विकासन्युज

भिडियो सन्देश जारी गर्दै ओलीले भने– निर्माणको बाटोमा अघि बढ्ने कि भत्काउने कित्ता स्पष्ट पारौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश यतिबेला निर्माण वा विध्वंसमध्ये एक बाटो रोज्ने निर्णायक मोडमा पुगेको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले जनतालाई स्पष्ट कित्ता तय गर्न आह्वान गर्दै स्थिरता, सुशासन र विकासको पक्षमा उभिन आग्रह गरेका छन् । भिडियो सन्देशमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकलाई अन्योल र अस्थिरतामा धकेलेको दाबी गरेका छन् । उनले सरकार परिवर्तनको शृङ्खला, नीतिगत अनिश्चितता र विकास आयोजनामा देखिएको ढिलाइलाई विध्वंसतर्फको संकेत भन्दै आलोचना गरे ।  उनल भने, ‘हामीले बनाएको आधार भत्काउने कि त्यसलाई अझ मजबुत बनाउने ? यही प्रश्नको उत्तर दिनुपर्ने बेला आएको छ ।’  ओलीले आफ्नो कार्यकालमा अघि बढाइएका पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाहरू स्मरण गराउँदै ती कामहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् ।  सडक, पुल, जलविद्युत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई उनले निर्माणको बाटोको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘विकासका इँटा थप्ने काम सजिलो छैन, तर भत्काउन सजिलो हुन्छ,’ ओलीले आफ्नो सन्देशमा भनेका छन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई सम्मान गर्ने तर अराजकता र निरन्तर अवरोधको राजनीति स्वीकार्य नहुने स्पष्ट पारे । ‘देशलाई स्थायित्व चाहिएको छ । स्थायित्व बिना समृद्धि सम्भव छैन,’ ओलीको भनाइ रहेको छ । ओलीले युवापुस्तालाई विशेष सन्देश दिँदै देशभित्रै अवसर सिर्जना गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै उनले निर्माणको यात्रामा युवाको साथ अपरिहार्य रहेको बताए । त्यस्तै, उनले आसन्न राजनीतिक निर्णयहरू, चाहे निर्वाचन होस् वा नीतिगत बहस सबैमा जनताको भूमिका निर्णायक हुने बताए ।   

एमडब्ल्यूसी २०२६ : भिभोले एक्स३०० सिरिजदेखि फोल्डेबलसम्म प्रदर्शन गर्ने

काठमाडौं । भिभोलेले मार्च २ देखि ५ सम्म स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कांग्रेस  (एमडब्ल्यूसी) २०२६ मा आफ्नो सहभागिताको घोषणा गरेको छ । कम्पनीले उक्त कार्यक्रममा आगामी फ्ल्यागशिप स्मार्टफोन ‘एक्स३०० अल्ट्रा’को पहिलो ग्लोबल प्रिभ्यु प्रस्तुत गर्ने जनाएको छ । एमडब्ल्यूसी २०२६ मा भिभोको पहिलो उपस्थिति कम्पनीको विश्वव्यापी प्रविधि नेतृत्वतर्फको यात्रामा महत्वपूर्ण रणनीतिक उपलब्धि हुने बताइएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्ने र प्रिमियम पोर्टफोलियो सुदृढ गर्ने कम्पनीको प्रतिबद्धता झल्काउनेछ । मोबाइल प्रविधिको प्रभावशाली मञ्च मानिने एमडब्ल्यूसीले भिभोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, उद्योग नेतृत्व, अपरेटर तथा साझेदारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नेछ । कार्यक्रममा ‘एक्स३०० अल्ट्रा’ मुख्य आकर्षणका रूपमा रहनेछ । कम्पनीका अनुसार यो मोडेल मोबाइल फोटोग्राफी र भिडियोग्राफीमा हालसम्मकै सबैभन्दा उन्नत प्रयास हो । अप्टिक्स इन्जिनियरिङ, कम्प्युटेशनल फोटोग्राफी र सिस्टम–स्तरीय अप्टिमाइजेसनमा गरिएको लगानीको परिणाम यसमा झल्किने बताइएको छ । यसका साथै ‘एक्स३००’ सिरिज, ‘एक्स फोल्ड ५’ र ‘भी७०’ सिरिजलगायत उत्पादनहरूको पनि प्रदर्शन गरिनेछ । ह्यान्ड्स–अन डेमोमार्फत इमेजिङ र एआई जस्ता प्रविधिलाई कसरी सहज तथा मानव–केन्द्रित अनुभवमा रूपान्तरण गरिएको छ भन्ने प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।   

