हरिसिद्धिमा लामिनारको प्रिमियम एम्पोरियो शोरूम उद्घाटन
काठमाडौं । टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा नयाँ शोरूम उद्घाटन गरेको छ । गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लामिनारको प्रिमियम एम्पोरियो शोरूमको औपचारिक उद्घाटन गरेको हो । शोरूमको उद्घाटन गोदावरी ग्रेनाइट एण्ड टाइल्सका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्सका डाइरेक्टर आशुतोष खेतानले संयुक्त रूपमा गरेका थिए । नयाँ शोरूममा लामिनारका उच्च गुणस्तरयुक्त, अत्याधुनिक र टिकाउ टाइलहरू प्रदर्शनमा राखिएका छन् । यी टाइलहरू आधुनिक आवासीय घर, व्यावसायिक भवन, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनालाई लक्षित गरी डिजाइन गरिएका छन् । कम्पनीका अनुसार लामिनारका टाइलहरू एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड छन्, जसको पानी अवशोषण दर ०.०८ प्रतिशतभन्दा कम छ । कम पानी अवशोषण दरका कारण टाइलहरू अत्यधिक टिकाउ र दीर्घकालीन हुने दाबी गरिएको छ । बर्दियाको गुलरियास्थित अत्याधुनिक कारखानामा इटालियन तथा स्पेनिस ग्लेज र डिजिटल इंक प्रणाली प्रयोग गरी उत्पादन गरिएका यी टाइलहरूले सतह निर्माण क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । लामिनारले ८ भन्दा बढी कलेक्सन र ५५० भन्दा बढी एसकेयू उपलब्ध गराउँदै नेपालकै ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गर्दै आएको जनाएको छ । उत्पादनमा मार्बल लुक, समकालीन कंक्रीट डिजाइन, उच्च ट्राफिक क्षेत्रका लागि पीईआई ५ घर्षण प्रतिरोध, एमओएचएस ९ कठोरता (स्क्र्याच प्रतिरोधी) तथा आर१२ स्लिप प्रतिरोधजस्ता विशेषता समावेश छन् । शोरूम उद्घाटनसँगै लामिनारका उत्पादनहरू सातै प्रदेशमा १९० भन्दा बढी डिलर सञ्जालमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ । गोदावरी ग्रेनाइट एण्ड टाइल्सका निर्देशक कृष्ण मणि बिधारीले उद्घाटन समारोहमा लामिनारले प्रदर्शन र डिजाइन दुवैमा उत्कृष्ट पूर्ण भिट्रिफाइड उत्पादन प्रदान गर्दै आएको बताए । 'यसको गुणस्तरमा निरन्तरताले बजारमा ठूलो विश्वास जितेको छ । नयाँ शोरूम घरधनी, आर्किटेक्ट, इन्जिनियर तथा ठूला संस्थाका लागि टिकाउ र भविष्य–उन्मुख सतह समाधान अनुभव गर्ने उत्कृष्ट स्थान बन्नेछ,' उनले भने । उन्नत नेपाली उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन र राष्ट्रव्यापी विस्तारसँगै लामिनारले ‘मेड इन नेपाल’ पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन र दीर्घकालीन विश्वसनीयता प्रदान गर्दै टाइल उद्योगमा नयाँ उचाइ कायम गर्ने लक्ष्य लिएको जनाएको छ ।
शाओमीको वीरगञ्ज र जनकपुरमा खुले दुई आधिकारिक सर्भिस सेन्टर
काठमाडौं । प्रविधि कम्पनी शाओमीले ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । यही क्रममा कम्पनीले फागुन १४ गते बिहीबार आदर्शनगर, वीरगन्ज तथा फागुन १५ गते शुक्रबार अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुनेछन् । यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित छ । उद्घाटनको अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ । सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउनेछन् । साथै वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन् ।
कतार एयरवेजका सबै उडान बन्द
काठमाडौं । कतार एयरवेजले सबै उडान बन्द गरेको छ । कतार एयरवेजको एयरस्पेस बन्द भएपछि अस्थायी रूपमा उडान बन्द भएको हो । कतार एयरवेजका अनुसार कतार नागरिक उड्डयन प्राधिकरणले कतारी एयरस्पेस सुरक्षित रूपमा पुनः खोलेको घोषणा गरेपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्नेछ । कतार एयरवेजको पुनः उडानसम्बन्धी तालिक अपडेट गर्दै जाने पनि एयरवेजले जनाएको छ ।
भिडियो सन्देश जारी गर्दै ओलीले भने– निर्माणको बाटोमा अघि बढ्ने कि भत्काउने कित्ता स्पष्ट पारौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश यतिबेला निर्माण वा विध्वंसमध्ये एक बाटो रोज्ने निर्णायक मोडमा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले जनतालाई स्पष्ट कित्ता तय गर्न आह्वान गर्दै स्थिरता, सुशासन र विकासको पक्षमा उभिन आग्रह गरेका छन् । भिडियो सन्देशमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकलाई अन्योल र अस्थिरतामा धकेलेको दाबी गरेका छन् । उनले सरकार परिवर्तनको शृङ्खला, नीतिगत अनिश्चितता र विकास आयोजनामा देखिएको ढिलाइलाई विध्वंसतर्फको संकेत भन्दै आलोचना गरे । उनल भने, ‘हामीले बनाएको आधार भत्काउने कि त्यसलाई अझ मजबुत बनाउने ? यही प्रश्नको उत्तर दिनुपर्ने बेला आएको छ ।’ ओलीले आफ्नो कार्यकालमा अघि बढाइएका पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाहरू स्मरण गराउँदै ती कामहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । सडक, पुल, जलविद्युत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई उनले निर्माणको बाटोको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘विकासका इँटा थप्ने काम सजिलो छैन, तर भत्काउन सजिलो हुन्छ,’ ओलीले आफ्नो सन्देशमा भनेका छन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई सम्मान गर्ने तर अराजकता र निरन्तर अवरोधको राजनीति स्वीकार्य नहुने स्पष्ट पारे । ‘देशलाई स्थायित्व चाहिएको छ । स्थायित्व बिना समृद्धि सम्भव छैन,’ ओलीको भनाइ रहेको छ । ओलीले युवापुस्तालाई विशेष सन्देश दिँदै देशभित्रै अवसर सिर्जना गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै उनले निर्माणको यात्रामा युवाको साथ अपरिहार्य रहेको बताए । त्यस्तै, उनले आसन्न राजनीतिक निर्णयहरू, चाहे निर्वाचन होस् वा नीतिगत बहस सबैमा जनताको भूमिका निर्णायक हुने बताए ।
एमडब्ल्यूसी २०२६ : भिभोले एक्स३०० सिरिजदेखि फोल्डेबलसम्म प्रदर्शन गर्ने
काठमाडौं । भिभोलेले मार्च २ देखि ५ सम्म स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कांग्रेस (एमडब्ल्यूसी) २०२६ मा आफ्नो सहभागिताको घोषणा गरेको छ । कम्पनीले उक्त कार्यक्रममा आगामी फ्ल्यागशिप स्मार्टफोन ‘एक्स३०० अल्ट्रा’को पहिलो ग्लोबल प्रिभ्यु प्रस्तुत गर्ने जनाएको छ । एमडब्ल्यूसी २०२६ मा भिभोको पहिलो उपस्थिति कम्पनीको विश्वव्यापी प्रविधि नेतृत्वतर्फको यात्रामा महत्वपूर्ण रणनीतिक उपलब्धि हुने बताइएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्ने र प्रिमियम पोर्टफोलियो सुदृढ गर्ने कम्पनीको प्रतिबद्धता झल्काउनेछ । मोबाइल प्रविधिको प्रभावशाली मञ्च मानिने एमडब्ल्यूसीले भिभोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, उद्योग नेतृत्व, अपरेटर तथा साझेदारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नेछ । कार्यक्रममा ‘एक्स३०० अल्ट्रा’ मुख्य आकर्षणका रूपमा रहनेछ । कम्पनीका अनुसार यो मोडेल मोबाइल फोटोग्राफी र भिडियोग्राफीमा हालसम्मकै सबैभन्दा उन्नत प्रयास हो । अप्टिक्स इन्जिनियरिङ, कम्प्युटेशनल फोटोग्राफी र सिस्टम–स्तरीय अप्टिमाइजेसनमा गरिएको लगानीको परिणाम यसमा झल्किने बताइएको छ । यसका साथै ‘एक्स३००’ सिरिज, ‘एक्स फोल्ड ५’ र ‘भी७०’ सिरिजलगायत उत्पादनहरूको पनि प्रदर्शन गरिनेछ । ह्यान्ड्स–अन डेमोमार्फत इमेजिङ र एआई जस्ता प्रविधिलाई कसरी सहज तथा मानव–केन्द्रित अनुभवमा रूपान्तरण गरिएको छ भन्ने प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था लोकतान्त्रिक होटल व्यवसायी संघले गर्ने
काठमाडौं । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी दिए । ‘कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौं,’ उनले भने। संघले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।
नेपालबाट खाडी मुलुकका लागि हुने उडान आइतबार पनि रद्द, १६ सय यात्रु प्रभावित
काठमाडौं । अरब मुलुकका लागि नेपालबाट हुने नियमित विमानहरुको उडान आइतबार पनि रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेज, एयर अरबिया सारजाह, एयर अरबिया अबुदाबी, कतार एयरवेज र फ्लाइ दुबईको उडान रद्द भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अरब मुलुकमा भएका युद्ध तनावका कारण नियमित उडान हुन नसकेको हो । आइतबार हुने उडान पनि रद्द भएको उनले जानकारी दिए । अरब मुलुकबाट नेपाल आउने र नेपालबाट जाने दुवैतर्फको विमानहरूको उडान रद्द भएको भुलले जानकारी दिए । उनका अनुसार आउने र जाने गरेर १ हजार ६ सय यात्रु प्रभावित भएका छन् । युएई र कतार लगायत अन्य मुलुकमा आक्रमण भएका कारण विमानस्थल बन्द भएका छन् । अमेरिका र इसराइलको आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएका छन् । तेहरानमा गरेको हवाई हमलामा परी उनको मृत्यु भएको हो।
टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने
काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ । एउटै सन्देश धेरै व्यक्तिलाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले यस सेवा उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा समेत सूचनामूलक सन्देश छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न यो सेवा उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । सेवा अन्तर्गत १ हजार २४३ रुपैयाँमा २ हजार एसएमएस, ३ हजार १०८ रुपैयाँमा ५ हजार एसएमएस र ६ हजार २१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड आवश्यक पर्नेछ । साथै, प्रेषित सन्देशको विषयवस्तु, शब्द र भावसम्बन्धी पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुनेछ । यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिनेछ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ । कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले सेवा सम्बन्धी उक्त जानकारी सार्वजनिक गरेका हुन् ।