वृद्धलाई मुक्का हान्ने पारसमाथि ७ दिनको म्याद थपेर अनुसन्धान हुँदै
काठमाडौं । एक वृद्धमाथि मुक्का हान्ने व्यक्ति पारस बममाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले विकासन्यूजलाई जानकारी दिए। बमले एक वृद्धमाथि कुटपीट गरेको भिडियो सामाजिक सञ्चालमा भाइरल भएको थियो । उक्त घटनाको तीव्र आलोचना भएपछि प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेको थियो । काठमाडौंको महाराजगञ्ज सडकखण्डमा बमले एक वृद्धमाथि हातपात गरेका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ । कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् ।
७ महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक
काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष (साउन–माघ) सम्मको तथ्यांक सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ । माघसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । सो अवधिमा जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख वस्तु आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । माघसम्ममा १ खर्ब ६८ अर्ब १४ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो । व्यापार घाटा ९ खर्ब ५५ अर्ब कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटामा केही कमी आएको छ । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड बराबर रहेको छ । गत आवको सोही अवधिमा ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो । नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार चीनबाट भएको छ । माघसम्ममा चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ९० करोडको मात्र वस्तु निर्यात भएको छ। सात महिनाको अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सात महिनाको अवधिमा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । ९३ अर्ब ७५ करोड बराबरको तेल घ्यू आयात भएको छ । त्यस्तै, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबरको आयात भएको छ ।
काठमाडौंमा मोटरसाइकल चोरेर पाटपुर्जा बिक्री गर्ने तीन जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बिक्री गर्ने तीन जना पक्राउ परेका छन् । बुधबार बूढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडाका ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, बुढानीलकण्ठ नगरपालिका ६ हात्तीगौंडा २८ वर्षीय नरबहादुर चित्रे र बुढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडा ३८ वर्षीय करण खड्गी पक्राउ परेका हुन् । संकटा मन्दिरमा पार्किङ गरी राखेको बा प्र ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा निकाली बिक्री गरेर अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुई थान टायर, इन्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, ट्यांकी, सकको भाग, मोटरसाइकलको पार्ट पुर्जा निकाल्न प्रयोग हुने विभिन्न समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । त्यसैगरी, पाटपुर्जा निकाली जडान गरिएका ३ वटा मोटरसाइकलहरूसमेत बरामद गरिएको उनले बताए ।
काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औं स्थानमा
काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । शुक्रबार (आज) दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ । एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज १८औं स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्युआइसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायुप्रदूषण घट्ने जानकारी दिए । ‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ,’ उनले भने, ‘दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएका छौं ।’ वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए । एक्युआइको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन् । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’ २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।
अटिजम सचेतनाको एजेन्डासहित कविता ढकाल ‘मिसेस भोग नेपाल सिजन ३’ को फाइनलमा
