विकासन्युज

३२ वर्षीय योगेशको संसदमा दोस्रो पटक इन्ट्री, यस्तो छ व्यावसायिक र राजनीतिक पृष्ठभूमि

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनी मस्ताङ–१ बाट विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३०७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।   योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन् ।  सानै उमेरदेखि राजनीतिमा सक्रिय थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए । उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 

काभ्रे– २ मा रास्वपाका बदनको अग्रता

काठमाडौं । काभ्रेपलाञ्चोक- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मदेवार बदन भण्डारीले अग्रता कायम गरेका छन् ।  उनले पछिल्लो मतपरिणाम अनुसार १ हजार ५३३ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका अशोक ब्यन्जुले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले ५५३ र नेकपाकी बसुन्धारा हुमागाईंले १८५ मत पाएकी छन् ।

मुस्ताङ –१ मा कांग्रेसका योगेश गौचन विजयी, घोषणा हुन बाँकी

काठमाडौं । मुस्ताङ –१ मा ३ हजार ३०७ मत ल्याएर नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । निर्वाचन आयोगले उनको जीत घोषणा गर्न भने बाँकी छ । गौचनका ​निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १ हजार ८०६ मत ल्याए ।  त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधितीय चन्द थकालीले ७५९ मत पाए ।  गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचलाई हराउँदै जीत हासिल गरेका हुन् ।

प्रारम्भिक मतगणनामा गगन थापाभन्दा अमरेशकुमार सिंह तेब्बर मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक मतगणनामा अमरेशकुमार सिंहभन्दा तेब्बर मतले पछाडि परेका छन् । प्रारम्भिक मतपरिणामअनुसार सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाबाट सो क्षेत्रमा चुनाव लडेका अमरेशकुमार सिंहले १९०८ मत प्राप्त गरेका छन् । नेकपाका रजनीश रायले ३७९ मत प्राप्त गरेका छन् । सर्लाही-४ को मतगणना अमरेश सिंहको घर भएको क्षेत्रबाट गरिएका कारण सुरुवाती मतपरिणाममा उनी थापाभन्दा निकै अगाडि देखिएका कांग्रेस नेताहरुको दाबी छ । 

मोरङ- ६ मा रास्वपाकी आचार्य अगाडि

काठमाडौं । मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् ।  उनले ३ हजार ४२३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाले ७२८ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत पाएका छन् ।

चितवन -२ अपडेट :  रास्वपाका लामिछाने ४ हजार ३७१ मतले अगाडि

काठमाडौं । पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ३७१ मतले अगाडि रहेका छन् । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६ हजार ७०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार ३२२ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रताव गुरुङले १ हजार ५५७ मत ल्याएका छन् ।  हालसम्म १४ हजार २२ मत गणना भएको छ । 

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले १ हजार २७१ मतले अगाडि

दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।  मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणना अनुसार वाग्ले १ हजार २७१ मतले अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन्  । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ । यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।  

कैलाली– ३ मा मतगणना सुरु

कैलाली ।  कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर- ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले यहाँ मतगणना सुरु भएको जानकारी  दिए । उनका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ । यहाँ १ लाख ९ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो । यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।