विकासन्युज

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुँदै आएको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।  अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।  सर्वोच्च अदालतको आदेशसँगै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीलाई विस्थापित गर्दै अंग्रेजी भाषा मात्रै प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्ट भएको छ ।  यसअघि सरकारले २०७९ चैत २२ गते इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।  तत्कालीन मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै ऐनको अनुसूची–२ परिमार्जन गर्ने निर्णय लिएको थियो ।  उक्त संशोधनपछि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसहित नेपाली भाषा प्रयोग गर्न सकिने नीति लागू हुने व्यवस्था गरिएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै यो विषय पुनः न्यायिक परीक्षणको घेरामा परेको छ ।

माउन्टेन इनर्जीको विद्युत बिक्रीको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस १७.३४ रुपैयाँ

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७९ करोड ८१ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ । यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । कम्पनीको संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ ।  कम्पनीको कर अगाडीको नाफा भने ५५  करोड ५८ लाख रहेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.३४ रुपैयाँ रहेको छ । २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १७.३४ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ ।  कम्पनीको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ । 

पूर्वाधारमा विकासबारे गगन थापाको पाँचबुँदे रोडम्याप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वाधार विकासमा देखिएको अन्योल हटाउन पाँचबुँदे योजना अघि सारेका छन् । पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती, कानुनी झन्झट र कार्यान्वयनको कमजोरी अन्त्य गर्न थापाले यस्तो योजना सार्वजनिक गरेका हुन् । सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको विकास दृष्टिकोण स्पष्ट पार्ने प्रयास गरेका हुन् । थापाले देशका ठूला पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुनुका कारण राजनीतिक इच्छाशक्ति कम मात्र होइन, कानुनी जटिलता, निर्णय प्रक्रियाको ढिलाइ र बहु-निकायबीचको समन्वय अभाव रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, 'हामीसँग योजना धेरै छन्, तर काम अघि बढाउने प्रणाली कमजोर छ ।' उनका अनुसार अब कांग्रेसले शासनको शैली नै परिवर्तन गर्ने स्पष्ट खाका अघि सारेको छ । थापाका अनुसार पहिलो योजना पूर्वाधारसम्बन्धी कानुनको पुनरावलोकन र सरलीकरण हो । सडक, ऊर्जा, सिँचाइ र सहरी विकासजस्ता क्षेत्रमा रहेको दोहोरो कानुनी व्यवस्था, लामो स्वीकृति प्रक्रिया र मुद्दामामिलाका कारण आयोजना वर्षौ अड्किने समस्या समाधान गर्न आवश्यक कानुनी सुधार गरिने उनको दाबी छ । दोस्रो, योजना एकद्वार निर्णय प्रणाली लागू गर्ने रहेको छ । अहिले एउटा आयोजनामा विभिन्न मन्त्रालय, विभाग र निकायबाट छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने अवस्थाले समय र लागत दुवै बढेको भन्दै उनले पूर्वाधार परियोजनाका लागि एकीकृत निर्णय संयन्त्र बनाइने बताएका छन् । यसले लगानीकर्ताको विश्वास बढाउने उनको तर्क छ। तेस्रो योजना कार्यान्वयन क्षमतामा केन्द्रित छ। थापाले प्राविधिक जनशक्ति, परियोजना व्यवस्थापन र अनुगमन प्रणाली कमजोर हुँदा बजेट खर्च नहुने र काम अलपत्र पर्ने गरेको स्वीकार गरेका छन् । कांग्रेस नेतृत्वमा सरकार बनेमा आयोजना प्रमुखलाई स्पष्ट जिम्मेवारी, समयसीमा र परिणामसँग जोडिएको मूल्याङ्कन प्रणाली लागू गरिने उनको दाबी छ । चौथो योजनामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुधारसँग सम्बन्धित छ । संघीय संरचनामा अधिकार बाँडफाँट स्पष्ट नहुँदा पूर्वाधार आयोजनामा अन्योल सिर्जना भएको भन्दै थापाले साझा मापदण्ड र सहकार्यको नयाँ ढाँचा प्रस्ताव गरेका छन् । 'संघीयता विकासको बाधक होइन, सहकार्य भयो भने यही प्रणाली विकासको गति बढाउने माध्यम बन्छ,' उनले भने । पाँचौ योजना पारदर्शिता र जवाफदेहितामा केन्द्रित छ । सार्वजनिक खरिद, ठेक्का प्रक्रिया र आयोजना छनोटमा देखिने विवाद र भ्रष्टाचारका आरोपले विकासको गति रोकेको भन्दै थापाले डिजिटल ट्र्याकिङ, सार्वजनिक सूचनाको अनिवार्य प्रकाशन र नागरिक अनुगमनलाई संस्थागत गरिने बताएका छन् ।

सिटिजन्स लाइफको कुल बीमाशुल्क आर्जन २२.५२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमास (साउन–पुस) सम्ममा ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा  कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको दोस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क २२.५२ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.२२ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिसम्ममा ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालु आवको पुससम्ममा कम्पनीको नाफा सामान्य बढेको छ । ६ महिनामा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ०.२४ प्रतिशतले बढेको छ । पुससम्ममा कम्पनीको महाविपत्ति कोषमा२५ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ३ लाख रुपैयाँ थियो । त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ६३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ८९ लाख रुपैयाँ थियो । पुससम्ममा कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन ३५.३९ प्रतिशतले बढेको छ ।  शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ११.७३ रुपैयाँ थियो । पीई रेसियो ५१.१८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ ।

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।  कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड संकलन भएको छ ।  दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रू १३ अर्ब ९८ राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।  चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ । त्यस्तै मदिराजन्य पेय पदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व संकलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

सुरुङ्गा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो । यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १६७ नं को स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो । स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीनजनाको ज्यान गएको थियो, भने त्यसयता जिल्लामा प्रायः दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।

होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । माघ २२ गतेदेखि  बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

कोरला नाकाबाट अवैध सामान भित्रिनेक्रम बढ्दै, सुरक्षाकर्मीले बढाए गस्ती

काठमाडौं । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ-४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले १ लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यसअघि गत पुस २७ गते कोरला नाकामा रोकि राखिएको माल बाहक कन्टेनर खानतलासी गर्दा २ करोड २४ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । सो अवैध सामान मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । यसैगरी २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइ छिपाई जोमसोमतर्फ ल्याउँदै गरेको ६ करोड ८१ लाख रुपैयाँको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । हिउँद याममा कोरला नाकाबाट अवैध रूपमा चारी/शिकारी र अवैध क्रियाकलाप हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् ।