बालेन सरकारले १८५ मिलियन डलर ऋण लिने
काठमाडौं । प्रधानमन्त्री बालेन सरकारले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट ऋण लिने भएको छ । आइतबार प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने १८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट कार्यान्वयनका लागि एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट प्राप्त हुने कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । यसअन्तर्गत एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर प्राप्त हुने उनको भनाइ छ । त्यसैगरी, ‘दीगो र समावेशी वित्त परियोजना’का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकृत गरिएको उनले जानकारी दिए ।
नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ
काठमाडौं । ललितपुरको नापी कार्यालय र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन्। लगनखेलस्थित रहेको नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलीले नापी कार्यालयबाट २१ जना र यातायात व्यवस्था कार्यालयबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। बिचौलियाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्त्वपूर्ण ७ निर्णय
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले विभिन्न सात निर्णय गरेको हो । यस्ता छन् ७ निर्णय १. अर्थमन्त्रालय डिजिटल नेपाल ट्रान्समेसन परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने ९० मिलियन अमेरिकी डलर ऋण बराबरको सहुलियत ऋण स्वीकार गर्ने । २. दीगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर स्वीकार गर्ने । ३. नेपाल सरकारका विभिन्न मन्त्रालय तथा मन्त्रालय मातहतका संगठन तथा व्यवस्था गर्न सर्वेक्षण गर्न स्वीकृति दिने । ४. राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत । ५. पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन गर्न सरकारी, स्कुल तथा कलेजमा आइतबार र शनिबार सार्वजनिक विदा दिने । ६. डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने । ७. नयाँ शैक्षिक संस्था वैशाख १५ गतेदेखि सुरु गर्ने ।
वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने
काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र नयाँ सालको वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय भएको हो ।
अब सातामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म
काठमाडौं । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय, स्कुल तथा कलेजहरूमा आइतबार र शनिबार बिदा दिने निर्णय गरेको हो । अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय भएको हो । पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारी सर्वसम्मत चयन हुने
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच भएको सहमतिअनुसार भण्डारीले आइतबार (आज) मनोनयन दर्ता गर्दैछिन् । दलहरूबीचको समझदारीअनुसार उपाध्यक्ष पद एमालेले पाउने सहमति जुटेको हो । एमालेले भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । दलहरूबीच जुटेको सहमतिअनुसार भण्डारीलाई अगाडि बढाएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘अन्य दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ उनले भनिन् । सहमतिकै आधारमा उम्मेदवारी परेको अवस्थामा भण्डारी निर्विरोध निर्वाचित हुने देखिएको छ।
सीएफमोटो नेपालको नयाँ वर्ष अफर सार्वजनिक
काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ । उक्त अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत सीएफमोटो २५० डुअल इएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० सम्मको नगद छुट प्राप्त गर्नेछन् । साथै एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजारसम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन् । यसका अतिरिक्त प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फूल फेस डबल भिजर हेल्मेट(एण्टी–फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ । योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० को नयाँ एमआरपी घोषणा गरेको छ । साथै ग्राहकहरूले फुल फेस स्टुड्ड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन् । त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफायर ब्लू) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन् । जीहो एइ८ ईभी मोडेलको स्कुटरको हकमा ४ लाख ४९ हजार ९०० अफर अवधिभर यथावत् रहनेछ । बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । २०८३ सालदेखि काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ । त्यसैगरी, वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पाट्र्स) अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ ।
राष्ट्रिय सभामा नेकपाको दलको नेता बने झक्कु सुवेदी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदीलाई चयन गरेको छ । दलको निर्णयअनुसार सुवेदीलाई औपचारिक रूपमा दलको नेतृत्वको जिम्मेवारी दिइएको हो । नवनियुक्त दलका नेता सुवेदीले आइतबार आफूलाई अध्यक्ष पुष्पकमल दाहालबाट नियुक्तिसम्बन्धी पत्र प्राप्त गरेको बताए । उक्त पत्रमार्फत नै आफ्नो जिम्मेवारी औपचारिक रूपमा सुरु भएको उनले उल्लेख गरे। राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ । नयाँ नेतृत्व चयनसँगै दलले आगामी संसदीय गतिविधिलाई थप सशक्त बनाउने सुवेदीले जानकारी दिए ।