गगन थापाले आज लुम्बिनी र कर्णालीका दुई आमसभालाई सम्बोधन गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बिहीबार लुम्बिनी र कर्णाली प्रदेशका दुई जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले सुर्खेत र बाँकेमा चुनावी कार्यक्रम तय गरेको हो । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिंह पुनका अनुसार शीर्ष नेताहरूको उपस्थितिमा एकैदिन दुवै जिल्लामा आमसभा आयोजना गर्न लागिएको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घण्टाघर डबलीमा मध्याह्न साढे १२ बजे सभा सुरु हुने कार्यक्रम तय गरिएको छ । उक्त सभामा सभापति थापासँगै पार्टीकी उपसभापति पुष्पा भुसालले पनि सम्बोधन गर्ने कार्यक्रम छ । सुर्खेतको कार्यक्रम सकेलगत्तै कांग्रेसको टोली बाँकेतर्फ प्रस्थान गर्नेछ । बाँके–३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा दिउँसो साढे १ बजे चुनावी सभा आयोजना गरिएको जनाइएको छ । प्रदेश सभापति तथा बाँके–३ का उम्मेदवार अमर सिंह पुनका अनुसार मानपुरमा पनि सभापति थापाले मुख्य सम्बोधन गर्नेछन् । निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले जिल्ला–जिल्लामा चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।
आइएमई र साउदीको ‘टिक्मो’ बीच डिजिटल रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपालको प्रतिष्ठित रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको डिजिटल वालेट ‘टिक्मो’ (TIQMO) बीच डिजिटल कारोबार विस्तारका लागि महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ । साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा साउदीका लागि नेपालकी कार्यबाहक राजदूत सिर्जना अधिकारी लगायत दुवै कम्पनीका उच्चाधिकारीहरूको उपस्थिति रहेको थियो । यो साझेदारीले नेपाल र साउदी अरबबीच एक ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गर्ने लक्ष्य राखेको छ, जसले परम्परागत रकम पठाउने माध्यमलाई आधुनिक र डिजिटल प्रविधिमा रूपान्तरण गर्नेछ । साउदी अरबको ‘भिजन २०३०’ अन्तर्गतको नगदरहित समाज बनाउने अभियान र नेपालको बढ्दो डिजिटल वित्तीय पहुँचलाई यो सम्झौताले थप बल पुर्याउने विश्वास लिइएको छ । टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पनि सुरक्षित र सहज रूपमा नेपालमा रकम पठाउन सुनिश्चितता प्रदान गरेको छ । सम्झौताकै अवसरमा आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस योजना अन्तर्गत साउदीमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । टिक्मो साउदीमा अन्तर्राष्ट्रिय रकम ट्रान्सफर र बिल भुक्तानीका लागि लोकप्रिय डिजिटल वालेट हो । विगत २२ वर्षदेखि रेमिटेन्स सेवामा सक्रिय आइएमईले हाल नेपालका ७७ वटै जिल्लामा रहेका १२ हजारभन्दा बढी सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित तवरले रकम वितरण गर्दै आइरहेको छ । यो नयाँ सम्झौताले विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई आफ्ना आफन्तको हातसम्म पुर्याउन अझ छिटो र भरपर्दो माध्यम प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डलर १४५ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
कागती किलोको २५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५५, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५५, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १७०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ५०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १५०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १००, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
एपस्टीनसँग सम्बन्ध राख्नु ‘ठूलो गल्ती’, तर अपराधमा संलग्न नभएको बिल गेट्सको दाबी
