विकासन्युज

नेपालमै पहिलोपटक ‘लाइट गेज स्टिल फ्रेम’ सार्वजनिक, अग्ला भवनहरू निर्माण गर्ने हुलास इन्फ्राको तयारी

काठमाडौं । पूर्वाधार निर्माणका क्षेत्रमा चिनिएको कम्पनी हुलास इन्फ्राले अत्याधुनिक र नवीनतम उत्पादनहरू प्रदर्शन गरिरहेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा विभिन्न उत्पादनहरू सार्वजनिक गरेको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इम्तियाज अलीका अनुसार हुलास इन्फ्राले नेपालमै पहिलोपटक ‘लाइट गेज स्टिल फ्रेम’ प्रविधि भित्र्याएको छ । यो प्रविधि आधुनिक र सुरक्षित घर निर्माणका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यसका साथै सडक सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले ‘क्र्यास ब्यारियर’ र ’थ्रि बिम’ जस्ता महत्त्वपूर्ण उत्पादनहरू पनि प्रदर्शनीमा राखेको छ । हुलास इन्फ्राले काठमाडौंमा स्टिलका अग्ला भवनहरू निर्माण गर्ने तयारी थालेको छ । प्रदर्शनीमा यस्ता भवनहरूको नमुना समेत राखिएको छ, जसले आगन्तुकहरूको ध्यान तानिरहेको छ । कम्पनीले पछिल्लो समय सोलार माउन्ट स्ट्रक्चरको उत्पादन समेत सुरु गरिसकेको छ । यसबाहेक ट्रान्समिसन टावर, हाई मास्ट पोल, मोनोपोल, वेयरहाउस निर्माणका सामग्रीहरूका साथै उच्च गुणस्तरका प्रि-जीआई र जीआई पाइपहरू पनि कम्पनीका मुख्य उत्पादनमा पर्छन् ।  सीईओ अलीले यी अत्याधुनिक प्रविधि र उत्पादनहरूबारे प्रत्यक्ष जानकारी लिनका लागि निर्माण व्यवसायी, इन्जिनियर र सर्वसाधारणलाई स्टल नम्बर ३२ मा भ्रमण गर्न आग्रह गरेका छन् ।  नेपालको आफ्नै उत्पादन र नयाँ प्रविधिको प्रयोगले देशको पूर्वाधार विकासमा नयाँ आयाम थपिने विश्वास कम्पनीले लिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता रहेको छ । प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको छ ।

घरमै बसेर डिशहोम गोमा ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ हेर्न सकिने

काठमाडौं । डिशहोम गोले दर्शकहरूका लागि दुई नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ । प्रदर्शनका क्रममा सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ । नेपालभित्रका दर्शकहरूले यी चलचित्र प्रतिफिल्म २२५ रुपैयाँमा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले डिशहोम गोमार्फत ६.९९ अमेरिकी डलरमा मनोरञ्जन लिन सक्नेछन् । ‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो । जितु नेपाल, सम्राज्ञी आरएल शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यो रोमान्टिक कमेडी चलचित्रले हल प्रदर्शनका क्रममा दर्शकको राम्रो साथ पाएको थियो । सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस चलचित्र विशेषगरी पारिवारिक दर्शकबीच लोकप्रिय छ । त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको अभिनयले चलचित्रलाई प्रभावशाली बनाएको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस चलचित्रले भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो । डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली तथा अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने ओटीटी प्लेटफर्म हो । मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ ।  

भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी २४ लाख ९९ हजारमा पाइने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा अफर सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजनाअन्तर्गत ग्राहकहरूले टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् । यसअघि २७ लाख ४९ हजार रुपैयाँ रहेको टियागो इभीको बजार मूल्य सीमित अवधिका लागि घटाएर २४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो अफर सबै नयाँ टियागो इभीमा लागू हुनेछ । नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन खोज्ने ग्राहकहरूका लागि यो योजना उत्कृष्ट अवसर हुने सिप्रदीको विश्वास छ । विशेषगरी सहरको भिडभाडमा सहज यात्रा र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता तथा नयाँ जोडीहरूबीच लोकप्रिय बन्दै गएको छ । टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा पुगेर यस अफरको लाभ लिन सक्नेछन् ।

