विकासन्युज

रिलायन्स फाइनान्सको सीईओमा डा. बुद्धि कुमार मल्ल नियुक्त

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । माघ २५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले मल्ललाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल फागुन १ गतेबाट लागु हुने कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए । यसअघि मल्ल एनएमबि बैंकमा कार्यरत थिए ।  

टेलिकमका जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सुरु गरेको छ । कम्पनीमा रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाइन प्रणालीमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो । गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको थियो । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराइएको हो । यस सेवाअन्तर्गत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत जानकारी तथा आफूले धेरै सम्पर्क गर्ने पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले अन्य सरकारी निकायमा समेत आफ्ना विवरण अद्यावधिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले यो सेवाले ग्राहकलाई सरल, सुरक्षित र छिटो माध्यमबाट विवरण अद्यावधिक गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।   

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ६५ हजार अवलोकनकर्ता सहभागी

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासलाई केन्द्रमा राख्दै आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आइतबार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा माघ २२ गतेदेखि सञ्चालनमा आएको प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री तथा सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको थियो । २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सामग्री तथा सेवाहरू प्रदर्शन गरिएको थियो । विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुँदै आएको नेपाल बिल्डकनले सुरुआतदेखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि तथा सेवाहरू नेपाली बजारमा भित्र्याउन सहयोग पुर्‍याउँदै आएको आयोजकले बताएका छन् । प्रदर्शनीमा वास्तुकला हार्डवेयर, एल्युमिनियम प्रोफाइल, मार्बल, टायल्स, सेनेटरी सामग्री, आधुनिक किचन, छाना सामग्री, क्ल्याडिङ, लिफ्ट, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, निर्माण रसायन, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका थिए । निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी भएको सहभागीहरूको भनाइ छ । प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने ‘पावर्ड बाई’ साझेदारका रूपमा लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको थियो ।  

यसरी बन्यो एनभीडीया विश्वकै पहिलो ५ ट्रिलियन डलरको कम्पनी

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एनभीडीयाले कृत्रिम बौद्धिकता (एआई) बुममा खेलेको निर्णायक भूमिकाका कारण २०२५ को अक्टोबरमा क्षणिक रूपमा ५ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पार गर्दै कर्पोरेट इतिहासमै पहिलो कम्पनी बन्न सफल भयो। विश्वभरका कम्पनीहरूमा एआई चिप्सको अत्यधिक मागका कारण एनभीडीयाले डेटा सेन्टर चिप्सको राजस्वका आधारमा ८१ प्रतिशत बजार हिस्सा कब्जा गरिसकेको छ । यो तथ्यांक अन्तर्राष्ट्रिय डाटा कर्पोरेसन (आईडीसी) को अनुसन्धानमा आधारित हो । यही दबदबाले एनभीडीयाको सेयरमा निकै वृद्धि भएको छ । नोभेम्बर २०२२ मा ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएयता सेयर मूल्य १२ गुणासम्म बढेको छ । अक्टोबर त्रैमासमा एनभीडीयाको बिक्री र नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले वृद्धि भयो, जुन वाल स्ट्रिटका अनुमानभन्दा निकै माथि थियो । गत महिना कम्पनीले नयाँ पुस्ताको ‘भेरा रुबिन’ चिप सार्वजनिक ग‍र्यो, जसलाई एनभीडीयाको अर्को ठूलो वृद्धि इञ्जिनका रूपमा हेरिएको छ । कम्पनीले सन् २०२६ मा कुल बिक्री नयाँ रेकर्डमा पुग्ने अपेक्षा गर्दै झन्डै ५०० अर्ब डलर राजस्व प्रक्षेपण गरेको छ । तर यति ठूलो सफलताबीच पनि एनभीडीयाले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ, जस्तै– बढ्दो प्रतिस्पर्धा, एआई बबलको डर र लगातार तीव्र वृद्धि पछि पनि परिणाम देखाइरहनुपर्ने दबाब । एनभीडीयाको उदय एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले सन् १९९३ मा भिडियो गेमका लागि प्रयोग हुने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) मा केन्द्रित भएर कम्पनी स्थापना गरेका थिए । पछि यी जीपीयूहरू एआई ट्रेनिङका लागि अत्यन्त उपयुक्त भए । तर एनभीडीयाको वास्तविक ब्रेकथ्रु भने च्याटजीपीटी सार्वजनिक भएपछिमात्रै भयो, जसलाई आजको एआई बुमको सुरुआत मानिन्छ । त्यसपछि एनभीडीयाको सेयर तीव्र गतिमा उकालो लाग्यो । सन् २०२३ मा स्थापना भएको तीन दशकपछि एनभीडीया १ ट्रिलियन डलरको मूल्यांकन पुग्ने विश्वको नवौं कम्पनी बन्यो । पछिल्ला महिनाहरूमा केही मूल्य घटे पनि एनभीडीया अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । हाल एनभीडीया ४.५ खर्ब डलरको कम्पनी हो । एनभीडीयाको सफलता जीपीयूमा मात्र सीमित छैन एनभीडीयाको सफलता केवल जीपीयूमा सीमित छैन । कम्पनीले एआई वर्कलोडका लागि आवश्यक अन्य चिप्ससहितका पूर्ण सर्भर र्याक र डेभलपरहरूले चिपको अधिकतम उपयोग गर्न सक्ने सफ्टवेयर प्लेटफर्म पनि उपलब्ध गराउँछ । अब एनभीडीयाले भविष्यका डाटा सेन्टरलाई ‘एआई फ्याक्टरीज’ को रूपमा विकास गर्ने आधार तयार गरिरहेको छ । साथै रोबोटिक्स, क्वान्टम कम्प्युटिङ र स्वचालित सवारी साधनजस्ता उदीयमान प्रविधिको केन्द्रमा आफूलाई उभ्याउने रणनीतिमा छ । गत वर्ष एनभिडियाले उबरसँग स्वचालित गाडी विकासका लागि साझेदारी गर्‍यो भने अमेरिकी ऊर्जा विभाग सँग मिलेर एआई चिप प्रयोग हुने क्वान्टम सुपरकम्प्युटर विकास गर्ने सम्झौता पनि ग‍र्यो । विशाल लगानी र रणनीतिक साझेदारी सन् २०२५ को अधिकांश समय एनभीडीयाले अन्य प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सम्झौता र लगानी तीव्र बनायो । अप्रिलमा कम्पनीले आफ्ना साझेदारहरूसँग मिलेर अमेरिकामा ५०० अर्ब डलर बराबरको एआई पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक ग‍र्यो । सेप्टेम्बरमा एनभीडीयाले इन्टेलमा ५ अर्ब डलर लगानी गर्दै कस्टम डाटा सेन्टर विकासको घोषणा गर्‍यो । त्यसको केही दिनमै ओपनएआईसँग रणनीतिक साझेदारी गर्दै १०० अर्ब डलरसम्म लगानी गरेर एनभीडीयाका चिप्समा आधारित एआई डाटा सेन्टर विस्तार गर्ने सहमति गरियो । पछिल्ला दिनहरूमा दुई कम्पनीबीच तनावको चर्चा भए पनि दुवै पक्षका कार्यकारीहरूले सम्झौताप्रति प्रतिबद्धता दोहोर्‍याएका छन् । एनभीडीयाको वैश्विक महत्त्वाकांक्षा एनभीडीयाका चिप्स विश्वव्यापी एआई उद्योगको मेरुदण्ड बन्दै जाँदा कम्पनीको साझेदारी उत्तर अमेरिकाभन्दा बाहिर पनि तीव्र रूपमा विस्तार भइरहेको छ । युरोपमा एनभीडीया फ्रान्स, जर्मनी, इटाली र बेलायतका सरकार तथा टेलिकम कम्पनीहरूसँग मिलेर ‘सार्वभौम एआई पूर्वाधार’ र एआई प्रविधि केन्द्र निर्माणमा जुटेको छ । दक्षिण कोरियामा भने सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै २६ हजारभन्दा बढी चिप्स तैनाथ गर्ने योजना अघि बढाइएको छ । तर एआई बबलको डरले बजारमा अनिश्चितता बढाइरहेको छ, जसलाई हुआङले बारम्बार अस्वीकार गर्दै आएका छन् । यससँगै एएमडीजस्ता प्रतिस्पर्धी र आफ्नै चिप विकास गरिरहेका ठूला ग्राहकबाट दबाब पनि बढ्दो छ । चीन र भू–राजनीतिक चुनौती एक समय एनभीडीयाको ठूलो बजार रहेको चीनमा अमेरिकी प्रविधि नियन्त्रणका कारण उच्च क्षमताका चिप्स निर्यातमा रोक लाग्दा बिक्रीमा ठूलो असर परेको छ । हुआङले राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही प्रतिबन्ध उल्ट्याउन मनाए पनि चीन सरकारले ती चिप्स खरिद गर्न दिने/नदिने विषय अझै स्पष्ट गरेको छैन । यस्ता चुनौतीबीच पनि एनभीडीया रोकिएको छैन । हाल उत्पादनमा रहेको रुबिन चिप सन् २०२६ को दोस्रो अर्धभागमा बजारमा आउँदैछ । माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेस, गुगल क्लाउड र कोरवेवजस्ता प्रमुख क्लाउड प्रदायकहरू यसको पहिलो प्रयोगकर्ता हुनेछन् । व्यवसाय विविधीकरणको प्रयासस्वरूप हुआङले स्वचालित ड्राइभिङ र रोबोटिक्सका लागि नयाँ एआई मोडलहरू पनि सार्वजनिक गरेका छन् ।

