दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 'बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ', उनले भने, 'उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।' अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए ।
भावी अर्थमन्त्रीका रुपमा हेरिएका स्वर्णिमको दोस्रो संसदीय यात्रा
दमौली । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो डा. स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा. वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका छन् । गत उपनिर्वाचनमा उनी यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए । गोरखा जिल्लामा जन्मिएका वाग्ले सामान्य परिवेशमा हुर्किएका हुन् । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उनी उच्च शिक्षाका लागि विदेश पुगे । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उनले ‘पिएचडी’ पूरा गरे । अध्ययनका क्रममा उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उनलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो । उच्च शिक्षापछि डा. वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरे । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उनले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरे । स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए । लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा. वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरे । यही सोचका साथ उनी रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् । तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बताए । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा राखे । डा. वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ । उनलाई धेरैले बालेन्द्र शाह नेतृत्व सरकारको अर्थमन्त्रीका रुपमा पनि हेरेका छन् । रासस
युवा पुस्ताको प्रतिनिधि : २६ वर्षीय मनिष खनालको संसदीय यात्रा
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चा आएका छन् । २६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल भएका खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौं पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् । कानुन अध्यायनकै क्रममा उनले देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उहाँ तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध बने । विसं २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए, जसले उनलाई राष्ट्रिय राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनाएको थियो । काठमाडौं बसाइँका क्रममा उनले माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र युवा केन्द्रित नागरिक अभियन्ताको रूपमा पनि उनको संलग्नता देखिएको थियो । राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन् । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा झन् बढेको थियो । कानुनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्माार्फत उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको नव निर्वाचित खनालले बताउनुभयो । युवा पुस्ताको आवाज, पारदर्शीता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता रहेको छ । स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताए । गाउँबाट अध्ययन सुरु गरी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका खनाललाई नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित सङ्घीय संसद्मा पठाएका छन् । निर्वाचन परिणामअनुसार खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार रहेका थिए । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए । रासस
तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार
काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । सोमबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा पुगेर बन्द भएको हो । साथै, २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा दोस्रो सकारात्मक सर्किट, कारोबार ४० मिनेटको लागि बन्द
काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो । दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् १३५.७२ अंक बढेर २ हजार ८४८.२२ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । पहिलो सर्किट सेयर कारोबार खुलेको केही समयमै लागेर २० मिनेटका लागि बन्द भएको थियो । कारोबार खुलेको ११ बजेर १ मिनेटमा ४ प्रतिशत अर्थात् १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको थियो । नेप्सेका अनुसार यस अवधिमा २४७ कम्पनीको ५ लाख ३५ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।
सेयर कारोबार हल्ट, एक मिनेटमै १०८.६० अंक बढ्यो
काठमाडौं । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको छ । निर्वाचन पश्चात् पहिलो पटक खुलेको सेयर कारोबार एक मिनेटमा ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार यस अवधिमा २३१ कम्पनीको ३ करोड २९ लाख ६४४ कित्ता सेयर किनबेच हुँदा १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा बन्द भएको थियो ।
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री खुला गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-७ र ८ का स्थानीय, ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका(२ र रामेछापको उमाकुण्ड गाउँपालिका-३ का स्थानीय र २० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका(२ र गोकुलगंगा गाउँपालिका-१ का स्थानीयलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ४७ हजार कित्ता सेयर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजनासँगै लक्ष्मी सनराइज बैंकको किन्जा सोलुखुम्बु, शिवालय र प्रिति रामेछाप, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खिजीदेम्वा ओखलढुङ्गा र सिटिजन्स बैंकको लिखुपिके सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्नेछन् ।
कास्कीमा ४ हजार भन्दा बढी मत बदर
कास्की । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो । यसैगरी क्षेत्र नं २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर हुँदा एक हजार २०८ मत बदर भयो । क्षेत्र नं ३ मा ६६ हजार २२४ मत खसेको थियो । यस क्षेत्रमा ६४ हजार ५८६ मत सदर हुँदा जम्मा एक हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लमा विसं २०७९ को निर्वाचनमा भने पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ थियो । सूचना अधिकारी न्यौपानेले मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वस्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जानकारी दिए। 'विगतको निर्वाचनमा भन्दा मत बदर यसपटक धेरै नै कम भएको छ । सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकालेसमेत न्यून सङ्ख्यामा बदर भएको । अझै पूर्णरुपमा मतदाता शिक्षा पुग्न नसकेको देखिएको छ,' न्यौपानेले भने ।