राजनीतिक दललाई आर्थिक सुधारमा ध्यान दिन मोरङ उद्योग व्यापार संघको अनुरोध

काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आम निर्वाचन २०८२ का लागि दर्ता भएका राजनीतिक दलहरूलाई आफ्नो–आफ्नो घोषणा–पत्रमा संघले तयार पारेको १५ बुँदे आर्थिक सुधार एजेन्डा समावेश गर्न आग्रह गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संघले मुलुकको अर्थतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि हासिल गर्न यी एजेन्डाहरू आवश्यक रहेको उल्लेख गर्दै सबै दलहरूलाई अपील गरेको हो । संघका अनुसार हाल नेपालमा नीति अस्थिरता, खुला सीमा नाकाबाट हुने अवैध कारोबार, उच्च सरकारी खर्च, कमजोर प्रशासनिक प्रणाली तथा उद्योगमैत्री नीतिको अभावजस्ता समस्याका कारण अर्थतन्त्र गम्भीर दबाबमा परेको छ । यी समस्याको समाधान नगरेसम्म देशको आर्थिक पुनरुत्थान सम्भव नरहेको संघको ठहर छ । यही अवस्थालाई मध्यनजर गर्दै संघले हालसम्म दर्ता भएका करिब १३६ राजनीतिक दललाई आफ्नो घोषणा–पत्रमा आर्थिक सुधारसम्बन्धी एजेन्डा अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको हो । संघले प्रस्तुत गरेको १५ बुँदे एजेन्डामा कृषि उत्पादकत्व वृद्धि, सहुलियत दरमा मल, बीउविजन र आधुनिक औजारको उपलब्धता, पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने नीति, सीमावर्ती क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान सञ्चालन, अवैध कारोबार नियन्त्रण, स्वदेशी उद्योगको संरक्षण तथा प्रवर्द्धन, नियमित विद्युत आपूर्ति र विद्युत उत्पादन विस्तारजस्ता विषय समेटिएका छन् । यसैगरी निर्यात प्रवर्द्धनका लागि समुद्री बन्दरगाहसम्मको पहुँच सहज बनाउने, निर्यात अनुदान दिने, औद्योगिक कोरिडर विकास गर्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी स्थल निर्माण गर्ने, उद्योग व्यवसायको सुरक्षाका लागि कडा नीति लागू गर्ने लगायतका प्रस्ताव पनि एजेन्डामा समावेश छन् । एजेन्डामा करदाता व्यवसायीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, कर्मचारी सरुवा र नियुक्तिमा मेरिट प्रणाली लागू गर्ने, विकास निर्माणका काम समयमै सम्पन्न गर्ने, डिजिटल गभर्नेन्समार्फत सरकारी खर्च घटाउने तथा श्रम ऐनलाई उद्योगमैत्री बनाउने विषय पनि समेटिएका छन् । संघले यी आर्थिक सुधार एजेन्डा कार्यान्वयनमा ल्याएमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राजस्व संकलनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ । साथै, सरकार र राजनीतिक दलहरूसँग सहकार्य गर्दै देशको आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ ।

एआईबाट भ्रामक फोटो बनाइ सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न निर्देशन

काठमाडौं । एआईको प्रयोग गरेर तस्विर बनाइ भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कारबाही गर्नलाई साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।  बुधबार झापा निर्वाचन क्षेत्र नं. ५, कमल गाउँपालिका वडा नं. २, क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयको घरमा तोडफोड भएको घटना घटेको थियो । घरधनी बसोबास गर्ने कोठाको झ्यालको सिसा करिब १२–१५ बजे ढुङ्गाले हानी फुटाइएको थियो । घटना सम्बन्धी जाहेरी परेपछि कारबाही प्रक्रिया अगाडि बढिसकेको जिल्ला प्रशासन कार्यालय झापा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए । प्रशासनले एआईको दुरुपयोग गरेर बनाइएको तस्विर सामाजिक सञ्जालमा फैलाइएको र भ्रामक सूचना दिएको दाबी गरेको छ । सो तस्विरले घरमा भएको गम्भीर तोडफोड जस्तो देखाएर आम जनतामा भ्रम सिर्जना गरेको हुँदा सम्बन्धित व्यक्ति वा समूहको पहिचान गरी कारबाहीको लागि पत्राचार गरिएको छ । प्रहरीका अनुसार एआईबाट बनाइएको उक्त तस्विर ‘ग्यालेक्सी फोरके सिधा कुराको’ ग्रुपमा हरीबहादुर डाँगीले सेयर गरेका थिए । प्रशासनले डिजिटल माध्यमबाट फैलिने गलत सूचनालाई नियन्त्रणमा लिन विशेष ध्यान दिने जनाएको छ ।

