसँग भनेका थिए, ‘यदि उसले हामीबाट स्वीकृति पाएन भने ऊ धेरै समय टिक्दैन ।’ यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता अमेरिकासँगै इरानविरुद्ध आक्रमणको नेतृत्व गरिरहेको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार सम्भावित नयाँ उत्तराधिकारीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएको छ । फारसी भाषामा एक्समा पोस्ट गर्दै आईडीएफले उत्तराधिकारी चयन प्रक्रियामा सहभागी हुनेहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको हो । मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्छन् त ? मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्लान् कि सक्दैनन् भन्ने विषयमा मिश्रित धारणा देखिन्छ । धेरै विश्लेषकका अनुसार उनी लामो समयदेखि आफ्नो पिता अलि खामेनेईका नजिक रहेर पर्दापछाडिबाट प्रभाव जमाउँदै आएका व्यक्ति हुन् । विशेष गरी इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग उनको निकट सम्बन्ध रहेको मानिन्छ, जसका कारण सत्ता सञ्चालनमा उनलाई संस्थागत समर्थन मिल्न सक्ने पश्चिमी विश्लेषकहरूको तर्क छ । तर धेरै पश्चिमी मिडियाले उनको अनुभव र वैधतामाथि प्रश्न पनि उठाएका छन् । उनी सार्वजनिक राजनीतिमा कहिल्यै ठूलो सरकारी पदमा देखिएका छैनन् र प्रायः पर्दापछाडि रहने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले केही विश्लेषकका अनुसार यदि उनले नेतृत्व सम्हाले भने सुरुका वर्षहरूमा धार्मिक प्रतिष्ठान र सुरक्षा निकायहरूको प्रभाव निकै बलियो रहने सम्भावना छ । अर्कोतर्फ उनको चयनलाई लिएर केही टिप्पणीकारहरूले आलोचना पनि गरेका छन् । इरानियन रिभोलुसनपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो, तर अहिले बुबाबाट छोरामा सत्ता सर्ने सम्भावनालाई केहीले ‘राजवंशीय शैलीको राजनीति’ भनेर व्याख्या गरेका छन् । त्यसैले पश्चिमी मिडियाको समग्र धारणा अनुसार मोज्तबा खामेनेई शक्तिशाली नेटवर्क भएका व्यक्ति भए पनि उनको नेतृत्वको प्रभाव र स्थायित्व कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित मानिएको छ । खाडी देशमा इरानको आक्रमण जारी इरानले क्षेत्रीय सहयोगी देशहरूमा आक्रमण जारी राख्दा खाडी क्षेत्रका मुलुकहरूले पूर्वाधारमा थप क्षति पुगेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आएको मिसाइल र ड्रोन खतरासँग जुधिरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार देशको हवाई सुरक्षा प्रणालीले बलिस्टिक मिसाइलहरू अवरोध गरिरहेको छ भने लडाकु विमानहरूले ड्रोनहरू नष्ट गरिरहेका छन् । शनिबार साँझ दुबई र अबुधाबीमा मिसाइल खतराको चेतावनी दिँदै साइरन बजाइएको थियो । दुबईको २३ मरिना भवनमा खसेको भग्नावशेषले एक पाकिस्तानी चालकको मृत्यु भएको दुबई मिडिया अफिसले जनाएको छ। युद्धको असरले तेल महँगियो मध्यपूर्वका प्रमुख ऊर्जा उत्पादक देशहरूले उत्पादन घटाएपछि अमेरिकी कच्चा तेलको मूल्य आइतबार साँझ प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द जस्तै भएपछि तेल बजारमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले खाडी देशहरूलाई तेल निर्यात गर्न कठिन भएको छ । बहराइनले आइतबार ड्रोन आक्रमणबाट पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टमा क्षति पुगेको जनाएको छ । यद्यपि पानी आपूर्तिमा असर नपरेको बताइएको छ । उता इरानले भने अमेरिकाले आफ्नो केश्म टापुमा रहेको पानी प्रशोधन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार यसले ३० वटा गाउँको पानी आपूर्तिमा असर पारेको छ । तर अमेरिकी सेनाले उक्त आरोप अस्वीकार गरेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा १ हजार ८५० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जसमध्य कम्तीमा १ हजार ३३० सर्वसाधारण रहेका छन् । यस युद्धका कारण १ लाखभन्दा बढी इरानी नागरिक विस्थापित भएका छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) थप सामग्रीहरू : मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधिसभा निर्वाचन जिते