काठमाडौं । अमेरिकी प्रविधि उद्यमी तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले जेफ्री एपस्टीनसँग सम्बन्ध राख्नु ‘ठूलो गल्ती’ भएको स्वीकार गरेका छन् । तर उनले आफू एपस्टीनका आपराधिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् । मंगलबार गेट्स फाउन्डेसनका कर्मचारीहरूसँग आयोजित ‘टाउन हल’ कार्यक्रममा उनले एपस्टीनसँगको सम्बन्धका कारण संस्थाको काममा असर परेकोप्रति खेद व्यक्त गरेका हुन् । वाल स्ट्रिट जर्नलका अनुसार गेट्सले उक्त कार्यक्रममा आफूले गरेको गल्तीका लागि माफी समेत मागेका थिए । ‘एपस्टीनसँग समय बिताउनु ठूलो गल्ती थियो । फाउन्डेसनका अधिकारीहरूलाई पनि उहाँसँगको बैठकमा सहभागी गराउनु गलत थियो,’ गेट्सले भने । उनले आफूले गरेको निर्णयका कारण असहज अवस्थामा परेका व्यक्तिसँग माफी मागेको बताए । अमेरिकी न्याय विभागले सार्वजनिक गरेका केही कागजातहरूमा गेट्सको नाम पनि उल्लेख छ । एक मस्यौदा इमेलमा एपस्टीनले गेट्ससँग विवाहेत्तर सम्बन्ध र अन्य व्यक्तिगत विषय जोडिएको दाबी गरेको उल्लेख छ । तर गेट्सले कुनै पनि अवैध गतिविधिमा संलग्नता अस्वीकार गरेका छन् । टाउन हल कार्यक्रममा ७० वर्षीय गेट्सले दुई रूसी महिलासँग आफ्नो सम्पर्क रहेको स्वीकार गरेका थिए । एकजना ब्रिज खेलाडी र अर्की रूसी परमाणु भौतिकशास्त्रीसँग व्यावसायिक वा सामाजिक कार्यक्रमका क्रममा भेट भएको उनले बताएका छन् । एपस्टीनमाथि नाबालिग केटीहरूको यौन तस्करीको आरोप लागेको थियो । सन् २०१९ मा मुद्दा चलिरहेको अवस्थामा न्यूयोर्कस्थित जेलमा उनको मृत्यु भएको थियो । गेट्सले आफूले कुनै अवैध कार्य नगरेको र एपस्टीनका पीडितहरूसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । ‘मैले कुनै अवैध काम गरेको थिइनँ र त्यस्तो गतिविधिबारे जानकारी पनि थिएन,’ उनले भने । उनका अनुसार एपस्टीनसँगको सम्बन्ध सन् २०११ मा सुरु भएको थियो, जुन समयसम्म एपस्टीनले नाबालिगसँग सम्बन्ध राखेको अभियोगमा सजाय भोगिसकेका थिए । एपस्टीनमाथि यात्रा प्रतिबन्ध लागेको विषय थाहा भए पनि आफूले पृष्ठभूमि जाँच नगरेको गेट्सले स्वीकार गरेका छन् । उनकी तत्कालीन पत्नी मेलिन्डा गेट्सले सन् २०१३ मै एपस्टीनबारे चिन्ता व्यक्त गरे पनि गेट्सले केही समयसम्म सम्बन्ध कायम राखेको बताएका छन् । गेट्स फाउन्डेसनले भनेको छ कि टाउन हल कार्यक्रममा गेट्सले एपस्टीनसम्बन्धी प्रश्नहरूको विस्तृत जवाफ दिएका थिए र आफ्ना कार्यप्रति जिम्मेवारी स्वीकार गरेका थिए ।
आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिएको जनाएको छ । कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
एपोलो हाइड्रोको आईपीओमा विदेशमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्ने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
काठमाडौंका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
काठमाडौं । देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका २५० उम्मेदवारमध्ये २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् । त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दलहरूलाई फागुन ३ गते निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उल्लेख गरिएको यो विषयमा फागुनअघि पनि आयोगले जानकारी गराउँदै आएको हो । यति हुँदा हुँदै पनि राजधानी काठमाडौंमै अझै सबै उम्मेदवारले बैंक खाता खोलेका छैनन् । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ । आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ । भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । सुशासन प्रबर्द्धनका लागि उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक गर्न लागिएको जनाइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४०६ उम्मेदवार रहेकामा आजसम्म १ हजार ३८९ ले मात्र बैंक खाता खोलेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए ।