विकासन्युज

शिक्षामा २० प्रतिशत लगानी गर्ने कांग्रेसको प्रतीज्ञा

काठमाडौं । नेपाली कांग्रेसले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्ने प्रतीज्ञा गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै निकालेको प्रतीज्ञापत्रमा शिक्षामा २० प्रतिशत लगानी गर्ने जनाएको हो ।  त्यस्तै, विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै नयाँ वर्षमा नयाँ पुस्तक उपलब्ध गराउने प्रतिज्ञा गरेको छ ।  कांग्रेसले विद्यालय शिक्षा ऐन एक वर्षभित्र पारित गर्ने जनाएको छ । अस्थायी, स्थायी, राहत, ईसीडी शिक्षकका समस्या समाधान गर्दै निजामती कर्मचारी सरह सुविधा तालिम उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ ।  सबै उमेरका  नागरिकलाई प्रविधिमैत्री र जीवन उपयोगी आजीवन सिकाइ पद्धति निर्माण गर्ने लक्ष्य छ भने सामान्य शिक्षा र प्राविधिक शिक्षालाई एकीकृत गर्दे युवालाई रोजगारी र  उद्यमशीलताका लागि आवश्यक सीप प्रदान गर्ने पनि उल्लेख गरिएको छ ।  कांग्रेसले कुनै पनि नेपालीले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयले कांग्रेसले सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ । यसका लागि शैक्षिक अवधिभरिको व्याज सरकारले बेहोर्ने व्यवस्था गर्ने उल्लेख छ ।  नेपालको उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, सार्वजनिक नीति निर्माण, सामाजिक रूपान्तरण तथा ज्ञान आधारित अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले विद्यमान पाठ्यक्रममा भएका कमीकमजोरीलाई हटाइ नयाँ पाठ्यक्रम परिमार्जन गर्ने बताएको छ । एक्काइसौं शताब्दीको सृजनशील सिकाइ अवधारणा अनुरूपको पाठ्यक्रम शिक्षण सिकाइ मूल्यांकन पद्धतिलाई रूपान्तरित गर्ने कांग्रेसको योजना छ ।  परम्परागत घोकन्ते र परीक्षा प्रणालीबाट सिकाइमा आधारित शिक्षामा रुपान्तरण गर्ने, विद्यालयको सिकाइ सीप, उद्यमशीलता, डिजिटल सीप, वित्तीय साक्षरता अनिवार्यजस्ता विषयहरू समावेश गर्ने भनेको छ ।

काठमाडौंमा भन्सार छलेर भित्र्याएको सुपारीसहित बिसुन्के पक्राउ

काठमाडौं । भन्सार छलेर काठमाडौं भित्र्याएको सुपारीसहित एक व्यक्ति पक्राउ परेका छन् ।  बिहीबार राति सीतापाइलास्थित सडकखण्डमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सुपारीसहित २२ वर्षीय रामशरण बिसुन्केलाई नियन्त्रणमा लिएको हो ।  धादिङ, गल्छी गाउँपालिका २ का बिसुन्केले चलाएको बा प्र ०२-०२५ च ०३९७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बिलबिजक बिनाका अन्दाजी चार लाख रुपैयाँ बराबरको ५० बोरा (१००० किलोग्राम) भन्सार छली सुपारी ल्याएका थिए । भन्सार छली ल्याएको सुपारीसहित उनलाई नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  उनका अनुसार आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।

पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’: युवालाई स्वदेशमै राख्ने एमालेको योजना

काठमाडौं । नेकपा एमालेले उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने क्रम बढेकाले यसलाई रोक्न ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” कार्यक्रमको अवधारणा ल्याएको छ ।  फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा एमालले बर्सेनि डेढ लाख बढी विद्यार्थी उच्च शिक्षा हासिलका लागि विदेशिने गरेकाले उनीहरूलाई रोक्न यो कार्यक्रम सार्वजनिक गरेको हो । एमालेले शिक्षा, विज्ञान र प्रविधिमा नीति, पूर्वाधार, लगानी, सुशासन र नवप्रवर्तन केन्द्रित योजनाहरू कार्यान्वयन गर्दै शैक्षिक क्यालेन्डरको पालना, रोजगारमुखी प्राविधिक शिक्षा मार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउने बताएको छ । यस्तै, एमालेले विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्वप्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।   आर्थिक, भौगोलिक वा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोर–किशोरी प्राविधिक वा उच्च शिक्षाबाट वञ्चित हुने अवस्था अन्त्य गर्ने एमालेको वाचा छ । शिक्षा प्रणालीलाई भर्ना र परीक्षाकेन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोंच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ अभिमुख गर्ने एमालेले जनाएकाे छ । यसका लागि समसामयिक, व्यवहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटल मैत्री पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गरिनेछ । त्यस्तै, एमालेले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्ने, विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्ने बताएको छ भने विश्व विद्यालयमा देखिएका बेथितिको अन्त्य गर्दै प्राज्ञिक स्वायत्तता कायम गर्ने पनि उल्लेख छ  । शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै विद्यालयमा सुरक्षित वातावरण, प्रयोगशाला, पुस्तकालय, खानेपानी, स्वास्थ्य, सरसफाइ, पोषणयुक्त दिवा खाजा तथा विश्वस्तरको सिर्जनात्मक र व्यावसायिक अध्ययनको व्यवस्था गर्ने, विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई उत्तरदायित्वसहित स्वायत्त संस्थाको रूपमा विकास गर्ने वाचा पनि एमालेको छ । त्यस्तै, एमालेले राष्ट्रिय क्षमता, क्षेत्रगत आवश्यकता र अन्तर्राष्ट्रिय प्रवृत्तिका आधारमा प्राविधिक र साधारण शिक्षाको सन्तुलन मिलाउँदै मानव पूँजी निर्माण गर्ने, विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई एकीकृत गर्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रको सहकार्यमा विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर तथा ग्रामीण नवप्रवर्तनशाला स्थापना गर्ने, शिक्षा–अनुसन्धान–उद्यमशीलताको सम्बन्ध सुदृढ गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गरेको छ । विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालय गाभ्ने योजना एमालेले लिएको छ ।  अहिले समस्याको रूपमा देखिएको शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृत्ति र सहुलियत कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।  उच्च शिक्षामा अनुसन्धान तथा विकासमा राज्यको लगानी बढाई ‘विश्वविद्यालय उद्योग सहकार्य’ विस्तार गर्ने नीति उसको छ भने प्राविधिक दक्षता, नैतिकता, देशभक्ति, उत्तरदायित्व र सामाजिक जिम्मेवारीबोधसहितका गुणवान् नागरिक उत्पादन गर्ने समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली स्थापना गर्ने उल्लेख छ ।

