विकासन्युज

दलभन्दा ठूलो देश हो, दलगत स्वार्थ त्यागाैं : सांसद शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले दलभन्दा ठूलो देश रहेको बताएका छन् । बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दलभन्दा ठूलो देश हो, दलगत स्वार्थ त्यागौं । यो दल, त्यो दल नभनौं, ’ उनले भने । सांसद शाहीले शिक्षामा व्यापक सुधार गर्न आवश्यक रहेको पनि बताए । साथै उनले अस्पतालमा उपचार गराउँदा अस्पतालमै बिरामी बन्धक भएकोमा चिन्ता पनि व्यक्त गर्दै अबको सरकारले यसमा पनि ध्यान दिनेमा आफू ढुक्क रहेको बताए । त्यस्तै उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन पनि आग्रह गरे ।

‘एमसीसी खारेज गर्नुपर्छ, सबै सांसदको सम्पत्ति छानबिन हुनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा बाल्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले असमान व्यापारिक सम्झौता खारेज गर्नुपर्छ, एमसीसी खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले सीमा रक्षा तथा सीमांकन गर्न सेनालाई परिचालन गर्नुपर्छ,’ उनले भने । उनले संसदमा रहेका सबै सांसदको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा पनि राखेका छन् ।   

सरकारलाई कानुनसम्मत ढंगबाट अघि बढ्न आङ्देम्बेको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारलाई कानुनसम्मत प्रक्रिया र विधिको शासनको सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् । बिहीबारदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले पछिल्लो जेनजी आन्दोलनको प्रसंग उठाउँदै सरकारलाई सोचविचारपूर्वक निर्णय लिन सुझाव दिएका हुन् ।  उनले कानुनी प्रक्रियाको मर्यादा कायम राख्नु नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गरे । आङ्देम्बेले कांग्रेसको स्थायी मान्यता दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने रहेको स्पष्ट पार्दै अहिले पनि पार्टी सोही सिद्धान्तमा अडिग रहेको बताए ।  उनले भने, ‘सरकारले सोचबुझपूर्ण ढंगबाट कानुनसम्मत प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गर्नुपर्छ ।’ उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकप्रति लक्षित टिप्पणी गर्दै जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमाथि समेत प्रश्न उठाए ।  आयोगले भदौ २३ गतेका घटनामात्र अनुसन्धान गरेको तर २४ गतेका घटनालाई बेवास्ता गरेको भन्दै उनले निष्पक्षताको विषयमा शंका व्यक्त गरे । सांसद आङ्देम्बेले घटनाको समग्र छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन् ।

रास्वपाको जादुमयी विजयमा नेपाली सेना र कार्की सरकारको भूमिका रहेको आरोप

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जितमा विभिन्न यान्त्रिक तथा बाह्य शक्तिहरूको भूमिका रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेना, कर्मचारीतन्त्र, विभिन्न संस्थाहरू र गैरसरकारी संस्थाहरूको निर्णायक भूमिका रहेको दाबी गरे । उनले व्यङ्ग्यात्मक शैलीमा ती संस्था तथा पात्रहरूलाई बधाईसमेत दिए ।  थापाले उक्त विजयलाई जादुमयी भन्दै बाह्य तथा अदृश्य शक्तिहरूले प्रभाव पारेको आरोप लगाए । उनले ‘टीओबी, एआई, एल्गोरिदम’ जस्ता प्रविधिगत तथा प्रचार माध्यमहरूले राष्ट्रियता, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका पक्षधर नेताहरूलाई नकारात्मक रूपमा चित्रित गरेको दाबी गरे । उनका अनुसार यस्ता माध्यमहरूले नायकलाई खलनायक र खलनायकलाई नायक बनाउने काम गरेको आरोप लगाउँदै उनले यसले राजनीतिक सन्तुलनमा असर पारेको बताए ।  

देशमा जति काम हुनुपर्थ्यो त्यति हुन सकेन, केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले विगतमा केही भएन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद आङदेम्बेले यस्तो बताएका हुन्। उनले देशमा जति काम हुनुपर्ने हो त्यति नभएको स्वीकार गरे । ‘हो, यो भन्दा बढी हुनुपर्थ्यो तर, अनेक कारण हुन सकेन। अर्कोतिर हामी आत्मलोचित छौं । जे भए हामी सबैको प्यासले भएको हो । केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन,’ उनले भने । आङदेम्बेले अब देशमा खरानी बनाउन कोही पनि अघि नसरुन् भन्दै भदौ २३ र २४ गतेको घटनालाई एक एक केलाउन जरुरी रहेको बताए ।

जेनजी घटनाका दोषी कोही उम्किनु हुन्न, निर्दोष फसिनु हुन्न : आङदम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिष्मराज आङदम्बेले जेजनी आन्दोलनमा भएको दमन र विध्वंशमा संलग्न कोही पनि उम्किन नहुने माग गरेका छन् । बिहीबार संसदको पहिलो बैठकमा बाल्दै उनले यस्तो बताएका हुन् ।  जेनजी आन्दोलनमा संलग्न दोषी कोही उम्किनु हुन्न र निर्दोष फसिनु हुन्न भन्ने मान्यता राख्छौं, सरकारलाई सहयोग गर्छौं,’ उनले भने ।  उनले प्रश्न गर्दै भने, ‘संसद भवन खरानी भयो । त्यो बेला यो देशलाई खरानी बनाउने कोही अगाडि नसरुन् । किन जल्यो सिंहदरबार । किन जले अनेकौं संरचनाहरु ?’

संसदको रोस्ट्रमबाटै रवि लामिछानेले मागे दलित समुदायसँग माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सदियौँदेखि भएको अन्यायका लागि हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । तर खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले कहिल्यै माफी माग्यौँ त ?,’ उनले भने । सरकारका तर्फबाट बोल्दै उनले दलित समुदायसँग औपचारिक रूपमा माफी माग्दै भने, ‘यो सरकार शताब्दियौँदेखि हुँदै आएको विभेद, अन्याय र अत्याचारका लागि सार्वजनिक तथा सामूहिक माफी माग्छु- त्यो पनि यही सम्मानित सदनबाट।’

राजदूतहरू बिचौलियासँगको डिनरमा होइन, श्रमिकका शिविरमा हुनेछन् : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले खाडी मुलुकमा जाने नेपाली राजदूतहरूको कार्यशैली परिवर्तन गरिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अब राजदूतहरू विचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा पुग्नुपर्ने बताए ।  उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजको संसदको जनादेशका वास्तविक रचयिता भन्दै उनीहरूको योगदानको उच्च सम्मान गरे । ‘यो देशमा उहाँहरूले पठाउनु भएको रेमिट्यान्सको मात्रै चर्चा भयो,’ उनले भने, ‘तर उहाँहरूको व्यक्तिगत त्याग झन् बढी सम्मानयोग्य छ ।’