नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरणमा जोड
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औँ वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ । यस अवसरमा बैंक परिवारले हार्दिक आभार व्यक्त गरेको छ । ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा प्रस्तुत गरिरहने जानकारी उनले दिए । वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशन गर्दै आएको जनाएको छ । यस वर्ष बैंकले आफ्नो आठौँ संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयलाई सरल, रोचक र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ । वातावरणमा भइरहेको तीव्र परिवर्तनले स्वास्थ्य, भविष्य र पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकामा चेतना अभिवृद्धि गर्न पुस्तक प्रकाशन गरिएको हो । यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन् । बिहीबार रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे । 'यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन', उनले भने, 'जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।' आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए ।
गगन थापाको आरोप– ओली र बालेन ‘दुवै अतिवादी’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् । बिहीवार (आज) सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखा परेको भन्दै दुवै अतिवादी सोच भएको बताए । यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली कांग्रेस असहमत रहेको स्पष्ट पारे । उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्ने पनि बताए । उनले अब कुनैपनि मुकुण्डोधारीले सिंहदरबार जलाउन नसक्ने दाबी पनि गरे ।
ठूला र साना उद्योगसँगै बर्दघाटमा आर्थिक गतिविधि विस्तार हुने
काठमाडौं । बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरूले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताहरूले यस्तो विश्वास व्यक्त गरेका हुन् । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधैं तत्पर रहेको भन्दै बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एक तिहाइ जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए । नवलपरासी जिल्लामा ठूला उद्योगहरू स्थापित भइसकेका, सडक पूर्वाधार बनेकाले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाइ थियो । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमूलक उद्योगहरू बढ्नेमा उनले विश्वास व्यक्त गरे । कार्यवाहक अध्यक्ष चौधरीले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै बर्दघाट एसएमई ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए । नेपाल सरकारका पूर्व सचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोग बिना औद्योगिक ग्राम सफल हुन नसक्ने भन्दै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणमा टेवा दिने बताए । उनले गोल्छा ग्रुप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत बताए । देशमा रोजगारीको ठूलो समस्या रहेको, रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेशिएको भन्दै उनले रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए । उद्योग स्थापना हुँदा धुलो, धुवाँ आउन सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन सक्नुपर्नेमा उनले जोड दिए । उद्योग स्थापना भए रोजगारी बढ्ने, अर्थतन्त्रको विकास हुने भएकाले उद्योग स्थापना अनिवार्य रहेको उनले बताए । उनले उद्योग ग्राम बनेपछि धेरै संख्यामा उद्योगहरू सञ्चालनमा आउने विश्वास गरे । उनले १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरूको योगदान घटेर ५ प्रतिशतमा आइसकेको भन्दै जीडीपीमा उद्योगहरूको योगदान कसरी बढाउन सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने बताए । बंगलादेश र भारतले सफल रूपमा औद्योगिक पार्क सञ्चालन गरिरहेको र उनीहरूको अर्थतन्त्रमा योगदान दिएको भन्दै उनले हाम्रोमा पनि उनीहरूले दिएको जस्तो सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्ने बताए । उद्योग विकासका लागि स्थानीय नेतृत्वकर्ताको स्पष्ट दृष्टिकोण/मनस्थितिले ठूलो काम गर्ने भएकाले नवलपरासीमा उद्योगहरूको संख्या बढिरहेको उनले बताए । यस क्षेत्रमा पनि एमएडब्लू स्किल एकेडेमी विस्तार गर्न इच्छुक रहेको उनले बताए । एमएडब्लू स्किल एकेडेमी काठमाडौं र जनकपुरमा सञ्चालनमा आइसकेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । उनले यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमई भिलेजलाई सफल बनाउनुपर्ने बताए । ठूला उद्योगसँगै साना उद्योग स्थापना गर्न सकिए त्यसले मूल्य अभिवृद्धि गर्न, ठूला उद्योगको लागत घटाउन सहयोग गर्ने र रोजगारी सिर्जनामा मद्दत गर्ने बताए । ठूलो उद्योगसँगै साना उद्योग विकास गर्ने यस्तै मोडल देशका अन्य ठाउँमा पनि विस्तार गरिनुपर्नेमा उनले जोड दिए । बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरूको प्रवर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरूले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे । उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्त्वपूर्ण रहेको बताए । भारतसँगको सीमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको उनले बताए । साथै, विद्युत, यातायात सञ्जाल, दक्ष तथा अर्धदक्ष जनशक्तिको उपलब्धताले लगानीकर्तालाई आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे । उनले यस क्षेत्रमा कृषि तथा कृषिमा आधारित उद्योग, लघु तथा साना उद्योग, पर्यटन तथा धार्मिक पर्यटन, गोदाम, ढुवानी तथा लजिस्टिक सेवा, ऊर्जा तथा हरित उद्योगका लागि उपयुक्त रहेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युतलगायतका सुविधाका कारण नयाँ उद्योगहरू सञ्चालन गर्न सहज हुने बताए । उनले बर्दघाट एसएमई भिलेजमा ठूला उद्योगसमेत ल्याउन सक्ने गरी अगाडि बढ्नुपर्ने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठूला उद्योगहरूका लागि राम्रो सम्भावना देखिएको बताए । २५० भन्दा बढी वित्तीय संस्थाहरूको उपस्थिति यस क्षेत्रमा रहेकाले वित्तीय पहुँच सहज रहेको उनले बताए । नबिल बैंकले उद्यमशीलता, सीप विकासजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै सबै किसिमले यस क्षेत्रमा उद्योग स्थापनाका लागि उपयुक्त देखिएको उनले बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले देशमै केही गर्छु भनेर युवाहरूले उद्यम गरिरहेको भन्दै यस्ता उद्यमी युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । युवाहरू विदेश पलायन भइरहेको अवस्थालाई आत्मसात् गरी उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्ने नीतिले मात्रै उनीहरूलाई देशमै रोकेर उद्यमी बन्न प्रोत्साहित गर्ने उनले बताए । सो अन्तरक्रियामा सय जनाभन्दा बढी उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो ।
एनसेल र दामी एक्सपिरियन्सबीच साझेदारी, ४०० बढी आउटलेटमा छुट
काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँग साझेदारी गर्दै ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ । मंगलबार दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अफर औपचारिक रूपमा सुरु भएको हो । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए । यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला तथा मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर व्यावसायिक नेटवर्किङ र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलेले भने, 'यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहक लक्षित सिग्नेचर प्लानलाई अझ विशेष बनाएको छ । प्रिमियम अनुभूति र जीवनशैलीसँग जोडिएका सुविधासहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सेवा प्रदान गर्छ ।' दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्तालाई विभिन्न ब्रान्डमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । प्रयोगकर्ताले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशतसम्म छुट, दुसित प्रिन्सेस होटलमा २० प्रतिशत छुट तथा विभिन्न व्यायामशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताले एनसेल एपभित्र रहेको दामी एक्सपिरियन्समा ट्याप गरी डिजिटल भिआइपी कार्ड सक्रिय गरेर सूचीकृत पार्टनर ब्रान्डबाट सहजै लाभ लिन सक्ने कम्पनीले जनाएको छ । मोबिलिटी सेग्मेन्टअन्तर्गत एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम सिग्नेचर प्लान उपलब्ध गराउँदै आएको छ । यी योजना कर्पोरेट अधिकृत तथा नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीलाई लक्षित छन् । योजनामा भ्वाइस, डेटा, एसएमएस तथा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध छन्, जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुनिश्चित गर्छ । २५० जीबीसम्म उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न देशमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी डेटा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रोफेसनल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ रुपैयाँ र प्रिमियम सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
खैबर पख्तुनख्वामा दुई दिनमा २० जनाको गयो ज्यान
काठमाडौं । अफगानिस्तानको सीमामा चुलिँदो तनावकै बीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् । पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ । यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबीच सीमाक्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अधिकांश हमलाको जिम्मा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ । सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चारवटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ । पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनमाथि आफ्नो भूमिमा सक्रिय चरमपन्थी समूहलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार ती समूहले अफगान भूभागलाई पाकिस्तानमाथि आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेका छन् । काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा हिंसा उल्लेख्य रूपमा बढेको छ । सडक किनारमा बम विस्फोट, सुरक्षाकर्मीमाथि लक्षित गोलीबारी र छापा आक्रमणका घटना दोहोरिँदै आएका छन् । आत्मघाती विस्फोटहरूको शृङ्खलापछि पाकिस्तानी सेनाले सीमापार रहेका भनिएका आतङ्कवादी अड्डामाथि कारबाही तीव्र पारेको छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै तनावपूर्ण बनाएको छ ।
नेपाल वायुसेवा निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काठमाडौं । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छभने यात्रु सङ्ख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेका छन् । निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।