सिन्धुली–२ : मत विभाजन र पूर्वमाओवादी विवादले लेखनाथलाई असहज

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनको परम्परागत शक्ति–सन्तुलन बदलिने संकेत देखिएको छ । अघिल्ला दुई संसदीय निर्वाचनमा माओवादी धार विजयी भए पनि गठबन्धन विघटन र आन्तरिक विभाजनले यसपटक प्रतिस्पर्धा गत दुई निर्वाचनको भन्दा फरक बनेको हो । उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल २७ हजार ५१७ मतसहित निर्वाचित भएका थिए । त्यस निर्वाचनमा कांग्रेसको समर्थन माओवादीलाई थियो । तर, यसपटक कांग्रेसले आफ्नै उमेदवार अघि सारेपछि माओवादीको अघिल्लो मताधार कमजोर बन्ने देखिएको छ ।  त्यसमाथि पूर्वमाओवादी नेताहरूबीचको विवादले पनि माओवादी धारको मत विभाजन हुने सम्भावना बढाएको छ । यसले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई अप्ठ्यारोमा पार्ने निश्चितजस्तै छ ।  अघिल्लो निर्वाचनको निकटतम प्रतिस्पर्धी एमाले गठबन्धनविहीन अवस्थामा मत बढाउने दाउमा देखिएको छ । तथ्यांकले पनि पूर्वमाओवादी धारको विभाजनले नेकपा र उक्त दलका उम्मेदवार दाहाललाई सिन्धुली–२ अब सुरक्षित क्षेत्र नहुने निश्चित देखिन्छ । यसपटकको नतिजा मत विभाजनको गणितले तय गर्नेछ । दोहोरिएर निर्वाचित हुने लक्ष्यसहित नेकपाका उम्मेदवार  दाहाल चुनावी मैदानमा उत्रिएका छन् । तर, कांग्रेसको छुट्टै उम्मेदवारी र पूर्वमाओवादीभित्रको आन्तरिक विवादका कारण उनको जित सहज देखिँदैन । दाहाललाई नेकपा एमालेका मनोजजंग थापाले चुनौती दिँदै छन् । २०७९ मा पाँच दलीय गठबन्धनका बाबजुद राम्रो मत ल्याएका थापाको उम्मेदवारी दाहालका लागि सबैभन्दा ठुलो चुनौती भएको सिन्धुलीका राजनीतिक विश्लेषक द्वारिका काफ्लेले जानकारी दिए । नेपाली कांग्रेसकी उम्मेदवार सुशीला थिङ पनि यस क्षेत्रकी लोकप्रिय उम्मेदवार हुन् । उनको उपस्थितिले पनि यस क्षेत्रको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । सिन्धुली–२ लाई लामो समयदेखि माओवादी प्रभाव क्षेत्रका रूपमा लिइँदै आएको छ । संविधान जारीपछिका संसदीय निर्वाचनमा २०७४ मा हरिबोल गजुरेल र २०७९ मा लेखनाथ दाहाल यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गजुरेल सिन्धुली–३ बाट विजयी भएका थिए, जुन क्षेत्र संविधानपछिको पुनर्संरचनामा हालको सिन्धुली–२ बनेको हो । मैदानमा एक्लै दाहाल  २०७९ को निर्वाचनमा सत्ता गठबन्धनका कारण कांग्रेसको समर्थन पाएका दाहाल यसपटक भने एक्लै मैदानमा छन् । कांग्रेसले आफ्नै उम्मेदवार थिङलाई अघि सारेपछि लेखनाथको आधार कमजोर बन्न पुगेको ‍हो । त्यसैगरी, पूर्वमाओवादीभित्रको विवाद अर्को ठूलो चुनौती बनेको छ । तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल मिलेर बनेको नेकपाबाट लेखनाथले उम्मेदवारी दिएका भए पनि सोही धारका नेता महेश्वर दाहाल भने स्वतन्त्र उम्मेदवार बनी मैदानमा उत्रिएका छन् । महेश्वरलाई पूर्वमन्त्रीसमेत रहेका हरिबोल गजुरेलको समर्थन छ । गजुरेल पुष्पकमल दाहाल नेतृत्वको तेस्रो सरकारका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहिसकेका व्यक्ति हुन् । दुईपटक यही क्षेत्रबाट निर्वाचित गजुरेलको समर्थन नपाउनु लेखनाथको कमजोर कडीका रूपमा हेरिएको छ । गजुरेलको समर्थन पाएसँगै महेश्वरले लेखनाथको मत काट्ने परिस्थिति बनेको स्थानीयहरू बताउँछन् । एमाले र कांग्रेस दुवै बलियो दाबेदार एमालेले २०७९ कै उम्मेदवार थापालाई पुनः मैदानमा उतारेको छ । अघिल्लो चुनावमा लेखनाथले २७ हजार ५१७ मत ल्याएर जित्दा थापा २१ हजार ६८७ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । गठबन्धन टुटेको र पूर्वमाओवादी विभाजित भएको अवस्थाले यसपटक थापालाई बलियो प्रतिस्पर्धी बनाएको छ । थापाले सामाजिक एकता, संविधान रक्षा, शिक्षा, रोजगारी र आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर मत मागिरहेको एमाले जिल्ला कमिटी सदस्य विमला पाण्डेले जानकारी दिइन् । कांग्रेसबाट उम्मेदवार बनेकी थिङ पनि चुनावी प्रतिस्पर्धामा प्रभावशाली मानिन्छिन् । विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद तथा कांग्रेस संसदीय दलकी सचेतक रहेकी थिङलाई पार्टीले यसपटक प्रत्यक्षतर्फ अघि सारेको हो । उनी कांग्रेसको ऐतिहासिक योगदान र लोकतान्त्रिक मूल्यलाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा रहेको कांग्रेस सिन्धुलीका नेता मोहन बरालले जानकारी दिए ।  