चितवन-३ मा रास्वपाकी सोविता गौतम रेनु दाहालभन्दा साढे ४ हजार मत अगाडि
काठमाडौं । चितवन ३ मा रास्वपाकी सोविता गौतमले अग्रता फराकिलो बनाएकी छन् । पछिल्लो पछिल्लो नेकपाकी रेनु दाहालसँग उनको साढे ४ हजार मतको दुरी छ । अहिलेसम्म १९ हजार ४५ मत गणना हुँदा सोवितालाई ९ हजार ८ सय ७९ मत आएको छ । रेनुले ५ हजार २ सय ५६ मत ल्याएकी छन् । रेनुभन्दा सोविता ४ हजार ६ सय २३ मतले अगाडि छिन् । अन्य उम्मेदवारहरु निकै पछाडि छन् । एमालेका शंकर थपलियाले १४ सय ६५ र कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।
सुनसरी- १ मा रास्वपाको अग्रता
काठमाडौं । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सरिन तामाङले १४२ मत ल्याई सुरुवाती अग्रता बनाएकी छन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।
पर्वत–१ मा रास्वपाका सागर भुसालको सुरुवाती अग्रता
पर्वत । पर्वत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर भुसालले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार उनले २ हजार २८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम गिरीले एक हजार २८० ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले एक हजार २०३ मत ल्याएका छन् । नेकपाका मनहरि शर्माले २३१ मत प्राप्त गरेका छन् ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलको फराकिलो अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १३ हजार ७०८ मतसहित चुनावी दौडमा अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि रहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल २ हजार २७१ मतसहित तेस्रो स्थानमा छन् । त्यसैगरी, राप्रपा नेपालका कमल थापाले ७४७ मत र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत प्राप्त गरेका छन् ।
काठमाडौं-१ मा एमालेसहित २६ उम्मेदवारको जमानत जफत हुने, शाहीको शून्य मत
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-१ मा नेकपा (एमाले)का उम्मेदवारसहित २६ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरूको जमानत जफत हुने भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका-२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने व्यवस्था छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भइसकेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ले ३ हजार ९७२ मत पाएका छन् । क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता रहेकोमा २८ हजार मत खसेको थियो । १० प्रतिशत मत ल्याउनका लागि कम्तीमा २ हजार ८०० मत आवश्यक थियो । तर नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको पनि जमानत जफत हुने भएको छ । यसैगरी उज्यालो नेपाल पार्टी का मोहनराज रेग्मी, श्रम संस्कृति पार्टीका समीर तामाङ लामा र नेपाल कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीको जमानत पनि जफत हुने देखिएको छ । यसैबीच नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका अर्जुनबहादुर शाहीले शून्य मत प्राप्त गरेका छन् । यस्तै, राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम्मले एक मत मात्र प्राप्त गरेका छन् । राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र रमेशप्रसाद जोशीले २ मत पाएका छन् ।
रसुवामा कांग्रेसको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ५ हजार ३११ मतसहित अग्रस्थानमा रहेका छन् । ताजा मत परिणामअनुसार १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले २ हजार ९८३, नेकपा एमालेका प्रेमबहादुर तामाङले २ हजार २५६ मत प्राप्त गरेका छन् । यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गरेका थिए ।
म्याग्दीमा महावीर पुनको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा देखिएका छन् । उनले हालसम्म १ हजार ६६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन् । उनले ६१२ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन बहादुर थापाले ४७२ मत प्राप्त गरे भने कांग्रेसका कर्णबहादुर भण्डारी ३९५ मतसहित पछ्याइरहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि परेको छ भने रास्वपा उम्मेदवार युवराज रोकाले जम्मा ५ मत पाएका छन् । मतगणना जारी छ ।
मोरङमा रास्वपाका नेता रेग्मीको निधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ जिल्ला सदस्य दुर्गाप्रसाद रेग्मीको निधन भएको छ। २ नम्बर क्षेत्रका प्रतिनिधिसमेत रहेका उनको मतगणनास्थल नजिकै खाजा खाने समयमा आकस्मिक निधन भएको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । रेग्मी ५० वर्षका थिए ।