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका चार यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसमेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन् । उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् । अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा उनले २८ हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए । त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका थिए । उनले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । सापकोटाका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली कांग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका थिए । तर उनले पराजय भोग्नुपरेको छ । सो क्षेत्रबाट रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २५ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका छन् । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपर्‍यो ।
अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम
अर्घाखाँची । अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो । दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो । जसमा दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए ।
माओवादीको ‘लालकिल्ला’ भत्काउँदै यातायातविज्ञ गजुरेल संसदीय यात्रामा
काठमाडौं । हिजोसम्म सडकका खाल्डाखुल्डी, सवारी दुर्घटना र अव्यवस्थित यातायात प्रणालीबारे सार्वजनिक रूपमा बारम्बार सरकारलाई प्रश्न गर्ने आवाज अब संसदमा गर्ने भएको छ । टेलिभिजन बहसदेखि नीतिमञ्चसम्म सडक सुरक्षा र पूर्वाधार सुधारका विषय उठाउने यातायात विज्ञ आशिष गजुरेल अब संसद्को रोस्ट्रमबाट नीति निर्माण गर्ने माननीय बन्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका गजुरेलले दशकौंदेखि वामपन्थीहरूको बलियो पकड रहेको क्षेत्रमा सानदार जित दर्ता गर्दै संसदीय यात्रा सुरु गरेका हुन् । मतगणनाको अन्तिम परिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र का प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाल लाई ३ हजार १६० मतान्तरले पराजित गरे । दाहालले १४ हजार ७८० मत पाए। एमाले र कांग्रेसका उम्मेदवारहरू भने निकै पछाडि परे । यो क्षेत्र २०६४ सालदेखि माओवादीको गढ मानिन्थ्यो । विगतका चारमध्ये तीनवटा निर्वाचनमा माओवादीले नै जितेको थियो । तर यसपटक देशभर देखिएको रास्वपाको लहरले सिन्धुलीका पुराना राजनीतिक किल्लाहरू भत्काइदियो । झन् रोचक कुरा यही क्षेत्रमा २०७४ सालमा माओवादीबाट उनका काका हरिबोल गजुरेल विजयी भएका थिए । यसपटक भने त्यही भूमिमा आशिषले बाजी मारे । उनी राजनीतिमा अचानक देखिएका पात्र मात्र होइनन्, पूर्वाधार र यातायात व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका प्राविधिक विज्ञसमेत हुन् । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्सपोर्टेसन सिस्टममा मास्टर्स गरेका गजुरेल पेसाले इन्जिनियर हुन् । उनले नेपाल सरकारको लगानी बोर्डमा ७ वर्षभन्दा बढी पूर्वाधार विज्ञका रूपमा काम गरेका छन् । गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल नेतृत्व गरेका थिए । उनको कार्यकाललाई समितिको ‘स्वर्णिम समय’ भनेर समेत चर्चा गरिन्छ । उनकै नेतृत्वमा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आयो । साथै दोधारा–चाँदनी सुक्खा बन्दरगाह को वर्षौंदेखि रोकिएको निर्माण कार्य अघि बढाउने काम पनि उनले गरे । उनकै कार्यकालमा समितिको वार्षिक आम्दानी ८० करोड रुपैयाँबाट बढेर १८० करोड रुपैयाँ पुगेको थियो, जुन उनको व्यवस्थापकीय दक्षताको उदाहरण मानिन्छ । निर्वाचन अभियानका क्रममा गजुरेलले भावनात्मक नाराभन्दा पनि तथ्यमा आधारित योजना प्रस्तुत गरेका थिए । उनका अनुसार, ‘राजनीति शक्ति वा पदको साधन होइन, यो सार्वजनिक सेवा र समस्याको समाधान गर्ने थलो हो ।’ सिन्धुलीलाई पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र डिजिटल पहुँच विस्तार गर्ने स्पष्ट योजनाले मतदाताको मन जितेको विश्लेषण गरिएको छ । अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई सुझाव दिने गजुरेल अब आफै नीति निर्माणको केन्द्रमा पुगेका छन् । यातायात, आपूर्ति व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उनको अनुभव संसद्मा उपयोगी हुने अपेक्षा गरिएको छ । एक सफल इन्जिनियर, लेखक र प्रशासकको छवि बनाएका गजुरेलको संसदीय यात्राले सिन्धुली-२ मात्र होइन, देशकै पूर्वाधार विकासमा नयाँ दृष्टि थप्ने विश्वास गरिएको छ । रास्वपाको घण्टीसँगै सिन्धुलीमा सुरु भएको परिवर्तन अब राष्ट्रिय नीति निर्माणमा कति गुञ्जिन्छ, त्यसतर्फ धेरैको नजर केन्द्रित भएको छ ।