विकासन्युज

कुमारी बैंकले मर्ज गर्यो २४ वटा शाखा र काउन्टर

काठमाडौं । कुमारी बैंकले महानगरपालिकाहरूमा २४ वटा शाखा कार्यालय तथा विस्तारित काउण्टर मर्ज गरेको छ । बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र १५ वटा शाखा कार्यालय चैत १५ गते मर्ज गरेको हो ।  बैंकका अनुसार काठमाडौं महानगरपालिकाका महाराजगन्ज विस्तारित काउन्टर महाराजगन्ज शाखामा, सामाखुशी विस्तारित काउन्टर सामाखुशी शाखामा, कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा, ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा, जनवहाल शाखा न्यूरोड शाखामा गाभिएर बैंकिङ सेवा सुरु गरेका छन् । यस्तै, बानेश्वर शाखा मर्जरपश्चात् मैतीदेवी, बसुन्धारा शाखा मर्जरपश्चात् महाराजगन्ज शाखा, सिफल शाखा मर्जरपश्चात् चाबहिल शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । साथै बल्खु विस्तारित काउन्टर मर्जर पश्चात् कुलेश्वर, जैसीदेवल विस्तारित काउन्टर मर्जर पश्चात् न्यूरोड पाको, बालाजु विस्तारित काउन्टर मर्जर पश्चात् बालाजु शाखा र छाउनि विस्तारित काउन्टर मर्जर पश्चात् डल्लु शाखाबाट बैंकिङ सेवा सुचारु भएको छ । बैंकका अनुसार ललितपुर महानगरपालिकाको टंगल शाखा मर्ज भई मंगलबजार शाखा, भरतपुर महानगरपालिकाका शहिद चोक र पोखरा बसपार्क शाखा मर्जरपश्चात् नारायणगढ शाखा, भरतपुर शाखा मर्जरपश्चात् हाकिमचोकबाट बैंकिङ सेवा सुरु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकाको बाँझापाटन शाखा मर्ज भई काहुँखोला शाखा, पोखरा शाखा मर्ज भई चिप्लेढुंगा शाखा, बिरौटा शाखा मर्ज भई लेकसाइड, अमरसिंहचोक शाखा मर्ज भई चिप्लेढुंगा शाखाबाट सेवा सुचारु भएको छ ।  विराटनगर महानगरपालिकाको मेनरोड शाखा मर्ज भई विराटनगर शाखा, बरगाछी शाखा मर्ज भई विराटनगर शाखा, विरगन्ज महानगरपालिकाको प्रतिमाचोक शाखा मर्जरपश्चात् विरगन्ज, ड्राइपोर्ट शाखा मर्जरपश्चात् सिर्सिया शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । 

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

काठमाडौं । एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन्।  ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले यो अफर सञ्चालनमा ल्याएको हो । यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ । यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवा भन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो । एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरु लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउँछ । सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले यस एपबाट सहज रूपमा सेवाहरू लिन सक्छन् । ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन्। प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरुमामा संलग्न भई आफ्नो अंकहरू संकलन गर्न सक्छन् ।  हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् । उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३ हजार ४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् । यो निःशुल्क डेटा अफर एनसेलको डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजना अन्तर्गत सञ्चालनमा ल्याइएको हो । दैनिक निःशुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अभिवृद्धि गर्दै एनसेलले डिजिटल पहुँचलाई अझ आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ ।

नेप्सेमा ७४ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा कायम भएको छ ।  बुधबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य  घटेको छ । बुधबार ३४७ स्टकको कुल १ लाख २३ हजार ७ सय ३० पटकको सेयर किनबेचमा ३ करोड २ लाख ९२ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्यारेन्स कम्पनीको सेयर ९.८४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ७१ करोड ७१ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।  दोस्रो धेरै कारोबार भएको कम्पनी अपि पावर कम्पनीको ४५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै न्यादी ग्रुपको ४३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह घटेका छन् ।

मध्यपूर्व तनावबीच पनि पर्यटक आगमन उत्साहजनक, मार्चमा भित्रिए १ लाख २० हजार बढी पर्यटक

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बाबजुद पनि नेपालमा पर्यटक आगमन उत्साहजनक देखिएको छ । पर्यटन व्यवसायीहरूले द्वन्द्वको कारण पर्यटक आगमन कम हुने आँकलन गरेपनि मार्च महिनामा उल्लेखनीय पर्यटक भित्रिएका छन् ।  वसन्त ऋतुको सुरुवातसँगै हिमाल आरोहण, ट्रेकिङ र सांस्कृतिक पर्यटनप्रति आकर्षण बढ्दा पर्यटक आगमनमा कमी नदेखिएको हो ।   नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्च महिनामा  १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा थोरै कम देखिएपनि उत्साहजनक संख्या हो ।  गत वर्षको यही अवधिमा नेपालमा  एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा नेपालमा पर्यटन आगमन १ प्रतिशतले घटेको छ । कोभिड १९ अघि अर्थात सन् २०१९ को तुलनामा भने सन् २०२६ को मार्चमा पर्यटक आगमन ५.४ प्रतिशतले घटेको छ । सन् २०१९ को मार्चमा नेपालमा १ लाख २७ हजार ३५१ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२६ को फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए । तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ । तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ । त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ । मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन । विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्यांक निराशाजनक नभएको बताएका छन् ।  उनले भने, ‘युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो । हामीले पनि छिमेकी बजारलाई क्यास गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यसका साथै युरोप र अमेरिकाजस्ता उच्च खर्च गर्ने पर्यटक लक्षित बजारमा पनि हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौं ।’ सीईओ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताएका छन् ।  उनले भने, ‘विशेषगरी पश्चिम एसियामा विकसित परिस्थिति अनिश्चित बन्दै जाँदा आगामी दिनमा विश्व पर्यटन बजारलाई नै असर पार्न सक्छ । त्यसैले नेपाल पर्यटन बोर्डले सन्तुलित र दिगो रणनीतिसहित वैकल्पिक बजार विस्तारका रणनीति बनाएको छ ।’

वैशाख २ गतेदेखि मार्जिन कारोबार सुरु गर्ने ब्रोकर कम्पनीहरूको घोषणा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)हरूले वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा कार्यान्वयन गर्ने भएका छन् । चैत १७ गते बसेको स्टक ब्रोकर एशोसिएसन अफ नेपालको ( एसब्यान) कार्यसमिति बैठकले वि.सं २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार सेवा लगानीकर्तालाई उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको कार्यप्रक्रिया अनुसार धितोपत्र दलाल व्यवसायीहरूले पनि आफ्नै कार्यप्रक्रिया तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सोही बमोजिम ब्रोकर कम्पनीहरूले कार्यप्रक्रिया तयार गरेर एसब्यान कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । एसब्यानका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित अधिकांश प्रक्रिया पूरा भइसकेको छ । यद्यपि, केही प्राविधिक विषय मिलाउन बाँकी रहेकाले नयाँ वर्षदेखि सेवा सुरु गर्ने तयारी गरिएको कार्यालय व्यवस्थापक मित्र बहादुर क्षेत्रीले बताए । यो सुविधा लागू भएसँगै लगानीकर्ताले धितोपत्र खरिदका लागि दलालमार्फत ऋण (मार्जिन) प्रयोग गर्न सक्नेछन्, जसले बजारमा कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

नयाँ सभामुखका लागि चैत २२ मा मतदान, सोही दिन पदबहाली हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते आइतबार हुने भएको छ । बुधबार (आज) सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।  मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ ।  निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ । संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार (भोलि) अपरान्ह २ बजे संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।  बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरू सहभागी भएका थिए।  संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ३८ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरू नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन् ।  बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा आज संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो ।  बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

गौतमबुद्ध विमानस्थलबाट ‘फिफ्थ फ्रिडम’ उडानको तयारी

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ ।  ‘हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौं,’ उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । ‘अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरूप उडान गर्नेगरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौं ।’ उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तरराष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए । हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ । ‘चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ,’ उनले भने ।  उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ । रासस

लक्ष्मी सनराइज बैंक : नम्बरको दौडमा नलाग्ने, सस्टेनेबल ग्रोथमा जोड

काठमाडौं । लक्ष्मी सनराइज बैंकसँग नेपालको कर्पोरेट इतिहासमा पहिलोपटक एचआईएसईएफ फाइनान्सलाई सफलतापूर्वक गाभेको अनुभव छ । वि.सं. २०५८ चैत ८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको बैंकले चैत १९ गतेदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको थियो । १६औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले दोस्रो वर्षमै एचआईएसईएफ फाइनान्सलाई गाभेको थियो । त्यसपछि बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरी वि.सं. २०७३ माघ २ गते एकीकृत कारोबार सुरु गरेको थियो । पछिल्लो पटक सनराइज बैंकसँग मर्ज भई वि.सं. २०८० असार २४ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो । विभिन्न उतार-चढाव पार गर्दै लक्ष्मी सनराइज बैंकले आज २४औँ वार्षिकोत्सव मनाइरहेको छ । व्यावसायिकता र सेवामा आधारित सफल वाणिज्य बैंकका रूपमा आफूलाई स्थापित गर्दै आएको बैंकले ग्राहककेन्द्रित सेवा र सरल बैंकिङ प्रणालीमार्फत पृथक् पहिचान बनाउन सफल भएको छ । हाल बैंकको अध्यक्षका रूपमा रमण नेपाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा अजय विक्रम शाहले नेतृत्व गरिरहेका छन् । हाल बैंकको ५९ जिल्लामा २५४ शाखा, २८ एक्सटेन्सन काउन्टर, १३१ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ९ बिलिङ काउन्टर सञ्चालनमा छन् । सेवा विस्तार र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । साथै, ३२८ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार २५ लाख निक्षेप ग्राहक रहेका छन् । संघीय संरचनाअनुसार सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्ने सरकारी नीतिअनुसार बैंकले ३६ स्थानीय तहमा शाखा सञ्चालन गरी स्थानीय सरकारको बैंकिङ कारोबार गर्दै आएको छ । यसले ग्रामीण विकास तथा सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याएको छ । वित्तीय समावेशितालाई प्राथमिकता दिँदै बैंकले विपन्न वर्ग लक्षित कर्जा विस्तारका लागि समावेशी वित्त तथा कृषि सेवा इकाई सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कूल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्थाअनुसार बैंकले २०८२ असार मसान्तसम्म ५.०८ प्रतिशत र २०८२ असोज मसान्तसम्म ५.१० प्रतिशत कर्जा प्रवाह गरेको जनाएको छ । यस्तै, कृषि, ऊर्जा तथा लघु, घरेलु एवं साना उद्योग क्षेत्रमा कर्जा प्रवाह गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने सरकारी नीतिमा बैंकले सहयोग गरिरहेको छ । २०८२ असार मसान्तसम्म यी क्षेत्रमा बैंकको कर्जा प्रवाह २९.६५ प्रतिशत पुगेको छ, जुन तोकिएको न्यूनतम सीमाभन्दा माथि हो । बैंकको पूर्ण स्वामित्वमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र सनराइज सेक्युरिटिज लिमिटेड सञ्चालनमा छन् भने ७० प्रतिशत स्वामित्व रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको छ ।  पछिल्लो तथ्यांकअनुसार बैंकको कुल सम्पत्ति ४ खर्ब ६२ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकले ३ खर्ब ८९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २ हजार ८०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकका कम्पनी सचिव तथा चिफ फाइनान्स अफिसर पियुसराज अर्यालले बैंकको समग्र अवस्था सुदृढ रहेको बताए । क्यापिटल एडेक्वेसी, लिक्विडिटी लगायत सूचकहरूमा बैंक बलियो रहेको उनको भनाइ छ । अर्यालका अनुसार विगतको तुलनामा खराब कर्जा बढ्नु स्वाभाविक भए पनि त्यसलाई क्रमशः सुधार गर्ने प्रयास भइरहेको छ । ‘खराब कर्जा घटाउन ठूलै योजना आवश्यक पर्दैन, हामी ‘वन टु वन’ आधारमा कर्जाका फाइलहरूको अध्ययन गर्दै हरेक खातालाई व्यवस्थापन गरिरहेका छौं,’ उनले भने । उनले कर्जाको प्रकृति र धितोका आधारमा जोखिम फरक हुने उल्लेख गर्दै घरजग्गा धितो भएका कर्जामा हालको बजारस्थितिका कारण लिक्विडिटीको प्रभाव देखिएको बताए । ‘अहिले घरजग्गा बजारमा तरलता कम छ । बजारमा सुधार आएसँगै रिकभरी पनि तीव्र हुने अपेक्षा छ,’ उनले भने । उनका अनुसार धेरै बैंकहरूमा गैर–बैंकिङ सम्पत्ति बढ्दो क्रममा रहेको छ । तर, ती सम्पत्ति अझै पूर्ण रूपमा तरल भइसकेका छैनन् । समग्र अर्थतन्त्रको अवस्थाले बैंकिङ क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने उनले बताए । ‘समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको अवस्था उच्च देखिए पनि हाम्रो बैंकमा भने अवस्था सामान्य छ,’ उनले भने, ‘तेस्रो त्रैमासमा थप सुधार हुने अपेक्षा गरेका छौं ।’ यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही विशेष कारणले बैंक घाटामा गए पनि चैतसम्म सुधार गर्नेगरी काम भइरहेको उनले जानकारी दिए । ‘प्रोभिजनिङ बढेका कारण दोस्रो त्रैमासमा घाटा देखिएको हो,’ उनले स्पष्ट पारे । बैंकका अध्यक्ष रमण नेपालले बैंक सन्तोषजनक रूपमा सञ्चालन भइरहेको बताए् । बजारको बदलिँदो परिस्थितिमा अनिश्चितता रहे पनि बैंकले सन्तुलित र दिगो रणनीतिका साथ अघि बढिरहेको उनको भनाइ छ । ‘हामी एक नम्बर वा दुई नम्बरको दौडमा लाग्दैनौँ,’ उनले भने, ‘हाम्रो प्राथमिकता गुणस्तरीय व्यवसाय र गुणस्तरीय सेवा दिनु हो ।’ उनका अनुसार बैंकले आक्रामक विस्तारभन्दा दिगो वृद्धि (सस्टेनेबल ग्रोथ) लाई प्राथमिकता दिएको छ । ‘ग्रोथ नगर्ने भन्ने होइन, तर गुणस्तरीयता कायम गर्दै सन्तुलित रूपमा अघि बढिरहेका छौं,’ उनले स्पष्ट पारे । अध्यक्ष नेपालले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रही दीर्घकालीन वृद्धि कायम गर्ने रणनीति लिएको बताए । साथै, सरकारले ल्याएका नीतिहरू कार्यान्वयन गर्दै ग्रीन फाइनान्सिङमा पनि बैंकले जोड दिएको उनले जानकारी दिए । ‘जोखिम धेरै नलिई सन्तुलित रूपमा अघि बढ्ने हाम्रो नीति हो,’ उनले भने । लाभांशका विषयमा उनले गत वर्षको नाफाबाट १० प्रतिशत वितरण गरिएको उल्लेख गर्दै चालु वर्षमा पनि नेपाल राष्ट्र बैंकको नीतिअनुसार प्रोभिजनिङ गरेर बाँकी नाफाबाट लाभांश वितरण गरिने बताए । ‘कति दिने भन्ने विषय भने पछि टुंगिन्छ, अवस्था अनुसार केही तलमाथि हुन सक्छ,’ उनले भने । ऋणी व्यवस्थापनका विषयमा उनले बैंकले संवेदनशील दृष्टिकोण अपनाउने गरेको बताए । उनका अनुसार बैंकले ग्राहकलाई अनावश्यक दबाब दिनेभन्दा समाधानमुखी ढंगले काम गर्ने नीति अपनाएको छ । ‘ऋणी समस्यामा परेमा सिधै कडा कदम चाल्नेभन्दा पहिला ग्राहकलाई संरक्षण गर्ने पक्षमा सोचिन्छ । परिस्थिति हेरेर मात्रै थप कदम चालिन्छ,’ उनले भने, ‘हामी क्लाइन्ट सर्भिसमा बढी केन्द्रित छौं । अनावश्यक खर्च नियन्त्रण गर्नु नै नाफा बढाउनु हो ।’