व्यवसायी दिपक भट्ट पक्राउ
काठमाडौं । व्यवसायी दिपक भट्ट पक्राउ परेका छन् । बिहीबार नक्साल गैह्रीधाराबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । व्यवसायी भट्टलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।
हामीले सिंहदरबार बदल्न सुरु गरिसकेका छौं : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन् । नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताले सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको उल्लेख गर्दै बदल्न सुरु गरेको बताएका हुन् । सभापति लामिछानेले जनताको मतादेशको गुन जिम्मेवारी पूरा गरेर भए पनि तिर्ने बताए। ‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं, लामिछानेले भने ।
‘राजनीतिक नियुक्ति पाएकाले मार्ग प्रशस्त गर्नु, कर्मचारीले सरकारसँग गति मिलाउन आवश्यक छ’
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले अब कर्मचारीतन्त्रले सरकारसँग रफ्तार गति मिलाउनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा उनले सरकारले आफ्नो रफ्तार सुरु गरिसकेको बताउँदै त्यसमा कर्मचारी र सबैले गति मिलाउनु पर्ने बताएका हुन् । ‘हामी प्रश्न सोधेर आएका हौं, अब हामीले काम गरेर पनि देखाउन सक्छौं भनेर देखाउनुपर्नेछ, प्रतिपक्षले आलोचनात्मक टिप्पणीलाई हामी स्वागत गर्नेछौं । अब माइक काटिने छैन,’ उनले भने । उनले विगतका सरकारले नियुक्ति गरेका व्यक्तिहरुले मार्ग प्रशस्त गर्न पनि उनले आग्रह गरे । उनले विदेशी लगानीकर्तालाई पनि नेपाल अब लगानीमैत्री वातावरण बनेकोले लगानी गर्न पनि आग्रह गरे ।
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकार परिवर्तनको उद्देश्य केवल शासन सञ्चालन नभई प्रणाली रूपान्तरण भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्न भएको बताए । लामिछानेले सिंहदरबार बदल्ने प्रक्रिया सुरु भइसकेको दाबी गर्दै सरकारले परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विपक्षी दलका सकारात्मक एजेण्डालाई पनि सरकारले कार्यान्वयन गर्ने उल्लेख गर्दै सहकार्यको राजनीतिमा जोड दिए । ‘हामी काम गरेर देखाउँछौं,’ उनले भने, ‘राम्रो कुरा जहाँबाट आए पनि स्वीकार गर्छौं ।’ उनले विगतका सरकारका कमजोरीहरूलाई लाजको विषय नभई सिक्ने अवसरका रूपमा लिने बताए । यसले नयाँ सरकार आत्मआलोचनात्मक र सुधारमुखी रहेको सन्देश दिएको छ । लामिछानेले आफ्ना निर्णयहरू अहंकाररहित हुने दाबी गर्दै लोकतान्त्रिक मूल्यअनुसार प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिबद्धता समेत जनाए ।
संसद्मा एमालेको माग–ओली र लेखकलाई रिहा गर
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई रिहा गर्न माग गरेका छन्। बैठक सुरु हुँदाबित्तिकै विरोध जनाउँदै एमाले सांसद गुरु बरालले ओली र लेखक पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहा गर्न माग गरेका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ । यो गम्भीर आपत्तिको विषय छ । आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं, बरालले भने । बरालले विरोध गरेपछि सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिएका थिए।
बैठक सुरु हुनासाथ एमालेको विरोध
काठमाडाैं । नयाँ संसद्को पहिलो बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरेका हुन् । त्यसपश्चात सभामुख अर्जुनरसिंह केसीले बराललाई बोल्न समय दिए । फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको हो । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।
नयाँ संसद्को पहिलो बैठक सुरु
काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । आजको बैठकमा सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले अझै संसदीय दलको नेता टुंगो नलगाएका कारण आङ्देम्बेलाई वक्ताको रूपमा अघि सारिएको हो । अर्का नेता अर्जुननरसिंह केसी ज्येष्ठ सदस्यका रूपमा बैठक सञ्चालनमा केन्द्रित रहने भएकाले उनी सम्बोधनमा सहभागी नहुने भएका हुन् । यसैगरी, नेकपा एमालेबाट रामबहादुर थापा, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्ने तय भएको छ । नेकपाका तर्फबाट संयोजक प्रचण्डले वर्षमान पुनलाई वक्ताका रूपमा अघि बढाउने तयारी गरेको नेकपाका एक नेताले जानकारी दिए । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले समेत पहिलो बैठकमा बोल्ने अवसर पाउनेछन् । प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा उपस्थित हुने भए पनि आजको बैठकमा सम्बोधन नगर्ने उनको सचिवालयले जनाएको छ ।