विकासन्युज

पर्सा-४ बाट रास्वपाका टेकबहादुर शाक्य विजयी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा पर्सा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर शाक्य विजयी भएका छन् ।  निर्वाचन आयोगका अनुसार, रास्वपाका शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का जालिम मियाँ मंसुरीले १२ हजार १४५, जसपा नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७५८ र नेकपाका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन् । 

महानगरमा पराजित गनेसको परिचयमा थपियो सांसद

काठमाडौं । साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धक समेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की-१ बाट विजयी भएसँगै अब उनको परिचयमा ‘सांसद’ थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल ३९ हजार ८८३ मतसहित विजयी भएका हुन् । पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आएका उनले अन्ततः आफूलाई राजनीतिमा समाहित गरेका छन् । पोखरा महानगरपालिका-१४ मझेरीपाटनका पौडेलले सक्रिय राजनीतिमा आउन चाहेको भने विसं २०७९ देखि नै हो । स्थानीय तहको चुनावलाई निर्दलीय बनाउनुपर्ने एजेण्डासहित विसं २०७९ को स्थानीय तह चुनावमा उनी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए । त्यो बेला ‘लौरो’ चिह्न लिएर चुनाव लडेका उनले ५ हजार १२८ मत ल्याएर पराजित भएका थिए ।  पौडेलले दलीय एकाधिकार, भ्रष्टचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए । उक्त चुनावमा पोखरासहित देशका विभिन्न स्थानीय तहमा ‘अटेरी अभियान’ का सदस्यले उम्मेदवारी दिएका थिए । स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने राजनीतिक दलबाटै उम्मेदवार बनेर विजयी भएका हुन् । निर्वाचित भएपछि रास्वपाका केन्द्रीय सदस्य उनले आफूले मतदाताको माग र आकङ्क्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने बताए ।  ‘रास्वपाले अहिले पाएको मत आशाको मत हो, मतदाताले हामीप्रति भरोसा गरेर मत दिएका छन् । मतदाताको आशालाई निराशामा बदलिन दिनुहुँदैन, दिँदैनौँ,’ उनले भने ।  पौडेलले ‘जेनजी’ आन्दोलनमा युवा पुस्ताबाट प्रकट भएको आकङ्क्षालाई लिपिबद्ध गर्न र आन्दोलनका मागलाई नीतिगत तहमा लैजान आफूले भूमिका खेल्ने बताए । नीति निर्माणसँगै स्थानीय विकासका मुद्दामा प्राथमिकता छुट्टाएर काम गर्ने उनको भनाइ छ । पौडेल वातावरण, सम्पदा, कला, संस्कृतिको संरक्षणका मुद्दालाई विभिन्न माध्यमबाट प्रखर उठाउँदै आएका छन् । विसं २०७४ मा पहिलो उपन्यास कृति ‘पैताला’बाट लेखकका रूपमा उदाएका उनी अखबारी लेखनमा उत्तिकै सिद्धहस्त छन् ।  विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एण्ड मेन’ को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो । पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ‘र्यान्डम रिडर्स सोसाइटी अफ् नेपाल’को परिकल्पनाकारसमेत हुन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।  विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मनुभएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । उनीसँग शिक्षण पेसाको अनुभव पनि छ । कास्की–१ मा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत ल्याएका छन् । 

सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सिराहा(४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तपेश्वर यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायकले ७ हजार ९७२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका जनमत पार्टीका विरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत पाएका छन्।  त्यस्तै, नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला यादवले ४ हजार ६१ र जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत पाएका छन्। 

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आज साँझ चाबहिल स्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताए । मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गरे ।  मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गरे । पार्टीले तत्काल जुलुस वा ¥यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ । 

सिरहा-२ मा रास्वपाका यादव ३९ हजार ५६१ मत ल्याएर विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशङ्कर यादव विजयी भएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नविन यादव ६ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले ३ हजार ८७ मत मत प्राप्त गरे ।  यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । अर्नमा, औरही, गोलबजार, धनगढीमाई, नवराजपुर, बरियारपट्टी, लक्ष्मीपुरपतारी र सुखीपुरका विभिन्न ४१ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कूल १ लाख १५ हजार ७५८ मतदाता रहेकामा ७३ हजार १७५ मत खसेको थियो । 

कञ्चनपुर-३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् ।  कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले तीन हजार ९०२ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको थियो ।

निर्वाचित भएलगत्तै रास्वपा नेता अस्पताल निरीक्षणमा, भने- अब गुनासो आउनु भएन

काठमाडौं । कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा सुविधाबारे जानकारी लिएका छन् ।  आज निर्वाचित भएपछि उनी अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुगेका थिए । उनलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टसँग अस्पतालको अवस्था, सेवा सुविधा र समस्याबारे जानकारी दिएका थिए ।  बोहराले डायलाइसिस सेवाको अभावमा कुनै पनि मिर्गौला पीडित र उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए । ‘मैले निर्वाचनको समयमा मत माग्दै जाँदा अस्पतालमा सहज रूपमा सेवा पाइँदैन, भनसुनका आधारमा उपचार हुन्छ भनेर गुनासो सुन्नुपरेको थियो,’ बोहराले भने, ‘अब उपचार सेवा सुविधाबारे गुनासो आउनुहुँदैन । सबै जना अस्पतालको सुधारमा लाग्नुपर्छ ।’ अस्पतालका डा. अर्जुन भट्टले अस्पतालको स्रोत साधनले भ्याए अनुसार सेवा प्रवाह हुँदै आएको बताए । ‘हाल जनशक्ति र भौतिक संरचना थपिँदै गएका छन्, विगतको तुलनामा रिफर हुने बिरामीको सङ्ख्या न्यून छ । बिरामीको चाप र अस्पतालमा बेड अभावका कारण सेवा दिन नसकिएको हो । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ,’ उनले भने ।  बोहरा कञ्चनपुर क्षेत्र नं २ बाट २३ हजार १२५ मतान्तरसहित विजयी भएका हुन् । 

मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् ।  मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् ।  नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजार ५८५ मत खसेको थियो ।