हनी ट्र्याप प्रकरण : ६ करोड ठगीको अभियोगमा कांग्रेस नेतृ पनि तानिइन्
काठमाडौं । टिकटकर तुलसा अधिकारीसँग साठगाँठ रहेको देखिएपछि नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि अनुसन्धानमा तानिएकी छन् । नेतृ खतिवडा अधिकारी निकटमात्र नभई दुईबीच आर्थिक कारोबारसमेत भएको देखिन्छ । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले दायर गरेको अभियोगपत्रमा उनको शंकास्पद गतिविधि उल्लेख छ। नेतृ खतिवडा पूर्वपरराष्ट्रमन्त्री आरजु राणानिकट मानिन्छिन् । विभिन्न माध्यमबाट खतिवडाका निम्ति ९ लाख ८७ हजार १०४ रुपैयाँ गएको देखिन्छ । तुलसी अधिकारी हुँदै नेलिका लामिछानेको खातामा र उक्त खाताबाट खतिवडालाई करिब १० लाख रुपैयाँ खर्च गरिएको खुलेको छ । ललितपुरको ग्वार्कोस्थित ‘हाम्रो अटोमोबाइल्स प्रालि’ का सञ्चालक कुमार चिमोरियालाई ६ वर्षदेखि ‘हनी ट्र्याप’मा पारी ६ करोड रुपैयाँभन्दा बढी रकम असुल गर्ने संगठित गिरोहका १० जना विरुद्ध मुद्दा अघि बढेको छ। टिकटकर तुलसा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले अधिकारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरेको हो । ललितपुरका एक अटोमोबाइल व्यवसायीलाई हनी ट्र्यापमा पारेर साढे चार करोड रुपैयाँभन्दा बढी रकम असुलेको अभियोगमा १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यस मुद्दाकी प्रतिवादी २८ वर्षीया निलिका (नेलिका) लामिछानेलाई प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ । उनीबाहेक अन्य नौ जना (मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी)माथि पनि कारबाहीको माग गरिएको छ । अभियोगपत्रअनुसार काभ्रे घर भई ललितपुर बस्ने अटोमोबाइल व्यवसायी कुमार चिमोरिया र प्रतिवादी तुलसी अधिकारीबीच २०७५ सालमा व्यावसायिक सिलसिलामा चिनजान भएको थियो । बुटवलमा गाडी खरिद-बिक्रीको बहानामा भेट गरी तुलसीले व्यवसायीलाई भैरहवाको एउटा होटलमा पुर्याएर शारीरिक सम्बन्ध राखेकी थिइन् । सोही शारीरिक सम्बन्धलाई हतियार बनाएर तुलसीले ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै ब्ल्याकमेलिङ सुरु गरेकी थिइन् । व्यवसायीले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी हालसम्म ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी र सम्पत्ति बुझाउन बाध्य भएको जाहेरीमा उल्लेख छ । प्रहरीको अनुसन्धानले तुलसीको संगठित ठगीको तरिका र घटनाक्रम विस्तृतमा खुलाएको छ । उनले शंकरलाई सातदोबाटोमा ७ लाख ७५ हजार, इमाडोलमा ७ लाख ७५ हजार र गहना पसल खोल्न २५ लाख तिराएको उल्लेख छ । त्यसैगरी पछि पनि पसलको भाडा आफूलाई नै तिर्न लगाएको जाहेरीमा उल्लेख छ र त्यसको प्रमाणसमेत मिसिलसाथ संलग्न राखिएको छ । कुमारीपाटीमा तुलला कलेक्सन प्रालिको पसलको सजावट र सात महिनाको भाडा गरी १५ लाख ९० हजार रुपैयाँ तिरेको अभियोगपत्रमा उल्लेख छ । अधिकारीले हनी ट्र्यापमा पारी जाहेरवाला शंकर अधिकारी (परिवर्तित नाम) लाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोग पत्रमा उल्लेख छ । यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो । सम्पत्ति शुद्धीकरणको बिगो भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
ऊर्जा नीतिमा व्यापक सुधारको तयारी, मन्त्री श्रेष्ठद्वारा आन्तरिक छलफल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिको मस्यौदा माथि आन्तरिक छलफल सुरु गरेको छ । छलफलमा उनले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवम् संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिए । शुक्रबार भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांकसमेत स्पष्ट हुने गरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिए । उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग वृृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए । गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्वन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । उनले भविष्यमा आइपर्ने ऊर्जा क्षेत्रका चुनौतीलाई अहिलेदेखि नै सोच्नुपर्ने बताए । आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतिको सामना गर्न तयार हुने गरी ल्याउनुपर्ने बताए । विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकासमेत महत्वपूर्ण रहेकाले निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिफलको सुनिश्चितता गर्नेतर्फ पनि विद्युत् नीतिले ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
एक साताअघि खिचेको गृहमन्त्री सुतेको फोटो भाइरल
