ठूला र साना उद्योगसँगै बर्दघाटमा आर्थिक गतिविधि विस्तार हुने
काठमाडौं । बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरूले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताहरूले यस्तो विश्वास व्यक्त गरेका हुन् । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधैं तत्पर रहेको भन्दै बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एक तिहाइ जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए । नवलपरासी जिल्लामा ठूला उद्योगहरू स्थापित भइसकेका, सडक पूर्वाधार बनेकाले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाइ थियो । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमूलक उद्योगहरू बढ्नेमा उनले विश्वास व्यक्त गरे । कार्यवाहक अध्यक्ष चौधरीले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै बर्दघाट एसएमई ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए । नेपाल सरकारका पूर्व सचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोग बिना औद्योगिक ग्राम सफल हुन नसक्ने भन्दै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणमा टेवा दिने बताए । उनले गोल्छा ग्रुप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत बताए । देशमा रोजगारीको ठूलो समस्या रहेको, रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेशिएको भन्दै उनले रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए । उद्योग स्थापना हुँदा धुलो, धुवाँ आउन सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन सक्नुपर्नेमा उनले जोड दिए । उद्योग स्थापना भए रोजगारी बढ्ने, अर्थतन्त्रको विकास हुने भएकाले उद्योग स्थापना अनिवार्य रहेको उनले बताए । उनले उद्योग ग्राम बनेपछि धेरै संख्यामा उद्योगहरू सञ्चालनमा आउने विश्वास गरे । उनले १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरूको योगदान घटेर ५ प्रतिशतमा आइसकेको भन्दै जीडीपीमा उद्योगहरूको योगदान कसरी बढाउन सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने बताए । बंगलादेश र भारतले सफल रूपमा औद्योगिक पार्क सञ्चालन गरिरहेको र उनीहरूको अर्थतन्त्रमा योगदान दिएको भन्दै उनले हाम्रोमा पनि उनीहरूले दिएको जस्तो सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्ने बताए । उद्योग विकासका लागि स्थानीय नेतृत्वकर्ताको स्पष्ट दृष्टिकोण/मनस्थितिले ठूलो काम गर्ने भएकाले नवलपरासीमा उद्योगहरूको संख्या बढिरहेको उनले बताए । यस क्षेत्रमा पनि एमएडब्लू स्किल एकेडेमी विस्तार गर्न इच्छुक रहेको उनले बताए । एमएडब्लू स्किल एकेडेमी काठमाडौं र जनकपुरमा सञ्चालनमा आइसकेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । उनले यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमई भिलेजलाई सफल बनाउनुपर्ने बताए । ठूला उद्योगसँगै साना उद्योग स्थापना गर्न सकिए त्यसले मूल्य अभिवृद्धि गर्न, ठूला उद्योगको लागत घटाउन सहयोग गर्ने र रोजगारी सिर्जनामा मद्दत गर्ने बताए । ठूलो उद्योगसँगै साना उद्योग विकास गर्ने यस्तै मोडल देशका अन्य ठाउँमा पनि विस्तार गरिनुपर्नेमा उनले जोड दिए । बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरूको प्रवर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरूले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे । उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्त्वपूर्ण रहेको बताए । भारतसँगको सीमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको उनले बताए । साथै, विद्युत, यातायात सञ्जाल, दक्ष तथा अर्धदक्ष जनशक्तिको उपलब्धताले लगानीकर्तालाई आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे । उनले यस क्षेत्रमा कृषि तथा कृषिमा आधारित उद्योग, लघु तथा साना उद्योग, पर्यटन तथा धार्मिक पर्यटन, गोदाम, ढुवानी तथा लजिस्टिक सेवा, ऊर्जा तथा हरित उद्योगका लागि उपयुक्त रहेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युतलगायतका सुविधाका कारण नयाँ उद्योगहरू सञ्चालन गर्न सहज हुने बताए । उनले बर्दघाट एसएमई भिलेजमा ठूला उद्योगसमेत ल्याउन सक्ने गरी अगाडि बढ्नुपर्ने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठूला उद्योगहरूका लागि राम्रो सम्भावना देखिएको बताए । २५० भन्दा बढी वित्तीय संस्थाहरूको उपस्थिति यस क्षेत्रमा रहेकाले वित्तीय पहुँच सहज रहेको उनले बताए । नबिल बैंकले उद्यमशीलता, सीप विकासजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै सबै किसिमले यस क्षेत्रमा उद्योग स्थापनाका लागि उपयुक्त देखिएको उनले बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले देशमै केही गर्छु भनेर युवाहरूले उद्यम गरिरहेको भन्दै यस्ता उद्यमी युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । युवाहरू विदेश पलायन भइरहेको अवस्थालाई आत्मसात् गरी उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्ने नीतिले मात्रै उनीहरूलाई देशमै रोकेर उद्यमी बन्न प्रोत्साहित गर्ने उनले बताए । सो अन्तरक्रियामा सय जनाभन्दा बढी उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो ।
