तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले १ हजार २७१ मतले अगाडि
दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणना अनुसार वाग्ले १ हजार २७१ मतले अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ । यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।
कैलाली– ३ मा मतगणना सुरु
कैलाली । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर- ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले यहाँ मतगणना सुरु भएको जानकारी दिए । उनका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ । यहाँ १ लाख ९ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो । यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
ललितपुर १ मा कांग्रेसका राणाको अग्रता
पाटन । ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा ९एमाले०का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् ।
रुपन्देही -२ : विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल ८ हजार बढी मतले अगाडि
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायम गरेका छन् । यस क्षेत्रमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल रास्वपा उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन् । हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५१९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत मात्र प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्ना पौडेलले १ हजार २०४ मत ल्याएका छन् । प्रारम्भिक मतगणनाको नतिजाले रुपन्देही-२ मा रास्वपाका खरेलले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखाएको छ ।
धादिङ –१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायमै
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले अग्रता कायमै गरेकी छन् । पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले २ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार ५२२ मत पाएका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ८४४ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका कृष्ण रिजालले ७३० मत प्राप्त गरेका गरेका छन् ।
वैकल्पिक राजनीतिबाट उदाएकी रञ्जुलाई शिशु र सांसद उपहार
काठमाडौं । रञ्जु दर्शना ३० वर्षको उमेरमा सांसद बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित वियजी हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु वैकल्पिक राजनीतिबाट उदाएकी हुन् । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय बनिन् । देशमा बन्द हड्ताल हुनु हुँदैन भनेर उनी सडकमा निस्किइन् । स्व. उज्जल थापाको नेतृत्वमा सक्रिय बनेर काम गरिन् । पछि सो पार्टी विवेकशील साझा बन्यो । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्नि । तर, विजयी हुन सकिन्न । उनी पराजित भएपनि उनको चर्चा देशभर भयो । उनी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । उसो त उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी थिइन् तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् । २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् । उनले ’घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन् । उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन् । चुनाव प्रचार प्रसारमा पनि उनी ९ महिनाको गर्व बोकेर हिडेकी थिइन् भने मतदानको दिनमा पनि शीशु बोकर उनी मतदान केन्द्रमा पुगेकी थिइन् । उनलाई एकै पटक शिशु र सांसद उपहार मिलेको छ ।
सर्लाही- ४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता
काठमाडौं । सर्लाही- ४ मा अमेरशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १ हजार ९०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।
कैलाली र कञ्चनपुरका ५ निर्वाचन क्षेत्रमा मतगणना जारी: ४ मा रास्वपा र एकमा कांग्रेसको अग्रता
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका २ क्षेत्रमा मतगणना भइरहेको हो । जारी मतगणनामा कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता रहेको छ । जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र सिंह महता अग्रस्थानमा रहेका छन् । यस्तै कैलाली-१ मा कांग्रेस उम्मेदवार जनक चौधरी अघि छन् भने क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दले अग्रता बनाइरहेका छन् । सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको जनाइएको छ ।