बेनी हाइड्रोले चैत १ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थानीय, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ का स्थानीय र २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु र प्राइम बैंकको नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ । फागुन १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर जारी गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता, सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता सेयर कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
१० जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल १० जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा.रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरिएको हो । खस नेपाली भाषासहित ११ भाषामा डा. रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिए । उम्मेदवार डा. रोकाको पक्षमा चुनावी माहोल सृजना गर्नका लागि ‘हरि रोका जिताऔँ’ स्वतन्त्र सहयोग समितिले विभिन्न १० मातृभाषामा निर्वाचन प्रचार सामग्री तयार पारेको हो । मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई अपीलको एकापट्टि मातृभाषामा र अर्कापट्टि खस नेपाली भाषामा डा. रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । विभिन्न जातजातिका मतदातालाई उनीहरूकै भाषामा उम्मेदवारको चुनावी एजेन्डाबारे जानकारी दिन मातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवं पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले बताए । मातृभाषामा लेखिएको अपीलले विभिन्न मातृभाषाको लेख्य परम्परालाई प्रवर्द्धन गर्न सहयोग पुगेको पूर्वसांसदसमेत रहेका संयोजक राईले जानकारी दिए । ‘हारजित एक ठाउँमा छ तर, विभिन्न मातृभाषाको संरक्षणमा यसले रेकर्डको काम गर्छ,’ संयोजक राईले भने, ‘चाहेर पनि तिलुङ भाषाको अपिल बनाउन सकिएन । मातृभाषालाई बुझ्ने कोसिस हो यो । यसले मातृभाषा मात्रै प्रयोग गर्ने मतदातालाई ठूलो सहयोग पुगेको छ ।’ मातृभाषामा तयार पारिएका घोषणापत्र नेकपा खोटाङका नेता तथा कार्यकर्ताले सम्बन्धित समुदायका मतदातासमक्ष बाँडिरहेका छन् । डा. रोकाले आफ्नो चुनावी सभालाई जनसंवाद कार्यक्रमका रूपमा अगाडि सारेर १० वटै स्थानीय तहका मतदातासँग प्रत्यक्ष सवाल जवाफ गरिरहेका छन् । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाका उम्मेदवार डा रोकासहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देव विक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यान प्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहेका छन् । यस्तै, डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । १ लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा उम्मेदवारहरू आफ्नो पक्षमा जित निकाल्न प्रयास रहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउन जिल्लास्थित राजनीतिक दलहरू सक्रिय बन्न थालेपछि कार्यकर्ताहरू तानातानमा परेका छन् ।
दिनभरको यात्रा अवधि साढे २ घण्टामा छोटियो
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ-गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब ४ किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालनसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो । भैसीमानेदेखि पाल्टनसम्म थप करिब ३ किलोमिटर सडकको मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । ‘थप करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने भएको छ । निर्माण कम्पनीको उपकरण (डोजर) बिग्रिएकाले केही ढिलाइ भएको छ । सरासर काम हुने हो भने अब हप्ता दश दिनमा गुर्जामा बाटो पुग्छ । गाडी चढेर जान सकिन्छ,’ उनले भने । चालु आवमा १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा ८८ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९/८० देखि सुरु भएको लुलाङ-गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना भएको गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताए । दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने पाल्टनदेखि २० मिनेट पैदल यात्रा गरेर गुर्जा पुगिने धवलागिरि-१ का वडाध्यक्ष झक छन्त्यालको भनाइ छ । ‘गाउँ नजिकैसम्म बाटो र गाडी आउँदा गुर्जावासी खुसी र उत्साही भएका छौँ । गुर्जावासीले सडक ल्याउन योजना बनाउँदा पत्याएका थिएनन् । गाउँ नजिकै गाडी आउन थालेपछि गुर्जावासीमा उत्साह छाएको हो,’ उनले भने । गाडी चल्न थालेपछि गुर्जाबाट २ घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, ५ घण्टामा बेनी र ७ घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ । मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि गुर्जावासीले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । गुर्जाको जनसङ्ख्या १ हजार ५०५ जना रहेको छ ।
मूल्य नपाएपछि २० प्रतिशतले धान खेतीको क्षेत्रफल घट्ने, मकै खेतीतर्फ आकर्षण
काठमाडौं । झापा जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नेका लागि कतै बीउ तयार भइसकेको त कतै बीउ राख्ने काम भइरहेको बताए । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) हरू रहेका छन् । प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष किसानहरूको आकर्षण मकै खेतीतर्फ बढेकाले १५ देखि २० प्रतिशतले धान खेतीको क्षेत्रफल घट्ने देखिएको हो । गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु ७०० मात्र रहेकाले उचित प्रतिफल नपाउँदा किसानहरू निरास भई वैकल्पिक बालीतर्फ मोडिएका उनले बताए । उनले भने, ‘गत वर्षको मूल्यकै कारण किसानको चैते धान खेतीतर्फ खासै ध्यान गएन ।’ धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले बीउ समेत यस वर्ष सोचे अनुरूप बिक्री गर्न नसकेको जनाएका छन् । जिल्लामा विशेषगरी हर्दिनाथ-१ जातको धान बढी लगाउने गरिए पनि यसपटक मोरङको आरजु राइस मिलले हर्दिनाथ-६ जातको धान प्रतिमन १ हजार रुपैयाँमा खरिद गर्ने पूर्व सहमति गरेपछि किसानले उक्त जातको धान पनि लगाउन सुरु गरेका छन् । बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य तोकिएकाले ‘हर्दिनाथ-६’ तर्फ किसानको चासो बढेको भए तापनि धेरैजसोले अझै ‘हर्दिनाथ-१’ लाई नै प्राथमिकतामा राखेको उनको भनाइ छ । त्यसैगरी, कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा ‘छरुवा धान’ प्रविधिलाई पनि प्रोत्साहन दिइएको छ । केन्द्रले हरेक वर्ष नयाँ स्थानहरू पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रोत्साहित गर्दै आएको छ भने पुराना किसानले आफैँ यसलाई निरन्तरता दिइरहेका छन् । छरुवा प्रविधिबाट धानको उत्पादन राम्रो हुने भए तापनि प्राविधिक पक्षमा ध्यान नदिँदा किसानलाई झार नियन्त्रणमा समस्या आउने गरेको प्रमुख विष्टको भनाइ छ । धान खेतीका लागि चाहिने रासायनिक मलको जिल्लामा अभाव नरहेको उनले जानकारी दिए ।
मादक पदार्थ बिक्रीमा प्रतिबन्ध, यी कागजात देखाएर मतदान गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् । यस्तै, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ । यस्तै, मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ । यस्तै, घर बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ । यी कागजात देखाएर मतदान गर्न पाइन्छ प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ । मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।
आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपाका शक्तिबहादुर र स्वतन्त्र उम्मेदवार निकोलसलाई २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो । त्यसैगरी, श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए । आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाहीस्वरूप २५ हजार रुपैया जरिवाना तिराउने निर्णय गरेको हो । आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए । निर्वाचन आचारसंहिताविपरीत एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ । आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही आयोग आफै पनि सक्रिय हुनसक्ने चेतावनीसमेत दिए ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ । आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।