प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने भएको छ । बिहीबार बसेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख अर्जुननरसिंह केसीले २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । उक्त दिन प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुनेछ । त्यसका लागि मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ । निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ ।
चालु खाता साढे ५ खर्ब र शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्बले बचतमा
काठमाडौं । चालु खाता साढे ५ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको छ ।
गृहमन्त्री गुरुङले पेस गरे दुई अध्यादेश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिहीबारको प्रतिनिधि सभामा दुई अध्यादेश प्रस्ताव पेस गरेका छन् । उनले मतदाता नियमावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्ने अध्यादेश पेस गरेका हुन् । उक्त संशोधनमार्फत मतदाता नामावली व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने लक्ष्य लिइएको गुरुङले बताए । यसैगरी, गृहमन्त्री गुरुङले नेपाल विशेष सेवा ऐन संशोधन गर्नेसम्बन्धी अर्को अध्यादेश पनि बैठकमा पेस गरेका छन् । राष्ट्रिय सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थालाई अद्यावधिक गर्न उक्त संशोधन आवश्यक रहेको सरकारको दाबी छ । दुवै अध्यादेशमाथि संसदमा थप छलफलपछि अघि बढाइनेछ ।
मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
काठमाडाैं । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ। त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ। साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ। यी हुन् पक्राउ भएका व्यक्तिहरु १. जिल्ला चितवन कालिका नगरपालिका ९ बस्ने वर्ष ५० को डीलबहादुर भण्डारी (9845954864-अन्जना भट्टराई भूसेवा केन्द्र भरतपुर १२) २. जिल्ला चितवन भरतपुर महानगरपालिका १० बस्ने वर्ष ४३ को काशीराम वाग्ले (9855062717-सत्यम भूसेवा केन्द्र) ३. जिल्ला चितवन भरतपुर महानगरपालिका ६ गीतानगर बस्ने वर्ष ५९ को विष्णुप्रसाद शर्मा (9845053936-विष्णुप्रसाद शर्मा भुसेवा केन्द्र) ४. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ४१ को रामकृष्ण घिमिरे (9844966985 -रामकृष्ण घिमिरे भूसेवा केन्द्र) ५. जिल्ला चितवन कालिका नगरपालिका ६ बस्ने वर्ष ४९ को टेकनाथ वाग्ले (9845078064-टेकनाथ वाग्ले भु सेवा केन्द्र) ६. जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने वर्ष ४९ को कमलराज ढुङ्गाना (9845081654 -माधव पौडेल भूसेवा केन्द्र) ७. जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ४२ को रघुनाथ पौडेल (9845634662 -दिलबहादुर राणाभाट भुसेवा केन्द्र ८. जिल्ला चितवन रत्ननगर नगरपालिका १५ बस्ने वर्ष ३६ को दिवस बुढाथोकी (9842611008 -डिलबहादुर बुढाथोकी भूसेवा केन्द्र) ९. जिल्ला चितवन भरतपुर महानगरपालिका ८ बस्ने वर्ष ३८ बासुदेव आचार्य (9851207728 -काशीराम वाग्ले भूसेवा केन्द्र) १०. जिल्ला चितवन रत्ननगर १० बस्ने वर्ष ४४ को कान्छा महतो (९८४५११७३६८ -हरि आचार्य भूसेवा केन्द्र) ११. जिल्ला चितवन खैरहनी नपा ४ बस्ने वर्ष २२ को गणेश बहादुर नेपाली (9761622035 -हरि आचार्य भूसेवा केन्द्र) १२. जिल्ला चितवन भरतपुर महानगरपालिका २३ बस्ने वर्ष ५८ को सुभाष पौडेल (9845176899 -सुभाष पौडेल भूसेवा केन्द्र) १३. जिल्ला चितवन भरतपुर महानगरपालिका ९ बस्ने वर्ष ६० को हरेराम पन्त (9845144183 -गुणराज भुसेवा केन्द्र) १४. जिल्ला चितवन भरतपुर महानगरपालिका १५ बस्ने वर्ष ४३ को राम अधिकारी (9845052164-दिननाथ इडनी भूसेवा केन्द्र) १५. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ५२ को कृष्णप्रसाद रेग्मी (9860902323 -आर.बी नव-बुद्ध भोसेवा केन्द्र) १६. जिल्ला चितवन रत्ननगर नगरपालिका ८ बस्ने वर्ष ३५ को रोहित महतो (9845221163 -हरिकृष्ण गौतम भुसेवा केन्द्र)
विदेशी मुद्रा सञ्चिति ३४ खर्ब रुपैयाँ नाघ्यो, २१ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । चालु आवको असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स, फागुनमा मात्रै १ खर्ब ८८ अर्ब
काठमाडौं । ८ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा आधारमा पनि विप्रेषण आय ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत थियो । यसै अवधिमा खुद ट्रान्सफर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो रकम ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ नेपालीले स्वीकृति लिएका थिए ।
नयाँ वर्षदेखि काठमाडौंमा नाइट बस चल्ने
काठमाडौं । आगामी २०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि यातायातको विकल्प नहुँदा सर्वसाधारणले भोग्नुपरेको महँगो र असुरक्षित यात्राको अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको हो । रात्रिकालीन बस बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । महानगरले पूर्वपश्चिम र उत्तर दक्षिण गरी दुई रुटमा रात्री बस सञ्चालन गर्ने भएको हो । महानगरका अनुसार उत्तर-दक्षिण रुट अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ १६ किलोमिटरको रहेको छ । त्यस्तै, पूर्व-पश्चिम रुट अन्तर्गत थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्री बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ दुरी २० किलोमिटर रहेको छ । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी राखिने छ । कार्यवाहक प्रमुख डंगोलले बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई असहज भइरहेकाले सुविधाका लागि रात्रि बस सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,’ उनले भनिन् । उनले रातिको समयमा सार्वजनिक सवारी नहुँदा सबैले समस्या भोग्नुपरिरहेको बताइन् । ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौं,’ उनले भनिन् । सार्वजनिक यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उनले बताइन् । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको उनको भनाइ छ ।
म नेता होइन, शिक्षा सुधार्न आएको समाजसेवी हुँ : सांसद महावीर पुन
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफू कुनै पनि राजनीतिक गुटबन्दीमा नफस्ने बताएका छन् । सांसद पुनले आफ्नो राजनीतिक यात्रा परम्परागत शैलीको नहुने संकेत दिएका हुन् । ‘म अचम्मको मान्छे हुँ, म कसैसँग मिल्दिनँ,’ उनले भने, ‘संसदमा मेरो उपस्थिति पक्ष वा विपक्षमा भन्दा पनि सधैं निष्पक्ष आवाजका रूपमा रहनेछ । ’ उनले आफूलाई नेता भन्दा पनि समाजसेवीका रूपमा चिन्न आग्रह गरे । लामो समयदेखि प्रविधि र अनुसन्धानमा सक्रिय पुनले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य शिक्षा क्षेत्रको आमूल परिवर्तन रहेको बताए । चुनावमा होमिनुको मुख्य कारण नै शिक्षा सुधार रहेको उल्लेख गर्दै उनले भने, ‘म नेता बन्न आएको होइन, शिक्षामा सुधार गर्न आएको हुँ । मेरो सम्पूर्ण ध्यान र प्रयास देशको शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछ ।’