विकासन्युज

आईटी ग्यारेजबाट ८ वटा मोटरसाइकल नियन्त्रणमा, प्रहरीले बढायो निगरानी

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।  काठमाडौंको तारकेश्वर नगरपालिका-८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडक खण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा चेकजाँच गर्दा ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो,’ उनले भने ।  उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो । चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पुर्याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।  ‘अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन् । त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ,’ उनले भने ।  प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ ।

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतदाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपालि एजेन्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।​​​​​​​ बागलुङको काठेखोला गाउँपालिका-६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दसौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए ।  कँडेलले भने, ‘पहिले-पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्नु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।’ बरेङ गाउँपालिका-१ का तमबहादुर थापाले गाउँको बसाँइसरा रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए । बसाइँसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ । गाउँमै कृषि, उद्यम गर्छ भन्ने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइँसराइ हुने गरेको थापा बताउँछन् । ‘हामी गाउँका किसानले नेताबाट ठूलो अपेक्षा छैन, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइ दिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो,’ थापाले भने, ‘अघिल्लो चुनावहरूमा नेताको चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौं, यहीँ केही गर्न चाहन्छौं, त्यो वातावरण तयार बनाइ दिने नेताको खाँचो छ ।’ बागलुङमा सबैभन्दा बढी बसाइँसराइ हुने पालिका जैमिनी हो । जैमिनीबाट हरेक वर्ष बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताइन् । हुने खानेहरू सबै बजार झरि सकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ ।

प्रधान सेनापति खुला म्याराथन सम्पन्न, प्रथमलाई ३ लाख रुपैयाँ

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोक राज सिग्देलले उद्घाटन गरे ।  प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो । उक्त प्रतियोगिता अन्तर्गत ४२.१९ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना गरिएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः ३ लाख रुपैयाँ, २ लाख रुपैयाँ र १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैर-सैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना गरिएको छ ।  ५ किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देल लगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी थिए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित ५ किमी दूरीको दौड पूरा गरे । १० किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब २ हजार ५०० धावकको सहभागिता थियो । यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ । 

कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा पहिरो रोकथाम सुरु

काठमाडौं । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले २५ करोड रुपैयाँको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।  ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सव-इञ्जिनियर बहादुर शाहले बताए । उनका अनुसार रघुगङ्गा गाउँपालिका-२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो । ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको शाहले बताए । अन्नपूूर्ण गाउँपालिका-३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि रु सात करोडमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ । अन्नपूर्ण-३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामका लागि जिएसपिएल/वुद्धीसरा जेभीले ९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले रु सात करोडमा ठेक्का पाएको छ । रूपसे खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ । लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ । तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जिएसआई/हुटैराज जेभीले २ करोड रुपैयाँको ठेक्का लिएको छ । सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । ‘रक एङ्करिङ’ गर्न फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ । ‘रक एङ्करिङ’ गर्नुपर्ने ठाउँको ३.५ मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ । अन्नपूर्ण गाउँपालिका-३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवतजावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने अपेक्षा गरिएको बताए । 

निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनु आवश्यक रहेको बताएकी छिन् । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिन् ।  आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।’ उनले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताइन् ।  आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ । पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ ।’ पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक रहेको बताउँदै उहाँले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गरिन् । उनले भनिन्, ‘पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न पाइने छैन । प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लङ्घनतर्फ सचेत रहनु जरुरी छ ।’ आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह सुझाव दिइन् । 

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन

काठमाडौं । चितवनका मुख्य सडकमा हुने स-साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ । सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा ६ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । उनले भने, ‘सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालय अन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।’ प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी-एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उनको भनाइ छ । कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उनले बताए ।  ‘सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,’ उनले भने, ‘यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।’ अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउ समेत भएको कार्यालयको दाबी छ । हाल करिब १ हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उनले जानकारी दिए ।  कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उनले जिल्लाको नारायणगढ-मुग्लिन, नारायणगढ-लोथर, भरतपुर-माडी तथा भरतपुर-मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिए । यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उनले बताए । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उनको भनाइ छ ।

३४ उम्मेदवारलाई स्पष्टीकरण​​​​​​​, २४ जनाले मात्रै बुझाए जवाफ

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका मध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेका मध्ये २४ जनाले बुझाएपनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले आचारसंहिताको प्रभावकारी परि पालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताको लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ । जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ । 

कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।