तर थिङलाई पनि लेखनाथकै जस्तो उनकै दलका बागी उम्मेदवार चुनौती बनेका छन् । नेपाली कांग्रेसको दुई कार्यकाल उपसभापति रहिसकेका खड्कबहादुर वाइवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । वाइवाको उम्मेदवारी थिङका लागि चुनौती बनेको स्थानीय राजनीतिक विश्लेषक काफ्लेले जानकारी दिए । अघिल्लो चुनावको परिणाम सिन्धुली–२ अन्तर्गत कमलामाई नगरपालिकाका केही वडा, हरिहरपुरगढी, मरिण, सुनकोसी र घ्याङलेख गाउँपालिका पर्छन् । निर्वाचन २०७९ लाई हेर्दा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनतर्फ लेखनाथको जित भएपनि समानुपातिक मत परिणाममा एमाले यो क्षेत्रको पहिलो दल हो । एमालेलाई नेकपाले पछ्याएको छ भने कांग्रेस तेस्रो बनेको देखिन्छ । समानुपातिकमा एमालेले १७ हजार १४९ मत पाएको थियो । तत्कालीन माओवादीले १५ हजार ८२६ र कांग्रेसले १३ हजार ३४९ मत पाएको थियो । उक्त निर्वाचनमा चौथो भएको रास्वपाले ३ हजार ९५४ मत पाएको थियो । स्वतन्त्र र वैकल्पिक शक्तिहरू पूर्वमाओवादी नेता महेश्वर दाहाल मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशीष गजुरेल, राप्रपाबाट मुकुन्दप्रसाद गजुरेल, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु लगायत थुप्रै दल र स्वतन्त्र उम्मेदवारहरूले यस पटक मूलधारभन्दा बाहिरका वैकल्पिक शक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।  रास्वपाका उम्मेदवार आशीष गजुरेल आफूलाई बौद्धिक र विषयविज्ञ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सुशासन र नीतिगत सुधारको एजेण्डामा रहेका छन् । महेश्वर दाहाल भने भ्रष्टाचारविरुद्ध कडा अडान र जिम्मेवार राजनीतिक पहल आवश्यक भएको सन्देशसहित मत मागिरहेको बताउँछन् । सिन्धुली–२ मा यसपटक एमाले, कांग्रेस र पूर्वमाओवादी धारबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको विश्लेषक काफ्लेले बताए ।  स्थानीय समीकरण र अन्तिम समयमा कसले कसको मत काट्छ भन्नेमा परिणाम निर्भर रहने उनले बताए । मत विभाजनको यही सम्भावनाले सिन्धुली–२ लाई अत्यन्त प्रतिस्पर्धात्मक बनाएको काफ्लेको भनाइ छ । यस क्षेत्रमा एमाले, कांग्रेस र नेकपाबाट क्रमश: थापा, थिङ र लेखनाथ उम्मेदवार रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशीष गजुरेल, राप्रपाबाट मुकुन्दप्रसाद गजुरेल, नेमकिपाबाट रामेश्वरी कोजु, प्रलोपा निर्मल कुमार स्याङ्तान, स्वतन्त्र महेश्वर दाहाल र खड्कबहादुर वाइवासहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

भिभोको विश्वकप उपभोक्ता अफर सार्वजनिक, स्मार्टफोन खरिदमा निःशुल्क जर्सी उपहार

काठमाडौं । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नयाँ विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, 'नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो साझा राष्ट्रिय भावना हो । यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै उनीहरूलाई भिभोको नवीन विशेषतासँगै राष्ट्रिय रंग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौं ।' यस योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराज मार्फत यही माघ २७ गतेसम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरुप पाउनेछन् । यो अफर भिभो वाई ४००, भिभो भि६० लाईट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुनेछ । उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता जनाउने मौका पनि दिएको छ । नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म, भिभोले सधैं क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको निर्णयमार्फत उनलाई उक्त पदमा नियुक्त गरिएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई उत्तीर्ण गरेकी छन् । उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् । डंगोल २०८० जेठ ३२ गते नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । यस क्रममा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरिसकेकी छन् । हाल उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् । पदभार ग्रहण गर्दै डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले ग्राहकको चाहना र सरकारको प्राथमिकताअनुसार कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल टेलिकमलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको बताइन् । साथै, आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरूलाई आह्वान गरिन् ।