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था लोकतान्त्रिक होटल व्यवसायी संघले गर्ने

काठमाडौं । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो ।  संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी दिए । ‘कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौं,’ उनले भने। संघले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । 

नेपालबाट खाडी मुलुकका लागि हुने उडान आइतबार पनि रद्द, १६ सय यात्रु प्रभावित

काठमाडौं । अरब मुलुकका लागि नेपालबाट हुने नियमित विमानहरुको उडान आइतबार पनि रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेज, एयर अरबिया सारजाह, एयर अरबिया अबुदाबी, कतार एयरवेज र फ्लाइ दुबईको उडान रद्द भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अरब मुलुकमा भएका युद्ध तनावका कारण नियमित उडान हुन नसकेको हो । आइतबार हुने उडान पनि रद्द भएको उनले जानकारी दिए । अरब मुलुकबाट नेपाल आउने र नेपालबाट जाने दुवैतर्फको विमानहरूको उडान रद्द भएको भुलले जानकारी दिए । उनका अनुसार आउने र जाने गरेर १ हजार ६ सय यात्रु प्रभावित भएका छन् ।  युएई र कतार लगायत अन्य मुलुकमा आक्रमण भएका कारण विमानस्थल बन्द भएका छन् । अमेरिका र इसराइलको आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएका छन् । तेहरानमा गरेको हवाई हमलामा परी उनको मृत्यु भएको हो।   

टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ । एउटै सन्देश धेरै व्यक्तिलाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले यस सेवा उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा समेत सूचनामूलक सन्देश छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न यो सेवा उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । सेवा अन्तर्गत १ हजार २४३ रुपैयाँमा २ हजार एसएमएस, ३ हजार १०८ रुपैयाँमा ५ हजार एसएमएस र ६ हजार २१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड आवश्यक पर्नेछ । साथै, प्रेषित सन्देशको विषयवस्तु, शब्द र भावसम्बन्धी पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुनेछ । यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिनेछ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ । कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले सेवा सम्बन्धी उक्त जानकारी सार्वजनिक गरेका हुन् ।  

७७ खर्ब नाघ्यो निक्षेप, व्यवस्थापन गर्न ११० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार ११० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ जेठ १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।   

निर्वाचनपूर्व मन्त्रिपरिषद् बैठक अनिश्चित, दीर्घकालीन निर्णय रोक्न मुख्यसचिव अर्यालको सतर्कता

काठमाडौं । सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनिच्छा देखाएपछि सोमबार बस्ने तय गरिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ ।  निर्वाचनको पूर्वसन्ध्यामा सरकारले दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउने तयारी गरेको सूचना पाएपछि मुख्यसचिव अर्यालले सकेसम्म निर्वाचन परिणाम सार्वजनिक नहुँदासम्म मन्त्रिपरिषद् बैठक नराख्न सुझाव दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही मन्त्रालयहरूले नीतिगत तथा दीर्घकालीन असर पार्ने निर्णयका प्रस्तावहरू क्याबिनेटमा लैजाने तयारी गरेका थिए । ती प्रस्तावहरू निर्वाचन आचारसंहिताको भावना विपरीत हुन सक्ने आशंकासहित मुख्यसचिवले सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ । मतदानको दिन आउन लागेको र मौन अवधि सुरु हुन लागेको अवस्थामा नयाँ नीति, दीर्घकालीन सम्झौता वा ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू भए भने मुख्यसचिव जिम्मेवार हुनपर्ने भएकोले अर्याल निर्वाचन पहिले मन्त्रिपरिषद बैठक नहोस् भन्ने पक्षमा रहेका छन् ।  यस्तै, संवेदनशील समयमा बैठक बसेर विवादास्पद निर्णय भए त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकोले निजामती प्रशासनको नेतृत्वले भोलिको मन्त्रिपरिषद बैठक नहोस् भन्ने चाहेको छ ।

सुनको मूल्य तोलामा ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला पाँच ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।