विकासन्युज

महान्यायाधिवक्तामा डा. नारायण कँडेल सिफारिस

काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई उक्त पदमा नियुक्त गर्ने सिफारिस गरेको हो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ ।  महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतमले कँडेल सिफारिस भएको जानकारी प्राप्त भएकाे बताए । 

वस्तुगत संघतर्फ घिमिरे समूहको प्रवेश, २ दर्जनभन्दा बढी संघको समर्थनसहित उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ ।  घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आइतबार बिहान औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो । घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ ।  घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रविन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघुनन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्लाइउड उत्पादन तथा निर्यात क्षेत्रबाट होमप्रसाद घिमिरे, फ्लोरिकल्चर ९फूल खेती० उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष विष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इँटा उद्योग क्षेत्रबाट कृष्णप्रसाद अवालले उम्मेदवारी दिएका छन् । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले शिव प्रसाद घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ ।  उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । उम्मेदवारी दर्तापछि वस्तुगत समूहका उपाध्यक्ष उम्मेदवार घिमिरेले सुरक्षित निजी क्षेत्र सशक्त महासंघको अवधारणामा काम गर्ने बताए ।  साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरी एजेण्डाका काम गर्ने पनि उनको धारणा छ ।   उम्मेदवारी दर्तामा दुई दर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र वर्तमान अध्यक्ष चन्द्र ढकालको सदासयता रहेकाले यो समूहको जित सुनिश्चित रहेको समूहका सदस्य राजकुमार कार्कीले दाबी गरे । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको एसोसियट तर्फको उम्मेदवारी पनि दर्ता भएको छ । उपाध्यक्षमा प्रवलजंग पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ ।  वर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले पनि पाण्डेकै समूहमा उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष ढकालको साथ घिमिरे र पाण्डे समूहलाई देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ । ‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं

अन्डाको मूल्यमा पुनः वृद्धि

काठमाडौं । स्वदेशी बजारमा अन्डाको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबार (आजै)देखि लागू हुने गरी अन्डाको नयाँ मूल्य तोकेको हो ।  सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँले मूल्य बढेको संघले जनाएको छ । नयाँ दरभाउ अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको फार्म मूल्य अब प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन यसअघि ४ सय ६० रुपैयाँ थियो । त्यसैगरी, यसअघि प्रतिक्रेट ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो (लार्ज) अन्डाको मूल्य बढेर ४ सय ५० रुपैयाँ पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य अब ४ सय रुपैयाँ तोकिएको छ ।  संघले बजारको अवस्था र उत्पादन लागतलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो । साथै संघले जारी गरेको सूचनामा ढुवानी र प्याकेजिङ खर्चबारे पनि स्पष्ट पारेको छ।  मुख्य उत्पादन क्षेत्र चितवनबाट देशका अन्य सहरका डिपोहरूमा अन्डा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट खर्चबापत थप १ सय ४५ रुपैयाँ लाग्ने संघले उल्लेख गरेको छ । 

व्यवसायी पक्राउ पर्न थालेपछि आत्तिए लगानीकर्ता, सस्तैमा बेच्दै सेयर

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०.३३ अंकले घटेर २ हजार ६७६.६८ बिन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स १५.६२ अंक, फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले घटेका छन् । सूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । आइतबार ३४५ कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो समय सरकारद्वारा सुरु गरिएको धरपकड र सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिले पुँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको लगानीकर्ता देव गुरागाईँ बताउँछन् । बलियो सरकार गठन भएकोमा सबै सकारात्मक भए पनि सरकारले चालेका कदम र त्यसको कार्यान्वयन शैलीका कारण बजार प्रभावित भएको उनको भनाइ छ ।  ‘गलत गर्नेहरूलाई कारबाही गर्नु आवश्यक छ, तर त्यसको समय र तरिकामा समन्वय हुनुपर्छ,’ उनले भने । गुरागाईँले लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूमा त्रास सिर्जना हुने गतिविधिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताए । ‘देश निर्माणका लागि लगानी आवश्यक हुन्छ । तर, लगानीकर्तालाई नै तर्साउने अवस्था आयो भने त्यसले पुँजी बजारमा प्रत्यक्ष असर गर्छ,’ उनले भने ।  उनले सीमित व्यक्तिहरूमा केन्द्रित कारबाहीले पनि ठूलो आर्थिक प्रणाली प्रभावित हुन सक्ने चेतावनी दिए । ‘केही व्यक्तिको नियन्त्रणमा ठूला व्यापारिक संरचना छन् । यदि त्यस्तो समूहमा असर प¥यो भने बैंकिङ प्रणालीसम्म प्रभाव पर्न सक्छ,’ उनले भने । उनका अनुसार केही व्यक्तिको पक्राउले ब्रोकर कम्पनीहरू र ट्रेडरहरूमा समेत त्रास फैलिएको छ, जसका कारण नयाँ लगानी घट्ने र बजारमा तरलता कम हुने जोखिम देखिएको छ । ‘बजार तत्काल प्यानिक अवस्थामा देखिए पनि दीर्घकालमा सुधार हुने सम्भावना रहन्छ,’ उनले भने । गुरागाईंले अर्थमन्त्रीले बजारसम्बन्धी स्पष्ट धारणा नदिँदा लगानीकर्तामा अन्योलता बढेको पनि उल्लेख गरे । ‘शुद्धीकरण आवश्यक छ, तर त्यससँगै सुधारका अन्य उपायहरू पनि सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने । उनले राज्यले तत्काल सन्तुलित नीति अवलम्बन गर्दै लगानीकर्ताको विश्वास कायम गर्नुपर्ने आवश्यकता औंल्याए । आज ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकका सेयरमा उच्च वृद्धि देखिएको हो ।  यस्तै, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि-इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका सेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ४५ करोडभन्दा बढी र ङादी ग्रुप पावरको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो समय भइरहेको धरपकड अभियानले पुँजी बजारमा अन्योलता र त्रास सिर्जना गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनका अनुसार कारबाहीमा परेका व्यक्तिहरूमध्ये सेयर बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित लगानीकर्ता, संस्थापक सेयरधनी, व्यापारी तथा उद्योगीहरू समेत रहेका छन् । ‘यी व्यक्तिहरू बजारका हिस्सा हुन्, त्यसैले यस्तो कारबाहीले समग्र बजारमा प्रभाव पार्छ,’ उनले भने ।  रौनियारले धरपकडको दायरा कहिलेसम्म फैलिने र को-को यसमा पर्न सक्ने भन्ने विषयमा स्पष्टता नहुँदा लगानीकर्तामा अन्योलता बढेको बताए । ‘बजारले अनिश्चितता मन पराउँदैन। यस्तो अवस्थामा लगानीकर्ताहरू स्वाभाविक रूपमा त्रसित हुन्छन्,’ उनले भने । उनका अनुसार संवेदनशील विषयमा राजनीतिक गतिविधि बढ्दा विश्वभर नै पुँजी बजारमा गिरावट आउने प्रवृत्ति देखिन्छ । ‘यदि यही विषय सकारात्मक रूपमा अगाडि बढेको भए बजारमा सुधार आउन सक्थ्यो,’ उनले भने । सरकार गठन भएसँगै धरपकड सुरु भएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको बताए । ‘गल्ती गर्ने केही व्यक्तिहरू हुन्छन्, तर त्यसको असर लाखौं लगानीकर्तामा पर्छ,’ उनले भने । 

हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य लगातार घट्दै वर्षकै न्यून विन्दु नजिक पुगेको छ । एक वर्ष अर्थात ५२ हप्ताअघि यस कम्पनीको उच्च मूल्य ११३९ रुपैयाँ र न्यून मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो । आज ७६७ रुपैयाँमा कारोबार सुरु भएकोमा अन्तिम समयमा आउँदा घटेर ७०४.७० रुपैयाँ पुगेको छ । जुन वर्षकै न्यून विन्दुमा भएको कारोबार हो । आज सबैभन्दा धेरै हिमालयन रिको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले सेयरमूल्य घटेको छ । कारोबार रकमको आधारमा पनि आज सबैभन्दा धेरै कारोबार हिमालय रि को रहेको छ । उक्त कम्पनीको ५८  करोड २८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।  हिमालय रिलाई नेपाल बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ भन्ने हल्लाले सेयर मूल्य घटेको हो । यस विषयमा छलफलको लागि आज बीमा प्राधिकरणले बोर्ड बैठक समेत बोलाएको छ । 

के अब बैंक र बीमा कम्पनीमा पनि दुई दिन बन्द हुन्छ ?

काठमाडौं । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कलेज, स्कुल तथा कलेजहरूमा आइतबार र शनिबार विदा दिने निर्णय गरेको हो ।  सरकारले योसँगै अबदेखि सकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारको यो निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्र र बीमा क्षेत्रमा पनि चासो बढेको छ ।  अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पनि दुई दिन बन्द हुन्छन् वा हुँदैनन् भन्ने चासो बढेको छ । यो जिज्ञासामा हामीले राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेललाई राखेका थियौं । उनले सरकारी कार्यालय भनेकोले स्वभावैतः राष्ट्र बैंक दुई दिन बन्द हुने बताए । ‘अब राष्ट्र बैंक दुई दिन बन्द हुने नै भयो । राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंक खोल्दा अनिवार्य खुल्नुपर्छ । तर, नेपाल राष्ट्र बैंक बन्द हुँदा ती संस्थालाई ऐच्छिक छ । तर, सबैको चासोको विषय र पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन भएकोले सीमित बैंकिङ सेवा दिनेगरी परिपत्र गर्छौं गर्छौं,’ उनले भने । उनका अनुसार के कसरी व्यवस्थापन गर्ने विषय भने मन्त्रिपरिषद् बैठकको निर्णय अर्थमन्त्रालयमार्फत् आएपछि जानकारी हुनेछ । कतिपय बैंकले सातै दिन र २४ सै घण्टा सेवा भनेकाले डिजिटल तथा सीमित शाखा सञ्चालन गरेर सेवा दिन सकिने उनको भनाइ छ । यस्तै, बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि अर्थमन्त्रालयबाट निर्देशनसहितको पत्र नआइसकेकोले अहिले भन्न सकिने अवस्था नभएको बताएको छ । प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले अर्थमन्त्रालयबाट पत्र नआइसकेकोले के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषय अहिले निर्णय नभइसकेको बताइन् । यद्यपि, प्राधिकरण भने दुई दिन बन्द नै हुनेछ । प्राधिकरण बन्द भएपनि बीमा कम्पनीहरू पनि सीमित शाखाबाट सेवा दिने गरी सञ्चालन हुन सक्नेछन् । 

सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।   राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसदलगायत को उपस्थिति थियो। अर्याल आज प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।

सरकारले पेट्रोलबाट चल्ने गाडी ईभीमा रुपान्तरण गर्न कानुन बनाउने

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने कानुन बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारले अब नयाँ कानुन बनाएर विद्युतीय गाडी प्रोत्साहन गर्न लागेको हो ।