एनसेल र दामी एक्सपिरियन्सबीच साझेदारी, ४०० बढी आउटलेटमा छुट
काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँग साझेदारी गर्दै ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ । मंगलबार दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अफर औपचारिक रूपमा सुरु भएको हो । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए । यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला तथा मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर व्यावसायिक नेटवर्किङ र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलेले भने, 'यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहक लक्षित सिग्नेचर प्लानलाई अझ विशेष बनाएको छ । प्रिमियम अनुभूति र जीवनशैलीसँग जोडिएका सुविधासहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सेवा प्रदान गर्छ ।' दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्तालाई विभिन्न ब्रान्डमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । प्रयोगकर्ताले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशतसम्म छुट, दुसित प्रिन्सेस होटलमा २० प्रतिशत छुट तथा विभिन्न व्यायामशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताले एनसेल एपभित्र रहेको दामी एक्सपिरियन्समा ट्याप गरी डिजिटल भिआइपी कार्ड सक्रिय गरेर सूचीकृत पार्टनर ब्रान्डबाट सहजै लाभ लिन सक्ने कम्पनीले जनाएको छ । मोबिलिटी सेग्मेन्टअन्तर्गत एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम सिग्नेचर प्लान उपलब्ध गराउँदै आएको छ । यी योजना कर्पोरेट अधिकृत तथा नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीलाई लक्षित छन् । योजनामा भ्वाइस, डेटा, एसएमएस तथा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध छन्, जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुनिश्चित गर्छ । २५० जीबीसम्म उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न देशमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी डेटा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रोफेसनल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ रुपैयाँ र प्रिमियम सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
खैबर पख्तुनख्वामा दुई दिनमा २० जनाको गयो ज्यान
काठमाडौं । अफगानिस्तानको सीमामा चुलिँदो तनावकै बीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् । पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ । यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबीच सीमाक्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अधिकांश हमलाको जिम्मा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ । सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चारवटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ । पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनमाथि आफ्नो भूमिमा सक्रिय चरमपन्थी समूहलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार ती समूहले अफगान भूभागलाई पाकिस्तानमाथि आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेका छन् । काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा हिंसा उल्लेख्य रूपमा बढेको छ । सडक किनारमा बम विस्फोट, सुरक्षाकर्मीमाथि लक्षित गोलीबारी र छापा आक्रमणका घटना दोहोरिँदै आएका छन् । आत्मघाती विस्फोटहरूको शृङ्खलापछि पाकिस्तानी सेनाले सीमापार रहेका भनिएका आतङ्कवादी अड्डामाथि कारबाही तीव्र पारेको छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै तनावपूर्ण बनाएको छ ।
नेपाल वायुसेवा निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काठमाडौं । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छभने यात्रु सङ्ख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेका छन् । निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
एक अर्ब लगानीमा आईजिआई प्रुडेन्सियलको १२ तले भवन सञ्चालनमा, 'बीमा क्षेत्रकै ठूलो संरचना'
काठमाडौं । निर्जीवन बीमा कम्पनी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नवनिर्मित भवन सञ्चालनमा आएको छ । बिहीबार (आज) एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन भएको हो । काठमाडौंको पानीपोखरीमा करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो भवन १२ तलाको छ भने ६० हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । २०५५ सालमा स्थापना भएको यो कम्पनी २०७४ सालमा आएर आइएमई जनरल इन्स्योरेन्सको नामबाट कार्य आरम्भ गरेको थियो । २०८० वैशाखमा प्रुडेन्सियल इन्स्योरन्ससँग मर्ज भएसँगै आईजिआई प्रुडेन्सियलको नामबाट सेवा सञ्चालन भएको हो । २७ वर्षको इतिहास बोकेको यो कम्पनीले आज बीमा उद्योगकै सबैभन्दा ठूलो भवन निर्माण गर्न सफल भएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालका अनुसार १६ वर्षअघि अहिलेको भवन निर्माण भएको जग्गा आईएमई फाइनान्सले भवन बनाउनका लागि खरिद गरेको थियो । पछि आइएमई फाइनान्स र ग्लोबल आईएमई बैंक मर्ज भएपछि भवन पनि कमलादीमा बनाउने निर्णयपछि आइजिआईले नै यो जग्गा पुनः खरिद गर्ने मौका पाएको अध्यक्ष ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार नयाँ भवन निर्माण गर्दा ग्लोबल स्ट्यान्डर्ड पालना गरिएको छ । ढल प्रशोधन प्रविधिदेखि खुला हावाको अवधारणामा आधारित रहेर निर्माण गरिएको छ । कर्मचारीहरूका लागि सुविधायुक्त बनाएको छ । विशेषगरी साना बच्चा भएका महिला कर्मचारीहरूका लागि बच्चा राख्ने र खेलाउने ठाउँको व्यवस्था पनि गरिएको छ । हेमराज ढकाल । कार्यक्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय बजारमा नेपालको बीमा बजार परिपक्व हुँदै गएकाले अब कम्पनीलाई ग्लोबल मार्केटमा लैजानुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङजस्ता प्रविधि प्रयोग गरेर ‘प्रिडिक्टिभ क्लेम म्यानेजमेन्ट’ र जोखिम विश्लेषण गर्ने योजना कम्पनीको रहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त वादे श्रेष्ठले यो भवन निर्माणसम्म पुग्नुमा कम्पनीको निरन्तरत प्रगति र संस्थागत दीर्घकालीन दृष्टिकोणको प्रतीक भएको बताए। उनले भने, ‘आज हामी केवल एउटा भवन उद्घाटन गरिरहेका छैनौं, हामी हाम्रो प्रतिबद्धता विश्वास र सेवाप्रतिको अर्थ समर्पणमा नया उत्साहित पुर्याउने संकल्पलाई उद्घाटन गरिरहेकाछौं ।’ युगेश भक्त वादे श्रेष्ठ । यो यात्रामा मार्गदर्शन गर्ने सबै अध्यक्ष नियामक निकाय, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारीलगायतलाई उनले धन्यवाद दिए । नयाँ कार्यस्थल अझ व्यवस्थित प्रभाकारी ग्राहक केन्द्रित सेवा प्रवाहमा अपनाउने उनले प्रतिबद्धता जनाएका छन्। नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कम्पनीको यो सफलता सिंगो बीमा क्षेत्रकै लागि खुसीको विषय भएको र नेपाली समाज पनि कमजोर छैन भन्ने कुराको प्रमाण भएको बताए । कार्यकारी निर्देशक सुवेदीले नेपालको बीमा व्यवसाय दक्षिण एसियामै प्रतिष्ठित रहेको र तुलनाात्मक रूपमा बीमामा हुने धोक्काधडीका घटना कम रहेको उल्लेख गरे । नेपाली सीप र क्षमतालाई देश बाहिर पनि व्यवसाय विस्तार गर्न दिनुपर्छ भन्ने मान्यताका साथ प्राधिकरणले ऐन नियम विस्तार परिमार्जन गर्दै लगेको पनि उनको भनाइ छ । सुशीलदेव सुवेदी । सुवेदीका अनुसार प्राधिकरणले अब ‘अफर्मेटिभ डिस्क्रिमिनेसन’ र ‘प्रपोर्सनालिटी’ को सिद्धान्त अनुसार नीतिहरू ल्याइरहेको छ । ‘गल्ती गर्नेलाई मात्र सजाय दिने र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति लिइएको छ,’ सुवेदीले भने, ‘हिजो प्रत्येक लगानीको फाइल प्राधिकरणमा ल्याउनुपर्ने परम्परालाई अन्त्य गरी अहिले कम्पनीहरूलाई नै निश्चित प्यारामिटर भित्र बसेर लगानी र स्थिर सम्पत्ति खरिद गर्ने अधिकार छोडिएको छ ।’ प्राधिकरणको मुख्य भूमिका पोलिसी होल्डरको इन्ट्रेस्ट प्रोटेक्सन गर्नु रहेको र व्यापारलाई कस्न नभई प्रवर्द्धन गर्न बसेको भए पनि बीमितको हित रक्षा नभएको खण्डमा प्राधिकरणले हस्तक्षेप गर्ने उनले स्पष्ट पारे ।
बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीबार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् । उनले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गरे । नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरु परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गरे । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए । उनकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यवसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ । उनले भने, ‘कतिपय हाम्रा नियमक निकायहरु नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसावले बनाईएको नितिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसावले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन । फाईनान्सियल रुपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यवसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ ।’ अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए । आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानून तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहोर्याए ।
ट्राफिक प्रहरीद्वारा फुटबल खेलाडी सावित्रा भण्डारीलाई आर्थिक सहयोग
कर्णाली । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । उक्त कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीहरुले बिहीबार संयुक्तरुपमा कप्तान साम्बालाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । स्वैच्छिक रुपले प्रहरी कर्मचारीबाट सङ्कलित रकम भण्डारीको व्यक्तिगत खाता रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१०६०५४१२३०७०१३ मा जम्मा गरिएको उनले बताए । व्यक्तिको संकटमा मानवीय संवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकरात्मक प्रभाव पार्ने बताए ।