७ महिनामा ६९ अर्बको डिजेल आयात, यी हुन् धेरै आयात भएका ७ वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्ममा सबैभन्दा धेरे डिजेल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको ७ लमाख ६६ हजार किलोलिटर डिजेल आयात भएको हो । भन्सार विभागको अनुसार क्वान्टिटीको आधारमा भने सबैभन्दा धेरै आयात कच्चा सोयाबिन तेल आयात भएको छ । ७ महिनाको अवधिमा ५९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको ३७ करोड २४ लाख लिटर कच्चा सोयाबिन आयात भएको तथ्यांकले देखाउँछ । माघसम्ममा सबैभन्दा धेरै आयात भएको तेस्रो वस्तुमा पेट्रोल रहेको छ । उक्त अवधिभित्र नेपालमा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार केजी पेट्रोल भित्रिएको तथ्यांक छ । पेट्रोलपछि नेपालमा धेरै एलपिजी ग्याँस भित्रिएको छ । ७ महिनाको अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको ३२ करोड १० लाख केजी एलपिजी ग्याँस आयात भएको छ । त्यस्तै, फलामका वस्तु, आइरनलगायत वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालमा ३१ अर्ब ९ करोड रुपैयाँको ७४ करोड १७ लाख केजी फलाम, आइरनलगायत वस्तु आयात भएको छ । धेरै आयात भएको छैटौं नम्बरमा स्मार्टफोन रहेको छ । सो अवधिमा नेपालमा २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको १२ लाख ४ पिस स्मार्टफोन आयात भएको छ । त्यस्तै, सातौं नम्बरमा २१ अर्ब २० करोड रुपैयाँ बराबरको ११ लाख ५३ हजार ग्राम सुन नेपाल भित्रिएको छ ।  

वृद्धलाई मुक्का हान्ने पारसमाथि ७ दिनको म्याद थपेर अनुसन्धान हुँदै

काठमाडौं । एक वृद्धमाथि मुक्का हान्ने व्यक्ति पारस बममाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले विकासन्यूजलाई जानकारी दिए।   बमले एक वृद्धमाथि कुटपीट गरेको भिडियो सामाजिक सञ्चालमा भाइरल भएको थियो । उक्त घटनाको तीव्र आलोचना भएपछि प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेको थियो ।  काठमाडौंको महाराजगञ्ज सडकखण्डमा बमले एक वृद्धमाथि हातपात गरेका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ ।  कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् ।

७ महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष (साउन–माघ) सम्मको तथ्यांक सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ । माघसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । सो अवधिमा जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख वस्तु आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।   माघसम्ममा  १ खर्ब ६८ अर्ब १४ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो । व्यापार घाटा ९ खर्ब ५५ अर्ब कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटामा केही कमी आएको छ । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड बराबर रहेको छ । गत आवको सोही अवधिमा ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो ।  नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ ।  त्यस्तै, दोस्रो धेरै व्यापार चीनबाट भएको छ । माघसम्ममा चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ९० करोडको मात्र वस्तु निर्यात भएको छ। सात महिनाको अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सात महिनाको अवधिमा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । ९३ अर्ब ७५ करोड बराबरको तेल घ्यू आयात भएको छ । त्यस्तै, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबरको आयात भएको छ ।   

काठमाडौंमा मोटरसाइकल चोरेर पाटपुर्जा बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बिक्री गर्ने तीन जना पक्राउ परेका छन् ।  बुधबार बूढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडाका ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, बुढानीलकण्ठ नगरपालिका ६ हात्तीगौंडा २८ वर्षीय नरबहादुर चित्रे र बुढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडा ३८ वर्षीय करण खड्गी पक्राउ परेका हुन् । संकटा मन्दिरमा पार्किङ गरी राखेको बा प्र ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा निकाली बिक्री गरेर अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुई थान टायर, इन्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, ट्यांकी, सकको भाग, मोटरसाइकलको पार्ट पुर्जा निकाल्न प्रयोग हुने विभिन्न समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । त्यसैगरी, पाटपुर्जा निकाली जडान गरिएका ३ वटा मोटरसाइकलहरूसमेत बरामद गरिएको उनले बताए ।

काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औं स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । शुक्रबार (आज) दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ ।    गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।  एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज १८औं स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्युआइसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायुप्रदूषण घट्ने जानकारी दिए । ‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ,’ उनले भने, ‘दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएका छौं ।’ वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।  एक्युआइको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन् ।  १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’ २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।