इटहरीमा बतास एमएडब्लूको बिक्री, सेवा तथा स्पेयर पार्ट्स केन्द्र सञ्चालनमा

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर बिक्री, सेवा तथा स्पेयर पार्ट्स केन्द्र सञ्चालनमा ल्याउँदै पूर्वी नेपालमा भोल्भो–आइशर सञ्जाल विस्तार गरेको छ । गत माघ २१ गते सम्पन्न उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले नयाँ केन्द्रले ग्राहकलाई विश्वस्तरीय सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । नव उद्घाटित केन्द्र दक्ष प्राविधिक, आधुनिक परीक्षण उपकरण तथा पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स केन्द्रसहित सञ्चालनमा आएको छ । यसले छिटो सेवा प्रदान गर्दै सवारी साधनको अधिकतम सञ्चालन समय सुनिश्चित गर्ने बताइएको छ । रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले यस डिलरशिपले स्थानीय रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले ग्राहक–केन्द्रित सेवा प्रणाली, दक्ष जनशक्ति र उन्नत पूर्वाधारमा गरिएको लगानीले बदलिँदो बजार आवश्यकतालाई सम्बोधन गर्ने बताए । भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोराले नेपालमा बलियो बिक्रीपछिको सेवा प्रदान गर्नु कम्पनीको प्राथमिकता रहेको बताए । कार्यक्रमको अन्त्य सवारी प्रदर्शनी, सरोकारवाला तथा ग्राहकहरूसँगको अन्तरक्रिया तथा सञ्जाल विस्तार कार्यक्रमसँगै सम्पन्न भएको थियो ।  

बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो ।सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ । नवजात शिशु मृत्युदर हेर्दा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको एक महिनाअघि नै मृत्यु हुने गरेको देखिएको छ । प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ । प्रतिवेदनअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको छ । प्रदेशगत रूपमा विद्युत् पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत रहेको छ । टेलिफोन सेवातर्फ हेर्दा ९५ दशमलव पाँच प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९७ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२ दशमलव छ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको देखिन्छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको पाइयो । अध्ययन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्यदेखी दशमलव छ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ, भने ७२ दशमलव सात प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव चार प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ । सर्वेक्षणअघि एक महिनामा १५ देखि ४९ वर्ष उमेर समूहका पाँच दशमलव एक प्रतिशत महिलाहरु र ४१ दशमलव आठ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । त्यस्तै, १५ वर्षअगाडि नै सात दशमलव छ प्रतिशत पुरुष र दुई दशमलव एक प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन सुरु गरेको देखिएको छ । कूल प्रजनन दर अनुसार प्रति महिला औसत एक दशमलव नौ जीवित सन्तान जन्मिने गरेको देखिएको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म भएको छ भने २० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव दुई प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ । हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् । सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, ९० दशमलव पाँच प्रतिशतले स्वास्थ्य संस्थामा, ९१ दशमलव चार प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५ दशमलव तीन प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् । पाँच वर्षमुनिका बालबालिकामध्ये २४ दशमलव तीन प्रतिशत तौल कमी (लिखुरे) र ३१ दशमलव पाँच प्रतिशत उचाइ कमी (पुड्को) रहेका छन् । सात दशमलब छ प्रतिशत ख्याउटे र दुई दशमलव छ प्रतिशत बढी तौल भएका बालबालिका देखिएका छन् । लिखुरे बालबालिका सबैभन्दा बढी मधेस प्रदेशमा (३३.२ प्रतिशत) र सबैभन्दा कम बागमती प्रदेशमा (९.६ प्रतिशत) रहेका छन् । तीन आमामध्ये दुई आमाले अर्थात् ६९ दशमलव ७ प्रतिशतले छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेको पाइयो । यो दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७६ दशमलव छ प्रतिशत रहेको छ । त्यस्तै १२ देखि २३ महिनाका बालबालिकामध्य ८० दशमलव सात प्रतिशतले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् । सर्वेक्षण भन्दा दुई साता अघि सम्मको अवधिमा सात दस आठ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको र तीमध्ये २० दस्जमलव छ प्रतिशतलाई जिङ्क र पुनर्जलीय झोल खुवाइएको देखिन्छ । यो अध्ययन अनुसार ३६ देखि ५९ महिनाका बालबालिकामध्य ५७ दशमलव ९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन् ।आधारभूत तह (कक्षा १–५) मा ४ दशमलव ५ प्रतिशत, कक्षा ६–८ मा ३दशमलव ६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाका ८५ दशमलव चार प्रतिशत जन्मदर्ता भएको छ । यो दर कर्णाली प्रदेशमा सबैभन्दा बढी ९५ दशमलव ८ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालको ९८ दशमलव दुई प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरेको भए पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । त्यस्तै ९२ दशमलव चार प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव चार प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ । स्वास्थ्य बीमातर्फ हेर्दा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव आठ प्रतिशत महिला र १९ दशमलव छ प्रतिशत पुरुष बिमामा आबद्ध छन् ।यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्ने विश्वास लिइएको छ । सर्वेक्षणका क्रममा देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवार छानिएका थिए । यसमा महिला, पुरुष, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तरसम्बन्धी विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ । रासस

सुनको मूल्य प्रतितोला ४ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।