निर्वाचनको मौन अवधि सुरु भएपछि के-के गर्न पाइँदैन ?
काठमाडौं । फागुन २१ गतेको निर्वाचन आउन अब चार दिनमात्र बाँकी छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यतिखेर प्रचारप्रसारलाई तीव्र बनाएका छन् । १८ गते राति बाह्र बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा रोक, निर्वाचन लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन र कार्यशाला तथा गोष्ठी आदि गर्न नपाइने जनाएको छ । त्यस्तै, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत तथा होहल्ला गर्न पाइनेछैन । त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट र सेयर गर्न वा गराउनु नहुने आयोगले उल्लेख गरको छ। ‘निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन,’ आयोगले भनेको छ, ‘मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति र कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।’ राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले प्रस्ट पारेको छ । त्यस्तै, आयोगले मतदान केन्द्र रहेको घर, भवन, स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी,सार्वजनिक घर, भवन, जग्गामा शान्ति भंग गर्न, भय, त्रास सिर्जना गर्न, निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नपाइने बताएको छ । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई स्थायी रूपमा सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल फागुन २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि रहने कम्पनी सचिव खिम बहादुर कार्कीले जानकारी दिए ।
इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब
काठमाडौं । ओपेक सदस्य इरानमाथि संयुक्त रूपमा अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वमा ठूलो तेल आपूर्ति अवरोधको जोखिम बढाएको छ । सबैभन्दा खराब अवस्थामा यसले विश्वव्यापी आर्थिक मन्दीसमेत निम्त्याउन सक्छ । इरान ओपेकभित्र चौथो ठूलो तेल उत्पादक हो, जसले जनवरी महिनामा प्रतिदिन ३० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गरेको थियो । इस्लामिक गणतन्त्र इरानको तटरेखा विश्व तेल व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्ग मानिने स्ट्रेट अफ होर्मुजसँग जोडिएको छ । तेल बजारले लामो समयदेखि मध्यपूर्वमा आपूर्ति अवरोधको जोखिमलाई खासै गम्भीर रूपमा लिएको थिएन । तर पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसका पूर्वऊर्जा सल्लाहकार बब म्याकनालीका अनुसार अमेरिकी आक्रमणविरुद्ध इरानले गर्न सक्ने प्रतिशोधलाई व्यापारीहरूले कम आँकेका छन् । रापिडान इनर्जीका संस्थापक तथा अध्यक्ष म्याकनालीले भने, ‘यो वास्तविक अवस्था हो ।’ उनका अनुसार आइतबार साँझ ६ बजे (ईटी) बजार खुल्नेबित्तिकै जोखिम समायोजनका कारण कच्चा तेलको मूल्य प्रतिव्यारेल ५ देखि ७ डलरसम्म बढ्न सक्छ । शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७२.४८ डलरमा बन्द भयो, जुन १.७३ डलर (२.४५ प्रतिशत) ले वृद्धि हो । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट ६७.०२ डलरमा बन्द भयो, १.८१ डलर (२.७८ प्रतिशत) को वृद्धिसहित । म्याकनालीका अनुसार इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब दिन होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाज आवागमनका लागि असुरक्षित बनाउन सक्छ, जसले तेलको मूल्य १०० डलरभन्दा माथि र्पुयाउन सक्छ । तेहरानसँग ठूलो मात्रामा बारुदी सुरुङ (माइन) र छोटो दूरीका क्षेप्यास्त्र रहेको तथ्यलाई बजारले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । ऊर्जा परामर्श कम्पनी क्लेप्लरका तथ्यांकअनुसार २०२५ मा दैनिक १ करोड ४० लाख ब्यारेलभन्दा बढी तेल होर्मुज जलडमरूमध्यबाट बगेको थियो, जुन विश्वको कुल समुद्री कच्चा तेल निर्यातको करिब एक–तिहाइ हो । तीमध्ये करिब तीन–चौथाइ चीन, भारत, जापान र दक्षिण कोरियातर्फ गएका थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्ना कच्चा तेल आयातको आधा भाग यही मार्गबाट प्राप्त गर्छ । ‘होर्मुज लामो समयसम्म बन्द भएमा विश्वव्यापी मन्दी निश्चित हुन्छ,’ म्याकनालीले भने । क्लेप्लरका तेल विश्लेषक म्याट स्मिथका अनुसार आज साउदी अरेबिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र कतारबाट २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल निर्यातका लागि खाडी क्षेत्रमा लोड गरिएको छ । केही ट्यांकरहरू जलडमरूमध्य पार नगरी मार्ग परिवर्तन गरिरहेको देखिएको उनले बताए । म्याकनालीका अनुसार विश्वको अतिरिक्त तेल उत्पादन क्षमता प्रायः खाडी राष्ट्रहरूमै केन्द्रित छ र होर्मुज बन्द भएमा त्यो बजारसम्म पुग्न सक्नेछैन । विश्वको करिब २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात पनि मुख्यतः कतारबाट यही मार्ग हुँदै जान्छ, जसको विकल्प सजिलै उपलब्ध छैन । ‘होर्मुज बन्द भयो भन्ने थाहा पाएपछि विशेषगरी एसियाली आयातकर्ता देशहरूले तेल र ग्यास सञ्चय सुरु गर्नेछन्,’ म्याकनालीले भने । विश्लेषकहरूका अनुसार बजार सन्तुलनमा ल्याउन तेलको मूल्य यति धेरै बढ्नुपर्छ कि त्यसको प्रभावले आर्थिक गतिविधि नै सुस्त बनाओस् । अर्थात् तेल महँगो हुँदा उद्योग, यातायात र अन्य क्षेत्रको खर्च बढ्छ । खर्च बढेपछि उत्पादन र उपभोग दुवै घट्न थाल्छ । यसरी समग्र आर्थिक गतिविधि कम हुँदा तेलको माग पनि घट्छ र बजार सन्तुलनतिर जान्छ । उनीहरू भन्छन्, ‘अहिले तेलको माग सजिलै घट्ने खालको छैन । मूल्य बढ्दा पनि मानिसहरू र उद्योगहरू तुरुन्तै तेलको प्रयोग कम गर्न सक्दैनन् । त्यसैले माग घटाउन मूल्य धेरै माथि जानुपर्ने अवस्था देखिएको हो ।’ केही सानो हिस्सा मात्र वैकल्पिक मार्गतर्फ मोड्न सकिने म्याकनालीले बताए। साउदी अरेबियासँग पूर्वबाट रातो सागरतर्फ जाने पाइपलाइन छ भने यूएईसँग होर्मुजलाई बाइपास गर्ने गरी ओमानको खाडीमा टुंगिने पाइपलाइन छ । राज्य सञ्चारमाध्यमका अनुसार इरानले कतार, कुवेत, यूएई र बहराइनस्थित अमेरिकी आधारशिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । तेल तथा ग्यास परामर्शदाता टम क्लोजाका अनुसार यसले होर्मुजमार्गको आवागमनलाई थप प्रभावित गर्न सक्छ । उनले भने, ‘पर्सियन खाडीका छिमेकीमाथि इरानको आक्रमणले समीकरण बदल्छ । यसले बीमा कम्पनीहरूलाई होर्मुजमार्ग हुँदै जाने ट्यांकरको बीमा दर अत्यधिक बढाउन वा पूर्ण रूपमा बीमा गर्न अस्वीकार गर्न दबाब दिन सक्छ ।’ क्लियरभ्यु इनर्जी पार्टनर्सका केभिन बुकका अनुसार तेल मूल्य अत्यधिक बढेमा ट्रम्प प्रशासनले रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्न सक्छ । अमेरिकी ऊर्जा विभागका तथ्यांकअनुसार हाल उक्त भण्डारमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात छ । तर उनले चेतावनी दिए, आपूर्ति संकटमा समयावधि र परिमाण दुवै महत्वपूर्ण हुन्छन्। पूर्ण होर्मुज संकटले अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारले दिने राहतलाई पनि नाघ्न सक्छ ।’ (सीएनबीसीबाट अनुदूति तथा सम्पादित)
स्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको जनाएको छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ ।
मतदाताले के-के गर्न पाइँदैन ?
काठमाडौं । के तपाईं १८ वर्ष पुग्नुभयो त ? त्यसो भए पक्कै तपाईंको नाम मतदाता नामावलीमा होला । यदि तपाईं मताधिकार प्रयोग गर्न योग्य हुनुहुन्छ भने के(के गर्न हुन्छ भन्नेबारेमा थाहा छ त ? निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा के-के गर्न हुन्छ/ हुँदैन भनेर सूची सार्वजनिक गरेको छ । आयोगका अनुसार मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा, टि-सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न पाइँदैन । ‘मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिन्ह र झण्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइँदैन, आयोगले भनेको छ । मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउने, कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आयोगले जनाएको छ । कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने पनि आयोगले उल्लेख गरेको छ । मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नपाइनेसमेत आयोगले प्रस्ट पारेको छ ।
विदेशमा रहेका नेपालीले आजसम्म कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १७ गते अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सामाजिक सञ्जालमा भ्रम फैलिने फोटो तथा भिडियो पोष्ट नगर्नू : नेपाली दूतावास
काठमाडौं । युएईस्थित नेपाली दूतावासले नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने फोटो तथा भिडियो खिचेर पोष्ट नगर्न युएईस्थित नेपाली दूतावासले निर्देशन दिएको छ । भ्रामक तस्विर फोटो तथा फोटो सार्वजनिक गरेमा कानून बमोजिम कारबाही भोग्नुपर्ने युएईका आधिकारिक निकायबाट प्राप्त भएको दूतावासले उल्लेख गरेको छ । ‘यूएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामाग्री प्रकाशन वा प्रसारण नगर्नु,’ दूतावासले भनेको छ,’ यहाँको सुरक्षा स्थितिबारे भ्रम फैलिने किसिमले तस्बिर र भिडियो खिची पोष्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ।'
चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ ले सिफारिस लिएका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । उनले भने, 'कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।' कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उनले जानकारी दिए । उनका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन् । उनले भने, 'बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ ।' निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो । यस्तै जिल्लामा रहेका १२ उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । कार्कीका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र नौ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।