काठमाडौं । कमलामाई नगरपालिका-१३, सिन्धुली स्थायी घर भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएकी कविता ढकाल यतिबेला मिसेस भोग नेपाल सिजन ३ मा कन्टेस्टेन्ट नम्बर ५ का रूपमा प्रतिस्पर्धा गरिरहेकी छन् । सगुन ज्वेलर्स प्रस्तुतकर्ता रहेको उक्त प्रतियोगिता हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको हो । विवाहित महिलालाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको मिसेस भोग नेपालमा यस वर्ष भौतिक तथा अनलाइन अडिसनमार्फत सयौं सहभागीमध्येबाट छनोट भएका २२ जना टप फाइनलिस्ट प्रतिस्पर्धामा छन् । तीमध्ये कविता ढकाल बहुआयामिक प्रतिभा, सामाजिक प्रतिबद्धता र आत्मविश्वासका कारण उल्लेखनीय प्रतिस्पर्धीका रूपमा हेरिएकी छन् । प्रतियोगितामा सहभागी हुनुको उनको मुख्य उद्देश्य अटिजम भएका बालबालिकाको अधिकार र भविष्य सुनिश्चितताका विषयलाई उठाउनु रहेको छ । उनले सरकारबाट अटिजम भएका बालबालिकाको भविष्य सुरक्षित हुने ग्यारेन्टी हुनुपर्ने, सबै विद्यालयमा समान अवसर उपलब्ध गराइनुपर्ने र समाजमा उनीहरूलाई अन्य बालबालिकासरह व्यवहार गरिनुपर्ने माग अघि सारेकी छन् । अटिजम क्षेत्रमा सक्रिय रहँदै आएकी ढकाल प्रतियोगितामा सहभागी हुनु अघि हाडिगाउँस्थित अभानी फाउन्डेशन मा प्रशासन प्रमुखका रूपमा कार्यरत थिइन् । संस्थामा उनले व्यवस्थापन, अनुगमन तथा अभिभावक परामर्श (प्यारेन्ट्स काउन्सिलिङ) लगायतका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगिताको तयारीका कारण केही समय नियमित कार्यबाट विश्राम लिएको भए पनि सामाजिक सेवाप्रतिको उनको प्रतिबद्धता यथावत् रहेको बताइन्छ । उनले व्यवहार विश्लेषणसम्बन्धी ‘अप्लाइड बिह्याबियर एनालाइसिस’ कोर्ससमेत सफलतापूर्वक पूरा गरेकी छन् । व्यवहार विश्लेषणको माध्यमबाट अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उनको लक्ष्य स्पष्ट देखिन्छ । व्यक्तिगत विकासका विभिन्न आयाममा पनि ढकाल सक्रिय छिन् । होटल म्यानेजमेन्ट तालिम, मेकअप आर्टिस्टको औपचारिक कोर्स तथा योगा प्रशिक्षण लिएकी उनले सीप विकासलाई आत्मनिर्भरता र सशक्तीकरणसँग जोडेर हेर्ने दृष्टिकोण प्रस्तुत गरेकी छन् । उनी दैनिक रूपमा योगा, जुम्बा र जिममा सक्रिय रहँदै शारीरिक तथा मानसिक सन्तुलनलाई प्राथमिकता दिँदै आएकी छन् । पारिवारिक दायित्व, पेशागत व्यस्तता र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै उनले देखाएको आत्मविश्वास धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । उनको यात्राले सशक्तीकरण केवल शब्द नभई निरन्तर प्रयास, सिकाइ र सामाजिक जिम्मेवारीको अभ्यास भएको सन्देश दिन्छ । प्रतियोगिताको फाइनल कार्यक्रम फागुन १२ गते ललितपुरस्थित म्याजेस्टिक ग्राण्ड मा हुने बताइएको छ। दर्शकले इसेवा एपको ‘भोटिङ एण्ड इभेन्ट्स’ मेनुमा गएर कन्टेस्टेन्ट नम्बर ५ छनोट गरी वा मोबाइल बैंकिङ एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरेर पनि भोट गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी- २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सीओटी तथा १ जना टीओटी क्वालिफायर रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो । यस कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए । कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए । समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । समग्रमा, एमडीआरटी २०२६ कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्ण रूपमा सफल भएको कम्पनीले जनाएको छ । यस्तो प्रकारका कार्यक्रमले लिडरहरुलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
काठमाडौंमा निर्वाचनका लागि ७ हजार बढी कर्मचारी खटिने
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा निर्वाचन प्रयोजनका निम्ति ७ हजार बढी कर्मचारी खटिने भएका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ७ हजार ३७७ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदान अधिकृत ८२३, सहायक मतदान अधिकृत ८२३, सहायक कर्मचारी २ हजार ४५१ र स्वयं सेवक कर्मचारी २ हजार ४५७ जना परिचालन हुने छन् । काठमाडौंमा मतदानस्थल ३३० र मतदान केन्द्र ८१७ वटा रहेका छन् । अस्थायी मतदानस्थल ६ वटा रहेको उनले जानकारी दिए । अस्थायी मतदानस्थलमा सेना, कैदीबन्दी, प्रहरी र कर्मचारीले मतदान गर्ने उनले जानकारी दिए । स्थायी मतदानस्थलमा ९ जना कर्मचारी र अस्थायी मतदान स्थलमा ५ जना कर्मचारी खटिने उनले बताए । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । महिला ३ लाख ६४ हजार, पुरुष ३ लाख ४६ हजार ११६ र ७ जना छन् । निर्वाचन क्षेत्र नं. १ मा मतदानस्थल २२, मतदान केन्द्र ५७ छ । २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदानस्थल ४०, मतदान केन्द्र १०० छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ जना छन् । क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो । निर्वाचन क्षेत्र नं. ३ मा मतदानस्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदानस्थल, ८८ मतदान केन्द्र रहेको छ । ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता छन् । क्षेत्र नं. ५ मा मतदानस्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदानस्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ । क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन् । क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् । मतदानस्थलमा ६ देखि ८ जना सुरक्षाकर्मी परिचालन गरिने काठमाडौं जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजलालले जानकारी दिए । मतदानस्थल बाहिर सशस्त्र प्रहरी र मतदानस्थल भन्दा थोरै दुरीमा नेपाली सेनाले सुरक्षा दिने उनको भनाइ छ । सुरक्षाको संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मीको संख्या बढाइने रिजालले बताए । उनका अनुसार काठमाडौंमा तारकेश्वर र शंखरापुरका मतदानस्थललाई संवेदनशील मानिएको छ । ‘मतदानस्लमै मतपेटिका लुटन आएमा अवस्था हेरेर फिल्डका सुरक्षाकर्मीले आवश्यक कारबाही गर्न सक्ने छन्,’ रिजालले भने, ‘के कस्तो कारबाही गर्ने त्यो अधिकार सबै फिल्डको सुरक्षाकर्मीलाई हुन्छ ।’ काठमाडौंको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ? काठमाडौं १ –३० काठमाडौं २– २२ काठमाडौं ३–२४ काठमाडौं ४–२८ काठमाडौं ५–२६ काठमाडौं ६–२२ काठमाडौं ७–२८ काठमाडौं ८–२२ काठमाडौं ९–२६ काठमाडौं १०–२६
मानसिक स्वास्थ्यदेखि जलन उपचार कोषसम्म, यस्तो छ रास्वपाको स्वास्थ्य सुधार रोडम्याप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानसिक स्वास्थ्यलाई समेत स्वास्थ बीमाभित्र समेट्ने गरी कार्यक्रम सुदृढ गर्ने वाचा गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम संकटमा रहेको बेला निर्वाचन लक्षित वाचापत्रमा यो कार्यक्रमलाई सुदृढ गर्ने वाचा गरेको हो । प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, उपलब्ध गराउने वाचापत्रमा उल्लेख छ । क्यान्सर लगायत नसर्ने रोगलाई उपचारमुखिभन्दा रणनीतिक लक्ष्यका रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको रास्वपाले नसर्ने रोगको उपचारभन्दा कसरी जोगिने सचेत रहने भन्ने विषयमा सचेतना जगाउने कार्यक्रम सञ्चालन गरिने भनेको छ । हाल भइरहेका सबै कार्यक्रम उपचार मुखी रहेको बेला विज्ञहरूले पनि सचेतनामूलक गर्न आवश्यक रहेको बताउँदै आएका छन् । रास्वपाले मानसिक तथा अन्य रोगको रोकथाम र समग्र जीवनशैली सुधारका लागि योग र ध्यान कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसका लागि विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सञ्चालन गर्ने र वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्ने भनेको छ । रास्वपाले जलन पीडितहरूको उपचारका लागि जलन उपचार कोष सञ्चालन गर्ने बताएको छ । निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न कोष स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गर्ने उसको वाचा छ । मानसिक स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्ने जनाएको छ । प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य उपचार सुरु गर्ने,यसका लागि सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने र २४ सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइनमार्फत सेवा प्रवाह गर्ने बताएको छ । रास्वपाले प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनस्र्थापना विशिष्टिकृत स्रोत केन्द्र’ स्थापना गर्ने जनाएको छ । केन्द्रबाट अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न सहज हुने उसको अनुमान छ । यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गरिने उल्लेख छ । यस्तै, रास्वपाले आगामी २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक र राष्ट्रिय भारलाई न्यून बिन्दुमा झार्ने वचनवद्धता गरेको छ । अपाङ्गता पुनस्र्थापनकालागि ‘प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप’ प्रणालीलाई तल्लो तहका स्वास्थ्य संस्थासम्म विस्तार गरिने, बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण, दृष्टिसम्बन्धि र अन्य न्यूरो–डेभलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि स्थानीय तहका स्वास्थ्य डेस्कहरूलाई अत्याधुनिक ‘अर्ली स्क्रिनिङ’ औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइने उल्लेख छ । यस्तै, रास्वपाले देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्यूनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्ने बताएको छ । यसका लागि आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्ने, भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्ने जनाएको छ । देशभरका स्वास्थ्यकर्मीहरुलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्ने भनेको छ, जसले गर्दा दुर्गम ठाऊमा खटेका स्वास्थ्यकर्मीहरूलाई एक्लो तथा पृथक महसुस हुने अपेक्षा रास्वपाको छ ।