विकासन्युज

नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ । उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ ।  सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ । भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ । हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।

सगरमाथामा ‘डायमक्स’ दुरुपयोगको समाचारप्रति एनएमएको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं । नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा आरोहणका क्रममा ‘डायमक्स’ नामक औषधीको दुरूपयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । औषधीको दुरुपयोग गर्दै पर्वतारोहीलाई समस्यामा पार्ने भन्दै प्रकाशित समाचारप्रति संघले आपत्ति जनाएको हो । एनएमएका अनुसार नेपाल दशकौंदेखि विश्वकै अग्रणी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित रहँदै आएको छ र यस्ता अपुष्ट तथा नकारात्मक खबरले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित पार्न सक्ने जोखिम बढेको छ । संघले विशेषगरी वसन्तकालीन आरोहण सिजन सुरु भइसकेको अवस्थामा यस्ता समाचारले पर्यटन उद्योगमा निर्भर हजारौं व्यवसायी, गाइड र श्रमिकको जीविकामा असर पार्न सक्ने जनाएको छ ।  ‘पर्वतारोहण हाम्रो उद्योग मात्र होइन, राष्ट्रिय गौरव, पहिचान र साहसको प्रतीक हो,’ विज्ञप्तिमा उल्लेख छ । नेपालका पर्वतारोहण कम्पनी र जनशक्ति निकै व्यवसायिक र इमान्दार रहेको भन्दै अफवाह नफैलाउन संघले आग्रह गरेको छ । उक्त विवरणबारे निष्पक्ष छानबिन गर्न संघले सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ‘नेपालको पर्वतारोहण इतिहास निकै समृद्ध र सौम्य छ । पर्वतारोहण एक उद्यम मात्रै नभएर गर्वको प्रतीक हो । यस्ता कपोकल्पित सामाग्रीले नेपालको पर्वतारोहण क्षेत्रको इज्जत धुमिल गराउनुका साथै धेरैको रोजीरोटी गुम्छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।  त्यस्तै, बीमा दाबी, हेलिकोप्टर उद्धार लगायत सेवामा पारदर्शिता र कडाइ आवश्यक रहेको औंल्याउँदै संघले नियमन प्रणाली सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ ।  

‘बजाज न्यू इयरको क्यूआर’ सार्वजनिक, १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत पुरस्कार जिताउने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन्।  हरेक दिन सहभागीहरूमध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्न सक्नेछन् । साथै बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् ।  कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्ने कम्पनीले जनाएकाे छ । बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरू जित्न सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । 

सभामुखमा अर्याल निर्विरोध निर्वाचित, आजै शपथ

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार (आज) बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।   सभामुख अर्यालको शपथग्रहण आजै हुँदैछ । आज दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।   शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।

सहचालकले बस ब्याक गर्दा ...

चितवन । बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन  सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन् । नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अब २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम स्थानीयले ७ हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।