नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए शपथ
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई आइतबार (आज) कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले शपथ गराएकी हुन् । कँडेल आजै महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । को हुन् उनी ? कँडेल पूर्वपत्रकार हुन् । २०५० को दशकमा बागलुङबाट पत्रकारिता गरेका उनले त्यसबेला रेडियो नेपालका लागि काम गर्थे । उनले करिब एक दशकभन्दा बढी समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । २०६० सालपछि भने कँडेल वकालत पेसातिर लागे । उनले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन् भने बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका छन् । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ ।
प्राधिकरणलाई प्रश्न : हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्न लागिएको हो ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सलाई बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न लागेको विषयमा बजारमा चर्चा चल्न थालेको छ । त्यो चर्चापछि आइतबार कम्पनीको सेयरमूल्यमा ठूलो गिरावट आयो । आइतबार ७६७ रुपैयाँमा सुरु भएको कारोबार बजार बन्द हुँदा सेयर मूल्य ७०४.७० रुपैयाँ कायम भयो । जुन वर्षकै न्यून विन्दुमा कम्पनीको सेयर मूल्य देखिएको छ । कम्पनी समस्याग्रस्त घोषणा हुन लागेको चर्चापछि हामीले यस विषयमा नेपाल बीमा प्राधिकरणसँग जिज्ञासा राख्यौं । प्राधिकरणले भने अहिले हल्ला मात्रै रहेको प्रतिक्रिया दिएको छ । प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले भने यस विषयमा अहिलेसम्म प्राधिकरणबाट कुनै निर्णय नभएको बताइन् । प्रवक्ता ढुंगेलले भनिन्, ‘यस विषयमा यो भन्दा अघि बसेको बोर्ड बैठकमा कुनै कुरा उठेको छैन, त्यसपछि बैठक बसको छैन ।’ केही दिनअघि मात्रै प्राधिकरणले हिमालयन रिलाई हिल्टन होटलको पुनर्बीमा प्रकरणमा कानुन विपरीत काम गरेको पाइएपछि कारबाही गरेको थियो । प्राधिकरणले कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार २ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ । कम्पनीका ठूला सेयरधनीहरु सम्पति शुद्धिकरणको अनुसनधानमा तानिएका छन् । कम्पनीका सेयरधनीहरु दिपक भट्ट र शाहिल अग्रवाल लगायत ठूला सेयरधनीहरु अनुसन्धानमा तानिएपछि कम्पनीका विषयमा अनेक बहसहरु हुन थालेका छन् । दुई ठूला संस्थापक लगानीकर्ता दिपक भट्ट र शाहिल अग्रवाल प्रहरी हिरासतमै पुगेका छन् । कम्पनीका सञ्चालक समिति अध्यक्षबाट शेखर गोल्छाले राजीनामा समेत दिइसकेका छन् । के छ समस्याग्रस्त सम्बन्धी व्यवस्था ? बीमा ऐन २०७९ अनुसार प्राधिकरणले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । यो ऐन पुनर्बीमा कम्पनीको हकमा पनि लागू हुन्छ । बीमा ऐन २०७९ को परिच्छेद १३ को दफा १०१ मा सोसम्बन्धी व्यवस्था गरिएको छ । बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न सक्छ । त्यस्तै बीमित, शेयरधनी, बीमकका साहू वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक–पटक कार्य गरेमा, बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । त्यसैगरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लड्डन भएमा पनि समस्याग्रस्त घोषणा गर्न सक्छ । जसअनुसार बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा, प्राधिकरणबाट भएको नियमन, निरीक्षण, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्कीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा, बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्ने देखिएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्छ । समस्याग्रस्त घोषणा गर्नुअघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ । यदि बीमकले पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्र्ने कानुनी व्यवस्था छ । बजारमा चलको हल्ला र कम्पनीको वास्तविक अवस्था जानकारी लिनका लागि आइतबार प्राधिकरणको सञ्चालक समिति बैठक बस्दैछ ।
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ । आइतबार (आज) सुनुवाइ नसकिएपछि सोमबार (भोलि)का लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने कसुर’ छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।
सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत, काठमाडौंले उनीविरुद्ध ५ दिनको म्याद थप गरेको हो । अग्रवाललाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपककुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार बिहान विभागले पक्राउ गरेको थियो । शंकर अग्रवाललाई भने आजै विभागले बयान गरेर छाडेको छ । उनलाई गत शुक्रबार विभागले नियन्त्रणमा लिएको थियो ।
रविले नवनियुक्त सभामुख अर्याललाई दिए बधाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिएका छन् । लामिछानेले व्यक्तिगत तथा पार्टीको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । अर्याल सर्वसम्मत निर्वाचित भएपछि सभापति लामिछानेले सबै दल र सांसदहरूको सहयोगप्रति धन्यवाद जनाएका छन् । रास्वपाको प्रस्ताव सर्वसम्मत रूपमा पारित हुँदा प्रस्तावक लामिछानेसहित स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतमले अर्याललाई समर्थन गरेका थिए । सभापति लामिछानेले नवनिर्वाचित सभामुख अर्यालले निष्पक्षता, पारदर्शिता र संसदीय मर्यादा कायम राख्दै सदनलाई प्रभावकारी बनाउने जनाएका छन् । सभापति लामिछानेले यसअघि ज्येष्ठ सदस्यका रूपमा सदन सञ्चालन गरेका अर्जुननरसिंह केसीलाई समेत धन्यवाद दिइएका छन् । यस्तो छ बधाई तथा शुभकामना : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा म व्यक्तिगत रूपमा तथा पार्टीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। रास्वपाको तर्फबाट प्रस्तुत उक्त उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा मैले तथा समर्थकहरू डा। स्वर्णिम वाग्ले, श्री सुनिल लम्साल र श्री सोबिता गौतमले समर्थन गरेको प्रस्तावलाई निर्विरोध रूपमा पारित गरी निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ। नवनिर्वाचित सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु। साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ। सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो। यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। साथै, ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउनु हुने माननीय अर्जुननरसिंह केसीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
शंकर अग्रवाल छुटे, सुलभलाई म्याद थप्न लगियो
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले छोडेको छ । आइतबार अपरान्ह विभागले उनलाई छाडेको हो । विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको विकासन्युजलाई जानकारी दिए । ‘बयानको काम सकिएपछि उहाँलाई आज छाडेका हौं,’ ठाकुरले भने । उनले सुलभ अग्रवाललाई अदालतमा म्याद थप गर्न लगिएको पनि जानकारी दिए । आइतबार बिहान मात्र सुलभलाई विभागले नियन्त्रणमा लिएको थियो ।
सभामुख अर्यालले गरे पदबहाली
काठमाडौं । नवनियुक्त सभामुख डीपी अर्यालले पदबहाली गरेका छन् । अर्यालले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथपश्चात सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसदलगायत को उपस्थिति थियो । अर्याल आजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । अब अर्यालले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् । सभामुख अयार्लले पाउनेछन् १ लाख २७ हजार बढी तलब/सुविधा, १० लाखको बीमा
महान्यायाधिवक्तामा डा. नारायण कँडेल सिफारिस
काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई उक्त पदमा नियुक्त गर्ने सिफारिस गरेको हो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ । महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतमले कँडेल सिफारिस भएको जानकारी प्राप्त भएकाे बताए ।