सहकारी पीडितसँग मन्त्री रावलको संवाद सुरु
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकार सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्यसहित अगाडि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन् । मन्त्री रावलले पीडितहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका गुनासा सुन्न थालेकी हुन्। बिहीबार बिहानैदेखि मन्त्रालयमा भेला भएका देशभरका विभिन्न सहकारीका पीडितहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाउँदा भोग्नुपरेको आर्थिक र मानसिक पीडा मन्त्रीसमक्ष राखेका थिए । छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले पीडितहरूको उचित सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै साना बचतकर्ताहरूलाई राहत दिने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिइन् । ‘पीडितहरूको समस्या कसरी प्रभावकारी रूपमा समाधान गर्ने भन्नेमा हामी केन्द्रित छौं,’ उनले भनिन् ।
होटलमा महिला पुर्याएर ग्राहकबाट ८ देखि २० हजारसम्म लिने सारु पक्राउ
काठमाडौं । यौनधन्दामा लगाएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । बुधबार साउदी अरबबाट फर्कने क्रममा अध्यागमन कार्यालयबाट अर्घाखाँचीका ३० वर्षीय शिवबहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखन ब्यूरोका अनुसार सारुले ह्वाटसएपमार्फत महिलालाई आर्थिक प्रलोभनमा पार्ने गर्थे । २०८१ असोजदेखि विभिन्न माध्यमबाट महिलालाई ग्राहकसमक्ष पुर्याउने गरेका थिए । उनले ग्राहकले खोजेबमोजिम विभिन्न होटल तथा कोठामा महिला पठाउने गरेका थिए । सारुले एक जना ग्राहकबाट ८ देखि २० हजार रुपैयाँसम्म लिने गरेको ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले जानकारी दिए । वेश्यावृत्तीमा लगाएको अवस्थामा प्रहरीले २०८१ कात्तिक १२ गते प्रहरीले ती महिलालाई उद्धार गरेका थिए । सोही वर्ष कात्तिक २६ गते सारुविरुद्ध उजुरी परेको थियो । काठमाडौं जिल्ला अदालतबाट दिन तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी लिम्बुले जानकारी दिए ।
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ । केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
ज्ञान उदासलाई देवकुमारी थापा स्मृति पुरस्कार
विराटनगर । देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ । विसं २०१८ देखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् । यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनजस्ता वरिष्ठ व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन् । त्यसैगरी, गुठीले २५ हजार रुपैयाँ राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठले ‘कथा काठमाडौं’जस्ता चलचित्र र ७० भन्दा बढी ‘म्युजिक भिडियो’को निर्देशन गरेका छन् ।
बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रूपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
रूसका परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनाललाई दिए बधाई
काठमाडौं । रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । यहाँस्थित रुसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् । दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उनले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवर्द्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । सन्देशमा रूसी परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनालको सुस्वास्थ्य तथा कार्यकालको सफलताको कामना पनि गरेका छन् ।
आर्थिक गणना वैशाख २ गतेदेखि
सिरहा । सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ । जिल्ला तथ्याङ्क कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो । प्रमुख तथ्याङ्क अधिकृत विमल यादवका अनुसार यो गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । आर्थिक विकासको वस्तुगत अवस्था चित्रण गर्ने उद्देश्यले देशभरि नै सञ्चालन हुन लागेको यो कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ, प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण सङ्कलन गरिनेछ । गणनाका क्रममा ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका प्रमुख आर्थिक क्रियाकलापलाई समेटिने अधिकृत यादवले जानकारी दिए । जिल्लाभर ६० जना गणक परिचालन गरिने जनाइएको छ ।
ललितपुर महानगरले सञ्चालनमा ल्यायो ‘वातावरण भ्यान’
काठमाडौं । ललितपुर महानगरपालिकाले वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबार एक कार्यक्रमबीच ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको हो । महानगरका मेयर चिरीबाबु महर्जनले उक्त भ्यानको उद्घाटन गरेका हुन् । यो भ्यानमार्फत विभिन्न वडामा पुगेर फोहोर वर्गीकरण, पुनःप्रयोग र वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै विद्यालय तथा समुदाय स्तरमा वातावरणमैत्री व्यवहार प्रवर्द्धन गर्ने उद्देश्य समेत रहेको महानगरले जनाएको छ । महानगरका अनुसार ‘वातावरण भ्यान’ले स्थानीय बासिन्दालाई घरमै फोहोर छुट्याउने अभ्यासतर्फ प्रेरित गर्नुका साथै दिगो सहरी व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।