हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
काठमाडौं । हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई बताए । मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनैवटा जिल्लाको मतगणना सुरु हुनेछ । यसैगरी, रसुवा, दोलखा, रुकुम (पूर्वी भाग), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिमी भाग), सोलुखुम्बु र मुगुका हिमाली भेगका मतदान केन्द्रका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा लगी सकिएको पनि उनले बताए । यस्तै, स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना कानुनअनुसार गर्न पनि आयोगले निर्देशन दिएको जनाइएको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा घण्टीमा खसेको मत छुट्याएर राखी मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
तेस्रो स्थानका लागि संघर्ष गर्दै एमाले र नेकपा
काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बीच प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार नेकपाले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकूम पूर्वबाट विजयी हुने सम्भावना बढी देखिन्छ । एमालेका लिलामणि गौतमले २ हजार ७५६ मत पाउँदा प्रचण्डले ६ हजार ८२० मत पाएका छन् । नेकपाका उम्मेदवार वर्षामान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालिकोट १), वृजेश कुमार गुम्ता (कपिलबस्तु–२), बीरमान चौधरी (कैलाली–३), नन्दबहादुर साउद (कैलाली–२), भीम बहादुर रावल (अछाम–१), रमेशकुमार मल्ल (सल्लान–१) र दीनानाथ गौतम (काभ्रे–२) को मतगणनामा अगाडि रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी बालेन्द्र शाहको भन्दा कम मत पाइरहेका छन् । एमालेका दीपकबहादुर धामी (डोटी–१), मोहम्मद इश्तियाक राई (बाँके–२), कुलमणि देवकोटा (सुर्खेत–२), लक्ष्मी प्रसाद पोखरेल (दैलेख–२), प्रमोद कुमार यादव (रुपन्देही–४), राजेन्द्र कुमार राई (धनकुटा–१) र भानुभक्त ढकाल (तेह्रथुम–१)मा र सुहाङ नेम्वाङ इलाम–२ मा अगाडि रहेका छन् । शुक्रबार मध्यान्नसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा विजय हासिल गर्दै ९२ स्थानमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले एक स्थानमा विजयीसहित ११ स्थानमा अग्रता हासिल गरिरहेको निर्वाचन आयोगले जनाएको छ । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही अग्रस्थानमा छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन अग्रस्थानमा छन् । बाँकी ४१ वटा निर्वाचन क्षेत्रमा मत गणनाको तयारीका काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म रास्वपा एक जितसहित ९२ र कांग्रेस एक जितसहित ११ ठाउँमा अगाडि छ ।
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायमै
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायमै राखेकी छन् । हालसम्म गणना भएका मतमध्ये तामाङले ५ हजार ३०९ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् भने नेकपाका राजेन्द्र पाण्डे १ हजार ६५ मत पाएका छन् ।
इलाम २ मा सुहाङलाई पछयाउँदै श्रम संस्कृतिका उम्मेदवार
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पच्छाएका छन् । नेम्वाङले ४९१ मत प्राप्त गर्दा राईले ४४३ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० र रास्वपाका गोकुल राईले १७१ प्राप्त गरेका छन् ।
सुर्खेत- १ मा कांग्रेसका उम्मेदवार विष्णु खड्काले लिए अग्रता
काठमाडौं । सुर्खेत- १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले अग्रता लिएका छन् । खड्काले २ हजार ५ सय १० मत ल्याउँदा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर सिंह ठकुरीलाई १ हजार ४४२ मत आएको छ । नेकपाका जितबहादुर रानाले २५४ मत र राप्रपाका रविकिरण हमालले ६० मत ल्याएका छन् ।
काभ्रे २ मा बदन दोब्बर मतले अगाडि
काठमाडौं । काभ्रेपलाञ्चोक- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारीले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ३०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अशोक ब्यन्जुले २ हजार ६२४, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले १ हजार ७५१ र नेकपाकी बसुन्धारा हुमागाईंले ४५४ मत पाएकी छन् ।
चितवन-३ मा रास्वपाकी सोविता गौतम रेनु दाहालभन्दा साढे ४ हजार मत अगाडि
काठमाडौं । चितवन ३ मा रास्वपाकी सोविता गौतमले अग्रता फराकिलो बनाएकी छन् । पछिल्लो पछिल्लो नेकपाकी रेनु दाहालसँग उनको साढे ४ हजार मतको दुरी छ । अहिलेसम्म १९ हजार ४५ मत गणना हुँदा सोवितालाई ९ हजार ८ सय ७९ मत आएको छ । रेनुले ५ हजार २ सय ५६ मत ल्याएकी छन् । रेनुभन्दा सोविता ४ हजार ६ सय २३ मतले अगाडि छिन् । अन्य उम्मेदवारहरु निकै पछाडि छन् । एमालेका शंकर थपलियाले १४ सय ६५ र कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।
सुनसरी- १ मा रास्वपाको अग्रता
काठमाडौं । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सरिन तामाङले १४२ मत ल्याई सुरुवाती अग्रता बनाएकी छन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।