फागुनमा पन्च ईभी किन्दा ७० प्रतिशत रिसेल ग्यारेन्टी
काठमाडौं । टाटा मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनालाई लक्षित गर्दै विद्युतीय गाडी टाटा पन्च ईभीमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले फागुनभर पन्च ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत ग्यारेन्टेड रिसेल भ्यालु योजना ल्याएको हो । यस योजनाअन्तर्गत फागुन महिनाभित्र पन्च ईभी किन्ने ग्राहकले भविष्यमा टाटाको अन्य कुनै गाडी साट्दा ७० प्रतिशतसम्म सुनिश्चित पुनःबिक्री मूल्य प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ग्राहकले गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य पाउने सुनिश्चितता दिलाउन यो विशेष योजना ल्याइएको हो । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणबीच यस्तो उच्च रिसेल ग्यारेन्टीले ग्राहकमा थप आत्मविश्वास र सुरक्षा भावना जगाउने कम्पनीको विश्वास छ । अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स तथा नेपाली सडक सुहाउँदो डिजाइनका कारण पन्च ईभी पछिल्लो समय ग्राहक माझ लोकप्रिय बन्दै गएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । यस विशेष स्किमसम्बन्धी विस्तृत जानकारीका लागि देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ । फागुनको यो अफरले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि अवसरका रुपमा रहेको छ ।
हत्या गरेर फरार रहेका मुसलमान १३ वर्षपछि पक्राउ
काठमाडौं । कपिलवस्तु प्रहरीले हत्या गरेर १३ वर्षसम्म फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बुद्धभूमि नगरपालिका ५ मोहम्मदनगरका इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । कपिलवस्तु जिल्ला अदालतको २०६९ चैत १६ गतेको फैसला अनुसार मुसलमानलाई २० वर्ष ९जन्मकैद० हुने ठहरी फैसला भएको थियो । अदालतको फैसलापश्चात मुसलमान फरार रहेका थिए । विशेष सूचना तथा निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुको फैसला कार्यान्वयन टोली संयुक्त प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिका १ को बर्रोहिया स्थितमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । कैद भुक्तानका लागि कारागार पठाइएको सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार बिक्री
काठमाडौं । नेपालमा टीभीएस एनटर्क– १२५ १ लाख ५० हजार बिक्री भएको जगदम्बा मोटर्सले जनाएको छ । १ लाख ५० हजार बिक्री भएको अवसरमा जगदम्बा मोटर्सले बुधबार देशभरका अधिकृत टीभीएस शोरूमहरूमा सेलिब्रेट गर्यो । कार्यक्रममा ग्राहक, राइडर समुदाय तथा डिलरहरूको उल्लेख्य सहभागिता देखिएको कम्पनीले बताएको छ । यो उपलब्धि बिक्री अंक मात्र नभई विश्वासको प्रमाण पनि भएको कम्पनीको दाबी छ। लञ्चदेखि नै एनटर्कले रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत युवावर्ग र सहरी कम्युटरहरूबीच लोकप्रियता कमाउँदै आएको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि नेपाली राइडरहरूको भरोसा र देशव्यापी सेवा नेटवर्कको प्रतिफल भएको बताए । जगदम्बा मोटर्स शंकर ग्रुप अन्तर्गत नेपालमा टीभीएसको अधिकृत वितरक हो ।
एनसेल प्याक किन्दा फुडमान्डुमा १५० रुपैयाँ छुट
काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै ग्राहकलाई लक्षित नयाँ आकर्षक छुट अफर ल्याएको छ । अफरअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुमार्फत खाना अर्डर गर्दा १५० रुपैयाँसम्मको छुट पाउनेछन् । फागुन ५ देखि लागू भएको यस योजनाअनुसार ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्दा ग्राहकले १५० छुटको कुपन प्राप्त गर्नेछन् । उक्त कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले एनसेल एप वा नजिकैको एनसेल पसलमार्फत प्याक खरिद गर्न सक्नेछन् । प्याक सक्रिय गरेपछि छुट कुपन एसएमएसमार्फत प्राप्त हुनेछ । एउटाभन्दा बढी प्याक खरिद गर्ने ग्राहकले सोही अनुपातमा एकभन्दा बढी कुपन पाउनेछन्, जुन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत अर्डर गर्दा प्रयोग गर्न सकिन्छ । जारी मितिदेखि २८ दिनसम्म मान्य रहने कुपन अरू कसैलाई हस्तान्तरण गर्न नमिल्ने कम्पनीले जनाएको छ । साथै यो अफर एनसेलको रिन्यूवल, सापाटी तथा गिफ्ट प्याकमा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
सफ्टवरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न
काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । ‘डिजिटल एभरेष्टस् स्केलिङ इनोभेसन बियोन्ड बोर्ड्स’ भन्ने मूल नाराका साथ आयोजित यस समिटले नेपालमा पहिलोपटक उद्योग-केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकतालाई उजागर गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सन् २०३० सम्मको प्रविधि बजारलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरू ह्युमनोइड्स र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिमा पोख्त हुनुपर्ने बताए । उनले ‘रोबोटिका कलेज’ को उद्योगमैत्री पाठ्यक्रमले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पु‍र्याउने विश्वास व्यक्त गरे । क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले केवल सैद्धान्तिक ज्ञान भएका जनशक्ति नभई उद्योगको मागअनुसार वास्तविक उत्पादन तयार गर्न सक्ने दक्ष जनशक्तिको खाँचो भएको बताए । अटोनोमस रोबोटिक्सका विज्ञ युधिष्ठिर गौलीले स्वास्थ्य सेवा, ढुवानी र उत्पादनमूलक क्षेत्रमा रोबोटिक्सको बढ्दो महत्त्वबारे आफ्नो अनुभव साट्दै नेपालमा पहिलोपटक ‘रोबोटिका इन्स्टिच्युट’ को उद्योग–आधारित पाठ्यक्रम शिक्षण संस्थाहरूमा भित्र्याइएको जानकारी दिए । सफ्टवारिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले समिटमा ‘टेक शोकेस’ र ‘करियर जोन’ मार्फत विद्यार्थीहरूले विश्वव्यापी रिमोट जब्स र इन्टर्नसिपका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाएको बताए । उनले आगामी दिनमा पनि कलेजले यस्ता प्रयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विश्व बैंक समूहको जब एजेन्डासँग तालमेल मिलाउँदै समिटले पूर्वाधारमा लगानी, व्यवसायिक वातावरण निर्माण र निजी पुँजी परिचालन मार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा देशभरका विभिन्न कलेजका विद्यार्थी, प्राज्ञिक व्यक्तित्व र प्रविधि विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।
केयाल ग्रुपका ४ उद्योगको ऋण १०.१४ अर्ब, आम्दानी ९ अर्ब
काठमाडौं । केयाल ग्रुप अन्तर्गतका चार कम्पनीले एक वर्षमै करिब ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेका छन् । नारायणी रोलिङ मिल्स, नारायणी स्टिल्स, नारायणी स्ट्रिप्स र श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेका हुन् । यी कम्पनीमा अधिकांश सेयर केयाल ग्रुपको रहेको छ भने सत्यनारायण केयाल अध्यक्ष रहेका छन् । केयाल ग्रुप पारिवारिक रूपमा सञ्चालित व्यावसायिक घरानाको रूपमा परिचित छ र समूहका उद्योगहरूको अधिकांश पूर्वी तराईमा आधारित छन् । चारै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब १४ करोड ८७ लाख रुपैयाँ ऋण लिएका छन् । अधिकांश उद्योगका उत्पादन प्लान्ट भारत-नेपाल सीमा क्षेत्रमा अवस्थित छन् । कच्चा पदार्थको अधिकांस हिस्सा भारतबाट आयात हुने भएकाले सीमासँगको नजिकियताले ढुवानी लागतमा उल्लेखनीय बचत हुने गरेको जनाएको छ । साथै, ग्रुपका काठमाडौं उपत्यका र वरिपरि १५ हार्डवेयर आउटलेट र देशभर करिब १२९ डिलर तथा डिस्ट्रीब्युटर नेटवर्कले उत्पादनका लागि सुनिश्चित बजार उपलब्ध गराउँदै आएको छ । नारायणी रोलिङ मिल्स बाराको चटापिपरा क्षेत्रमा रहेको नारायणी रोलिङ मिल्सले सन् २०२५ मा २ अर्ब ८७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८.२९ प्रतिशत अर्थात् ७९ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् १९९२ मे मा निजी सीमित कम्पनीका रूपमा दर्ता भई सन् १९९५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो उद्योगले टीएमटी बार, एङ्गल र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ४८ हजार ३०० मेट्रिक टन रहेको छ । निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरीय स्टिल उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । कम्पनीको नाफा सन् २०२५ मा करिब १ करोड ५० लाख पुगेको छ, जुन सन् २०२४ को ३० लाख मात्र थियो। । कम्पनीले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ३ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । नारायणी रोलिङ मिल्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ७ करोड २८ लाख र अल्पकालीन १ अर्ब ६१ करोड ९२ लाख गरी कुल १ अर्ब ६९ करोड २१ लाख ऋण लिएको छ । नारायणी स्टिल्स पर्साको चोर्नी क्षेत्रमा रहेको नारायणी स्टिल्सले सन् २०२५ मा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशत, अर्थात् ६० करोड २० लाख रुपैयाँ बढी हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ९८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २००४ अप्रिलमा स्थापना भएको यस उद्योगले निर्माण र औद्योगिक क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै तार, कीला र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । औपचारिक उत्पादन सन् २०१८ डिसेम्बरमा सुरु भएको हो । हाल उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक ६५ हजार मेट्रिक टन रहेको छ । सन् २०२३ मा २ अर्ब ५१ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जीआई वायर, एमएस वायर, बार्बेड वायर लगायतका विभिन्न तार उत्पादन गर्दै आएको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ४७ करोड ६० लाख र अल्पकालीन ९० करोड गरी कुल १ अर्ब ३७ करोड ६० लाख ऋण लिएको छ । नारायणी स्ट्रिप्स नारायणी स्ट्रिप्सले सन् २०२५ मा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.१४ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनी १३ अप्रिल २०१५ मा स्थापना भएको हो र सन् २०१६ देखि उत्पादन प्लान्ट सञ्चालनमा आएको हो । यहाँ पाइप, शीट, स्लिट्स, रिज र चेकर प्लेट जस्ता उत्पादनहरू उत्पादन हुँदै आएका छन् । हाल कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ५ लाख ८२ हजार ४०० मेट्रिक टन पुगेको छ । विगतका वर्षहरूमा कम्पनीले लगातार सञ्चालन आम्दानी वृद्धि गरेको छ । सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख, सन् २०२२ मा ३ अर्ब ६४ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब १४ करोड, सन् २०२० मा ३ अर्ब २१ करोड ९० लाख, सन् २०१९ मा ३ अर्ब ८३ करोड ३० लाख, सन् २०१८ मा २ अर्ब ८७ करोड ९० लाख, र सन् २०१७ मा ८८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ३ अर्ब २० करोड २१ लाख र अल्पकालीन ३ अर्ब २४ करोड ५३ लाख गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख ऋण लिएको छ । श्री कृष्ण स्टील इन्डस्ट्रीज पर्साको जीतपुरमा अवस्थित श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ९३ करोड ७० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको छ । यो सन् २०२४ को तुलनामा ११.५४ प्रतिशत, अर्थात् ९ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८४ करोड रुपैयाँ बराबर आम्दानी गरेको थियो । फेब्रुअरी १९९५ मा स्थापना भएको श्री कृष्ण स्टील इन्डस्ट्रीज केयाल ग्रुपको लगानी रहेको कम्पनी हो । पर्सा जिल्लामा रहेको यसको उत्पादन प्लान्टले २० वर्षभन्दा बढी समयदेखि पाइप, शीट र शटर पट्टी निर्माण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब १९ करोड ४० लाख रुपैयाँ र सन् २०१७ मा २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन २४ करोड ४७ लाख र अल्पकालीन ३८ करोड ८४ लाख गरी कुल ६३ करोड ३२ लाख रुपैयाँ ऋण लिएको छ ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ । पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार ४ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ । बुधबार भने एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।
काठमाडौं प्रहरीले भन्यो– सामाजिक सञ्जालमा ‘एआई’ तस्विर बनाएर भ्रम नछर्नू
काठमाडौं । सामाजिक सञ्जालमा एआई तस्विर सार्वजनिक गरेर भ्रम नछर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक फोटो, भिडियो अन्य सूचना तथा एआई सिर्जित श्रव्यदृश्य सामाग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंले आफूलाई जानकारी रहेको बताएको छ । नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदलयात्रीलाई हातपात गर्ने सवारी चालकलाई कानुन बमोजिम अनुसन्धान भइरहेको परिसरले जनाएको छ । अनुसन्धान भएको विषयलाई सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा सूचना सम्प्रेषण गरिने कार्यमा सजग रहन परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । सबैले सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जबाफदेहिता वहन गर्ने मानवीय कर्तव्य रहेको उनको भनाइ छ । प्रहरीले मंगलबार पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो । भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि पैदलयात्रीलाई कराएको दृश्य छ ।