काठमाडौं । एक साताअघि खिचिएको गृहमन्त्री सुधन गुरुङको तस्बिर शुक्रबार अचानक सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा र बहस सुरु भएको छ । ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भन्दै गृहमन्त्री गुरुङले फेसबुकमा स्टाटस लेख्दै मन्त्रालयकै सोफामा सुतेको आफ्नो तस्बिर सार्वजनिक गरेका थिए । तस्बिर सार्वजनिक भएसँगै उनको कार्यशैली, सक्रियता र सस्तो लोकप्रियताको विषयमा विभिन्न कोणबाट टिप्पणीहरू आउन थालेका छन् । सामाजिक सञ्जालमा यो फोतो राख्दै विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । विवाद चर्किएपछि गृहमन्त्रीको सचिवालयले भने तस्बिर हालसालैको नभएको स्पष्ट पारेको छ । सचिवालय सदस्य जेम्स कार्कीका अनुसार उक्त तस्बिर केही दिनअघिको हो । 'धेरै कामको थकानपछि राति करिब १२-१ बजेतिर खिचिएको फोटो हो, हिजो रातिको होइन,’ उनले भने । उनले यो तस्बिर केपी शर्मा ओली पक्राउ गर्नुअघिको रातको भएको बुझिएको छ । गृहमन्त्री गुरुङ यतिबेला बालेन शाह नेतृत्वको सरकारका सबैभन्दा चर्चित मन्त्रीमध्ये एक हुन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट गोर्खा–१ बाट निर्वाचित उनी मन्त्री बनेलगत्तै ठूला राजनीतिक व्यक्तित्वमाथि कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका छन् । उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएपछि राजनीतिक तरंग अझ तीव्र बनेको छ । यसबाहेक, विभिन्न स्थानमा अनुगमन, नागरिकसँग प्रत्यक्ष भेटघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति निरीक्षणजस्ता गतिविधिले पनि उनको सक्रियता झल्किएको छ । छोटो समयमै कठोर निर्णय र उच्च सक्रियताका कारण प्रशंसा बटुलिरहेका गृहमन्त्री गुरुङको यही ‘सोफा प्रसंग’ले भने उनको शैलीबारे नयाँ बहस सुरु गरिदिएको छ । थाकेका मन्त्री देखिए पनि गृह मन्त्रालय भने निरन्तर सक्रिय रहेको सन्देश दिन खोजिएको हो वा सस्तो लोकप्रियताको प्रयास, यसको मूल्यांकन भने समयले नै गर्नेछ ।
नेपालीको खाता मागेर क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक ठमेलबाट पक्राउ
काठमाडौं । नेपालीको खाता मागेर क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक ठमेलबाट पक्राउ परेका छन् । बिहीबार ठमेलबाट २६ वर्षीय झु यी फिङ्लाई १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार तीन थान मोबाइल र इन्टरनेशनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरेर नेपालीलाई खाता माग गरेका थिए । फिङले नेपालीलाई विभिन्न किसिमका आर्थिक प्रलोभनमा पारेर खाता लिएका थिए । नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए ।
गौतमश्री सहकारीका व्यवस्थापक विष्ट पक्राउ
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन विष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमश्रीमा ४ हजार ७९१ जनाले रकम बचत गरेका थिए । विष्टलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको छ ।
गोरखा सहकारीका अध्यक्ष राई पक्राउ
काठमाडौं । ललितपुरमा रहेको गोरखा सेभिड एण्ड क्रेडिङ सहकारी संस्थाका अध्यक्ष इमानसिंह राई पक्राउ परेका छन् । सहकारीका प्रशासन कार्यकारी अधिकृत लालबाबु क्षेत्री, अबिन कुमार राई र कर्णबहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ओखलढुंगा जिल्ला मानेभन्ज्याङ्ग ३ का ६१ वर्षीय राई, चितवन भरतपुर महानगरपालिका वर्ष ४२ वर्षीय क्षेत्री, ओखलढुंगा मानेभन्ज्याङ् १ का ललितपुर बस्ने ५९ वर्षीय राई, ओखलढुंगा मानेभन्ज्याङ्ग ३ का भक्तपुर बस्ने ३९ वर्षीय राई पक्राउ परेका हुन्। थप अनुसन्धानको लागि ललितपुर प्रहरी परिसर पठाएको कार्यालयले जनाएको छ । गोरखा सहकारीमा १० हजार ५९८ जनाले बचत गरेका थिए । कमसल धितो राखेर ऋण प्रवाह गरिएको छ । बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाई ऋण प्रवाह गरिएको छ ।
समयमै किताब पुर्याउन र गेटामा पढाइ सुरु गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको स्थलगत अवलोकन गरी ती निकायहरूको कार्यसम्पादनबारे विस्तृत जानकारी लिएका छन् । जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गर्दै उनले आगामी शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तकहरू समयमै छपाइ गरी विद्यार्थीको हातमा पुर्याउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए । पुस्तक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित हुन नदिन आवश्यक व्यवस्थापकीय सुधार र समन्वय गर्न मन्त्री पाेखरेलले कर्मचारीहरूलाई सचेतसमेत गराए । त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री पोखरेलले कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयको विषयमा विशेष चासो व्यक्त गरे । भौतिक पूर्वाधार तयार भए पनि कानुनी जटिलताका कारण पढाइ सुरु हुन नसकेको भए ती अड्चनहरू फुकाउन आवश्यक समन्वय गर्न उनको निर्देशन छ । सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षामा महत्त्वपूर्ण मानिएको यस परियोजनालाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन आयोगलाई सक्रिय भूमिका खेल्नसमेत उनले आग्रह गरेका छन् । अवलोकनका क्रममा मन्त्री पोखरेलले सरकारी निकायहरूको कार्यसम्पादन चुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिँदै मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ
काठमाडौ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी पूर्वका राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट रु ७३ लाखभन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै एक जनासँग रु चार लाख ५० हजार, पौडेलले दुई जनासँग रु चार लाख २० हजार र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँग रु आठ लाख रकम लिई बेपत्ता भएका थिए ।